निर्भीक यात्रा

- मोहना अन्सारी

अश्वेत महिलाले जन्मभूमि छाडेर अर्को देश गएपछि सामना गर्नु परेका चुनौती छर्लंग पारिएको छ, बिकमिङमा । मिसेल ओबामा लिखित यो पुस्तकमा उनको जरा मात्रै होइन, अभाव र संघर्षबीच अगाडि बढेको जीवन–चित्र पनि कोरिएको छ । गरिब परिवारमा जन्मेहुर्के पनि अमेरिकी वातावरणमा बिस्तारै घुलमिल भएकी मिसेलले पछि न्याय र परिवर्तनका खातिर बोलेका आवाज सुनिँदै जान्छन् । अभिभावक र सन्तानबीचको सम्बन्धलाई गहिराइबाट बुझाउने यो किताबमा सफलताको कथा छ ।

प्रथम महिलाका रुपमा ह्वाइट हाउस छिरेपछि उनलाई आफूखुसी झ्याल खोल्नसमेत डर थियो । बिनासुरक्षा खुला आकाशको हावा महसुस गर्दै घुम्ने अनुमति पनि थिएन । तर यहीबीच पनि बच्चालाई सामान्य जीवनयापन गर्न सिकाइन् । ह्वाइट हाउस बहिर्गमनसँगै आम जीवनशैली अपनाउने मिसेल हाम्रा राजनीतिक व्यक्तित्वका लागिसमेत अनुकरणीय पात्र हुन् ।

महिलाको हरेक बाटोमा चुनौती हुन्छ तर त्यसलाई पार गर्न उनीहरु सक्षम छन् भन्ने सन्देशको पर्याय पनि हुन् मिसेल । हेयको नजरले हेरिने काला समुदायबाट आएर ह्वाइट हाउससम्मको यात्रा गर्नु आफैँमा अद्वितीय लाग्छ । इतिहासको लामो कालखण्डसम्म उत्पीडन सहेको जातिको सदस्यलाई प्राप्त यो सफलता सीमान्तकृतका लागि उदाहरणीय छ । आफ्नो संघर्षलाई इमानदारीपूर्वक लेखेमा महिलाका किताबलाई पाठकले झनै माया गर्छन् भन्ने उदाहरण हो, बिकमिङ ।

अन्य मुलुकसँग भारतको सम्बन्धलाई ऐतिहासिक अनुभवका आधारमा उजागर गरिएको छ, महाराजकृष्ण रसगोत्रको लाइफ इन डिप्लोमेसीमा । नेपालबाटै कूटनीतिक जीवन सुरु गरेर फ्रान्स, बेलायत, अमेरिका आदि देशमा रसगोत्रले आफ्नो महफ्वपूर्ण समय बिताए । श्रीलंकामा भएको जातीय हिंसादेखि शीतयुद्धका प्रसंगलाई पनि उनले पुस्तकमा जोडेका छन् । उनी नेहरुपछि  भारतको परराष्ट्र नीति ठोस रुपले अगाडि बढेको विश्लेषण गर्छन् ।

नेपाल आगमनमा भएका स्वागत–शिष्टाचारदेखि राजा–प्रधानमन्त्रीहरुसँगको सम्बन्ध पनि खुलाइएको छ, पुस्तकमा । रसगोत्रले प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनलाई बेलाबेला नेपाल बोलाएर साहित्यिक गोष्ठी पनि गराउँथे । जनकपुरको राम मन्दिरमा ६० हजार भारतीय रुपैयाँ दिने प्रबन्ध गराउने रसगोत्रका अनुसार जनकपुर र लुम्बिनीलाई हिन्दु–बौद्ध तीर्थाटनका रुपमा विश्वव्यापी प्रचार गर्ने नेपाल–भारतको संयुक्त अवधारणा थियो । तर त्यो कार्यान्वयन भएन ।

नेपालमा राणा शासन अन्त्यको कथादेखि राजा त्रिभुवनको दिल्ली निर्वासनका बेला हैदरावाद हाउसमा कस्तो बसोबास थियोसम्म रोचक ढंगले वर्णन गरिएको छ, पुस्तकमा । राजा महेन्द्रसँगै पूरै तराई घुमेका रसगोत्र सन् १९५४ को ठूलो बाढीपछि फैलिएको औलो र हैजा नियन्त्रणका लागि भारत सरकारको सहयोगमा चिकित्सक टोली लिएर त्यहाँ खटेका थिए । यो टोली खासगरी नेपालगन्ज र भैरहवा पुगेको थियो । तर यो मेडिकल टोली अमेरिकी रहेको हल्ला फैलियो, जनकपुर क्षेत्रमा । मातृकाप्रसाद कोइरालाको प्रभाव जनकपुरमा बलियो थियो । त्यस अफवाहले कोइरालाको पार्टी र सरकारलाई मात्रै होइन, नेपाल–भारत सम्बन्धमा पनि असर पारेको दाबी गर्छन्, रसगोत्र । परराष्ट्र नीतिमा सुस्पष्टता भएन भने सुरक्षा मात्रै होइन, समग्र राष्ट्र नै असफल हुन सक्ने बोध गराउँछ, अ लाइफ इन डिप्लोमेसीले ।

नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा न्याय मेरा लागि मार्गनिर्देशनको डायरीजस्तो लाग्छ । अधिवक्ता हुँदादेखिको उनको व्यक्तिगत संघर्ष प्रेरणादायी लाग्छ । राजनीतिक घरानाकी भए पनि उनले आफ्नो पेसालाई दल र व्यक्तिगत स्वार्थसँग कहिल्यै सम्झौता गरिनन् । न्याय सम्पादनका क्रममा भोग्नुपरेका उत्तारचढावका साथै आफ्ना श्रीमान्बारे गरिएको निःसंकोच वर्णन निकै रोचक लाग्छ ।

विविध आयाम भए पनि महाअभियोगबाट प्रधानन्यायाधीश पदलाई राजनीतिकरण गर्न खोजिएको घटनाबाट उनलाई असीम चोट पुगेको देखिन्छ । अरुलाई जस्तै मलाई पनि लागेको थियो– त्यस्तो गहन जिम्मेवारीमा बसेको व्यक्तिले अवकाशलगत्तै आत्मकथा लेखिदिँदा राज्यका संवेदनशील र महफ्वपूर्ण सूचनाको दुरुपयोग हुन्छ कि ! तर न्याय क्षेत्रका बेथितिमाथि सकभर निष्पक्ष भएर उनले गरेका आलोचनाले म न्यायसँग सहमत भएँ । बिचौलियाजस्ता वकिल र कानुन व्यवसायीका कारण खस्किँदो न्यायालयको गरिमादेखि न्याय क्षेत्रको भ्रष्टाचारलाई उनले उजागर गरेकी छन् ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच एकअर्काको छाप पर्नै हुँदैन । जब नांगो राजनीतिक हस्तक्षेप हुन्छ, तब न्याय मर्छ । नेपालको न्याय निकै महँगो र आम जनताको पहुँचबाट निकै दुर्लभ मानिन्छ । न्यायको पर्खाइ लामो नभई छरितो र सहज हुनुपर्छ– पीडित, पीडक र राज्यका लागि पनि । न्यायमा निष्पक्षता, निर्भीकता र भ्रष्टाचारप्रति उनको सशक्त आलोचनाका कारण आम विश्वास गुम्न दिँदैन, यो किताबले ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: श्रावण २१, २०७६