‘कम्युनिस्ट र योगगुरु उस्तै’

- मनबहादुर बस्नेत

१२ वर्ष कतारको कर्पोरेट जगतमा बिताए, दीपक भेटवालले उपल्लै पदमा थिए आम्दानी रोजेखोजेजस्तै थियो तर तनाव अन्तहीन त्यसले उनलाई अन्ततः कर्पोरेट भ्रमको जंगलबाट आनन्दको मार्गमा हुत्याइदियो अहिले ललितपुर, कुसुन्तीमा नेपाल योग स्कुलमार्फत विद्यालयमा योग फैलाउने अभियानमा छन्

योग स्कुल किन ?

योगका दुई पक्ष छन्, आध्यात्मिक र चिकित्सकीय (विज्ञान) । नेपालमा आध्यात्मिक र धार्मिक पक्षबाट मात्रै योग अभ्यास भइरहेको छ । तर हामीले योगको विज्ञानलाई समाजमा स्थापित गर्नमा जोड दिएका छौँ ।

विद्यालयलाई योगसँग किन जोड्ने ?

तीन वर्षको उमेरमै स्कुल हाल्ने चलनले बालबालिका मानसिक दबाबमा छन् । उनीहरुसित आनन्द लिने समय नै छैन । सिकाइ र मस्तिष्कलाई जोड्ने भएकाले योगले शिक्षालाई प्रभावकारी बनाउँछ । योगले शरीर र संवेदनाको सन्तुलित विकास गराउँछ ।

योगले सिकाइ प्रक्रियामा कसरी सघाउँछ ?

शिक्षक स्कुलका बोस हुन् । बोससँग विद्यार्थी डराउँछ । भयका कारण तनाव आउँछ । भयभीत मस्तिष्कले सिक्न सक्दैन । धेरै घन्टा पढाउँदा विद्यार्थीले धेरै बुझ्छन् भन्ने भ्रम छ । तर बालमस्तिस्कलाई तयार गरिँदैन ।

योगमा त्यस्तो के तागत छ ?

मनपर्ने मानिससँग जति घन्टा गफिए पनि हामी थाक्दैनौँ । जस्तो, तीन घन्टा फिल्म हेर्दा थकान लाग्दैन । तर अरु काम दुईतीन घन्टा काम गर्दा थाक्छौँ किनभने काम गर्दा चेतन र अर्धचेतन दुवै मस्तिस्क एकसाथ चलिरहेको हुन्छ । योगले यी दुवै मस्तिस्कलाई जोडिदिन्छ । कर्म र चेतनालाई जोड्नु योग हो ।

योगमार्गमा पहिल्यैदेखिको रुचि हो ?

म त कम्युनिस्ट स्कुलिङको मानिस । कतारमा कर्पोरेट जीवनको जंगलमा थिएँ । आज यहाँ, भोलि कुन देशमा भन्ने थाहा थिएन । तनावका कारण एक वर्ष मेडिकल औषधी खाँदा पनि बिसेक भएन । तर योगले ठीक गर्‍यो । अनि भ्रामक दुनिया छोडेर यता लागेँ ।

कर्पोरेट दुनियाँ भ्रम रहेछ ?

प्रतिस्पर्धाको भ्रममा दौडँदा यति पाउँछु अनि खुसी हुन्छु भन्ने लाग्छ । त्यहाँ पुग्यो, फेरि पर पुग्न मन लाग्छ । कति पाएपछि वा केके भएर सन्तुष्टि पाउने ? लोभ अन्त्यहीन छ ।

योगलाई पनि कर्पोरेट शैलीमै बेच्नु विरोधाभास भएन ?

यसको स्वरुप कर्पोरेट छ । तर उद्देश्य कर्पोरेट छैन । सामान्य शैलीमा काम गर्दा समाजले पत्याउँदैन । त्यसैले कर्पोरेट स्वरुप दिनु परेको हो ।

भारतीय ‘बाबा’ हरुको जस्तै कर्पोरेट प्रभाव होइन ?

हामी योग मात्र सिकाउँछौँ, वस्तु बेच्दैनौँ । यसको आम्दानी योगकै अनुसन्धानमा लगाउँछौँ ।

योग उपचारको अचुक औषधी रहेछ ?

नसर्ने रोग शरीरको गडबडीका कारण लाग्छ । त्यसलाई सन्तुलित बनाएर योगले प्रभावकारी उपचार गर्दो रहेछ । सरुवा र आकस्मिक रोगमा योगको पूर्ण भर पर्नु हुँदैन ।

योगको आध्यामिकभन्दा चिकित्सकीय पद्धति रोज्नुको कारण ?

अध्यात्म सर्वोत्तम मार्ग हो तर यसलाई धार्मिक र कर्मकाण्डी बनाए, अहिलेका योगगुरुले । यो खानुहुन्छ, यो हुँदैन, यो गर्नुहुन्छ, यो हुँदैन । जबर्जस्ती अनुशासनमा राख्ने । योगले स्वजागरण बनाउने हो, बलजफ्ती होइन । चरणबद्ध होसमा आएपछि उसैले छुट्याउँछ गर्न हुने र नहुने । कसैले कसैलाई योगी बनाउने होइन, आफैँ हुने हो ।

धेरैले नबुझी योग गर्ने/गराइरहेका छन् नि ?

कम्युनिस्ट र अहिलेका योगगुरु उस्तै लाग्छन् । कम्युनिस्टले सिकाउँछन्– यस्तो खानु हुँदैन, उस्तो लाउनु हुँदैन, लायो–खायो भने बुर्जुवा भइन्छ । मार्क्सले जीवनलाई पहिलो र भौतिक वस्तुलाई दोस्रो कुरा भनेका छन् । तर नेपालका कम्युनिस्टले भौतिक वस्तु पहिले अनि जीवन भने । योगी, संन्यासीले पनि त्यही ढंगले व्याख्या गरे । जब मानिसले ज्ञानलाई धर्मका रुपमा आत्मसात गर्छ, तब ऊ अन्धभक्त बन्छ । ज्ञान लिने र बुझ्ने प्रक्रियामा गडबडी छ ।

प्रकाशित: श्रावण २१, २०७६