‘मेरो कुरा सरकारले सुनेन, आफ्नै समुदायले पनि बुझेन’

- गुरुङ सुशान्त

प्रसिद्धकवि बैरागी काइँलालेयसै साता ८१ वर्षमा पाइला राखे । यसै अवसरमा उनको काव्य यात्रा, तेस्रो आयामसँगको सम्बन्ध, साहित्यिक, राजनीतिक र सांस्कृतिक पाटोमा केन्द्रित रहेर काइँलासँगनेपालका गुरुङ सुशान्तले गरेको अन्तरंग कुराकानी :

यो साता ८१ वर्षमा पाइला टेक्दै गर्दा कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?

म त छक्क परेँ । यत्ति लामो आयु बाँचिसकिएछ । बाल्यकालदेखि नै अलि रोगी किसिमको थिएँ । साउँबाहेक दुईपल्ट बल्झियो,क्षयरोग । अरु पनि बिमारी थिएछ, मैले याद गरिनछु । ब्लड प्रेसरका कारण कहिलेकाहीँ मुटुको गति एकदमै अस्थिर हुन्छ ।सन् १९९९ देखि औषधी खाँदै छु । राम्रो लेखनका लागि धेरै अध्ययन आवश्यक हुन्छ । त्यस्तो लेख्ने चाहना सपनाकै रूपमा रह्यो। पछाडि फर्केर हेर्दा उमेरमै किन मिहिनेत गरिएनछजस्तो एक प्रकारको विस्मात–पश्चातापचाहिँ लाग्छ ।

सबै कवितालाई एकै संग्रहमा जुटाउने मेसोमा हुनुहुँदो रहेछ नयाँ सिर्जना गर्न नसकेको क्षतिपूर्ति हो ?

मैले कविता थोरै नै लेखेको थिएँ । ०३० तिर काठमाडौँ आउँदा प्रज्ञा–प्रतिष्ठानले मलाई विद्वत्वृत्ति दिएको थियो । मदन पुस्तकालय जाँदा कमलमणि दीक्षितजीले कविताहरू बटुलबाटुल गरेर छापौँ भन्नु भो ।०३१ मा साझा प्रकाशनले छाप्यो, बैरागी काइँलाका कविताहरू। त्यतिबेला कमलमणिजी साझाका अध्यक्ष हुनुहुन्थ्यो । त्यो किताबमा चार वटा कविता राखिनँ ।दुई वटा कविता थपेरपछि अर्कैसंग्रह बनाउने सोच पनि थियो । अम्बर गुरुङ, कर्म योन्जन र अरुका लागि लेखिदिएका गीतहरू थिए । अर्को संग्रहका लागि नयाँ कविता भने लेख्न सकिनँ । वर्षौं वित्यो । मलाई ती चार कविता हराएर जान्छ भन्ने डर लाग्यो । ०३० मै लेख्न सुरु गरेको कविता हतारपतार पूरा गरेँ । ३०/४० पृष्ठले किताब हुने भएन । ०६२/६३ को आन्दोलनमा लेखेका प्रोपागान्डिस्ट कविता पनि भेला पारेँ,अन्धा मान्छेहरू हात्ती (२०६८) मा ।

अहिलेराजन मुकारुङ, हाङयुग अज्ञातहरूले प्रस्ताव राखे–सबै कविता एउटै किताबमाछाप्ने । तर तीसबै कविता मसँग थिएनन् । ०५२ तिर एमए गरेकी एक बहिनीले दार्जिलिङतिर पनि पुगेर बटुलेका आठ/दस कविता मलाई दिएकी थिइन् । केटाकेटीमा लेखिएका नराख्दा पनि हुने हो। भाइहरूले भने, एउटा कविको लेखनको विकासक्रम देखाउनका लागियो राम्रै हुन्छ । यत्ति हो, नयाँ केही छैन । ०१२ देखि ०७० सम्म लेखिएका कविताको कच्याङकुचुङ क्वाँटी हो यो ।

तपाईंमा बंगाली कविताको प्रभाव पनि भन्छन् त्यसबेला तपाईं कसका कविता पढ्नुहुन्थ्यो ?

दार्जिलिङमा पढ्दाप्रायः नेपाली र हिन्दी कविता नै पढेँ । टेक्स्टबुकमा भएका अंग्रेजी कविता पढ्नै पर्‍यो । र, ती कविका एकाध कविता पढियो । प्रोफेसरहरूले रेफर गरेका कविताहरू पनि पढियो ।०१५ को निर्वाचनअगाडि बीपी कोइराला पूर्वी नेपालतिर प्रचार–प्रसारमा जाँदा दार्जिलिङ निक्लनुभयो । दार्जिलिङबाटै पूर्वी नेपाल पस्नुपर्थ्यो । उहाँले कामुका प्लेग, स्ट्रेन्जरजस्ता उपन्यासको नाम लिनु भो । सार्त्र र केही अरु साहित्यकारको पनि कुरा गर्नु भो । त्यतातिर हाम्रो रुचि बढ्यो ।

मैले रवीन्द्रनाथ ठाकुर र शरदचन्द्र चटर्जीका सेट हिन्दीमै पढेँ । बंगाली कविताको प्रभावको कुरा मैले धेरै अगाडिदेखिसुनेको हुँ । एक जना प्रख्यात समालोचकले त सायद लेख पनि लेख्नुभएको छ ।दुईतीन सालअगाडि सिलिगुढी बस्ने एक जनाले पनि भने, ‘तपाईंको फलानो कविता र बंगालीको कविताको प्रभाव या हुबहु छ अरे नि ।’ पछि मैले राजा पुनियानीलाई भनेँ, ‘तिमी त्यतै बस्छौ । बंगाली र हिन्दी जान्दछौ । कुन बंगाली कवि हो त्यो ? उसको कविता र मेरो कवितालाई दाँजेर केही लेख र छापेपछि एउटा फोटो प्रिन्ट पठाइदेऊ न ।’हिजो–अस्ति कान्तिपुरमा एक लेखकले हंग्री जेनेरेसन र के जाति लेखकको नाम लिएका छन् । त्यति गरिसकेपछि तिनको कविताको पूरै नाम र प्रकाशन मिति राखेर पनि दाँज्दा हुन्थ्यो । तिनको कविता पहिले छापिएकाले म प्रभावित भएँ कि हाराहारी बेलामै दुवै कविता छापिएको थियो ? तिनको भन्दा मेरै पो पहिले छापिएको थियो कि !

ईश्वर बरालले उहिल्यै भनिसकेको पुरानो कुरा होइन त्यो ?

ईश्वर बरालले त हुबहु कपी गरेको भने रे । मैले पढेको छैन ।तर अर्को हिसाबले चोरेकै भनेको हो । पछिल्लो लेखमा पनि यिनले दाँजेका छन् । दाँज्दै जाँदा त कति थोक मिल्छ, मिल्छ । जिसस क्राइस्टले पनि झुट नबोल्नू भने । हिन्दु गुरुहरूले पनि झुट नबोल्नू नै भने । कसको प्रभाव पर्‍यो भन्नुर ? उहिल्यै बुद्धअघि पनि अहिंसाको कुरा आएको थियो, बुद्धले पनि अहिंसाको कुरा गरे । महात्मा गान्धीले त अहिंसात्मक आन्दोलनै चलाए । कसको प्रभाव पर्‍यो ? कसको विचार चोर्‍यो ?दाँज्नका लागि तिथिमिति पनि हेर्नुपर्छ ।

प्रभाव भन्ने कुरा त एकको अर्कोमा पर्छ नै । समकालीनमा मोहन कोइराला र भूपीहरूको ममा पर्‍यो होला । मेरै कविताको शैली कति जना साथीहरूलाई मन पर्‍यो होला र उत्तेजनामा ल्यायो होला ।कृष्णभक्त र द्वारिकाहरूको कतिपय लेखनशैलीले मलाई प्रभाव पार्‍यो होला । यस्तो हुन्छ, मिल्छ पनि समकालीनहरूमा । कहिलेकाहीँ त कहिल्यै नचिनेकाहरूबीच पनि हुबहु मिल्छ, भाषा । तर, यसैलाई प्लेगरिजम भन्न हुन्छ कि हुँदैन ? त्यो बंगाली कविताको पूर्ण पाठ सबैले पढ्न मिल्ने गरी तुलनात्मक अध्ययन गरिदिए हुन्थ्यो ।

गुरुप्रसाद मैनालीले लोग्ने–स्वास्नीको झगडालाई लिएर कथा लेख्नुभएको थियो, परालको आगो । लोग्ने–स्वास्नीको झगडा परालको आगो मात्रै होइन भन्ने देखाउनकै लागि इन्द्रबहादुर राईले विनिर्माण गरेर नयाँ कथा लेख्नुभयो, कठपुतलीको मन । राईको मौलिक कथा होइन भनियो ।सत्य एउटै मात्रै रहेनछ भन्ने देखाउन त्यो लेख्नुभयो । माधवी लेख्दा पुराणको कथा चोरेको भनेर मदनमणि दीक्षितलाई कसैले भनेनन् । पुराणमा आधारित कथामा उनले राम्रो प्रस्तुति दिए । तर, माधवीलाई मौलिकै भने तर इन्द्रबहादुर राईलाई चाहिँ चोरेको भनिदिए ।

जातिगत कुरा त भन्दिनँ म । तर, नेपालको प्राज्ञिक प्रणाली वा पद्धतिमा उपत्यका विकसित दुइटा स्कुल थिए रे– दीक्षित स्कुलर पाण्डे स्कुल । अर्काको चिन्तनलाई अस्वीकार गर्ने । हो/होइन, म जान्दिनँ । तर, त्यो चिन्तनको असर अहिलेसम्म कायम छ भनिन्छ । यसमा केही दम छजस्तो लाग्छ ।

तेस्रो आयामको वैचारिकी सामान्य जनजीवन नजोडिएकाले अमूर्त भयो पनि भन्छन् नि !

भन्नेको मुख कसैले थुन्न सक्दैन । हाम्रो भनाइ के थियो भने जीवनको समग्र पक्षलाई लेख्नु पर्छ । प्रचलित शब्दमा भन्ने हो भने रूप पक्षमा ज्यादा ध्यान दियौँ । कुनै विचार विशेषको पक्षधरता लिएर लेखियो भने त्यो एकांगी र एकलकाँटे हुन्छ भन्ने हाम्रो धारणा थियो । यहीँनेर हाम्रो आलोचना भएको हो ।

साहित्य एउटा विचारले प्रेरित हुन सक्छ । त्यो एउटा विचारचाहिँ कुन हो ? सबैको विचार त एउटै हुँदैन । एक प्रकारले प्रगतिशील लेखकहरूले हाम्रो वैचारिक विरोध र आलोचना गरे । उनीहरू वर्गसंघर्ष र वर्ग विभेदलाई केन्द्रविन्दुमा राखेर लेख्ने, हामीचाहिँ वर्ग विशेषलाई केन्द्रविन्दुमा राख्यौँ भने एकपक्षीय हुन जान्छ भन्ने । भलै त्यो वर्गमा ८० प्रतिशत होलान् तर तिनको पक्षमा लेख्दा २० प्रतिशतलाई सम्बोधन हुँदैन । त्यसकारण विचार विशेषसँग निरपेक्ष भएर जीवनप्रति आस्थावान रहिकन लेख्नुपर्छ भन्यौँ ।

अहिले पनि पल्टनमा कवाज खेलेजस्तो, राइट टर्न, लेफ्ट टर्न, गोडा फाट, सतर्क भनेजस्तो जहिले–तहिले शोषक र सामन्तीको विरोध गर्, किसान र मजदुरको भलो गर् भन्ने विचारका पक्षधरले नै हाम्रो विरोध गर्छन् । हाम्रो भनाइ शोषित मान्छेको विरोधमा लेख्नुपर्छ भन्ने होइन । तिनको पक्षमा पनि लेख्ने हो । मान्छे हुनु यसको विराट आधार हो । त्यस हिसाबले हामीले लेख्दा जनताका लागि भएन भन्छन् ।

मैले पनि त्यस्ता आलोचकलाई ठाडैप्रश्न गरेँ– तपाईंको साहित्य जनताले पढ्छ ? को हो तपाईंको जनता ?बजारमा बस्ने, कलेज पढ्ने तपाईंको जनता ?वर्गीय विचारधारा लिएर दोकान गरेर बस्ने मात्रै तपाईंको जनता ?मास्टरहरूले पढ्छन् । विद्यार्थी युनियन पढ्छ । कार्यकर्ताले पढ्छ । समर्थक पनि सबैले पढ्दैनन् । आम जनताले तपाईको कविता पढ्छन् ? त्यसकारण जनताका लागि लेखेँ भनेर गर्व नगर्नू, घमन्ड नगर्नू । जनताका लागि होइन, जनताको पक्षधरता लिएर लेखौँ भनेमा म मान्छु । त्यो पक्षमा त हामी पनि छौँ नि । मान्छेको पक्षधरता लिनेमा त हामी छौँ नि । मान्छेभित्र जनता पनि आउँछ, शासक पनि आउँछ, शोषित नि आउँछ ।पीडक पनि आउँछ । पहुँचवाला पनि आउँछ, पहुँच नपुगेका पनि आउँछ । पुरुष आउँछ, महिला आउँछ । लैंगिक, जातिगत, भाषागत, सामाजिक विभेदका कुरा आउँछन् ।

सम्पूर्णता भनेको कसैलाई बाहेक गर्नु हुँदैन भन्ने सिद्धान्त हो । शत्रुलाई समेत बाहेक गर्नु हुँदैन । शत्रुविना समाजै बन्दैन । विपक्षविना सदनै बन्दैन भनेजस्तै हो । एउटै मात्र पक्ष भएपछि त्यो सभा नै हुँदैन । त्यसकारण समग्रतामा हेर्‍यौँ । विचार विशेषले हेर्‍यो भने भिन्नता धेरै हुन्छ, कलझगडाहरू हुन्छन् । तर समग्रतामा हेरियो भने सबैको विचारको सरदर हिसाब आउँछ । त्यो हिसाबलाई दृष्टिविन्दु बनाएर अगाडि बढ्यौँ भने मानव मात्रको नभएर पृथ्वीकै भलो हुन्छ । पृथ्वीलाई मान्छेको मात्रै पेवा ठान्नुभएन नि । यहाँका पशुपन्छी, किटपतंग, बोटविरुवा सबै बाँचेन भने मान्छे कहाँ बाँच्छ ?अहिले साहित्यमा वातावरणको कुरा आइरहेको छ । हाम्रो आशय सीमान्तकृतलाई नहेरौँ भन्ने होइन, तिनलाई झन् धेरै ध्यान दिनैपर्छ ।

आईबी राई नै लीलालेखनमा मोडिएकाले तेस्रो आयामको प्रभाव घटेको ?

मान्छेले गरेका काम मान्छेकै देहजस्तै क्षयशील हुन्छ । क्षणभंगुर हुन्छ । कुनै पनि विचार सदाका लागि बाँच्दैन । एकाध सार्वभौम चिन्तन/दर्शन बाँच्ला । तर, मान्छेले सिर्जना गरेको चीज सधैँ बाँच्छ भन्ने छैन । तर, यो आन्दोलन मर्‍योचाहिँ म भन्दिनँ । त्यसमाहात हाल्ने जाँगरिला लेखक ईश्वरवल्लभ र इन्द्रबहादुर राईको देहान्त भो । म उहिल्यैदेखि थोरै लेख्ने अल्छी खालको मान्छे मात्रै बाँचिरहेको छु ।

लीलालेखन आएर तेस्रो आयाम मरेको होइन । तेस्रो आयामबाट एक खुड्किला उक्लिएपछि या फाल हानेर लीलालेखनमा पुगियो भनेर इन्द्रबहादुर राईले भन्नुभएकै हो । धेरैले भने, ‘तिमीहरू तीन भाइ मात्रै त हौ नि ।’ कति जना हुनुपर्थ्यो त भनेर मैले सोधेँ । फेरि प्रश्न गरे, अनुयायी खोइ त ? मैले ओठे जवाफ दिएँ, हामीले तेस्रो आयाम पार्टी खोलेको होइन । पार्टी खोलेको भए पो, जिल्ला सभापति खोज्नु, गाउँ सभापति खोज्नु र सदस्यहरू बनाउनु । हामी त एउटा विचार प्रवाह गरेका हौँ । जीवन र जगतलाई हेर्ने कुरामा सँगै छौँजस्तो लागेमा हेर्ने हो, नत्र आफ्नै बाटो लाग्ने हो ।हामी तेस्रो आयामको एउटा गल्लीबाट हिँडिरहेका थियौँ ।पछि साँघुरो मानेर राईले सडक विस्तार गरी लीलालीखनको हाईवे बनाउनु भो । फरक यत्ति मात्रै हो ।

पछि तपाईं पनि पाश्चात्य विचारबाट भागेजसरी मुन्धुमतिर लाग्नुभयो नि

पाश्चात्यमा लागेको होइन तर पाश्चात्य विचारधाराले प्रभाव भने पारेकै हो । समाजको नजिक हुनका लागि मुलुकको वर्तमान अवस्थालाई त चिन्नै पर्‍यो । अनि मात्रै समस्याका जरा, निकासका बाटा र उपलब्धि थाहा पाउँछौँ ।

वास्तवमै मैले ०३० देखि नै कविता लेख्न छोडेछु । भैरव अर्यालले मधुपर्कमा छाप्न भनेर कविता मागेर लानुभएको थियो । सम्पादक केशवराज पिँडालीले छाप्न मानेनन् कि ! बडो नियास्रो मुख बनाएर निराश र हतास स्वरमा अर्यालले भन्नुभो, ‘सरी है, छाप्न सकिएन ।यहाँ यस्तै छ, यस्तै भो ।’

त्यही साल म साउनमा म घर गएँ । भैरव अर्याललाई खोलाले बगायो भन्थे । उनले आत्महत्या गरेका रहेछन् । मलाई कताकता एक प्रकारको बिस्मात लाग्छ । कारण के थियो होला?एउटा कारण म पनि थिएँ किजस्तो लाग्छ । पछि उत्तम कुँवरजीले ताकेता लगाएर त्यही कविता रूपरेखामा छाप्नु भो । तर पनि कविता लेख्नै सकिनँ ।

गाउँमै थिएँ । अलिअलि भएको क्षमता पनि गाउँ डुल्दै जाँड खाएर हाहाहुहुमा मात्रै समय जान्थ्यो । गाउँघरतिर त भाले काट्दा पनि पूजा लगाएर खाने । पूजा लगाउँदा फेदाङ्बाले के भन्छन् भनी सुन्दै अर्थ लगाउँदा रोचक लाग्यो । र, मैले टेप गर्न थालेँ ।भर्खरै टेपरेकर्डर आउन थालेको तर बहुत महँगो । ०३० देखि रेकर्ड गर्न थालेछु । ०३१ देखि भने बढी नै जोतिएर लिम्बूको श्रुति परम्परा लोकसाहित्यमा लागेँ । कविता लेख्ने क्षमतामा ह्रास आएपछि आफूभित्रको ऊर्जालाई अर्को क्षेत्रमा लगाएको हुँ । नेताहरूले एक क्षेत्रमा हारेपछि अर्को क्षेत्रमा उठेजस्तै हो । लिम्बू साहित्यमा काम गरेँ । मुन्धुम श्रुतिशास्त्र परम्परालाई बटुल्दै, टीका टिप्पणी र सम्पादन गर्दै छु । मेरो मौलिक काम होइन । अब अर्को क्षेत्र खोज्दै छु ।

अनिप्रत्यक्ष पार्टी संगठनमा पनि लाग्नुभयो

मेरा दाजु भूविक्रम नेम्बाङ नै सशस्त्र विद्रोह लाग्नुभयो । ०२७ पछि वनारसमा खुलेको कांग्रेसको भातृ संगठनको शाखा पाँचथरमा आउँदा सहयोग गरियो । ०३६ पछि खुलेरै बहुदलको पक्षमा लागियो । सक्रिय राजनीति लाग्ने खालको मान्छे त म होइन तर ०३९ पछि रिक्त ठाउँमा बस्नैपर्ने भएपछि नेपाली कांग्रेसको झापा जिल्ला कमिटीमा रहेर पाँच वर्षजति काम पनि गरेँ । खुला राजनीतिमा निगरानी र चौकीमा पर्नु सामान्य भए पनि जेलनेल भोग्नु परेन । प्रजातन्त्रमा निष्ठा भए पनि स्वभावका कारण मैले उल्लेखनीय काम गर्न सकिनँ । मैले थाहा पाएँ, यो मेरो क्षेत्रै होइन रहेछ ।

०६२/०६३ को जनआन्दोलनमा सडकमै जानुभयो होइन ?

राजनीतिक पश्चगमनतिर मुलुक जान थालेपछि त्ससविरुद्ध लेखक–साहित्यकारहरूले पनि लेख्न–बोल्न थालेका थिए । प्रगतिशील लेखक संघ र प्रजातान्त्रिक लेखक संघहरू छुट्टाछुट्टै आन्दोलित थिए । ज्येष्ठ कविका नाताले मोहन कोइरालालाई नेतृत्व लिन अनुरोध गर्‍यौँ । स्वास्थ्य प्रतिकूलताका कारण उनले स्वीकार गरेनन् । म नाकको समस्याले म अस्पतालमा थिएँ । मलाई केही साथीले काल्दाइँले अगुवाइ गरिदिनु पर्‍यो भने । कसोकसो मलाई अध्यक्ष बनाए । मैले भनेँ, ‘ठीक छ, म अध्यक्ष बन्छु तर मेरो कुरा पनि तपाईंहरूले मान्नोस् र अध्यक्ष नम्बर एक म, अध्यक्ष नम्बर दुई निनु चापागाईं, अध्यक्ष नम्बर तीन फलाना... ’ भन्दै चार अध्यक्ष प्रस्ताव गरेँ । अध्यक्ष मण्डलको कोही बिरामी या जेल परेमा आन्दोलन नरोकियोस् भनेर मैले त्यस्तो प्रस्ताव गरेको थिएँ । शरीरले साथ नदिए पनि वैचारिक बलका लागि मात्रै भए पनि लेखक–साहित्यकार–संस्कृतिकर्मीसँगै आन्दोलनमा हिँडेँ ।

जुन सपना बोकेर आन्दोलनको अगुवाइ गर्नु भयो, अहिलेसामान्य आरक्षणका लागि समेत सीमान्तकृत वर्गले फेरि आवाज उठाउनु परिरहेको नि ?

दलित, आदिवासी–जनजाति, मधेसीको आवाज र स्थानका कारण शासक वर्ग तर्सिएजस्तो लाग्छ । ०७२ को संविधानमा सीमान्तकृतका लागि राम्रो व्यवस्था भएनन् । व्याख्याकै आधारमा सुविधा बाँडफाँटमा हुने अवस्था पो आयो । अब खस–आर्यलाई पनि सिट सुरक्षित गरिएछ । आरक्षित एकाध सिटमा पनि आँखा गाड्न थालेछन् ।सत्ता भएकैलाई किन आरक्षण चाहियो ? यदि खसआर्यमा कर्णालीको क्षत्री–बाहुनलाई स्थान दिइएको भए उचित हुन्थ्यो । खसआर्यको भागमा सम्पन्न नेताका आसेपासे पो आइरहेका छन् । आरक्षणले साम्प्रदायिकता ल्याउँछ पो भन्न थालेका छन् । सरकारी सेवा एउटै जातिको बहुसंख्यक हुँदाचाहिँ साम्प्रदायिक नहुने, जातीय नहुने अनि थोरै ठाउँ हामीलाई दिनुपर्छ भन्दाचाहिँ मुलुक विखण्डनसम्मको कुरा ल्याउने ? जनजातिहरूले आवाज उठाएकै कारण जनजाति प्रतिष्ठान विघटन गर्नचाहिँ सकेनन् तर विघटितसरह छ, बजेट कटौती गरिदियो । जे हुँदै छ, यसले समाजमा द्वन्द्व कायमै राख्छ । द्वन्द्वले विकास हुँदैन, न त देश नै समृद्ध हुन्छ ।

देशभित्रै राष्ट्रवादको आवरणमाअसहिष्णुता बढ्दो भने वैश्विक रूपमा फैलिएको बजारवाद बिगबिगी छँदै मातृभाषा जोगाउनु चुनौतीपूर्ण छैन ?

नेपालमा खस नेपालीबाहेक एक लाखभन्दा बढी वक्ता भएको भाषा बीसमात्रै रहेछन् । त्यसमा पनि दस लाखभन्दा माथि वक्ता हुने त पहाडमा नेवार, तामाङ र मगर अनि तराईमा थारु, भोजपुरी, अवधी र मैथिली मात्रै हुन् । त्यसैले मातृभाषाको शिक्षा, संस्कृति र कलामा जोड दिनु पर्ने हो । ती मातृभाषीले कामका लागि अरेबिक, जापानी, चिनियाँ, कोरियाली भाषा सिक्न थालेका छन् भने प्रतिस्पर्धाका लागि अंग्रेजी पढ्छन् । विद्यालयमा खस नेपाली अनिवार्य छँदै छ । एकातिर ग्लोबलाइजेसनको मार छ भने अर्कातिर आफ्नै राज्यले बेवास्ता मात्रै होइन, थिचोमिचो नै गर्‍यो । बालबालिकाले घरमै मातृभाषाबारे चाल नपाउने दर्दनाक अवस्था आयो । एउटा बाघ र रेडपान्डालाई चिडियाखानामा ल्याएर बचाउन सकिन्छ भने कुनै राजा मामा ल्याएर कुसुन्डा भाषा बचाउन सकिन्न ? हेर्दा–हेदै १२ वटा भाषा हराइसके। मेरो कुरा सरकारले त सुन्दैन–सुन्दैन तर आफ्नै समुदायका मान्छेले पनि बुझेनन्जस्तो लाग्छ ।

प्रकाशित: श्रावण २१, २०७६