लेनिन भर्सेस प्रचण्ड

- राजकुमार बानियाँ

डबल नेकपाका अध्यक्ष भइसक्दा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हेगको हाउगुजीले सताउन छाडेको छैन । माओवादीकैपूर्वबालसैनिक लेनिन विष्टले हेग लैजाने धम्की दिएपछि उनी तिलमिलाएका छन् । उनले पार्टी प्रवेश कार्यक्रममा भनेछन्, ‘हेग लगे त विश्वकै हिरो बनेर निस्कन्छु ।’ शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म उनको राजनीति हेगको वरिपरि नै छ ।

कामना गरौँ– प्रचण्डले हेग जानु नपरोस् । तर के हेग गए भने उनी हिरो हुन्छन् त ? हेग गएर को हिरो भएको छ अहिलेसम्म ? अझ हेग गए भने विश्वले शान्ति र न्यायको नायक भनेर चिन्ला त ?

नेदरल्यान्ड्सको हेगमा छ, अन्तर्राष्ट्रिय फौजदारी अदालत । त्यहाँको कठघरामा अक्सर मानवताविरोधी र युद्ध अपराधी नै उभिएका छन् । र, नजिरहरु बोल्छन्– ती कोही पनि हिरो भएर फर्केका छैनन् । न लाइबेरियाली पूर्वराष्ट्रपति चार्ल्स टायलर हिरो, न त सर्वियाली नेता रादोभान काराजिक, न कंगोका विद्रोही नेता थोमस लुवाङ्गा नै । तिनीहरु युद्ध अपराधमा ४०–५० वर्ष कारावास सजाय झेलिरहेका छन् ।

१७ हजार मानिसको ज्यान जाने गरी भएको माओवादी हिंसाको विशाल क्षति देशले अहिले पनि अनुभूति गरिरहेकै छ । तर हेगको हाउगुजी देखाएर पीडितलाई न्यायबाट वञ्चित गर्न सकिँदैन । हेगको कोकोहोलो मच्चाएर उनले पनि उन्मुक्ति पाउँदैनन् ।

सनकी साइनबोर्ड !

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी वाचा गरेका थिए– शंखधर उद्यान बनाउने । नयाँ पार्क बनाउने ह्याउ नभएपछि के गर्ने ? उनले रानी रत्नको सालिक हटाए अनि साबिक रत्नपार्कलाई नै शंखधर उद्यानको जामा लगाइदिए । किनभने योजति सजिलो काम केही थिएन । कति हाइसन्चो !

दुई वर्षपहिले शंखधर उद्यान घोषणा गरेका उनले नयाँ साइनबोर्ड हाल्ने फुर्सद भने भर्खरै पाएका छन् । साइनबोर्ड भने अलि लहडी र हास्यास्पद किसिमको छ– ‘काठमाडौँ महानगरपालिका/नगर कार्यपालिकाको कार्यालय/वातावरण व्यवस्थापन विभाग/शंखधर उद्यान/रानीपोखरी एकाइ, रत्नपार्क ।’

एउटा साइनबोर्डमा तीन थरी नाम छन्, शंखधर उद्यान, रानीपोखरी अनि रत्नपार्क । शंखधर उद्यान अलि ठूलो अक्षरमा छ भने रत्नपार्क मसिनो अक्षरमा । शंखधर उद्यान बनाएको हो भने रत्नपार्क किन चाहियो ? रत्नपार्क हो भने शंखधर उद्यान किन राखेको ? रत्नपार्क वा शंखधर उद्यान एउटा मात्र किन हुन सकेन ?

०१८ अगाडि रत्नपार्क छुट्टै नाम थिएन । रानीपोखरी, टुँडिखेल, वीर अस्पताल, बागबजार, घन्टाघर आदिकै हिस्सा थियो । राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा सालिक राखेर पार्क बनाएपछि यसले त्यही नाम पाइरहेको छ । बस बिसौनीनेर रहेको यो पार्क बालबालिका पिङमा रमाउने र युवायुवती वाइफाईमा हराउने ठाउँ बनेको छ । नवआगन्तुकलाई पनि बगैँचाको रुपरङले तान्छ नै । तर विद्यासुन्दरले घोषणा गरेको दुई वर्ष बिते पनि शंखधर उद्याननेर भेटौँ भने प्रेमीले प्रेमिकालाई भेट्न सक्ने स्थिति छैन । रत्नपार्कको अस्तित्व मेटेर शंखधर उद्यानको ‘समावेशी’ साइनबोर्ड टाँग्नु सिर्फ सनकै हो ।

गैरआख्यानलाई आरक्षण ?

मदन पुरस्कारको श्रेष्ठ सूचीमा आफ्नो किताब नपरेपछि धेरैजसो लेखक प्रकाशकप्रति नै सशंकित भए– मेरो किताब दर्ता गरिएन कि ? प्रकाशकले नै दर्ता गरेको निस्सा नदेखाई लेखकको चित्त नबुझ्ने अवस्था आयो । लेखकहरु पुरस्कारका लागि कति लालायित छन् भन्ने योभन्दा बलियो प्रमाण अरु हुनै सक्दैन ।

लेखकहरुको पुरस्कारमैत्री अर्को दसी हो, अघिल्लो वर्षको मिति राखेर किताब निकाल्ने । असार–साउनमा विमोचन गरिएका किताब पल्टाउादा अघिल्लो वर्षको मिति भेटिन्छ । अझ हतारमा मदन पुरस्कार गुठीमा किताबको डमी बुझाएर छाप्न पठाउने चलन पनि देखिएकै छ । त्यो सिजनका उत्पादनलाई प्रकाशकले नै ‘चैते किताब’ भन्ने गरेका छन् । दसैँको कमाउने किताब, चैतको पुरस्कार लिने किताब ।

यस पटक २ सय ५७ किताब दर्ता हुँदा पनि गुठीले सूचीलाई १० वटा पुर्‍याउन सकेन । श्रेष्ठ सात सूचीमा कविता एउटा मात्रै पर्‍यो भने गैरआख्यान एउटा पनि पर्न सकेन । त्यसबाट गैरआख्यानका लेखकको पंक्ति निराश भयो । अब गैरआख्यानकारले विधागत आरक्षणको आवाज उठाउनुपर्ने अवस्था आएको तर्क गर्न थालेका छन् लेखकहरु ।  सातमध्ये ६ मा आख्यानको दबदबा भएपछि गैरआख्यानलाई किन आरक्षण नदिने ? लेखकहरुको तर्कमा दम छ है । 

प्रकाशित: श्रावण २१, २०७६