शाह राजाका सत्तापलट

- हरिराम जोशी

रणबहादुर शाहले नेपालमा भीमसेन थापालाई काजी, मूलकाजी, प्रधानसेनापति र सरकार प्रमुख बनाए, विसं १८६० मा । नेपालका प्रधानमन्त्रीको रोलक्रममा थापाको नाम अग्रपंक्तिमा रहेकाले कसैकसैले पहिलो प्राइममिनिस्टर पनि भनेका छन् । यद्यपि १३ औँ शताब्दीमै प्रधानमन्त्री मेघपाल वर्मा रहेको पिमवहालको अभिलेखमा उल्लेख छ ।

संन्यासी अवस्थामै गीर्वाणयुद्धविक्रमलाई शासन सुम्पिएका थिए, रणबहादुरले । यद्यपि शासन/प्रशासनमा उनकै दबदबा थियो । पछि आफ्नै भाइ शेरबहादुरले मारे, जुन सत्तापलट नै थियो । रणबहादुर शाहले पत्नी कान्तिवतीलाई रोग लागेका बेला औषधोपचार गरेका पाटन सौगात टोलका (निरञ्जन गोविन्द वैद्य का वंशज) वैद्यसमेतलाई फाँसी दिएको भनिन्छ । तर पछि पुष्टि नहुँदा दरबारमै वैद्यको जागिर दिएको इतिहासकारको मत छ ।

थापाले विरोधी मास्ने अभियानमा रणबहादुरको मृत्युपछि उनका तीन रानीमध्ये विजयालक्ष्मीलाई हेलम्बुबाट पुलिस लगाएर पशुपति ल्याई सती जान बाध्य पारेका थिए । राजकुमार देवेन्द्रको अल्पायुमै निधन भयो । रणजंग पाण्डेहरुले यसलाई राजनीतिक रङ दिँदा प्रधानमन्त्री थापा गिरफ्तारीमा परे । पाण्डे खलककै उक्साहटमा थापाकी श्रीमतीलाई नाङ्गै सहर घुमाउने हौवा फिँजाइयो । त्यसैको वेदनाले ३३ वर्षसम्म एकछत्र शासन गरेका थापाले मृत्युवरण गरे । उनको मृत्यु पनि सत्तापलटकै सिलसिला थियो ।

विसं १८९४ मा ‘कलाबहादुर’ उपाधिसहित राजा राजेन्द्रले माथवरसिंह थापालाई प्रधानमन्त्री बनाए । तर राजा, रानी, युवराज र भारदारबीचको षडयन्त्रका कारण जंगबहादुरले मारे । माथवरलाई मार्नु पनि सत्तापलट नै थियो ।

माथवरपछिका प्रधानमन्त्री गगनसिंह थापा पनि दरबारिया षडयन्त्रकै कारण मारिनुपर्‍यो । रानी राज्यलक्ष्मीका आज्ञापालक भएकै कारण राजा राजेन्द्र र युवराज सुरेन्द्रको योजनानुसार विसं १९०३ मा हत्या गरियो । यो पनि सत्ता पलट नै हो । राजा/रानीकै सत्ता लोभका कारण २ असोज विसं १९०३ मा कोतपर्व हत्याकाण्ड घट्यो, जसमा थापा/पाण्डेलगायतका सयौँ भारदारको नृशंस हत्या गरियो । राजा राजेन्द्रको रोजाइमा परेका जंगबहादुर नेपालको प्रधानमन्त्री भए । विसं १९०३ को कात्तिकमा पशुपति भण्डारखालको भोजमा निम्त्याएर प्रधानमन्त्री जंगबहादुरको हत्या गर्ने भनिए पनि सफल भएन । सत्तापलटको योजना बनाउने रानी राज्यलक्ष्मी नै निर्वासित हुनुपर्‍यो । रानीसँगै तीर्थाटनमा काशी गएका राजा राजेन्द्रलाई निर्वासित भाइभारदारले जंगबहादुरलाई मार्नुपर्छ भनेर उक्साए । त्यसका लागि बारा–पर्साको अलौमा करिब १२ सय जति फौज बनाए । यसलाई अलौ पर्व पनि भनियो । सत्तापलटको प्रयासमा लागेका राजा राजेन्द्रको पक्राउपछि हनुमानढोकामा बन्दी अवस्थामै मृत्यु भयो ।

राजेन्द्र सत्ताच्युत भएका बेला राज प्रतिनिधि बनेका सुरेन्द्रविक्रमले शत्ति पुनः शाहमा फिर्ता नगरुन्जेल श्रीपेच नलगाउने प्रतिज्ञा गरे पनि ३० वर्षको अल्पायुमै निधन भयो । जंगबहादुरको एकलौटी शासनका कारण असन्तुष्ट राजा सुरेन्द्रका भाइ उपेन्द्रविक्रमले प्राइममिनिस्टर बमबहादुर (भाइ) लाई समेत प्रयोग गरेर हत्या योजना बनाए पनि सफल भएन ।

विसं १९०३ को कोतपर्वबाट प्रधानमन्त्री र विसं १९१३ को राजाज्ञाबाट श्री ३ भएका जंगबहादुरको मृत्युपछि  युवराज त्रैलोक्य र अधिराजकुमार नरेन्द्रवित्रम शाहले अरुलाई श्री ३ महाराज र पन्जापत्रको छाप नदिलाउने गुप्त सत्तापलट योजना दुई रानी (जंगबहादुरका छोरी) मार्फत श्री ३ धीरशमशेरले थाहा पाएकाले सफल हुन सकेन ।

त्रिभुवनले पनि जुद्धशमशेरको समयमा नारायणहिटी दरबारमै सत्तापलट योजना बनाएका बनाएका थिए । त्यसका लागि त्रिभुवनले छोरा युवराज महेन्द्र, अधिराजकुमार हिमालय र वसुन्धरा, आफ्नै एडीसी अग्निशमशेर (जुद्धशमशेरका साइँला छोरा), ड्राइभर, कम्पाउन्डरलगायत १० जनाको समूह तयार पारेका थिए ।  भाग्यवश जुद्धशमशेर आफू मारिने योजनामा सामेल भएनन् र बच्न सके । त्रिभुवनको यो योजनालाई कसैकसैले रक्तपात मण्डली पनि भनेका छन् ।

राजा महेन्द्रले ०१५ मा सम्पन्न संसदीय निर्वाचनमा दुई तिहाइ बहुमतको बीपी कोइरालाको प्रजातान्त्रिक सरकारलाई सशस्त्र सेनामार्फत अपदस्थ गराए र सत्ताका सबै अंग कब्जामा लिए, १ पुस ०१७ मा ।  उनका छोरा वीरेन्द्रको ०५८ मा सपरिवार हत्या भयो । अन्तिम राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक प्रक्रियामार्फत निर्वाचित शेरबहादुर देउवाको सरकारलाई अक्षम घोषणा गर्दै विसं ०५९ मा हटाए ।

 प्रस्तुति : गोकुल अर्या

प्रकाशित: श्रावण २४, २०७६

ट्याग: स्मरण