टहरा पुरस्कृत

- नेपाल संवाददाता

चलचित्र समाजको छाया हो भने वृत्तचित्र ऐना । त्यसैले त होला, वृत्तचित्रले सहजै दर्शकको मन छुने । यस्तै मन छुने विषयमा दीपक तोलाङेले बनाएको वृत्तचित्र टहरा (सेल्टर) ले नेपाल–अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभलमा विशेष पुरस्कार हात पारेको छ ।

थापाथलीको पुलमुनि झुपडीमा बस्ने सुकुम्बासीको दिनचर्यामा आधारित वृत्तचित्रमा आमाछोरीको संघर्षको कथा छ । फोटो पत्रकारसमेत रहेका तोलाङे भन्छन्, “पहिलोपल्ट फोटो खिच्ने क्रममा थापाथलीको सुकुम्बासी बस्ती पुग्दा पाल, प्लास्टिकले बनाएको घर, बत्ती–पानी केही थिएन । उनीहरु बिजोगमा बसेको देखेर तस्बिर मात्र होइन, तिनको कथा बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो ।”

टहरा बनाउँदा उनले ७ वटा सुकुम्बासी बस्ती भ्रमण गरेका थिए । २ वर्ष लगाएर बनाएको वृत्तचित्रले सातौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट गैरआख्यान पुरस्कार जितेको थियो । भिजुअल एन्थ्रोपोलोजीमा स्नातकोत्तर तोलाङेले सुकुम्बासी बस्तीका बालबालिकाका लागि एकहप्ते फिल्ममेकिङ कार्यशाला गर्दै छन् ।

प्रकाशित: श्रावण २६, २०७६

ट्याग: सहरमा
×