गजुरियल कमेडी

- गोकर्ण गौतम

आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घरजग्गाविहीन जनतालाई ऐलानी माटोबाट हटाई लाठी र मुंग्रोले ठटाई उत्तरतिर खेदाउने निर्णय पारित गरेको छ ।’

०४५ मा मनोज गजुरेलले स्कुले कार्यक्रममा वाचन गरेको हास्यव्यंग्य समाचार हो, यो । तिनताका रेडियो नेपालमा ‘राष्ट्रिय पञ्चायतमा के भयो’ भन्ने कार्यक्रम आउँथ्यो । मनोजले त्यही शीर्षकमा पञ्चायत व्यवस्थामाथि व्यंग्य कसे, जनआन्दोलनको माहोल बनिरहेका बेला । त्यतिबेला उनको उमेर थियो, १५ वर्ष । ८ कक्षा पढ्थे । कलिलै उमेरमा राजनीतिक चेत आउनुको कारण यसरी सुनाउँछन्, “पञ्चायतविरोधी सामाजिक र पारिवारिक माहोलले मेरो बालमस्तिष्कमा प्रभाव पारेको थियो सायद ।”

उक्त व्यंग्य समाचार मनोजको पहिलो औपचारिक प्रस्तुति थियो । त्यसमै उनी प्रथम भए । समयक्रमसँगै स्ट्यान्ड–अप कमेडीमा नेपालकै पहिलो दर्जामा दरिए । अहिले पनि उनको स्थान अरुले ओगटेको छैन । स्ट्यान्ड–अप कमेडीमा उनीजति राजनीतिक चेत भएका कलाकार सम्भवतः छैनन् पनि । भलै मनोज आफूलाई पहिलो होइन, दोस्रो नम्बर (गियर) मा राख्न रुचाउँछन् । तर्क यस्तो छ, “पहिलो गियर खहरे हो, ती भाइरल हुन्छन्, हराइहाल्छन् । दोस्रो गियरचाहिँ संघर्ष हो, नदीजस्तै बगिरहन्छ निरन्तर ।” कलाकारिता मात्र होइन, पढाइमा पनि मनोज दोस्रो गियर नै रहेछन् ।

जब गाईजात्रा नजिकिन्छ, धेरैलाई चासो हुन्छ, मनोज यस पटक कुन पात्र बन्दैछन् ? हरेक वर्ष कुनै एक परिचित पात्रको हुलियामा आफूलाई ढालेर दर्शकलाई चक्मा दिन्छन् । सुनाए, “यो वर्षचाहिँ सञ्चारमन्त्री गोकुल बाँस्कोटा बन्ने खतरा छ ।” काठमाडौँ केन्द्रित गाईजात्रा यस पटक ३१ साउनदेखि सातै प्रदेशको राजधानी पनि पुग्दै छ ।  कार्यक्रमको नाम नै छ, ‘प्रदेश प्रदे शमा गाईजात्रा’ अर्थात्, गाईजात्रालाई पनि शासन प्रणालीजस्तै विकेन्द्रित बनाउन तम्सँदै छन् । राजधानीमा जसरी सत्ता शक्तिमा रहेकालाई सामुन्नेमा राखेर व्यंग्य कस्छन्, प्रदेशमा पनि त्यही नीति अख्तियार गर्दै छन् ।

हजारौँलाई हसाउने मनोजको व्यक्तिगत जीवनका यस्ता रोचक/घोचक प्रसंग छन्, जुन उनका खाँटी फ्यानलाई पनि थाहा नहुन सक्छ । जस्तो, एसएलसी पास गरुन्जेल ११ वटा स्कुल बदल्नुपर्‍यो । ताप्लेजुङमा कखरा सिके, त्यसपछि पाँचथर, झापा, मोरङ हुँदै काठमाडौँको पद्मोदय स्कुलबाट एसएलसी सके । सानैमा बुबा बितेकाले पढ्नकै लागि आफन्तकहाँ ‘पारिवारिक पर्यटक’ हुनु परेछ । ०४५ को अन्त्यतिर राजधानी आए, त्यसपछि कलाकारिता घनीभूत हुन थाल्यो, सँगै राजनीति पनि । नजिकै आरआर र ल क्याम्पस थिए, त्यहाँ रोजै पञ्चायतविरुद्ध आन्दोलन हुन्थ्यो । मनोज नबिराई सहभागी हुन्थे, पञ्चायतमाथि व्यंग्य गर्थे, त्यो सर्कलमा हिट हुन थाले । भन्छन्, “आरआर र ल क्याम्पसको माहोल तथा अग्रज विद्यार्थीको सान्निध्यले मेरो कलालाई माझ्न सहयोग गर्‍यो ।”

क्याम्पसका कार्यक्रममा मच्चिदै व्यंग्य प्रस्तुति दिँदा मनोज फुच्चे नै थिए तर कहिल्यै धक मान्दैनथे । तत्कालीन घटनाक्रमबारे पूरापूर जानकारी राख्थे । थोरै तलमाथि हुँदा सत्ताले संकटमा पारिदिन सक्थ्यो । आन्दोलनकै दौरान मैतीदेवीमा गोलीको छर्रा लाग्यो, दस दिन अस्पताल बस्नुपर्‍यो । तैपनि मनोज हच्किएनन् । बरु यस्ता भोगाइले एकातिर कलाकारिताको गुणस्तर उकास्न भूमिका खेल्यो, अर्कातिर कमेडीलाई मनोरञ्जनमा सीमित गर्नुहुन्न भन्ने मान्यता विकास हुँदै गयो । साम्दे शेर्पा प्रेरणाको स्रोत छँदै थिए ।

नेपालको स्ट्यान्ड–अप कमेडीको जरा गाड्ने कलाकार हुन्, साम्दे । त्यसअगाडि नेपालमा एक्लै मञ्चमा उभिएर दर्शकलाई हसाइरहने कर्म र कलाकार खास थिएनन् । मनोज भन्छन्, “उहाँले हसाउने मात्र नभई, सामाजिक चेत र जिम्मेवारीबोधले भरिपूर्ण कमेडी गर्नुभयो । प्रस्तुतिमा शालीनता र शिष्टता हुन्थ्यो । म त्यसैबाट प्रभावित भएँ ।” यही गुणले हुनुपर्छ, हास्य कलाकारको भीडमा मनोजको पहिचान अग्लो छ । साम्देको सिको गर्दै स्ट्यान्ड–अप कमेडीलाई आत्मसात् गर्नु नै फलिफाप भयो । मह जोडी र सन्तोष पन्तको प्रहसन खुब हिट भएको जमानामा मनोज एक्लै मञ्चमा उभिएर दर्शकलाई घन्टौँ हसाउन थाले । प्रहसन एउटै विषयमा केन्द्रित हुन्थ्यो, स्ट्यान्ड–अप अनेक विषयमा । दर्शकले नयाँ स्वाद पाए ।

सुरुआती दिनमा मनोजले कलाकारिता र राजनीति एकसाथ अगाडि बढाए । पद्मोदय स्कुल पढ्दा तत्कालीन एमाले निकट विद्यार्थी संगठनको प्रारम्भिक कमिटी अध्यक्ष थिए । ०४६ को आन्दोलनमा स्कुले विद्यार्थीको मोर्चाको संयोजन समितिमा बसेर काम गरे । ०४९ मा आरआर क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवारी दिए, तत्कालीन संयुक्त जनमोर्चा निकट विद्यार्थी संगठनबाट । चुनाव सकियो, उनको प्रत्यक्ष राजनीति पनि सकियो । त्यसपछि कलाकारितामा पूर्णकालीन भए । कुनै पार्टी र भ्रातृ संगठनको सदस्यता नलिएको दाबी गर्छन् । आफूलाई हास्य कलाकारभन्दा हास्यव्यंग्य अभियन्ता भन्न रुचाउँछन् । कसैले कार्यक्रमका लागि बोलाउँदा ‘तपाईंको रेट कति हो’ भनेर सोध्दा चित्त दुख्छ । भन्छन्, “हास्यव्यंग्य पसल होइन, मूल्य तोक्ने । कलात्मक अभिव्यक्ति हो, सामाजिक जिम्मेवारी हो, चेतना हो । मेरो कर्म पनि त्यतै निर्देशित छ ।”

हास्यव्यंग्यमा मनोजको विशिष्ट छवि निर्माण हुनुमा अनेक कारण छन् । कमेडीको नाममा होलसेलमा गाली गर्दैनन्, तथ्यमा आधारित आलोचना गर्छन् । उनका हास्यव्यंग्य पात्र जहिल्यै सत्ता र शक्तिशाली हुन्छन् । सीमान्तकृत र श्रमजीवीलाई सधैँ सम्मान गर्छन्, उनीहरुको मजाक गर्दैनन् । मन्त्रीको पहिलो कार्यकालमा लालबाबु पण्डित लोकप्रिय भए । मनोजले सकारात्मक पात्रकै रुपमा लालबाबु बनेर हसाए । भन्छन्, “व्यंग्य गर्न सधैँ नकारात्मक पात्र र गाली, आलोचना नै नचाहिँदो रहेछ । तर के गर्नु, हाम्रो देशमा सकारात्मक काम गर्ने नेता भेट्नै पो मुस्किल छ ।” आफूले व्यंग्य गरेको पात्रकै सामु प्रस्तुति दिनु मनोजको खुबी हो । त्यस्ता पात्रसँग तर्क र तथ्यसंगत बहस गर्न आफू सदैव तयार हुने बताउँछन् ।

मनोजलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति दिलाएको हो, पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरले । दोस्रो जनआन्दोलनताका तत्कालीन राजा ज्ञानेन्द्र बन्नु आफैँमा साहस थियो, त्यसमाथि उनले हास्य कलेबरमा ढालेर राजा र राजतन्त्रप्रति जनताको भित्री आक्रोशअभिव्यक्त गरे । ज्ञानेन्द्रका अनेक आनीबानी र व्यवहारको खिल्ली उडाए । त्यसपछि नै हो, क्यारिकेचरमा मनोज जम्न थालेको । अनि माधव नेपाल बने, प्रचण्ड बने । बाबा रामदेव र अमिताभ बच्चन बने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेपछि भारतीय मिडियामा छाए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेपछि त पश्चिमा मिडियाको नजर परे । अमेरिकी अनलाइन सीबीएस न्युजले संसारका १८ कमेडियनमा मनोजलाई पनि समेट्यो । भन्छन्, “यी सबै निरन्तर कर्मको फल हुन् । मलाई घमन्ड छैन, बरु चुनौती थपिएको आभास हुन्छ ।”

पछिल्लो निर्वाचनको पूर्वसन्ध्यामा मनोजले विभिन्न सहर पुगेर पार्टीलाई बहुमत दिलाउन सार्वजनिक लबिइङ गरेका थिए । स्थिर सरकारले मात्र विकास र समृद्धितर्फ मोड्ने तर्क थियो उनको । त्यतिबेला नाम प्रस्ट नलिए पनि नेकपालाई जिताउन लागिपरेका थिए । नभन्दै अहिले नेकपाको दुई तिहाइको सरकार छ । पार्टी निकट कलाकर्मीले धमाधम नियुक्ति खाइरहेका छन् । नेकपा, त्यसमाथि पूर्वएमालेका नेताहरुसँग मनोजको पहुँच कसैबाट छिपेको छैन । उनलाई नियुक्तिको प्रस्ताव नआएको होला कि उचित पर्खाइमा छन् ? यी सवाल सुन्नासाथ मनोज एकछिन मौन बसे र यत्तिचाहिँ लेखिदिए हुन्छ भने, “नेताले कलाकारलाई घोडा बनाउँछन् । हामी घोडा भइदिन्छौँ । दाना हामीलाई खुवाउँछन् तर नियुक्तिचाहिँ अरुलाई खुवाउँछन् ।” उनलाई लाग्दो रहेछ, नेता मस्तिष्कले चल्छन्, गणितजस्तै हुन्छन् । स्रष्टा हृदयले चल्छन्, साहित्यजस्तै हुन्छन् । उनले थपे, “गणित र साहित्यको सम्बन्ध शत्रुतापूर्ण हुन्छ ।”

तर कलाकारलाई शक्तिमा पुग्न राजनीतिक पार्टीकै निगाह चाहिन्छ भन्ने होइन । गत वैशाखमा युक्रेनले नयाँ राष्ट्रपति पायो, भोलोदमिर जेलेन्स्की । जो हास्य कलाकार हुन्, मनोजजस्तै । देशको कार्यकारी पद सम्हालेको अभिनय गर्दै हसाउँथे । टेलिभिजनमा संयोगवश राष्ट्रपति बनेको पात्रको भूमिकामा देखिन्थे । त्यसको केही समयमै सम्पन्न राष्ट्रपतीय चुनावमा भारी मतका साथ विजयी भए । मनोजलाई पनि यस्तै रहर छ ? त्यसमाथि उनीसँग सक्रिय राजनीति गरेको अनुभव पनि छ । सुनाए, “छैन । मेरो बुद्धिको तहले नेता बन्न स्वीकार्दैन । म हास्यव्यंग्य क्षेत्रकै राष्ट्रपति र प्रधानमन्त्री हुन चाहन्छु । हरेक नागरिकले आ–आफ्नो क्षेत्रमा असल कर्म गरे भने देश बन्छ । सबै नेता बन्नु पर्दैन ।”

प्रकाशित: श्रावण २७, २०७६

×