मेयरको होर्डिङ बोर्ड मोह

- यम बम

पूर्वपश्चिम राजमार्गले जोडेको अत्तरिया । धनगढी र महेन्द्रनगर मात्र होइन, सुदूरपश्चिम पहाडका ७ जिल्ला जोड्ने पनि त्यही अत्तरिया । अत्तरिया चोकको हालत भने उदेकलाग्दो छ । चोकमा रहेको सानो उद्यान पनि कुरुप बनाइयो, व्यापारिक विज्ञापन राखेर । र, त स्थानीयले ती विज्ञापन च्यातिदिए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन भ्रमण वर्ष मनाउने सरकारको योजना छ । गोदावरी नगरपालिकाले पनि चोकमा व्यापारिक होर्डिङ बोर्ड राख्नुभन्दा सुदूरपश्चिमका गन्तव्यअंकित सामग्री राखे के जान्थ्यो होला । मेयरसापलाई लाग्ला, नाफामुखी होर्डिङ बोर्ड हटाएर पर्यटनमुखी सामग्री राखेर के गर्नु ?

बरु नयाँ योजना ल्याएछन्, ७० प्रतिशत व्यापारिक र ३० प्रतिशत धार्मिक पर्यटकीय क्षेत्र झल्काउने विज्ञान राख्ने । यो विषयमा हालै मात्र सहमति भएछ । नगरपालिकाको तर्क रहेछ– आम्दानीको स्रोत बढाउनु परेन ? त्यही भएर गोदावरी नगरपालिकाले १५ वर्षका लागि निजी कम्पनीलाई सुम्पेछ, त्यो चोक ।

एडीबी पर्खिएको विकास

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा मुख्यतः ३ समस्या छन्– साँघुरा सडक, अव्यवस्थित ढल र फोहोरमैला । सवारी चाप बढ्दो छ तर वर्षौंदेखि सडक विस्तार हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकार धनगढी बजारमै छन् तर न्यूनतम पूर्वाधार निर्माणसमेत ठप्प छ । भित्री सडक स्तरोन्नति नगरेको वर्षौं भयो, मुख्य सडकको हालत पनि दयनीय छ । एसियाली विकास बैंक (एडीबी) को ऋण लगानीमा सहरी विकास आयोजना सन् २०१७ मै सुरु हुनुपर्ने हो ।

तर स्थानीय सरकारको लाचारीका कारण लम्बिँदै आयो । एडीबीको सर्त थियो– ल्यान्डफिल साइट अगाडि बढेपछि मात्र पूर्वाधार निर्माणका काम सुरु हुन्छन् । तर फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट कहाँ बनाउने टुंगो छैन । बरु उपमहागनरपालिकाले बडेमाको भवन ठड्याएको छ, सटर भाडामा लगाउन । सडकका नालीका ढकनी उप्किएका छन् ।

स्तरोन्नति गरिने सडकको दायाँबायाँ पानी निकासका लागि नाली, फुटपाथ, सडक बत्ती, रेलिङलगायतका संरचना हुने सपना देखाइएको थियो, धनगढीबासीलाई । आयोजनालाई देखाएर वर्षौंसम्म बस्ने तर गाँठो नफुकाइदिनाले कायल बनेको एडीबी एक कदम पछि हटेको छ ।

एडीबी आफ्नो पूर्ववर्ती सर्तबाट पछि हटेपछि सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाबीच योजना कार्यान्वयन गर्ने विषयमा बल्ल समझदारी भएको छ । चिन्ताको अर्को पक्ष के भने जसरी काठमाडौँमा फोहोरमैला व्यवस्थापन सधैँको समस्या बनेको छ, धनगढी पनि अछूतो नहुने कि भनेर । एडीबीले ऋण लगानी गरिरहेका बेला ल्यान्डफिल साइट कहाँ बनाउने भनेर टुंगो लगाउन नसक्नुले उपमहानगर र त्यहाँका जनप्रतिनिधिको लाचारीपन प्रस्ट्याउँछ ।

पाँच वर्षे अवधिको यो आयोजनाको दुई वर्ष त्यत्तिकै खेर गयो, अब ३ वर्षमा कति काम हुन्छ, हेर्न बाँकी छ ।

बसमै अर्गानिक आँप

विषादीरहित तरकारी र फलफूलको खुबै चर्चा छ, काठमाडौँमा । भारतबाट आयातीतको विषादी अनिवार्य परीक्षण र लगत्तै स्थगनको निर्णयपछि जनजिब्रोमा झुन्डिएको शब्द हो, अर्गानिक ।

काठमाडौँमा त अर्गानिक बिरलै पाइन्छ । तर यस पटक बसमै चाख्न पाइयो, बगैँचाबाट टिपेको ताजा आँप । धनगढी–काठमाडौँ रात्रि बस यात्रामा यस्तै संयोग मिल्यो । काठमाडौँमा अध्ययनरत छोरालाई भेट्न हिँडेका एक वृद्ध लम्कीदेखि ‘सिट पार्टनर’ बन्न पुगे ।

संयोग कस्तो भने म उनको मातृ (थारु) भाषा बुझ्न र बोल्न सक्ने भएकाले चाँडै घुलमिल भयौँ । झोलाबाट आँप झिक्दै उनले भने, “विषादी हालेर पकाएको होइन, बगैँचाबाट टिपेको आँप ।”

हुन पनि अक्का स्वादिलो रहेछ आँप । अचेल त गाउँघरका बगान (बगैँचा) हराएको गुनासो थियो उनको । हुन पनि कुनै बेला गाउँघरमा आँपका ठूल्ठूला बगैँचा हुन्थे, सिजनमा आफ्नो गाउँघरकै स्वाद चाख्न पाइन्थ्यो ।

प्रकाशित: श्रावण २७, २०७६