चिनियाँ कवि जिदी माजियाका मर्मस्पर्शी तीन कविता

- युयुत्सु आरडी शर्मा

पहिलो पटक परिचय पाउनुअघि नै मलाई लागेको थियो, यी सन्त पक्कै कवि हुन् ।

त्यो साँझ बेइजिङ नर्मल विश्वविद्यालयको साहित्यिक कार्यक्रमपछि हाम्रो गन्तव्य थियो, लु सुन सेन्टर । बेइजिङका व्यस्त बजार हुँदै एक घन्टापछि हाम्रो गाडी लु सुन सेन्टर छेउको पार्किङमा रोकियो । एउटा साँघुरो बाटो भई सेन्टरको मुख्य द्वारमा पुग्ने बेला खुड्किलोमा बेफिक्री बसिरहेका व्यक्तिलाई देखेँ । मानौँ, तिनी राजधानी सहरमा होइन, टाढा कुनै हिमाली गाउँको चकमन्न देउराली छेउ उभिएर अनन्तसम्म फैलिएका हरिया डाँडा नियालिरहेका थिए । मानौँ, स्वच्छ आकाशमा साइबेरियन हाँसले बनाइएका अदृश्य मार्गमाथि ध्यानमग्न थिए ।

६ जना कविको टोली नजिक पुगेपछि उनी हाम्रो स्वागतार्थ उभिए । लुसुन सेन्टरका निर्देशक उनै रहेछन् । अर्थात्, प्रख्यात चिनियाँ कवि जिदी माजिया ।

पहिलो भेटमै मैले उनको अनुहारमा अनौठो आत्मीयता देखेँ । पहिले पनि कहीँ भेटेजस्तो । उनको अनुहार पाटनका कास्यकर्मी नेवार दाजुझैँ वा अन्नपूर्ण क्षेत्रमा हिँडिरहेका बेला भेटेका कुनै गुरुङ साहूजीझैँ देखिन्थ्यो ।

अलिक पछि रेन्मेन विश्वविद्यालयमा माजियालाई भेटेको प्रसंग उप्काउँदा मेरी साथी योलेन्दा अचम्मित भएकी थिइन् । “माजिया चीनका लेजेन्ड कवि हुन्,” उनले भनेकी थिइन्, “उनी यति ठूला हस्ती हुन् कि इमेलको जवाफ नदिए पनि मेरो कुनै गुनासो हुने छैन ।” तर योलेन्दाको भनाइको ठीकविपरीत केही सातापछि माजियाको इमेल पाएर म छक्क परेको थिएँ ।

‘मेरो प्रिय भाइ, युयुत्सु ...’ बाट सुरु भएको त्यो पत्र निकै आत्मीय थियो, आफन्तले नै लेखेजस्तो ।

माजिया चीनको मूल धार हान जातिको कुलबाट नभई सिचुआन प्रान्तको पहाडी भेगमा आदिकालदेखि बसोबास गर्दै आएका ‘यी’ प्रजातिका कवि रहेछन् । उनीबाटै उपहार प्राप्त कवितासंग्रह वर्डस् अफ फायर (आगोका शब्दहरु) पढ्दा माजिया चिनियाँ मात्र नभई हिमाली कविजस्ता अनुभूति भयो । माजियाले हिमाली कविले लेख्ने विषयवस्तु– आमा, पहाड, झाँक्रीहरु, पूर्वज आत्मा, रक्सी र आफूले भेटेका वा भेट्न खोजेका कवि रहेछन् ।

माजियाका कवितामा जन्मस्थलका नोसुभाषीका पृथक् मिथक, लोकभाका, महाकाव्य र त्यसमा रहेका महानायकको स्तुतिगान गरिएको छ । यो संस्कृति मूल धारको हान जीवनपद्धति र नेपाली जनजातिको संस्कृतिसित मिल्दोजुल्दो रहेछ ।

नोसु संस्कृतिमा हुर्केका माजिया उच्च शिक्षाका लागि छेङ्दुस्थित साउथ वेस्ट नेस्नालिटिज कलेज गएछन् । त्यहाँ पढ्दा नै उनी एउटा नोसु कविका साथै चिनियाँ भाषा, राष्ट्रिय साहित्यिक धरोहर र विश्व साहित्यका सन्दर्भमा समेत स्थान बनाउन प्रयत्नरत थिए । स्नातकपछि उनी घर फर्के र कविता लेखन, प्रकाशनमा व्यस्त भए ।

चर्चित पत्रिका स्टारमा कविता प्रकाशन आफ्नो कवि करिअरमा एउटा महफ्वपूर्ण घटनाको रुपमा रहेको उनको स्वीकारोक्ति छ । लगत्तै उनले १९८६ मा राष्ट्रिय कविता पुरस्कार जितेका थिए । पछि गएर प्रसिद्ध कवि आई क्विङको छत्रछायामा आधुनिक चिनियाँ कविताको असल उत्तराधिकारी बन्न सफल भए । साथै अन्तर्राष्ट्रिय मूल धारमा रहेका कवि लोर्का, पाज, नेरुदा, भेलाजिओ, आम्चाई, सिम्वोस्का, साइफर्ट र ल्याङ्स्टन ह्युजको प्रेरणामा पनि उनले कविता सिर्जना गरे ।

माजियाको लेखन परम्परागत नोसु संसार र मूल धारको चिनियाँ वाङ्मयबीचको सेतुका रुपमा रहेको छ । पश्चिमेली आलोचक तथा अनुवादक डेनिस मेयरका विचारमा आयरल्यान्डका गेलिक वा आइरिस भाषा क्षेत्रबाट आएका अंग्रेजीमा लेख्ने कविझैँ माजियाले चिनियाँ भाषामा लेखेका कवितामा आफ्नो जन्मस्थल र जनजातीय संसारको सुगन्ध भेटिन्छ ।

माजियाको काव्यसंसारमा आमाहरु अनि प्राचीन आत्माको गीत गाइरहेका भेटिन्छन् । उनको काव्यमा नोसु प्रान्तको स्तुतिगान सशक्त छ । यहाँ झाँक्रीहरुले ढ्याङ्ग्रो ठोक्छन् र गीत सुनाउँछन्, जन्म र मृत्युको । आह्वान गर्छन्– सूर्य, तारा, खोलाको/प्राचीन नायक, देवता अनि तिनका दैवी शक्तिको ।

माजियाको प्रांगणमा देखिन्छन्, ऋतुको प्रार्थना र बुटु युवतीको छालाको रङबाट चिनिन्छ मातृभूमिको माटोका रङ । उनले गुनियालाडाका पर्वतका बाख्राका खुर बजार्दै चकमन्न उपत्यकाका बाटोमा अद्भुत र जादूयी हिमाली संसारको प्रखर परिचय दिएका छन् । उनको जगत्मा एक पहाडी तरुनी छन् । लुगुताल र लायन नाम गरेको पहाड उनको अजर आमा । केही अज्ञात कारण आमाले छोरीलाई विवाह गरी पठाएकी छैनन् ।

यहाँ सुन्दर आमाहरुको गीत पवित्र, निक्खर र गहिरो बग्ने खोला रहेछ । आमाहरु अप्सराझैँ सुन्दर हुन्छन् । आमाको मृत्युपछि पनि उनको मृत शरीर दायाँतिर फर्काएर राखिन्छ मसानमा । भनिन्छ, यसले उनको देब्रे हात चर्खामा ऊन कात्नका निम्ति खाली हुनेछ, आत्मालोकमा पनि ।

त्यसो त एउटा जनजाति मात्रका कवि होइनन्, माजिया । उनी सम्पूर्ण चीनका प्रखर स्वर हुन् । उनी भन्छन्, “यो समय हो निर्णय गर्नका लागि । यही समय हो, नेता र नागरिकले आफ्ना भाग्य साझा गर्नका लागि । याद राख्नुस्, चीनमा यस युगले तपाईंहरुका हाडमा छाप छाडिदिनेछ ।”

पछिल्ला कवितामा माजिया इटालियन राष्ट्र निर्माता एवं महाकवि दाँतेको घर पुगी उनका ढोका ढकढकाउँछन्, अमेरिकी पेन्टर ओ किफीको कालो कपालमाथि कविता लेख्छन् र स्पेनिस कवि सिजर भेलाजिओको चिहानमाथि उभिएर उनको जीवन संघर्षमाथि चिन्तन गर्छन् ।

माजिया इतिहास परम्परा र आधुनिकताको द्वन्द्वको प्रश्नसित संघर्षरत काव्यरथी हुन् । उनी यी प्रजातिका कवि त भइहाले, सिंगो राष्ट्रका सुन्दर मानिस र विश्वभरिका अग्रज कविस्रष्टाको मुटुको ढुकढुकीको प्रखर स्तुतिगान गर्ने आधुनिक चीनका हिमाली कवि हुन् ।

माजियाका तीन कविता

स्वतन्त्रता

मैले एक नामी विद्वानलाई सोधेको थिएँ–

के छ त स्वतन्त्रताको असली अर्थ ?

तिनको उत्तरमा सत्य वचन थियो

मलाई लागेको थियो कि उनका शब्दले

स्वतन्त्रतालाई सम्पूर्ण परिभाषित गरेका छन्

 

एक साँझ

नताली चरन क्षेत्रमा

मैले एउटा घोडा देखेँ, डुलिरहेको उन्मुक्त

एकदम स्वतन्त्र, निर्देशविहीन, दिशाविहीन

रक्सीले द्युत एक कज्जाक घोडसवार

उसको ढाडमाथि सुतिरहेको थियो

मस्त मुद्रामा

 

हो, मेरा लागि ती विद्वान्ले स्वतन्त्रतालाई परिभाषित गरेका थिए

तर कसले बताउन सक्छ मलाई ?

नताली चरन क्षेत्रमा

कुनचाहिँ बढी स्वतन्त्र थियो

घोडा कि उसमा सवार कज्जाक ?

 

जवाफहरू

के तिमी अझै सम्झन्छौ

जिली बुटे जाने त्यो गोरेटो

एउटा महझैँ मधुर गोधूलि साँझ

उनले मलाई भनेकी थिइन्–

मेरो बुट्टा भर्ने सियो हराएको छ,

ल चाँडै त्यसलाई खोज्न मेरो मद्दत गर्नुस् त

(मैले चारैतिर खोजेँ त्यस गोरेटोमा)

के तिमी अझै सम्झन्छौ

जिली बुटे जाने गोरेटो

एउटा गह्रुँगो गोधूलि साँझ

मैले उनलाई भनेँ–

मेरो मुटुमा केही गडेको छ गहिरोसँग

के त्यही बुट्टा भर्ने सियो त होइन ?

 

लोकगीत

मानिस घर फर्किसके हाट बजारबाट

तर मेरो कविता फर्केको छैन

उसलाई मातेको देखिएको थियो

हतास मुद्रामा लडबडाइरहेको

हातमा सुनौलो हारपिन बाजा लिएर

एउटा घरको पालीमुनि

साँझपख चौबाटोमा

 

भेडाहरू झरिसके डाँडाबाट

तर मेरो कविता अझै फर्केको छैन

नाइके भेडाले

यसलाई झलक्क देखेको थियो

सूर्य तलतिर ढल्केका बेला

यसले नियालिरहेको थियो रक्ताम्य पहाडहरू

र, रुन सक्ने बिन्दुभन्दा पर पुगिसकेको थियो

गहिरो शोकमा लिप्त हुँदै

सबै छिमेकी निदाइसके

तर मेरो कविता अझै घर फर्केको छैन

मूलढोकामा म बसिरहेको छु प्रतीक्षारत

कसरी बिर्सन सक्नु म यस्तो रात!

स्केचहरु : जिदी माजिया

प्रकाशित: श्रावण २७, २०७६