[पुस्तक समीक्षा] युद्धका ती दिन : एक पत्रकार महिलाको भोगाई

- माधव बस्नेत

खुलासा एक

‘..०५९ जेठ ६ मध्याह्नतिर संकटकालपूर्व जनदिशा दैनिकमा कार्यरत अतिन्द्र न्यौपानेले मेरो पेजरमा फोन गर्नुभयो । मैले फर्काएपछि उहाँले एक पटक भेट्नुपर्ने काम छ भन्नुभयो ।... मैले ५ बजेतिर टेकुमा भेटौँला भनेँ ।

...साँझ करिब पौने ५ बजेतिर अतिन्द्रलाई भेट्न जान्छु भनेर हिँड्न लाग्दा देवी दाइले बाटोबाटोमा भेट्न मिलाउँदा ‘फसिएला है, ख्याल गर्नू’ भन्नुभयो । उहाँको भनाइ नसकिँदै मैले ‘दाइ यो ज्यानले संकटकाल पचाउन सिकिसक्यो, ६ महिनाको संकटकाल त पचाइयो भने अब त के होला र’ भनेँ ।...

साथी भेट्न गएकी मैले एक्कासि प्रहरीको फन्दामा परेपछि सोचेँ, सायद बाहिरी संसार देख्नु यति नै हो । चारैतिर हेरेँ र उनीहरुले रोकेर राखेको ट्याक्सीमा चढेँ । म जसलाई भेट्न आएकी थिएँ, ट्याक्सीभित्र उनै पो रहेछन् ।’

खुलासा दुई

..यत्तिकैमा सेन दाइले परिचित स्वरमा सोध्नुभयो,

‘संगीता बैनी, तपाईं कति बेला गिरफ्तार हुनुभएको ?’

यो आवाज सुनेपछि झसंग भए । अब भने सेन दाइ पनि यहीँ हुनुहुँदो रहेछ भन्नेमा शंका बाँकी रहेन । मैले दाइको प्रश्नको जवाफ दिँदै भनेँ, ‘आज ५ बजे दाइ ।’

मैले उहाँलाई सोधिहालेँ, ‘दाइ तपाईं कहिले र कसरी गिरफ्तार हुनुभयो ?’

म पनि आज दिउँसो गिरफ्तार भएको हुँ । मलाई शिवजीले ल्याउनुभयो बैनी ।’

..मजस्तै उहाँ पनि आफ्नै साथीको गद्दारीका कारण गिरफ्तार हुनुभएको रहेछ ।

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्धमा कलममार्फत सक्रिय सहभागिता जनाएकी पात्र हुन्, संगीता खड्का । खासगरी ०५७ देखि तत्कालीन माओवादीको मुखपत्र जनादेश साप्ताहिकमा आबद्ध खड्काको पुस्तक युद्धका ती दिनमा यस्ता धोकाधडीका घटना समेटिएका छन् ।

युद्ध भयको क्षेत्र त हो नै, त्योभन्दा ठूलो अनिश्चयको साधन हो । पुस्तकमा उनले आफू र आफू आबद्ध युद्धभित्रका यति विदीर्ण वर्णन समेटेकी छन् कि पढ्दै जाँदा मन–मष्तिष्क आङ नै सिरिंग हुन्छ । माओवादीभित्रको प्रवृत्ति कस्तो थियो, गिरफ्तार गरिएका नेता/कार्यकर्तालाई सुरक्षा निकायका व्यक्तिबाट कसरी बर्बर यातना दिइन्थ्यो– पुस्तकले मान्छेभित्रको राक्षसीपन उजागर गर्दा आँखामा आँसु टल्पलिन्छ । खड्का लेख्छिन्, ‘गिरफ्तार भएका साथीहरु नै यातना खप्न नसकेर गद्दार बनेपछि त झन् कसको के लाग्दथ्यो र ! यसकै परिणाम थियो, सेन दाइ र मेरो गिरफ्तारी ।’

कृष्ण सेन इच्छुक माओवादीका समर्थक त थिए नै, त्योभन्दा बढी एक पत्रकार र स्थापित कविसमेत थिए । उनी ०५८ को संकटकालपछि सरकार, माओवादीबीच वार्ता गराउन पहल गर्ने एक पात्र पनि थिए । सरकारका तर्फबाट माओवादी नेताहरुलाई ‘कुरा’ पुर्‍याउने एक सम्पर्क–सेतु थिए । तिनै सेनलाई ६ जेठ ०५९ मा काठमाडौँको मध्य बानेश्वरबाट पक्राउ गर्न सफल भयो, प्रहरी । यसपछि उनले फेरि यो संसार देख्न पाएनन् । माओवादी आफू पक्राउ गरेपछि आफ्नै सहकर्मीलाई कसरी फन्दामा पार्थे भन्ने जानकारी यो पुस्तकको सशक्त पक्ष हो ।

पुस्तकमा समेटिएका विषय अध्ययन गर्दै जाँदा जिज्ञासा उठ्छ, के नेपाली समाजले नै यस्ता दिन भोग्नुपरेको थियो ? छिट्टै उत्तेजनामा आउने र चाँडै बिर्सने बानी भएकालाई अतीतको स्मरण गराउँछ । जसले युद्ध रोजिरहेका छन्, तिनीहरुले अध्ययन गर्ने हो भने विरक्ति पनि जगाउँछ । खड्का माओवादी आन्दोलनमा कसरी संलग्न हुन पुगिन्, युद्ध र त्यसमा सहभागी एउटा सदस्यका कारण उसका परिवार, आफन्तले समेत कति धेरै सास्ती पाउँछन् भन्ने उदाहरण पनि हो यो पुस्तक ।

युद्ध कति निर्मम हुन्छ भन्ने अनुभव संग्रह हो, यो पुस्तक । युद्धको प्रत्यक्ष मार नदेख्ने/नभोग्नेका लागि राम्रो खुराक छ यसमा । युद्ध संवाददाताका रुपमा भूमिगत रेडियोमा संलग्न भएर काभ्रे, मकवानपुरतिर चहार्दाका कहानी रोचक छन् ।

सर्वसाधारणलाई समेत यातना दिएर माओवादी र त्यसका सहयोगी हुँ भन्न बाध्य पारिन्थ्यो भन्ने खुलासा हुन्छ । खड्काले आफ्नो प्रेम, विवाहदेखि पाल्पालगायत लडाइँसम्म समेटेकी छन् । युद्धको कोलाहल, विपत्ति, यातना, भय, त्रासको खसोखास रिर्पोताज हो यो । पुस्तकमा केही अंश र शब्द बारम्बार दोहोरिएका छन् । लेखन/सम्पादनमा त्यति ध्यान पुग्न नसकेको देखिन्छ ।

पुस्तक : युद्धका ती दिन (एक पत्रकारको भोगाइ) | लेखक  : संगीता खड्का  | प्रकाशक : सांग्रिला पुस्तक प्रालि | पृष्ठ : २४८ | मूल्य  : ३८४ रुपैयाँ |

प्रकाशित: श्रावण २८, २०७६