निराश बाँदरहरु

- सुरेश किरण

घटना गत साताको हो । सिन्धुपाल्चोकमा एकैचोटि १६ वटा बाँदर मरेको घटनाले पूरा जिल्ला हल्लाइदियो । चर्चा त झन देशभरि नै भयो । एउटै पोखरीमा लगालग १६ वटा बाँदर झ्वाम्म–झ्वाम्म फाल हाल्दै मरेपछि यसले चारैतिर चर्चा चलाइदियो– आखिर किन हाम फाले यी बाँदरहरु ?

खास कारण त कसैलाई थाहा छैन । किनभने हाम फाल्ने कुनै पनि बाँदरले आफ्नो यो कार्यका लागि कुनै किसिमको ‘नोट्स’ छाडेर गएको छैन । अतः हामी एउटा काल्पनिक कारणबारे विमर्श गर्न सक्छौँ ।

वास्तवमा भएको के थियो त भन्दा फाल हालेकै बिहान सिन्धुपाल्चोकको कुनै जंगलमा बाँदरहरुको एउटा भेला भएको रहेछ । कोही रुखमा बसेका थिए, कोही टोड्कोमा थिए, कोही भुइँमै पनि थिए । भेलाको कारणसमेत खोल्दै एक वरिष्ठ बाँदरले कुरा राखे, ‘साथीहरु, देशमा के भइरहेको हो, थाहा छैन । हामी सम्पूर्ण बाँदर जातिका लागि खतराको स्थिति आउँदै छ ।’

सबै बाँदरका कान ठाडा भए । उनै वरिष्ठ बाँदरले भन्दै गए, ‘जंगलमा बसेर हामी जे–जे काम गर्छौं, त्यो अहिले सहरमा बस्ने केही मानिसले पनि गर्न थालेका रहेछन् । जंगलमा हामी आफ्नो हातमा जे वस्तु पर्छ, त्यसलाई बिगारेरै छाड्छौँ नि, त्यही काम अहिले सहरमा पनि केही मानिसले गर्न थालेका छन् ।’

सबै बाँदरले एकआपसको मुख हेरे । ‘हामी जंगलमा आफ्नो घर त बनाउँदै बनाउँदैनौँ, अरुले बनाएको पनि बिगार्ने गर्छौं । अहिले सहरमा पनि केही मानिसले त्यही काम गर्न थालेका छन् ।’

‘ओहो, सहरमा पनि हाम्रो नक्कल ?’ एउटी पोथी बाँदरनीले भनी ।

‘यो नक्कल मात्र होइन । अब त उनीहरु सक्कली बाँदर, हामी नक्कली बाँदर बन्ने खतरा आउँदै छ । मानिस हामीलाई होइन, उनीहरुलाई बाँदर भन्न थालिसकेका छन्, वरिष्ठ बाँदरले अनुहार अझ गम्भीर बनाउँदै भने, ‘अब भन्नुस्, हामी यता जगाजग हुँदाहुँदै सक्कली वानर जाति भन्दै अरु नै कोही आउँछ भने हामी बाँच्नुको के अर्थ ? हामी त बाँच्नुकै अर्थ रहेन ।’ साँच्चै त्यसपछि सबैले नै जीवनको सार देखेनन् ।

त्यसपछि घटना के भयो, त्यो हामीलाई थाहा छँदै छ । 

प्रकाशित: श्रावण ३०, २०७६

ट्याग: परिहास