भीरलाई डोजरले कोपरेजस्तो
बनजंगलको अधिक दोहनलाई राज्यले नै कसरी वैधानिकता दिन्छ भनेर बुझ्न चन्द्रागिरि हिल्सलाई भाडामा दिइएको प्रकरण हेरे पुग्छ ।
बनजंगलको अधिक दोहनलाई राज्यले नै कसरी वैधानिकता दिन्छ भनेर बुझ्न चन्द्रागिरि हिल्सलाई भाडामा दिइएको प्रकरण हेरे पुग्छ । ३६ हेक्टर वन ४० वर्षका लागि भाडामा लिएको चन्द्रागिरि हिल्सले एकपछि अर्को गरी अवैध भौतिक संरचना बनाउँदै लगेको छ । काठमाडौँ उपत्यकामा पानीको पुनर्भरण (रिचार्ज) गर्ने अमूल्य सम्पदा जोगाउन राज्य लाग्नुपर्नेमा उल्टै विनाशको साझेदार बन्न पुगेको देखिन्छ ।
यसैको पछिल्लो उदाहरण हो, चन्द्रागिरिस्थित भालेश्वर डाँडामा नियमविपरीत रिसोर्ट ठड्याउँदा वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ जरिवाना गरायो भने पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बनाउनुपर्ने निर्णय गर्यो । अवैधानिक संरचनामा रोक लगाउनबाट पन्छियो । वातावरण मन्त्रालयका पूर्वसहसचिव बटुकृष्ण उप्रेती भन्छन्, “राज्यले चाहेको भए ती संरचना भत्काउन सक्थ्यो । बनिसकेको संरचनाको पूरक ईआईए गराउने निर्णय कसरी भयो बुझ्न सकिनँ ।”
उप्रेतीको भनाइमा निर्माण चरणमा रहेको भए पूरक ईआईए गरेर वातावरणीय क्षति न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न सकिन्थ्यो । तर निर्माण सम्पन्न भइसकेपछि पूरक भन्नु ‘वैधता दिने बाटो’ मात्र हो ।
चन्द्रागिरिले ईआईएविपरीत अत्याधुनिक ५ वटा कंक्रिट संरचना निर्माण गरेर रिसोर्ट सञ्चालनमा ल्याउनुअघि नै विवादित बन्यो । तर नियमनकारी निकाय चुप रहेकामा उजुरी परेपछि मात्र निरीक्षण भयो, गत वर्ष । वातावरण विभागको सिफारिसअनुसार वन तथा वातावरण मन्त्रीस्तरीय निर्णयबाट जरिवाना भएको थियो ।
रिसोर्ट बनाउन भालेश्वर डाँडा सम्याएछेउबाटै ११ र १२ साउनमा पहिरो खस्यो । त्यसपछि पहिरोलाई प्लास्टिकले छोप्ने प्रयास गरियो । प्राकृतिक स्रोतको दोहनले उल्टै हामीलाई नोक्सान पुर्याउँछ भन्ने उदाहरण हो, यो ।
भालेश्वर डाँडाबाट यसरी नै पहिरो खसिरहने हो भने रिसोर्ट नै जोखिममा पर्ने देखिन्छ । यसरी डाँडा खन्ने क्रम बढिरहने र वन नासिँदै जाने हो भने ठूलो पहिरोको जोखिम पनि उत्तिकै छ । पर्यावरणमा असन्तुलन ल्याउने भएकाले जंगलभित्र रिसोर्ट सञ्चालन गर्नै नहुने दाबी गर्छन्, वातावरणविद् ।
तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले १९ भदौ ०६९ मा स्वीकृत गरेको चन्द्रागिरिको ईआईए प्रतिवेदनमा भालेश्वरमा वातावरणमैत्री कटेजसहितको ‘इको रिसोर्ट’ तयार गरिने उल्लेख छ । उक्त ईआईए स्वीकृत हुँदा नै विरोध भएकामा त्यसलाई लत्याउँदै चन्द्रागिरि विनाशतर्फ अगाडि बढेको देखिन्छ । रिसोर्ट सञ्चालकको तर्क छ– वन विनाश कम होस् भनेर कटेजको सट्टा स्थायी संरचना बनाइएको हो । कटेज सञ्चालनका लागि अनुमति दिँदा नै वातावरणविद्ले विरोध गरेका थिए तर त्यसलाई बेवास्ता गर्दै रिसोर्ट बनाइयो ।
सय कोठा क्षमता भनिएको रिसोर्टमा ४८ कोठा यसअघि नै सञ्चालनमा आइसके । उद्घाटन नै नभएको रिसोर्टमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहितका नेताहरुले आवासीय बैठकसमेत गरिसकेका छन् । चन्द्रागिरिले रिसोर्टबाहेकका भौतिक संरचना बनाउँदा पनि वातावरणीय पक्षलाई ध्यान दिएको पाइँदैन । भाडामा लिएको वन क्षेत्रबाट रुख काटेर यसअघि नै भौतिक संरचना बनाइसकेको छ, चन्द्रागिरिले ।
जैविक विविधताका दृष्टिले महत्वपूर्ण चन्द्रागिरि डाँडामा केबलकार, रिसोर्ट र फनपार्क सञ्चालनका लागि लिजमा दिने निर्णय नै विवादित थियो । समुदायले संरक्षण गरेर हुर्काएको वन (३६ हेक्टर) लाई कबुलियतीमा रुपान्तरण गरी निजी कम्पनीलाई लिजमा दिने निर्णय तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेको थियो, १८ माघ ०६७ मा । उपभोक्ताले विरोध गरे पनि कुनै सुनुवाइ भएन ।
वन ऐन, ०४९ अनुसार प्रस्ताव आह्वान गरी राष्ट्रिय वनको कुनै क्षेत्र संगठित संस्था या उद्योगलाई कबुलियती वनका रुपमा दिन सक्ने व्यवस्था छ । सरकारले प्रस्तावै आह्वान नगरी वन क्षेत्र चन्द्रागिरिलाई लिजमा दिएको थियो ।
नजिकै अर्को विनाशको तस्बिर देखिन्छ, थानकोट–चित्लाङ सडक । तराईलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गका (माथि दायाँ) रुपमा लिइएको यो सडक बनाउन होइन, भत्काउन थालिएको आभास हुन्छ । भीरलाई डोजरले कोपरेजस्तो देखिन्छ ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...