बाँकी जीवन शून्यतामा बित्ने हो कि !
रहरैरहरमा गाएका थिए उनले । संगीत ज्ञान थिएन । तर त्यो गीत ओमविक्रमले आफ्नै लागि गाएझैँ भयो । किनभने उनले जीवन नै संगीतमा समर्पण गरे ।
‘जिहे छपु म्ये खः...’
काठमाडौँ न्युरोडको नेवारी समुदायमा हुर्किए ओमविक्रम विष्ट । उनीहरुकै भाषा रहनसहन आत्मसात गरे । पहिलो गीत पनि नेपाल भाषाकै गाए, दस वर्षको उमेरमै । डबलीमा गाएको उक्त गीतको अर्थ हुन्छ, ‘म स्वयं एउटा गीत हुँ ।’
रहरैरहरमा गाएका थिए उनले । संगीत ज्ञान थिएन । तर त्यो गीत ओमविक्रमले आफ्नै लागि गाएझैँ भयो । किनभने उनले जीवन नै संगीतमा समर्पण गरे । यो पाँच दशकमा अनेक उपमा पाएका छन्, नेपाली पपका सूत्रधार, पपका प्रणेता, पपका जननी आदि–इत्यादि । उनलाई ‘पप–सम्राट’ मान्ने जमात पनि ठूलो छ । उपाधि जे दिए पनि उनीसँगै नेपाली पप सुरुआत भएको तथ्य कसैबाट छिपेको छैन ।
नेपाली संगीतका यी ‘लेजेन्ड’ तीन वर्षदेखि अमेरिकामा छन् । तीन वर्ष नै भयो, उनका दुवै मृगौलाले काम नगरेको, स्टेजमा गिटार बजाउँदै नगाएको अनि सबै गीत रेकर्ड भइसकेको नयाँ एल्बम स्टुडियोमै थन्किएको । तर हरेश खाएका छैनन् । अमेरिकाबाट अनलाइन कुराकानीमा ओमविक्रमले सुनाए, “मृगौला फेल भए पनि एल्बम स्रोतामाझ पुर्याउँछु भन्ने आत्मविश्वास फेल भएको छैन ।” न्युयोर्कमा बस्ने ओमले सबै ध्यान स्वास्थ्य हेरविचारमा लगाएका छन् । साताको तीन पटक डायलासिस गर्नुपर्छ । साधना रोकिएको छ तर जब संगीतको कुरा हुन थाल्छ, शरीरमा बेग्लै स्फूर्ति सञ्चार हुन्छ । नेपालसँग ओमविक्रमले संगीतसँगै मृगौला फेल भएपछिको अनुभव पनि खुलेर सुनाए ।
पहिले स्वास्थ्यको कुरा गरौँ । ओमविक्रमको घुँडामा समस्या देखिएको थियो । धेरै दुख्न थालेपछि नियमित पेनकिलर खाए, १८ दिनसम्म । मधुमेह त पहिल्यैबाट थियो । उनी सम्झन्छन्, “पेनकिलरले ‘क्रियाटिनाइन’ बढेपछि किड्नी फेलियर भएछ । मधुमेह भएकाले पेनकिलर खानै नहुने रहेछ । तर मलाई के थाहा !” त्यतिबेला नेपालमै थिए, यहाँ उपचार हुने छाँटकाँट देखिएन । अमेरिकामा छोरीको परिवार थियो, उनी आफैँसँग ग्रीनकार्ड थियो । त्यसैले उपचारकै निम्ति नेपाल छाडे । त्यहाँ पुगेपछि उनको आत्मविश्वास एकाएक उकालो लागेछ । नेपालमा मृगौला फेल हुनासाथ मरिहालिन्छ भन्ने भ्रम छ । अमेरिकामा डायलासिस गरेरै २०–२५ वर्ष बाँचेकाहरु भेटे । यता, खानमा अनेक बन्देज हुन्छ । मासु नखानू भनिन्छ । ओमविक्रम भन्छन्, “तर यहाँ म टन्न मासु र खाना खान्छु । हाम्रा लागि स्याउ र भुइँकटहर अति उत्तम रहेछ । केरा र सुन्तलाचाहिँ खानै हुन्न ।” नियमित योगा र अन्य शारीरिक व्यायामले तन्दुरुस्त बनाएको छ । उनी मुस्कुराउँछन्, “किड्नी फेल भएकाले मात्रै होइन, एक दिन सबै मर्नुपर्छ । त्यसैले किन चिन्ता ? बाँचुन्जेल हाँसीखुसी रहने हो ।” सायद यही कारण हुनुपर्छ, जो भेट्छन, कोही पत्याउँदैनन्, तीन वर्षदेखि किड्नी फेल भएको बिरामी हो भनेर । जबकि उनको उमेर नै ६४ पुगिसक्यो ।
ओमविक्रम दंग हुनुको कारण अर्कै रहेछ, चाँडै मृगौला प्रत्यारोपण हुने भएको छ । त्यसपछि नयाँ जीवन सुरुआत हुनेमा पूर्ण आशावादी छन् । खासमा अहिले पनि आफू रोगी हुँ, गाउन सक्दिनँ भन्ने घरी–घरी बिर्सन्छन् । उतिविघ्न दुखाइ हुन्न तर गाउनचाहिँ सक्दैनन् । डायलासिस गरेको दिन र भोलिपल्ट गला बस्छ । बोल्न खोज्दा घाँटी दुख्छ । अहिले स्वर सुके पनि स्वरकै कारण सिर्जित स्वर्णिम दिन ओमविक्रमका आँखामा झल्झली नाचिरहन्छन् । पुराना पल सम्झिएर रोमाञ्चित हुन्छन्, जसले उनलाई कहिल्यै ‘एक्लो’ हुन दिँदैन ।
ओमविक्रमका पिता दौलतविक्रम विष्ट विदेश गइरहन्थे । पश्चिमा संगीतका डिस्क रेकर्ड ल्याउँथे, घरमा डिस्क प्लेयर छँदै थियो । बाल्यकालबाटै बिटल्स, एल्भिस प्रिस्ले र रोलिङ स्टोन्स सुन्न थाले । ती गीतले उनको बालमस्तिष्कमा संगीत सिर्जनाको बीजारोपण गर्यो । उनी पनि पश्चिमा शैलीका गीत कम्पोज र गाउन मग्न हुन थाले । तर त्यतिबेला नेपालमा आधुनिक संगीतको राज थियो । स्थानीय गीत पनि सुन्थे तर गाउनचाहिँ पश्चिमा नै मन लाग्ने । १२ वर्षको उमेरमा दीपक जंगमले डोर्याउँदै रेडियो नेपाल लगे, राष्ट्रिय गीत रेकर्ड गराए । दोस्रो रेकर्डेड गीत आधुनिक थियो । यद्यपि यी गीतले उनको मन भरिएको थिएन । ०२९ तिर आफ्नै कम्पोजमा ‘बितेको जीवन मेरो, शिशिरको रुख जस्तो...’ गाए । बिटल्स र रोलिङ स्टोन्सको गायिकीसँग नजिक यो गीत नेपाली श्रोताका लागि बिल्कुलै नयाँ स्वाद थियो, त्यसैले धेरैको ध्यान तान्यो । नेपालभन्दा हङकङ र दार्जिलिङतिर यो गीत अझ हिट भएछ ।
०३३ मा ‘म मौनतामा अल्झिरहेको एउटा जीवन...’ आएपछि ओमविक्रम युवा पुस्ताको ढुकढुकी भइहाले । भन्छन्, “यो गीत मेरो करिअर मात्र होइन, नेपाली संगीतकै लागि छलाङ हो भन्ने लाग्छ ।”
हुन पनि उस्तै शैलीका सुगम संगीतमाझ ओमविक्रमको आवाज आफैँमा एउटा हस्तक्षेप थियो, जसलाई युवाले स्वीकारे, परम्परावादी सोच भएकाले विरोध गरे । कतिसम्म भने संगीतमा विकृति भित्र्याएको आरोपसमेत खेप्नुपर्यो । भन्छन्, “त्यतिबेला मेरा फ्यान मात्र होइन, ‘हेटर्स’ पनि टन्नै थिए । तर म कहिल्यै डगमगाइनँ । मनमौजी पाराले गाइरहेँ ।”
समय कस्तो पनि आयो भने नेपालमा हुने हरेक सांगीतिक कार्यक्रममा ओमवित्रम नभई नहुने । प्रतिकन्सर्ट २० देखि ५० रुपैयाँ आउँथ्यो । नेपालबाहिरबाट पनि माग हुन थाल्यो । सन् १९७८ मा हङकङमा कन्सर्ट गरे । त्यसअगाडि हङकङमा नेपाली कलाकारले गीत नगाएको दाबी छ, उनको । दार्जिलिङ, कालिङपोङ, गान्तोक, मिरिकमा त लगातार एक सातासम्म कन्सर्ट गर्थे । सन् नब्बेको दशकमै जापान र ब्रुनाई पुगेका थिए । प्रवासी नेपालीमाझ उनको लोकप्रियता साँच्चै लोभलाग्दो थियो । विदेशबाट ड्रम र गिटार मगाएर बजाए । पाण्डव सुनुवारले उनका गीतलाई ‘अल्ट्रामोर्डन’ अर्थात् अत्याधुनिक गीत भनेका थिए । पप भन्ने शब्द त पछि आएको हो ।
ओमविक्रम आफू हिट मात्र भएनन्, आफूजस्तै प्रतिभाशाली कलाकार भित्र्याउन पनि भूमिका खेले । सुकमित गुरुङलाई ‘सुनचाँदीभन्दा...’ गीतबाट ल्याए । ०४२ मा ओमविक्रमकै कम्पोजमा ‘भुलेका कथा...’ गाएर अरुण थापा रेडियो नेपालमा प्रथम भए । अरुण–ओमविक्रममा मितज्यूको साइनो पनि छ । दार्जिलिङबाट आएकी कुन्ती सुन्दासलाई आफ्नै पहलमा गीत रेकर्ड गराए । पछि उनी कुन्ती मोक्तानको नामले प्रसिद्ध भइन् । डेढ दशक ओमविक्रमको जस्तो ‘हाइरेन्ज’ मा गाउने कोही थिएनन् । पछि सुनील उप्रेती देखापरे । सुनील र हरिश माथेमालाई आफैँले ल्याएको दाबी छ, ओमविक्रमको । योगेश्वर अमात्यलाई रेडियोमा गाउन लगाए । पप संगीत फस्टाउँदै गयो । सञ्जय श्रेष्ठ, जेम्स प्रधानको आगमनपछि पपको लोकप्रियता अझ फराकिलो भयो । किड्नी फेल हुनुअगाडि उनले बेलायतको प्रतिष्ठित रोयल अल्बर्ट स्टेजमा कन्सर्ट गरेका थिए । उनीसँगै योगेश्वर अमात्य, दीप श्रेष्ठ र जेम्स प्रधानले उक्त कन्सर्टबाट संकलित रकम भूकम्पपीडितलाई सहयोग गरेका थिए ।
सुखद के भने ओमविक्रमबाटै प्रभावित भएर पपमा लागेको सञ्जयको पुस्ताले अहिले उनैलाई आर्थिक सहयोग गरिरहेको छ । त्यो पनि अरुसँग मागेर होइन, कन्सर्ट गरेरै । यो समूहमा सञ्जय र जेम्ससँगै भीम तुलाधर, सचिन रौनियार, बबिन प्रधान र कवीन्द्र श्रेष्ठ छन् । ‘लाइभ फर ओमविक्रम विष्ट’ कार्यक्रममार्फत २ लाख रुपैयाँ ओमविक्रमलाई पठाइसकेका छन् । कन्सर्ट जारी छ । यो कार्यक्रम सञ्जय, निर्मल शर्मा र प्रभात रिमालको संयुक्त सोचको प्रतिफल हो । पछि अरु गायक जोडिए । “हामीले दिएको पैसाले ओम दाइको पूरै उपचार खर्च पुग्ने होइन तर पनि मपछिको पुस्ताले सम्झियो भनेर उहाँको आत्मविश्वास बढ्छ,” ‘माया मेरी माया... ’ जस्तो लोकप्रिय गीतका गायक सञ्जय भन्छन्, “यो हाम्रो जिम्मेवारी पनि हो । हामी पछिको पुस्ताले यस्तै कलात्मक अभ्यासलाई निरन्तरता दिने अपेक्षा छ ।” हरेक कन्सर्टमा यो समूहले ‘म मौनतामा अल्झिरहेको एउटा जीवन...’ साथै गाउँछन् ।
यो समूहबाहेक १९७४ एडीले पनि अमेरिकामा कन्सर्ट गरेको रकम ओमविक्रमलाई दिएको थियो । उनी भन्छन्, “भाइहरुको प्रेमले ऊर्जा थपेको छ । यसलाई पैसाभन्दा मप्रतिको माया र स्नेहको रुपमा ग्रहण गरेको छु ।” उनको डायलासिस खर्च अमेरिकी सरकारले बेहोर्छ । औषधीका लागि महिनाको लगभग १ हजार डलर आफैँले जुटाउनुपर्छ ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...