संवेदनाको सतही प्रस्तुति (फिल्म समीक्षा : मारुनी)

​​​​​​​फिल्म : मारुनी | रेटिङ : २/५

- गोकर्ण गौतम

नेपाली फिल्मको लगानी बढ्यो, संख्या बढ्यो, दर्शकको सिनेमा सारक्षता बढ्यो, संसारभरका सिनेमासँगको पहुँच बढ्यो तर स्वदेशी सिनेमाको गुणस्तर बढ्दै–बढेन । पुरातन कथ्य र संरचनामा अल्झिँदा फिल्ममेकरमा नवीन र कलात्मक दुनियाँमा सयर गराउने शिल्प विकास भएन । सोही कारण सिनेमाको हविगत महँगो र झकिझकाउ पहिरन लगाइएका ‘डमी’भन्दा खास माथि उठ्न सकेको छैन । अर्थात्, भावशून्य । करिब–करिब यही कोटीमा अटाउने सिनेमा हो, मारुनी । जुन बाहिरबाट आकर्षक नै देखिन्छ तर भित्र भने संवेदित बनाउने ताकत छैन । यसका लेखक/निर्देशक हुन्, नवल नेपाल । मनछुने सिनेमा बनाउन कहलिएका नवलले मारुनीमा पात्रमार्फत दर्शकलाई प्रवाह गरेको संवेदना सतही छ ।भलै केन्द्रीय कथामा रहेको एउटा सस्पेन्सचाहिँ नेपाली दर्शकका लागि रोचक लाग्न सक्छ । लेखनमा उनले गोविन्द फुयाँलसँग सहकार्य गरेका छन् ।

यश (पुष्प खड्का), राज (आयुश प्रधान) र मधु (रेबिका गुरुङ) सँगै कलेज पढ्छन् । यश र राजको मित्रता बाल्यकालदेखिकै हो । धनी बाबुको छोरा भएकाले यशको हरेक समस्या राजले समाधान गरिदिन्छन् । मधुचाहिँ यशलाई मन पराउँछिन् । सामान्य मनमुटाव भएपछि राज एकाएक हराउँछन् । केही वर्ष बित्छ । यशले आफैँ व्यवसाय थाल्छन् । त्यहीबेला कथामा अर्की युवती सुमन (साम्राज्ञीराज्यलक्ष्मी शाह)को प्रवेश हुन्छ । यशको व्यवसायमा जोडिन्छिन् । उनी को हुन्, मधुचाहिँ कता छिन् ? यी सवालवरपर घुमेको छ, फिल्म ।

दुई केटा, एउटी केटी । एकअर्कालाई मन पराउने, सम्बन्धमा दरार आउने । सयौँ सिनेमामा हेरिसकेको छ, मध्यान्तरअघि मारुनी यही परिधिमा खुम्चिएको छ । यसलाई ‘ट्रिटमेन्ट’मार्फत ताजापन दिलाउन सकिने अवसर पनि निर्देशकले उपयोग गरेका छैनन् । पैसा खर्चदैमा, अरुसँग झगडा गर्दैमा सम्बन्धको सामीप्य अनुभत हुन्न । राज र यशको मामलामा त्यस्तै हुन्छ । भावनात्मकभन्दा भौतिक रुपमा नजिक तुल्याउने दृश्य खर्चिएको छ । त्यस्तै, चरित्र र पृष्ठभूमि स्थापित नगरी कथा अगाडि बढाइएकाले उनीहरुको भोगाइ र विछोडले दर्शकलाई पोल्दैन । न त राजको याद नै आइरहन्छ । अनाथ बनाउँदैमा पात्रप्रति प्रेम घनीभूत भइहाल्छ र ?

मध्यान्तरको केही समयपछि पनि घिसिपिटी चलिरहन्छ । यशको व्यावसायिक समस्या, सुमनसँगको भेट, प्रगाढता र त्यसपछिको उन्नति रफ्तारमा हुन्छ, उतिविघ्न पत्यारिलो लाग्दैन । तर सुमनको प्रेमले सीमा नाघ्नथालेपछि रोचकता थपिँदै जान्छ । सुमन र उनका बाबुको सम्बन्धलाई निर्देशकले मार्मिक शैलीमा देखाएका छन् । सुमनसँग जोडिएको रहस्यले स्वदेशी फिल्म मात्र हेर्नेलाई झस्काउँछ । यशको बेचैनी र मधुको व्यवहार चाखलाग्दो हुन्छ । तर ‘ट्वीस्ट’को आयतनअनुरुप त्यसको आवश्यकतालाई अर्थपूर्ण बनाइएको छैन । भलै यो ‘प्लट’ नेपाली फिल्मको हकमा नयाँ नै मान्नुपर्छ ।

सिनेमामा बलियो हुन घरको इँटाझैँ दृश्यको जोडाइ दरिलो हुनुपर्छ तर मारुनीमा दृश्य–दृश्यबीचको सम्बन्ध कसिलो छैन । आउँछ, जान्छ तर दिलमा बस्दैन । मध्यान्तरअघि यश र राजको दोस्ती झल्काउने उस्तै प्रकृतिका दृश्यलाई प्रधानता दिइएको छ । क्लाइमेक्स नजिकिदै जादाँचाहिँ पर्दातिर दर्शकको ध्यान खिचिँदै जान्छ । यसमा मधुको भूमिका प्रभावकारी छ । हल बाहिरिएपछि फिल्म बिर्सिहालिन्न, केही जिज्ञासा बाँकी रहन्छन् । प्रतीकात्मक र एकहदसम्म अपरम्परागत क्लाइमेक्सका लागि नवल प्रशंसनीय छन् । खासमा मारुनीको साख बचाएकै पछिल्लो आधा घन्टाले मात्र हो । ‘सक्दिनँ म बाँच्न तिमीबिना...’ गीतले फिल्मको मर्म बोकेको छ । सञ्जय लामाले दृश्यको भावअनुकूल खिचेका छन् । तर पार्श्वध्वनिचाहिँ धेरै ठाउँमा कर्कश लाग्छ ।

फिल्मको अधिकांशमा दृश्य पुष्प खड्का देखिन्छन् तर उनकै अभिनय बनावटी लाग्छ । न संवाद स्वाभाविक छ, न त भावभंगीमा नै । यही स्तरको अभिनय उनको करिअरका लागि घातक छ । पछिल्ला फिल्ममाझैँ साम्राज्ञीले फेरि निराश बनाएकी छन् । चरित्रलाई आत्मसात् नगरेकाले हुनुपर्छ, पर्दामा उनको उपस्थिति जीवन्त लाग्दैन । सबभन्दा पहिले उनले नेपाली शब्दको शुद्ध उच्चारण गर्नु आवश्यक छ । यसै फिल्मबाट डेब्यु भएकी रेबिका गुरुङले भने केही आशा जगाएकी छन् । भूमिका छोटो भए पनि आयुश प्रधानले सम्झनालायक काम गरेका छन् । त्यस्तै, आवरण भव्य बनाउन निर्माण पक्षले दिल खोलेर खर्च गरेको छ । निर्देशकका रुपमा नवलको साख जोगिने र गर्व गर्ने फिल्म होइन, यो । सर्जकको सोचाइ र त्यसअनुरुप दृश्यबनोटको शिल्पफराकिलो हुनु प्रीतिकर हुन्छ ।

अहिले बनिरहेका नेपाली फिल्ममै चित्त बुझ्ने र बुझाउनेले मारुनी हेर्दा निराश हुनुपर्दैन । थप गुणको अपेक्षा राख्नेचाहिँ झेल्न मुस्किल पर्छ । र, यसले संख्या थप्नुबाहेक नेपाली फिल्मको श्रीवृद्धिका लागि अर्को योगदान गर्दैन पनि ।

प्रकाशित: भाद्र १३, २०७६