आफैँसँग तर्सेका गणतन्त्रवादी

- विष्णु सापकोटा

जसरी आफ्नो व्यक्तिगत नालायकी र राजनीतिक निरंकुशताका कारण देशलाई गणतन्त्रतर्फ डोर्‍याउन तत्कालीन राजा ज्ञानेन्द्रको ठूलो योगदान थियो, त्यसैगरी हजार प्रयास गर्दा पनि धेरै चर्चा पाउन नसक्ने नेपालको सन्दर्भहीन राजतन्त्रलाई चर्चामा ल्याउन गणतन्त्रका नेताहरूको ठूलो योगदान छ । गणतन्त्रका यी ११ वर्षमा पूर्वराजा ज्ञानेन्द्रले जनताको मन छुने न एउटा कुनै लोकप्रिय सामाजिक काम गर्न सके, न त राजनीतिक परिस्थितिबारे उनको कुनै विश्लेषणले देशलाई केही फाइदा पुर्‍याएको छ । न त राजतन्त्र हुँदा प्रत्यक्ष लाभ लिने झुन्डद्वारा परिचालित केही व्यक्तिबाहेक जनताको कुनै तप्काले उनीबाट केही अपेक्षा गरेका छन् । यी  सबै यथार्थका बाबजुद किन बेलाबेला इतिहासमा विस्मितजस्तो राजतन्त्रले राजनीतिक चर्चामा ‘स्पेस’ पाउँछ ? किनकि गणतन्त्रका नेताहरूका लागि आफ्नो कार्य सम्पादनको नालायकी ढाक्न सबैभन्दा सजिलो अस्त्र राजतन्त्रको भूत भएको छ ।

जनताको कुरा छाडिदिऔँ, कार्यकर्ताले जब आफ्ना नेताको नालायकी, स्वेच्छाचारिता र अपारदर्शी जीवनशैलीबाट विरक्तिएर उनीहरूप्रति निराशा व्यक्त गर्छन्, तब नेताले सार्वजनिक रूपमा राजतन्त्रविरुद्ध हुंकार गर्छन् । मानौँ, राजतन्त्र फेरि आउनै लाग्यो ! अनि ‘सोझा’ कार्यकर्ता आफ्ना नेताको बलिदानपूर्ण इतिहासप्रति तुरुन्त भावुक भइहाल्छन् र राजतन्त्रले गरेका इतिहासको ज्यादतीप्रति आक्रोशित हुन्छन् । जब राजतन्त्र फेरि आउने शंकाको हल्ला बजारमा केही दिन चल्छ, त्यो हल्ला फैलाउन राजतन्त्रवादीभन्दा गणतन्त्रवादी नै बढी अग्रसर हुन्छन् र तिनीहरू भन्न थाल्छन्, गणतन्त्रका नेताको, हाम्रा सत्ता सञ्चालकका केही कमजोरी छन् भने पनि अहिले त्यसको आलोचना गर्ने बेला होइन किनकि गणतान्त्रिक सत्ता सञ्चालकका कमजोरीको आलोचना शासन व्यवस्थाकै विरुद्धको हो, गणतान्त्रिक सरकारको यस्तो आलोचनाले राजतन्त्र फर्किन सक्छ । आफ्नो नालायकी ढाक्न र कामबारे हुने जायज आलोचनासमेतलाई रोक्न योभन्दा सजिलो उपाय के होला ?

कुनै पनि देश गरिब हुनुका ‘इन्डिकेटर’ हजार होलान् तर तीमध्ये एउटा के छ भने देश जति–जति गरिब हुन्छ र जति–जति कमजोर हुन्छ, त्यहाँका शासक आचरणमा त्यति–त्यति राजतन्त्रजस्तै सामन्ती हुन्छन् । साधारण उदाहरण हेरौँ, यदि कुनै पनि देशको राष्ट्रपति वा प्रधानमन्त्रीको ‘सवारी’ मा सारा सहर नै अस्तव्यस्त हुन्छ भने संसारको जुन कुनाको भए पनि त्यो देश गरिब रहेछ भनेर बुझे हुन्छ । आफू पूरै राजतन्त्रको सिको गरेर शासक हुने अनि जनताले ‘जनताका नेता’ भनिएकाहरू पनि त्यही राजाजस्तै सामन्त भए भनेर विरोध गर्दा फेरि त्यही राजतन्त्र नै फिर्ता आउला भनेर जनताको मुख थुन्न खोज्ने प्रवृत्ति र रणनीति अब सर्वसाधारणले पनि बुझ्न सक्ने भएका छन् ।

गणतन्त्रकालको नेतृत्व जति नै अक्षम, भ्रष्ट र दिशाहीन भए पनि विकास–समृद्धिकै सवालमा मात्र  राजतन्त्र आयो भने अहिलेको भन्दा राम्रो हुन्छ भनेर पत्याइदिने जमात खासै छैन ।

साँच्चै किन चल्छ, केही महिना वा वर्षमा राजतन्त्र फर्कन्छ कि भन्ने हल्ला ? साँच्चै जनताले राजतन्त्रलाई विकल्पका रूपमा हेर्छन् त ? मेरो विचारमा आम रूपमा नेपाली जनताले राजतन्त्रलाई कम्तीमा ०४६ सालको परिवर्तनपछि कहिल्यै पनि विकल्पका रूपमा हेरेका छैनन् । त्यसपछाडिका कारण र प्रमाण दुवै छन् । राजतन्त्र निरंकुश थियो भन्ने कारण त भयो नै । राजतन्त्रका बेलामा देशमा सुशासन, समृद्धि र अन्य गर्व गर्नलायक उपलब्धि कुनै अन्य शासनकालमा भन्दा बढी भएको थिएन । यदि राजतन्त्रले निरंकुश राजनीतिक प्रणालीमार्फत नै भए पनि सिंगापुर वा चीनले जस्तो आर्थिक समृद्धिमा देशलाई अघि बढाएको हुन्थ्यो भने जनताको एउटा समूहले राजनीतिक र नागरिक अधिकारका कुरा बिर्सेर बरु राजतन्त्र आए पनि हुन्थ्यो भन्थ्यो होला । तर नेपालको राजतन्त्रकाल प्रत्यक्ष भोगेका जनताका पुस्ता अहिलेसम्म राजनीतिमा आफैँ सक्रिय र निर्णायक छन् । त्यसैले गणतन्त्रकालको नेतृत्व जति नै अक्षम, भ्रष्ट र दिशाहीन भए पनि विकास–समृद्धिकै सवालमा मात्र  राजतन्त्र आयो भने अहिलेको भन्दा राम्रो हुन्छ भनेर पत्याइदिने जमात खासै छैन ।

तैपनि बेलाबेलामा फेरि ज्ञानेन्द्र सक्रिय भए रे, फलानो नेताले ज्ञानेन्द्रलाई भेटे रे, प्रधानमन्त्री अघिल्लो पटक सिंगापुरमा छँदा त्यस्तै विकल्पका कुरा भएका थिए रे भनेर आधारहीन हल्ला फैलाउन सक्रिय मान्छे समाजमा यत्रतत्र छन् । किनकि नेपाली समाजमा सामन्तवादी चिन्तन र त्यसका हाँगा गहिरोसँग गढेका छन् । क्षत्रीका विभिन्न थर भएका व्यक्तिलाई ‘राजा’ भनेर सम्बोधन गर्ने संस्कार कम्युनिस्टमा समेत छ । नजानिँदो तरिकाले राजतन्त्रप्रति मान्छेको आकर्षण अझै छ । आफ्नी सानी छोरी अत्यन्त राम्री छिन् भन्नुपर्‍यो भने तिनलाई ‘राजकुमारी’ वा ‘प्रिन्सेस’ भन्ने प्रगतिशीलहरू तपाईं–हामी सबैका साथी नै होलान् । तिनीहरूसँग ‘राम्रो’ हुने प्राधिकार राजवंश वा ‘कुलीन’ परिवारका सदस्यलाई मात्र हुन्छ भन्ने मनोविज्ञान अझै छ । गरिब वा साधारण व्यक्ति साधारण भएरै राम्रो देखिन सक्छ भन्ने सोच आइसकेको छैन । यस्ता शब्दको प्रयोग अन्य गणतान्त्रिक मुलुकमा पनि फाट्टफुट्ट नहुने होइन । तर नेपालमा हुने यस्ता शब्दको प्रयोग विशेष छ किनकि भर्खर सत्ताच्युत भएका ज्ञानेन्द्र शाहका सन्तान र सीमित भक्तको कुरा मात्र होइन, बाइसे–चौबीसे राज्यताकाका ‘राजा साहेब’ हरू समेत आफू साधारण नागरिक भएर पनि आत्मसम्मानको बराबरीमा केही फरक पर्दैन भन्ने स्वीकार्न सक्दैनन् । यस्तो सांस्कृतिक चेतनाको स्तर भएको परिवेशमा सहरका पढेलेखेका, फार्टीमा सक्रिय कांग्रेस–कम्युनिस्ट कार्यकर्ता नै राजतन्त्र सत्रिय हुने त होइन भनेर हल्ला प्रवर्द्धन गर्न बढी जिम्मेवार छन् । त्यसमाथि सामाजिक विज्ञानका अनुसन्धानले प्रमाणित नै गरेको छ कि आम रूपमा हामी मानव षडयन्त्रका सिद्धान्त सजिलै पत्याउँछौँ । सनसनीपूर्ण कुराले त्यसै पनि धेरैको ध्यान तुरुन्तै खिच्छ ।

नेपालमा राजतन्त्र फर्किएला कि भन्ने कुरा नेपाल पुनः हिन्दु राज्यको परिचयमा फर्केला कि भन्ने विषयसँग पनि जोडिएको छ । भारतमा नरेन्द्र मोदीको सत्तामा पुनः विजयपछि अब दक्षिणबाट त्यस्तो राजनीतिक चेष्टा हुन्छ कि भनेर आत्तिने एक थरी छन्, आश गरेर मात्तिने अर्को थरी । तर आफ्नै देश भारतको धर्म निरपेक्षताको प्रावधान हटाउने चर्चासमेत गर्ने हिम्मत नभएको राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्य कामना गर्नु एउटा कुरा, राजनीतिक बल लगाउने गल्ती गर्न सक्दैन । भारतका केही ‘गुरु महात्मा’ र राजनीतिकर्मीले नेपालका राजावादी र हिन्दुवादीलाई बेलाबेलामा हौसला दिने काम भएको हुन सक्छ । भित्रभित्र षडयन्त्रका तानाबाना बुनिन पनि सक्छन् ।  जबसम्म हाम्रा गणतन्त्रका ‘धर्म निरपेक्ष’ नेताहरू स्वयं नै त्यो षडयन्त्रमा सामेल हुँदैनन्, यो सम्भव छैन । बरु नेपालभित्रै हिन्दु राज्य भइदेओस् भनेर चाहनेहरूको संख्या उल्लेख्य होला । तर त्यस्ता व्यक्ति पनि फेरि उक्त मुद्दाको नेतृत्व राप्रपा नेता कमल थापाले गरेको स्वीकार गर्दैनन् किनकि थापा स्वयं धार्मिक वृत्तिका मान्छे नै होइनन् । राजनीतिका सबै तुरुप सकिएपछि उनले धर्मलाई समातेका हुन् भन्ने हिन्दुवादीले समेत बुझेका छन् । त्यसैले नेपालको गणतन्त्रका लागि खुसीको कुरा यो छ कि राजतन्त्र गएको यत्तिका वर्षसम्म पनि ज्ञानेन्द्रको समयचेत ०१७ सालमै अड्किएको छ र उनलाई बोकेर हिँड्नेको ०४६ सालमा । त्यसकारण पनि तिनबाट चिन्ता लिनुपर्ने देखिँदैन । चिन्ता त बरु राजतन्त्र आउन सक्छ भनेर आफ्नो नालायकी ढाक्न राजतन्त्रलाई प्रयोग गर्नेहरूकै हो । र, राजतन्त्र होस् कि राज्यको हिन्दु पहिचानको पुनर्बहालीको सवाल, हाम्रा गणतान्त्रिक नेताले यदि कतैबाट दबाब आएको छ र त्यो जनतालाई खुलस्त भन्न सकेका/चाहेका छैनन् भने खतरा तिनै नेताबाट हुन सक्छ, अरूबाट होइन ।

प्रकाशित: भाद्र १८, २०७६

×