[विशेष] प्रचण्डलाई नेतृत्व नदिन ओली–नेपाल मिलाउने कसरत
दूरी घटाउने, समीकरण ब्युँताउने
प्रधानमन्त्री केपी ओली उपचारकालागि सिंगापुर उड्नुअघि सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसँग जुन स्तरको बाझाबाझ भयो, अरू बेलाजस्तो दुई नेताका गुट तरंगित भएनन् । स–साना प्रसंगमा सामाजिक सन्जाल रंग्याउने कार्यकर्ता पंक्ति मौनझैँ रह्यो । ओली–नेपाल दुवै निकटस्थ नेताहरूले यो घटना चर्काउनभन्दा बिर्सन चाहेको देखियो । त्यसो हुनुको पछाडि नेकपाभित्र विकसित नयाँ समीकरणप्रतिको अविश्वास त हो नै, सिंगो पार्टी नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोल्टामा जाने पूर्वएमाले पंक्तिको चिन्तालाई कारक मानिएको छ ।
५ भदौको सचिवालय बैठकमा नेता नेपालले केही मुद्दा उठाए । ओलीको स्वास्थ्यस्थितिबारे चिन्ता व्यक्त भइरहेका बेला नेपालले अघिल्ला बैठकका आफ्ना असन्तुष्टि आवेगपूर्ण ढंगले पोख्न खोजे । त्यसले बैठकको माहोल मात्र बिग्रिएन, दुई नेताबीच अप्रिय स्थिति बन्यो । यो स्तरको भनाभन ९ सदस्यीय सचिवालयभित्र गोप्य त रहेन नै, नेतापिच्छे भिन्न ढंगले बाहिरियो ।
पूर्वएमाले समूह ओली सिंगापुर उडेकै अपराह्नदेखि दुई नेतालाई नजिक्याउन सक्रिय छ । पछिल्लो समय दुवै नेतासँग समदूरीको सम्बन्धमा रहेका नेता वंशिधर मिश्रले नेपाललाई भेटेर उच्च स्तरका नेताहरूको तल्लो स्तरको झगडाले कार्यकर्तालाई निराश पारेको भन्दै सम्बन्ध सुधार्न सुझाए । वरिष्ठ नेता नेपालले मिश्रमार्फत ‘नहुनुपर्ने भयो, सबै कटुता बिर्सेर व्यक्तिगत सम्बन्ध सुधार्न तयार रहेको’ सन्देश पठाए । मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत उक्त सन्देश सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीकहाँ पुर्याए । राजदूत नियुक्ति (११ भदौ) अघि दुई नेताबीच सम्बन्ध सुधार्न आफूले प्रयत्न गरेको र आपसी कटुता छिट्टै अन्त्य हुने मिश्र बताउँछन् ।
ओली र नेपाललाई एक ठाउँ ल्याउन दुवैतर्फका धेरै नेताहरू सक्रिय छन् । नेता नेपाल अर्को दिन बिहानै ७ बजे अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे । लगत्तै नेपालले प्रधानमन्त्री ओलीलाई फोन सम्पर्क गरेको जनसम्पर्क सल्लाहकार मैनाली बताउँछन् । भन्छन्, “नेताहरूले गलत भएको महसुस गरिसक्नुभएको छ । प्रधानमन्त्री ओली फर्किएलगत्तै सबै असमझदारी हटेर जानेछ ।”
वरिष्ठ नेता नेपाललाई एक्ल्याएर अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयता उकासेको र वामदेव गौतमलाई उत्तराधिकारी बनाउन खोजेको ओली निकट नेताहरूलाई नै मन परेको छैन । महासचिव विष्णु पौडेलमाथि ओली–नेपालबीच दूरी बढाएर आउँदो महाधिवेशनमा प्रचण्ड सहमतिमै पार्टी अध्यक्ष हुँदा पूर्वएमाले तर्फबाट आफू महासचिव हुने रणनीति बनाएको आरोप छ । वरिष्ठ नेता नेपाल र अर्का नेता ईश्वर पोखरेललाई कमजोर बनाएर प्रचण्डका लागि अनुकूल वातावरण बनाउँदै लगेको भन्दै ओली गुटभित्रै उनीप्रति असन्तुष्टि छ । “पूर्वएमालेको हित रक्षा गर्न महासचिवको भूमिका देखिएन । उनले चाहेका भए ओली र नेपाललाई एक ठाउँ ल्याउन सक्थे,” स्थायी कमिटीका ओली निकट एक नेता भन्छन्, “खनाल र गौतमको भरमा ओली चल्न खोजे पार्टी नेतृत्व पूर्वमाओवादीले कब्जा गर्नेछ ।”
ओली र नेपाललाई एक ठाउँ ल्याउन दोस्रो तहका नेताहरूले चार महिनाअघिदेखि छलफल चलाउँदै आएका थिए । पछिल्लो समय शंकर पोखरेल, योगेश भट्टराई, नागेन्द्र चौधरी, भानुभक्त ढकाल, सोमप्रसाद पाण्डे, गोकुल घर्ती मगरहरूले दुई नेता मिलाउन झिनो तर निरन्तर कोसिस गरिरहेका थिए । पार्टीभित्र विकसित पछिल्लो समीकरणले पूर्वएमालेका यी दुई समूहलाई एक ठाउँ ल्याउने दाबी गर्दै स्थायी कमिटीका अर्का सदस्य भन्छन्, “दुई नेताबीच वैचारिकभन्दा पनि जुँगाको लडाइँ धेरै हो । केही महिनाभित्रै एकै ठाउँ उभिए आश्चर्य नमाने हुन्छ ।”
पार्टी एकतादेखि अहिलेसम्म नेता नेपालसँग सल्लाह गरेरै अघि बढे पनि सधैँ अप्ठेरो मात्र पार्न खोजेकाले विकल्पमा गौतमलाई अघि सारेको ओलीले आफू निकटस्थलाई सम्झाएका थिए । खासगरी २७ साउनमा सिंगापुरबाट स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै बालुवाटारमा पूर्वएमाले नेताहरूको छलफलपछि ओली नेपालसँग बिच्किएको स्रोत बताउँछ । उनले त्यहाँ पूर्वएमालेका नेताहरूको साथ खोजेका थिए । तर नेपालले विधिमा पार्टी नचलेकामा गुनासो मात्र गरेनन्, उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई स्कुल विभाग नचाहिने तर्क गरे । पूर्वएमाले पंक्तिलाई एकढिक्का पार्न बोलाइएको छलफल बिनानिष्कर्ष टुंगिएपछि ओली–नेपाल सम्बन्ध चिसियो ।
लगत्तै उनले नेता गौतमलाई डिनरका लागि बालुवाटार निम्त्याए । झन्डै तीन घन्टाको बसाइमा दुवैले मन माझामाझ मात्र गरेनन्, गौतमले प्रचण्ड–नेपालको भित्री रणनीति खोलिदिए । जबकि ओलीलाई सचिवालयमै अल्पमतमा पार्ने रणनीतिमा गौतम आफैँ संलग्न थिए । सचिवालयका एक सदस्य भन्छन्, “ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन जति ढिलो हुन्छ, उति पार्टी र मुलुक बर्बाद हुन्छ भन्दै सबैभन्दा धेरै विरोध गर्ने वामदेव कमरेड नै हो । पद पाएपछि ओली महान् भन्न थाल्नुभएको छ ।”
गौतमसँगको त्यो भेटपछि नै प्रधानमन्त्री ओली नेपाललाई एक्ल्याउने रणनीतिमा लागेको नेकपा स्रोत बताउँछ । भन्छ, “प्रचण्ड र नेपालबीच अध्यक्ष र प्रधानमन्त्री बाँड्ने समझदारी अन्तिम चरणमा पुगेको सूचना गौतमले चुहाएपछि नै ओली नेपालसँग धेरै चिढिएका हुन् ।” बालुवाटार भेटमै ओलीले गौतमलाई पार्टी उपाध्यक्ष र आफूपछि प्रधानमन्त्री हुने गरी कास्की–२ बाट उपनिर्वाचन लड्न प्रस्तावसमेत गरेका थिए । उक्त प्रस्तावको पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सद्भाव देखिन्छ । उनी आफ्ना पति मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नेकपाको पनि मार्गदर्शक सिद्धान्त बनोस् भन्ने चाहन्छिन् । त्यसका लागि गौतम उपयुक्त नेता हुन् भन्ने शीतलनिवासको ठम्याइ छ ।
ओलीले गौतमपछि वरिष्ठ नेता खनाललाई बालुवाटार बोलाएर उनका असन्तुष्टि सुनेका थिए । खनालले पार्टी वरीयतामा तल झारिएकामा सबैभन्दा धेरै चित्त दुखाए । सचिवालयमा प्रस्ताव आए छलफल गर्न आफू तयार रहेको जवाफ पाएपछि खनालले ओलीको मुड बुझिहाले । लगत्तै प्रचण्डसँगको भेटमा ओलीले एकताका बेला गरिएको सहमति पालना हुनेमा ढुक्क हुन आग्रह गरे । सिंगापुरमा फलोअप उपचारबाट फर्किएलगत्तै दुई अध्यक्षबीच सरकार र पार्टीको कार्य विभाजन गर्नेसमेत वचन पाएपछि प्रचण्डको पनि कुनै गुनासो रहेन । वरिष्ठ नेता नेपालसँग मिलेर प्रचण्डले चाहेको पनि आखिर त्यही थियो । ओलीको प्रतिबद्धतापछि दुई अध्यक्ष पुनः एक ठाउँ आइपुगे । झिनामसिना अडान त्यागेर पार्टी एकता टुंग्याउन राजी भए । प्रचण्डले स्कुल विभागमा पोखरेललाई सहजै स्वीकारे भने गौतमलाई पार्टी उपाध्यक्ष बनाउने ओलीको प्रस्तावमा सहमति जनाए । त्यसै पनि स्कुलमा नारायणकाजी श्रेष्ठलाई ल्याउने अडान प्रचण्डभन्दा अधिक पोखरेललाई रोक्ने पूर्वएमाले नेताहरूको रणनीति थियो । भागबन्डामा पूर्वएमालेको भागमा परेको स्कुल विभागको किचलो नेपाल, खनाल र गौतमले चाहेको भए एक महिनाअघि नै टुंगिन सक्थ्यो ।
शीर्ष तीन नेताको भागबन्डाका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई पद मात्र छन् । दुई अध्यक्षबीच आलोपालो सहमति छँदै छ । प्रधानमन्त्री ओलीले त्यो सहमतिमा थोरै हेरफेर चाहेका छन् । किनभने उनी आफ्नो गम्भीर स्वास्थ्यस्थितिबारे राम्रैसँग जानकार छन् । यस्तोमा पार्टी नेतृत्व अर्का अध्यक्ष प्रचण्डलाई सुम्पिएरै भए पनि सत्ता लम्ब्याउन चाहेका छन् । प्रचण्ड आलोपालो सहमतिमा ‘कम्प्रोमाइज’ गरेरै भए पनि पार्टीको कार्यकारी नेतृत्व हत्याउन चाहन्छन् । त्यसका लागि पूर्वमाओवादी समूहलाई एकढिक्का राख्ने र पूर्वएमालेलाई छिन्नभिन्न पारेर नयाँ समीकरण बनाउने उनको रणनीति देखिन्छ । नेकपाभित्र विकसित पछिल्लो समीकरणको अन्तर्य पनि यी दुई आकांक्षाको वरपरै देखिन्छ ।
यो समीकरणले नवौँ महाधिवेशनलगत्तै दसौँको तयारीमा जुटेका वरिष्ठ नेता नेपाललाई झस्काइदिएको छ । पार्टीको स्थायी, केन्द्रीय कमिटी, प्रदेश र जिल्ला तहमा उनको जुन पकड छ, त्यसले ओली–प्रचण्ड दुवैले चाहेर पनि एक्ल्याउन सक्ने स्थिति भने देखिँदैन । पार्टी एकताको अहिलेको गति हेर्दा दुई वर्षभित्र महाधिवेशन हुने सम्भावना न्यून छ । तोकिएको समय घर्किएपछि महाधिवेशन अनिश्चित हुनेछ ।
महाधिवेशन सर्दै जाँदा नेकपामा अध्यक्ष प्रचण्ड पूर्ण रूपमा हाबी हुने भयले पूर्वएमालेका दोस्रो तहका नेताले ओली र नेपाललाई एउटै कित्तामा ल्याउन सक्रियता बढाएका छन् । त्यसै पनि नेता नेपालले पहिलो संविधानसभा निर्वाचनमा पार्टी पराजित भएपछि नैतिकताको आधारमा दिएको राजीनामा घातक भएको अझै भुलेका छैनन् । महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व सम्हालेका खनाल पार्टीमा हाबी मात्र भएनन्, आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचितसमेत भएका थिए ।
राजनीतिशास्त्रका प्राध्यापक जनार्दन आचार्य पार्टीमा प्रचण्डको एकल नेतृत्व हाबी हुने स्थितिमा ओली र नेपाल समूह सहजै नजिकिने दाबी गर्छन् । “नेपाल अडान लिने नेता हैनन् । वामदेवमा खटिने क्षमता छ तर उनलाई ओली–नेपाल समूहले पत्याउँदैन,” नेकपाभित्र गुटबन्दी तरल रहेको उल्लेख गर्दै उनी भन्छन्, “आजको गुट भोलि कहाँ पुग्छ, कुनै निश्चित छैन । त्यसमाथि पूर्वएमालेको स्कुलिङले झट्ट अरूलाई नेतृत्व स्वीकार्ने देखिँदैन ।”
पूर्वएमालेहरू एउटै कित्तामा उभिए महाधिवेशन लम्ब्याउनुबाहेक प्रचण्डसँग अर्को विकल्प हुने छैन । महाधिवेशन अनिश्चितताले कार्यकर्ता निराश हुने र पार्टी लथालिंग हुने अवस्था आउने दाबी गर्दै आचार्य भन्छन्, “त्यस्तो बेला पार्टीलाई पुनर्गठन गर्नै गाह्रो पर्ने स्थिति आउन सक्छ ।”
ओलीको प्रधानमन्त्रित्व दुई वर्ष नपुग्दै खुलेर विरोधमा उत्रिन नमिलेर मात्र हो, नेताहरूबीच अविश्वासको भने ठूलै खाडल बनेको छ । ओलीजस्तै नेपाल पनि प्रचण्डसँग मिलेर प्रधानमन्त्री वा अध्यक्षमध्ये एक लिन चाहन्थे । दुई नेताबीच सहमति अन्तिम चरणमा पुगेको पनि थियो । केही महिनाअघि बानेश्वरको अर्याल होटलमा भएको एक भेटमा प्रचण्डले नेपाललाई प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा रोज्न भनेका थिए । त्यतिबेला नेपालले बेला नभएको भन्दै टारेका थिए ।
केही महिनाअघि बालुवाटारमा ओलीलाई ब्रिफिङ गरियो, ‘प्रचण्ड, नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सरकार फेरबदलबारे छलफल भएको छ ।’ बजारु हल्लाकै भरमा आएको सूचनालाई ओलीले यति गम्भीर रूपमा लिए कि यादव भेट्न आफू निकट नेताहरू पठाएका थिए ।
पछिल्लो समय सचिवालय बैठकमा गौतमका लागि विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गर्ने प्रस्ताव ल्याउँदासमेत कसैले विरोध गरेनन् । नेता नारायणकाजी श्रेष्ठले एकताको सहमति महाधिवेशनसम्म कायमै राख्ने कि किस्ताकिस्तामा फेर्दै जाने भनेर घुमाउरो ढंगले असहमति व्यक्त गरेका थिए । तर अध्यक्षद्वयको प्रस्ताव रोक्ने गरी कसैले बोलेनन् । स्थायी कमिटी बैठकबाट विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउन भने सहज देखिँदैन । वरिष्ठ नेता नेपालले पूर्वएमालेका तीन उपाध्यक्षलाई सचिवालयमा ल्याउनुपर्ने मागसहित लिखित असहमति जनाइसकेका छन् । “हामीमाथि अन्याय त भएकै हो नि । पार्टी एकतालाई प्राथमिकता दिएर नबोली बस्यौँ, नेताहरूले पनि हाम्रा लागि बोलिदिएनन्,” स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, “ढिलै भए पनि माधव कमरेडले सोच्नुभएछ ।”
उक्त प्रस्ताव छलफलमा आउँदा अध्यक्ष प्रचण्डलाई पूर्वमाओवादीतर्फका नेता वर्षमान पुन र जनार्दन शर्मालाई सचिवालयमा ल्याउन दबाब पर्नेछ । मध्यमार्गी उपायका रूपमा दुई महिला सदस्य थपेर ११ सदस्यीय बनाउने पुरानै प्रस्ताव छ । “महिलाविहीन सचिवालयमा बस्न नेताहरूलाई अप्ठेरो लाग्नुपर्ने हो, हामीलाई पो लागिरहेको छ,” शाक्य भन्छिन् । सचिवालय विस्तारको विवाद जसरी सहज छैन, गौतमलाई उपाध्यक्ष हुन पनि उत्तिकै कठिन छ । तर दुई अध्यक्षले भित्रैदेखि चाहँदा भने बैठकमा विरोध, टिप्पणी गरिए पनि अन्तिममा अनुमोदन हुने स्थिति बन्न सक्छ ।
सचिवालय सदस्य श्रेष्ठ नेतृत्वले ढंग नपुर्याए उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन विसर्जनउन्मुख हुने खतरा रहेको बताउँछन् । “को ठीक कि के ठीक भन्नेमा धेरै ठूलो समस्या छ,” उनी भन्छन्, “कुरा उही हो । तर एउटाले भन्दा बेठीक र अर्कोले भन्दा ठीक मान्ने व्यक्तिवादी गुटले ग्रस्त बनाएको छ ।”
नेकपालाई ठूलो कांग्रेस बनाऊने कि एकीकृत क्रान्तिकारी शक्तिशाली समाजवादी पार्टी बन्ने चुनौती रहेको उल्लेख गर्दै श्रेष्ठ नेताहरू सच्चिनुको विकल्प नभएको टिप्पणी गर्छन् । “पार्टी कस्तो बनाउने भन्ने कुराले नै हाम्रो भविष्य निर्धारण गर्छ,” उनी भन्छन्, “एउटा बृहत् वैचारिक सांस्कृतिक रूपान्तरणको खाँचो छ ।”
कहिले तीतो, कहिले मीठो
छैटौँ महाधिवेशन नेपालगन्ज (१२–१८, माघ ०५४) मा एमाले विभाजनको सँघारमा थियो । सीपी मैनाली, वामदेव गौतम, राधाकृष्ण मैनालीहरूले नेतृत्वमाथि प्रश्न उठाउँदा संस्थापनतर्फ महासचिव माधवकुमार नेपाल र केपी ओलीले एकढिक्का भएर सामना गरेका थिए । २१ फागुनमा पार्टी फुट्यो । विभाजित पार्टीलाई पहिलेकै स्थितिमा फर्काउन र गौतम नेतृत्वको मालेलाई एमालेमा विलय गराउन दुवैको उत्तिकै मिहिनेत थियो । ०५९ सालमा सातौँ महाधिवेशन जनकपुरमा ओलीले बहुपदीय संगठन संरचनाको प्रस्ताव गरेका थिए । त्यहीँदेखि हो, नेपालले ओलीलाई प्रतिस्पर्धी ठान्न थालेको ।
माधव नेपालको ६५ औं जन्मदिनमा केक खुवाउँदै केपी ओली
०६५ सालमा नेपालले खुलेर साथ दिएको भए ओली आठौँ महाधिवेशनमै एमाले अध्यक्ष हुने थिए । तर नेपालले प्रतिस्पर्धामा उत्रिएका झलनाथ खनाल र ओली कसैलाई पनि खुलेर समर्थन गरेनन् । रौतहट र काठमाडौँबाट पराजित नेपाललाई ०६६ सालमा कांग्रेस–एमाले–मधेसवादी सरकारको प्रधानमन्त्री बनाउन ओलीले खुलेरै साथ दिए । प्रधानमन्त्री नेपालविरुद्ध गौतमले हस्ताक्षर संकलन गर्दा सबैभन्दा धेरै प्रतिवाद ओलीले नै गरेका थिए । चौतर्फी दबाब थेग्न नसकेर नेपालले राजीनामा दिनुपर्यो । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच १७ पटक प्रधानमन्त्रीको चुनाव हुँदा पनि बहुमत नपुगेपछि माओवादीको समर्थनमा खनाल प्रधानमन्त्री भएका थिए ।
०७० सालमा एमाले संसदीय दलको नेतामा तत्कालीन अध्यक्ष खनाल र वरिष्ठ नेता ओली आमनेसामने भए । नेपाल गुटले खनाललाई सघायो भने वामदेव गौतम गुटले ओलीलाई । त्यतिबेला ओलीले एक व्यक्ति एक पदको नारा लगाएका थिए । अहिले नेता नेपालले ओलीको त्यही नारामा टेकेर अध्यक्षदेखि तल्लो कमिटीसम्म एक व्यक्ति एक पद हुनुपर्ने मागसहित ७ बुँदे लिखित असहमति दर्ज गरेका छन् । ०७१ को नवौँ महाधिवेशनमा अध्यक्षका लागि ओली र नेपाल प्यानलसहित आमनेसामने थिए । गौतम ओलीको पक्षमा थिए भने नेपाललाई खनाल समूहको भित्री साथ थियो । ओलीले ४९ मतान्तरले चुनाव जिते । त्यसयता ओली–नेपाल सम्बन्ध सुमधुर छैन । पार्टी सचिवालय बैठकमा भएको पछिल्लो भनाभन त्यसैको एउटा कडी माक्र हो । तर चिन्ता व्यत्त गर्ने शुभेच्छुकलाई नेपालले भनेका छन्, “विवादलाई ठूलो रूपमा नहेर्नुस् । यो श्रीमान्–श्रीमतीको झगडाजस्तै हो ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...