रम्य कलाको समेकता

- सीके लाल

समकक्ष व्यक्ति (पियर ग्रुप) द्वारा गरिने सार्वजनिक मानजति महत्त्वपूर्ण उपलब्धि अरू कुनै हुँदैन । केही उल्लेख्य कलाकारको कलाकृति प्रदर्शन सँगसँगै यस वर्षको ‘कलापुन्ज–५’ कार्यक्रममा सोसाइटी अफ मोर्डन आर्टिस्ट्स (सोमा) संस्थाले उमेर एवं विधागत उपलब्धिका दृष्टिकोणले वरिष्ठ कहलिन लायक कलाकारद्वय चिनीकाजी ताम्राकार एवं टेकवीर मुखियालाई सम्मान कार्यक्रम पनि राखेको थियो । समारोहमा सफलता सँगसँगै निरन्तर सक्रियताले महत्त्वपूर्ण पहिचान बनाएका कान्छाकुमार कर्माचार्य एवं शंकरनाथ रिमालजस्ता स्वनामधन्य सर्जकको उपस्थितिले प्रदर्शनी स्थलका सहभागी उत्साहित देखिन्थे । आयोजकका अनुहारमा सन्तुष्टिको भाव स्पष्ट पढ्न सकिन्थ्यो । कलानुरागीको जमात बढ्दै जानु निःसन्देह सुखद अनुभूति हुने रहेछ । पौभा, थांका एवं मिथिलाजस्ता परम्परागत चित्रकला सँगसँगै आधुनिक भनिने शैली पनि गुनज्ञहरूको सीमित घेराबाट सार्वजनिक स्थलमा देखिन थाल्नु दृश्यकलाको प्रदर्शन क्षेत्रमा परिपक्वता आएको संकेत हो ।

समारोहको पार्श्व भेटमा अर्का वरिष्ठ कहलिन लायक कलाकार अशोकमान सिंहसँग एकैछिन भलाकुसारी गर्ने मौका मिलेको थियो । अशोक यशस्वी हुन् तर प्रसिद्धिकै लागि मरिमेट्ने कीर्तिकर्मी (सेलेब्रिटी) भने होइनन् । एक जमानामा उनी काठमाडौँका सबभन्दा सिद्धहस्त व्यावसायिक कलाकारमा गनिन्थे । आफ्नो समयको सर्वाधिक लोकप्रिय पत्रिकाको प्रकाशन समूहमा रहेर काम गरेका छन् । कलाकारिताबारे पाठ्यपुस्तक लेखेका छन् । कलाविधाका निपुण शिक्षकमा गनिन्छन् । तर उनी निपुण आलेखाकार (इलस्ट्रेटर) एवं कुशल वर्णिताकार (ग्राफिक आर्टिस्ट) पनि रहिसकेका हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । रम्य कला (पप आर्ट) एवं वाणिज्यिक कला (कमर्सिल आर्ट) पनि ‘सत्य, सुन्दर, ज्ञान एवं नवीनता’ समाहित दृश्य कलाका अन्य विधाजत्तिकै महत्त्वपूर्ण व्यवसायका साथै स्वाभाविक चित्तवृत्ति पनि हो भन्ने मान्यता स्थापित हुन बाँकी छ । वाणिज्यिक कलाका वृत्तिकले अद्यापि अपेक्षित सम्मान पाउन सकेका छैनन् । त्यस दिन पनि अशोकले उच्छवाससहित टिप्पणी गरे, ‘सँगै कति काम गरियो । आजभोलि त बिर्सिन थालेको छु ।’

स्मृति–लोपजस्तो जटिल अवस्थामा बाहेक भुल्नु पनि मस्तिष्कको अनुकूलतम क्रियाशीलताका लागि सम्झिनुजत्तिकै महत्त्वपूर्ण प्रवृत्ति हो । बिर्सने क्षमता नहुँदो हो त जानी–नजानी विगतका गल्तीको अपराधबोधले चित्तलाई थिचेर उठ्नै नसक्ने गरी थचारी दिने थियो । बिर्सिन सक्नेले मात्रै अरूलाई होइन, स्वयंलाई समेत क्षमा गर्न सक्छ । र, त्यसपछि प्रेम र सिर्जना गर्न सक्छ । अशोक प्रयोगधर्मी कलाकार एवं शिक्षक हुनुका साथै असल व्यक्ति पनि हुन् । सायद त्यसैले उनमा भुल्ने बानी औसत व्यक्तिभन्दा बढी रहेको हुन सक्छ । उनीसँगै काम गरेकाहरू भने तिनको क्षमता एवं लगनशीलतालाई सहजै बिर्सिन सक्दैनन् । त्यो कुरा उनका एकताकाका सहकर्मी एवं अहिले सोमाका पदाधिकारी रहेका कलाकर्मी जीवन राजोपाध्याय पनि सत्यापित गर्न तयार भए ।

निर्धारक दशक

वाणिज्यिक कलाको इतिहास मानव सभ्यताको विकाससँगै जोडिएको हुनुपर्छ । गुफाका भित्तामा कोरिने आदिम चित्रकला बसिबियाँलो मात्र रहेको पनि हुन सक्छ । वस्तु विनिमय प्रणालीको सुरुआतपछि भने कलात्मकताले मूल्य अभिवृद्धि हुने यथार्थ स्थापित भएको हुन सक्छ । धनुष र वाण एवं हँसिया–हथौडाजस्ता गुजाराका औजारमा समेत सौन्दर्य समेट्न सकिन्छ । व्यावहारिक कलाकर्मको उल्लेख्य अभिव्यक्ति भने बस्ती विकास सँगसँगै आएको स्थापत्य कलामा देख्न सकिन्छ । उपयोगिता सँगसँगै आकार, अनुपात, सन्तुलन, सामन्जस्य एवं नयनाभिराम निर्माणले उत्पन्न गराउने सौन्दर्यानुभूति वास्तुकलाभित्र प्रकट हुन्छ । सहर एवं घरको लघुचित्रित प्रारूप तयार गर्ने सीप आलेखाकार एवं वर्णिताकारले बिक्रीका लागि राखिने वस्तुको डिजाइन, प्याकेजिङ एवं प्रस्तुतिदेखि विज्ञापन सामग्री बनाउँदासम्म लगाउँछन् । अशोकले सम्झिएको सन् १९८० दशकको सिर्जनात्मक उर्वरता हुन सक्छ ।

सन् १९८० को दशकलाई अर्थराजनीतिक उथलपुथलको कालखण्ड मान्न सकिन्छ । जनमतको प्रक्रिया/परिणाम जे–जस्तो भए पनि त्यस ऐतिहासिक घटनाले राज्य एवं समाजमा अपेक्षाकृत खुलापन आएको थियो । कतिपय राजनीतिकर्मी स्वनिर्वासनबाट नवाचारका मान्यताका साथ घर फर्किएका थिए । शीतयुद्ध उत्कर्षोन्मुख हुन थालेकाले अन्तर्राष्ट्रिय, द्विपक्षीय एवं बहुपक्षीय दाता तथा साहूकारले ‘सहायता होइन, व्यापार विस्तार’ भन्ने सिद्धान्त प्रतिपादन गर्न थालेको अवस्था थियो । व्यापार विस्तारका लागि पूर्वाधार तयार गर्ने नाउँमा विदेशी ऋण ओइरिन थालेको थियो । तराई–मधेसको निर्वनीकरणबाट हुने आम्दानी अन्ततः काठमाडौँ  नै छिर्थ्यो । अनधिकृत व्यापारबाट मालामाल हुनेहरू महँगो मोटरमा सयर गर्न थालेका थिए । कुलेखानी जलविद्युत् आयोजनाको बिजुलीले राजधानी झलमल्ल भइसकेको थियो । सामाजिक न्यायको जतिसुकै मन्त्र भट्याए पनि पञ्चायत व्यवस्था यथार्थमा मालिक–रैती सम्बन्धमा अडेको थियो । त्यसलाई ‘पाखण्डी पुँजीवाद’ व्यवस्थामा रूपान्तरित गर्ने फ्रक्रिया सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनात्मक समायोजन कार्यक्रम निम्त्याउने गतिविधिबाट सुरु भयो भन्दा हुन्छ । सहरी उपभोक्ताको यथेष्ट समूह व्यापार विस्तारका लागि तयार हुने क्रममा थियो ।

अवसर देखिन थालेपछि लगानीकर्ता ओइरिन्छन् । उपभोक्तामाझ ‘रक्सी, बिस्कुट, चाउचाउ, चुरोट’ संस्कृति फैलिन सुरु भयो । आयाधिक्य संकलन एवं ऋण प्रवाहबीच खेलेर नाफा कमाउन खप्पिस विदेशी बैंकहरू भित्रिएको पनि सन् ८० कै दशकमा हो । रंगीन टेलिभिजनको प्रवेशपछि आधुनिक भनिएका वस्तुको आकर्षण बढ्ने नै भयो । विज्ञापन फगत सूचना नभएर चाहना जगाउने प्रचार सामग्री पनि हो । त्यसका लागि घरघरमा उपलब्ध श्रव्यदृश्यजति उपयुक्त माध्यम अरू हुन सक्दैनथ्यो । यस्तै परिवेशमा पंक्तिकारको परिचय वाणिज्यिक कलाका विभिन्न आयामसँग भएको थियो । अभिव्यक्तिका श्रव्यदृश्य एवं स्पर्शात्मक माध्यमलाई संयोजन गरेर अपेक्षित प्रतिक्रिया उत्पन्न गराउने वाणिज्यिक कला नेपालको अर्थतन्त्रको प्रारूप पाखण्डी एवं परजीवी हुँदै चाकर पुँजीवादको चरणमा पुगिसकेको भए पनि अझैसम्म शैशवावस्थामै रहेजस्तो लाग्न सक्छ । बिक्रीका लागि उपलब्ध वस्तुको ‘इस्तिहार’ गोरखापत्रमा उहिल्यै सुरु भइसकेको भए पनि संयोजित विज्ञापन अभियानको चलन सन् ८० को दशकमा संस्थागत हुन थालेको हो । माग सर्वेक्षण, विज्ञापन डिजाइन, पूर्वप्रयोग, मिडिया मिश्रणको छनोट, रेडियो जिंगल, सिनेमामा देखाइने प्रवर्द्धन चलचित्र, टेलिभिजन कमर्सियलदेखि होर्डिङ बोर्ड एवं साइन बोर्डसँगै प्रचार पताका (लिफ्लेट) सम्मको परिकल्पनामा कलात्मकता भएन भने अपेक्षित परिणाम हासिल गर्न सकिँदैन । शब्दकार भएकाले पंक्तिकारको काम संकल्पना, संकथन एवं अभिव्यक्ति निर्माणमा सीमित हुने गर्थ्यो । त्यसलाई वाणिज्यिक कलामा रूपान्तरण गर्ने काम भने आलेखाकार, वर्णिताकार, छविचित्रिक, छायाचित्रकार एवं अन्य कलाकारको पूरै समूहले गर्थ्यो ।

अशोकले सम्झाएको ‘सँगै धेरै काम गरियो’ टिमका नेता सन् ८० को त्यस रोमाञ्चक दशकमा मणिध्वज जोशी थिए । शिक्षाले वाणिज्य शास्त्री, दक्षताले चित्रकार, रुचिले प्राविधिक, चाहनाले व्यवस्थापक एवं आवश्यकताले उद्यमी भएका मणि विलक्षण प्रतिभाका धनी व्यक्ति हुन् । अशोकको बहुआयामिक दक्षता उजागर गर्नमा उनी पोख्त थिए । मोहन खड्का कुरोको चुरो समातेर चित्रित गर्न सक्ने अब्बल वर्णिताकार थिए । उनी कम उमेरमै बिते । जीवन पनि बहुआयामिक क्षमताका कलाकर्मी हुन् । उनको विशिष्टता भने आलेखाकारिता (इलस्ट्रैसन) हुने गर्थ्यो । मानचित्रदेखि हस्तलिपिसम्ममा नवीनता झल्काउन सक्ने मणिको आर्ट स्टुडियो आफ्नो समयको नयाँ चलन स्थापित गर्ने अग्रणी उद्यम थियो । कालान्तरमा कम्प्युटर डिजाइन क्षमता एवं मानवीय परिकल्पनालाई संयोजन गरेर तत्काल कलाकृति तयार गर्ने पूर्वाधार मणिले सुरु गरेका थिए । वाणिज्यिक कलाले यथेष्ट सामाजिक सम्मान र अनुमोदन पाउँदो हो त पसलमा भड्किलो प्याकेजिङ, छापामा निष्प्राण विज्ञापन, रेडियोमा अनर्थक जिंगल एवं टेलिभिजनमा अनर्गल प्रचारको साटो कलात्मक सम्प्रेषण देखिँदो हो । मान र सम्मानकै खोजीमा होला, मणि प्रतिष्ठित उद्यमी भएका छन् । अशोकको प्राथमिक पेसा कला शिक्षण हो । जीवन आधुनिक कलाकार छन् । र, नेपालमा वाणिज्यिक कला विधाको आकारमा अथाह विस्तार भएको भए पनि गुणस्तर भने सन् ८० को दशकभन्दा खासै माथि जान सकेको देखिँदैन । राजनीतिक रूपमा उद्देश्यमूलक अभिव्यक्तिको अवधारणा स्वीकार्य भइसकेको छ । दृश्यकलामा स्वान्तसुखाय एवं ‘कलाका लागि कला’ भन्ने मान्यताको आकर्षणले वाणिज्यिक कलाका वृत्तिकहरूले आफ्ना सिर्जनामा अझैसम्म पनि रमाउन सकिरहेका छैनन् । नेपालका १० सर्वोत्कृष्ट वाणिज्यिक कलाकारको नाउँ सम्बन्धित पेसामै रहेकाहरूलाई पनि थाहा नहुन सक्छ । प्रसिद्ध भएकाले मात्रै प्रसिद्धि पाउने कीर्तिकर्मीको तालिकामा वाणिज्यिक कलाकारको नाउँ आउँदैन ।

प्रवर्द्धन कलाकर्म

सन् २०१९ का लागि तयार गरिएको संसारका सर्वाधिक महँगा नामछाप (ब्रान्ड्स) सूचीमा एप्पल सबभन्दा माथि छ । त्यसको प्रतीक चिह्न (लोगो) टोकेको स्याउको वर्णिति (ग्राफिक्स) हो । दोस्रो स्थानमा रहेको गुगलले स्वयंलाई विशिष्ट अक्षरले चिनाउँछ । कोकाकोलाको खास हस्तलिपि दशकौँदेखि उस्तै छ । प्रविधि क्षेत्रमा काम गर्ने एप्पलको व्यापारिक पहिचानको बजारमूल्य फोर्ब्सको आकलनमा २ सय ५ अर्ब डलरभन्दा बढी छ । नामछाप एवं प्रतीक चिह्नको शक्ति ठम्याउन जापानको ‘मुजी’ भनिने उपक्रमको इतिहास नियाले पुग्छ । सन् ८० कै दशकमा नामछापविहीन तर गुणस्तरीय सामानको परिचायकका रूपमा ‘नो लोगो’ एवं ‘नो ब्रान्ड’ उपभोक्ता आन्दोलनको पर्याय रहेको ‘मुजी’ अब आफैँमा एउटा प्रतिष्ठित ब्रान्ड बन्न पुगेको छ । जस्तोसुकै पुँजीवादमा उपभोग्य वस्तु वा सेवाको सबभन्दा महँगो सिर्जना सामान्यतया त्यस उपक्रमको ‘ट्रेड मार्क’ हुन पुग्छ ।

सामानको उपयोगिताभन्दा बजारमा महँगोमा बिक्ने उपभोक्ताको आश र विश्वास हो । त्यो सन्देश सम्प्रेषण गर्न अपवादबाहेक शब्दकर्मीभन्दा आलेखाकार एवं वर्णिताकारको भूमिका महत्त्वपूर्ण हुन्छ । शब्दशक्तिलाई तीन किसिममा वर्गीकरण गरिएको छ– अभिधा, लक्षणा एवं व्यञ्जना । शब्दकोशले दिने परिभाषा अभिधा हो । लक्षणाले शब्दसँग सम्बद्ध अन्य अर्थलाई बुझाऊँछ । अर्थ निर्धारणलाई वैयक्तिक अवस्था एवं क्षमतामा छाडिदिने व्यञ्जना शब्दशत्तिको प्रयोग सबभन्दा सहज एवं अत्यन्त जटिल सँगसँगै हुने भएकाले त्यसको व्याख्या कलामा मात्र सम्भव छ । कोकाकोलाको प्रचार वाक्य (ट्यागलाइन) ‘कोक इज इट’ प्रसिद्ध हुनुमा नियमित पुनरावृत्तिको भूमिका त जे छ, छँदै छ । त्यसका साथै वर्णिताकारले मात्रै व्यञ्जना अझिव्यक्तिको शत्तिलाई सबभन्दा सहजताका साथ सम्प्रेषित गर्न सक्छन् भन्ने पनि उत्तिकै सत्य हो ।

कलापुन्ज–५ समारोहमा सम्मानित टेकवीर मुखिया साझा प्रकाशनका पुस्तकको आवरण पृष्ठ डिजाइन गर्थे । रेखाचित्रमा समेटिएको पुस्तकको मर्म बुझ्न ती आवरण आकर्षक हुने गर्थे । महँगो गाता वा रंगीचंगी आवरणको प्रयोग बढेको छ । तर लाग्छ, पुस्तक डिजाइनरमा पाठ्यभाग (टेक्स्ट) पढ्ने संयम हराउँदै गएको छ । सबैजसो पुस्तकको आवरण एकनासे देखिँदै जानु सिर्जनात्मकता हराउँदै गएको संकेत हो । हुलाक टिकटको प्रचलन कम हुँदै गएको छ । प्रत्येकजसो टिकट एउटा कलाकृतिको लघुरूप मुद्रण ठहरिने चरण सुस्तरी लोप हुनेछ वा गुणग्राहीको व्यसनमा सीमित हुँदै जानेछ । त्यसपछि सामान्यजनलाई कलात्मकतासँग साक्षात्कार गर्ने अवसर टिसर्ट, तयारी चाउचाउको प्याकेट एवं रेस्टुराँको मेनुमा खोज्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो परिस्थितिको परिकल्पना सबभन्दा पहिले दृश्यविधामा रम्य कला (पप आर्ट) आन्दोलनका प्रणेतामध्ये प्रमुख मानिने अमेरिकी कलाकार एन्डी वारहोलले गरेका थिए । अभिव्यक्ति, विज्ञापन एवं कीर्तिकर्मी संस्कृति एकअर्कासँग जोडिएका हुन् भन्ने मान्यतालाई (अ) सामाजिक सञ्जालले व्यापक बनाउँदै लगेको छ । समाजमा ‘१५ मिनेटको प्रसिद्धि’ वारहोलको सूत्रीकरण हो । त्यस सूत्रलाई ट्वीटरका बौद्धिक, इन्स्टाग्रामका उत्प्रेरक (इन्फ्लुएन्सर), युट्युबका आन्दोलनकर्मी तथा फेसबुकका अभियन्ताहरू सिद्ध गर्न लागिपरेका देखिन्छन् । वारहोलले आफ्नो कलाकोठालाई प्रचलित स्टुडियोको साटो ‘द फैक्ट्री’ नामकरण गरेका थिए । कला कारखाना सुस्तरी कार्यशालामा रूपान्तरण हुने क्रममा छन्, जहाँ उही व्यक्ति परिकल्पनाकार, शब्दकर्मी, आलेखाकार, वर्णिताकार एवं प्रसारक हुन सक्छ । एकताका उबेलाका ‘प्रचण्ड’ भनिने मनुवाले

‘कलाविहीन नाटक’ अभिव्यक्ति खुबै प्रचलित तुल्याएका थिए । त्यो प्रवृत्ति अब पुष्पकमल दाहाल भनिने व्यक्तिको सबैजसो मुद्दामा अकरण स्थिति (डिफल्ट पोजिसन) बन्न पुगेको छ । कलाविहीन परिवेशमा सिर्जनात्मकता कुन्द हुँदै जानु अस्वाभाविक होइन । नेपालमा प्रवर्द्धन कलामा व्याप्त रहेको दरिद्रता ठम्याउन सामान्य पसलमा झुन्ड्याएका रंगीचंगी पोका–पन्तुरामा नजर डुलाए पुग्छ । आँखा खाने रंगलाई आकर्षक ठहर्‍याउने प्रवृत्ति व्याप्त हुनु वाणिज्यिक कलाकर्म रचनात्मक हुन नसकेको संकेत हो ।

जीवनोपयोगी कला

शब्दकर्मीहरूको कला चेतना अपेक्षाकृत न्यून हुनुका साथै आफ्ना विधाप्रतिको ऐक्यबद्धताले पनि होला, ट्रक साहित्यबारे बरोबर चर्चा हुन्छ तर त्यसभन्दा व्यापक रहेको ‘ट्रक कला’ सधैँ ओझेल पर्ने गर्छ । कलाको सबभन्दा सहज परिभाषामा हातखुट्टाले गर्ने काम मजदुरी हो । त्यस कर्ममा दिमागको शक्ति जोडियो भने शिल्पकारिता हुन पुग्छ । शिल्पकारितामा मस्तिष्कका साथै मन पनि थप्न सकियो भने जुनसुकै कर्म कला भएर फक्रिन्छ । त्यस्तो व्यापक अर्थले मात्रै विधि पूरा भएपछि मेटाइने मिथिलाको अरिपन, उपहार खोलिसकिएपछि मिल्काइने आकर्षक डोरीको गाँठो एवं बिरलै आँखा लगाइने चुइँगमको रैपरलाई समेत कलात्मक भन्न सकिन्छ । भित्तामा झुन्ड्याइने फ्रेम मात्रै कलाकृति होइन । जहाँ जीवन छ, त्यहाँ कला पनि हुन्छ । उपयोगितावादी दर्शनले सौन्दर्य चेतनालाई गौण ठहर्‍याउँछ । त्यसैले होला, सहरमा बिजुलीका खम्बामा गुजमुज्ज परेका तार झुन्डिएका हुन्छन् । विश्वविद्यालयको भित्ते घडीले गलत समय देखाइरहेको हुन्छ । कला चेतनाबिनाको समाज जस्तो हुनुपर्ने हो, नेपालमा त्यस्तै सबथोक छ ।

स्वीकार गर्न असहज लागे पनि नेपालको राज्य एवं समाजले पुँजीवादी अर्थ–राजनीति अंगीकार गरेको हो । पाखण्डी, परजीवी वा चाकरजस्तै समाजवादोन्मुख विशेषणले मूल शब्दको अर्थमा गुणात्मक नभएर मात्रात्मक पहिचान मात्र थप्छ । त्यसैले विद्यमान व्यवस्था समाजवादोन्मुख पुँजीवाद हो वा चाकर पुँजीवाद (क्रोनी क्यापिटलिज्म) भन्ने बहस जति पनि लम्ब्याउन सकिन्छ । तर नेपालमा जे छ, त्यो पुँजीवादी अर्थ–राजनीतिक व्यवस्था हो भन्ने यथार्थ त विवादरहित छ । पछाडि परेकाहरूप्रति निर्मम हुनु पुँजीवादको अन्तर्निहित चरित्र हो । त्यसलाई सह्य बनाउनमा रम्य कला एवं सुगम संगीतको ठूलो भूमिका रहेको हुन्छ । भित्तामा नारा लेख्नुको साटो चित्र कोर्ने एवं ‘लरक्कै परेको जीउ मेरो’ गीतमा नाच्नेहरूलाई विद्रोह गर्न गाह्रो हुन्छ । जीवनोपयोगी सूचनामा समेत सौन्दर्यानुभूति (एस्थेटिक्स) समाहित गर्नु यथास्थितिको स्थायित्वका लागि जरुरी अवयव हुने गर्छ । विशाल स्मारकको निर्माणमा दम्भ झल्किन्छ भने कलात्मकताले तादात्म्य स्थापित गर्न सघाउँछ । वर्तमान यथास्थितिवादी सत्ताले आफ्नै हित प्रवर्द्धनका लागि कला चेतनाको विस्तारमा लाग्नुपर्ने बाध्यता छ । हिन्दीका प्रख्यात साहित्यकार एवं सम्पादक रघुवीर सहायको ‘कला क्या है’ शीर्षक कविताको अन्तिम पंक्ति मननीय छ, ‘कला बदल सकती है क्या समाज ?/ नहीं, जहाँ बहुत कला होगी, परिवर्तन नहीं होगा ।’

कलात्मकताले क्रान्तिकारितालाई कुन्द गरे पनि क्रमिक सुधारको उपक्रमलाई भने ‘उपयोगी कला’ विधाले सघाउन सक्छ । दक्ष आलेखाकारले सार्वजनिक सूचनालाई प्रभावकारी बनाउन सक्छन् । कुशल वर्णिताकारको हात नपरेकाले होला, सरकारी विज्ञापनमा आउने अनुरोध पनि आदेशजस्ता लाग्छन् । रम्य कलाको खडेरी स्वागत चिह्नमा देखिन्छ, जहाँ हात जोडेको चित्र प्रायशः परम्परागत महिलाको मात्रै हुन्छ । रघुवीर सहाय सही हुन सक्छन् तर सोद्देश्य कलाको निहितार्थ पनि परिवर्तन नभएर जीवनका जटिलतालाई सहने एवं त्यसैमा रमाउने क्षमता प्राप्त गर्नु हो । कीर्तिकर्मी

‘ब्रान्ड एम्बेसडर’, लब्धप्रतिष्ठित व्यक्तिद्वारा उत्पाद अनुमोदन एवं निरन्तर चल्ने सूची विज्ञापनले वाणिज्यिक कलाको महत्त्वलाई केही घटाएको पक्का हो । टेलिभिजनमा बाहिरी विज्ञापनविहीन ‘क्लिन फिड’ नीति साँच्चै लागू भयो भने मणि, अशोक, मोहन एवं जीवनजस्ता वाणिज्यिक कलाका सन् १९८० दशकका अग्रदूतको नयाँ पुस्ताका संस्करणको प्रतिभा परख हुनेछ ।

साथमा यो पनि पढ्नुहोस् : कला मालामाल, कलाकार गुमनाम

प्रकाशित: भाद्र १९, २०७६

ट्याग: कला चर्चा
×