विद्रोही हिटलर

- कृष्ण धरावासी  

जेल जर्नलजस्तो लाग्ने माइन क्याम्फ निकै तार्किक लाग्यो, निरपेक्ष भएर पढ्दा । एडोल्फ हिटलरलिखित यस किताबमा संसदीय व्यवस्थाका विकृति पनि खुलस्त पारिएको छ । हामीले अहिले भोगिरहेको संसदीय बेथिति र हिटलरको त्यो बयान दुरुस्तै मेल खान्छ । व्यक्ति हिटलर र उनका कदम पन्छाएर पढ्दा- राजनीतिक दृष्टि, क्रान्तिकारिता, राज्यमाथि चिन्तन, जर्मनीको अव्यवस्था आदिको निकै आकर्षक चित्रण भेटिन्छ । हिटलर तानाशाह मात्रै होइन, विद्रोही पनि थिए । भलै उग्र राष्ट्रवादी हिटलरका कारण लाखौँ-लाख व्यक्तिको संहार भयो ।

घाइते सेना हिटलर उपचारमै रहँदा पहिलो विश्वयुद्ध सकिएकाले उनी बचेका थिए । पहिलो युद्धपछि टाट पल्टेको जर्मनीले एक लाखभन्दा बढी सेना राख्न नपाउने, हातहतियार बनाउन-किन्न नपाउने र युद्धसिर्जित खर्बौं क्षतिको हर्जाना बेहोर्नुपथ्र्यो । सन् १९१९ मा जर्मन मजदुर पार्टीमा प्रवेश गरेका हिटलरले छोटो अवधिमै विभिन्न मोर्चाको अगुवाइ गरे । हिटलर बिनायोजना त्यो स्थानमा पुगेका थिएनन् । सत्तामा पुगेको लगभग पाँच वर्षभित्रै दोस्रो विश्वयुद्धको घोषणा गरे । हिटलरको उदयपछि अभूतपूर्व ढंगले जर्मनीसँग सेना, हातहतियार, पैसा जम्मा भयोे, जुन रुस, बेलायत, फ्रान्स र अमेरिकाले अनुमान गरेकै थिएनन् सायद । चौतर्फी घेराबन्दीमा पर्दा जर्मनी हार्‍यो । तर ठूला शक्तिसँग आधा दर्जन वर्ष टिकिरहनु चानचुने सामथ्र्यले सम्भव थिएन । कथम् त्यो युद्ध जर्मनीले जितेको भए संसारको इतिहास अर्कै बाटोबाट अघि बढ्थ्यो र आज अमेरिकाको जुन प्रभुत्व छ, त्यो जर्मनीको हुन्थ्यो । विजितहरुकै इतिहास मान्य हुने प्रचलनअनुसार लाखौँको नरसंहारपछि पनि हिटलर विश्वनायक हुन्थे ।

गुड अर्थमा चिनियाँ समाजको गरिबी, सामन्ती परिवेशबीच बढेको दासताको चरम अवस्था, किसानको दुरावस्था पढ्दा मलाई साह्रै पीडा भयो । पर्ल एस बकलिखित यो उपन्यासभित्र सामन्ती र सर्वहारा समाज छ तर मध्यमवर्गीय समाज नै देखिँदैन । धनी महिलाकी सेविका भएर काम गरेकी ओलान र गरिब किसान वाङलुङबीचको प्रेम र संघर्ष रोचक छ । आर्थिक उत्थानपछि सामन्ती स्वभाव विकास भएकाले वाङलुङ जुवा, परस्त्रीगमन, नोकरचाकर राख्नमा रमाउँछ । व्यक्तिभन्दा सम्पत्ति नै सामन्ती संस्कृतिमा अनुवाद गराउने हतियार भइदिन्छ । तर ओलाङमा भने कुनै ठालूपन पलाएको छैन । महिलाकै धैर्य र संघर्षका कारण परिवार र समाजलाई आजसम्म टिकाइराखेको छ । ओलानको सहनशीलताले सुखद परिवारको संकेत गर्छ । लोग्नेका हर कमजोरीलाई क्षमा दिँदै परिवारलाई एउटा मुठ्ठीमा जोगाउन ओलानले गरेको दुःख सराहनीय छ । आँधीहुरी, खडेरी, हिमपात, पहिरोका दुःख-कष्ट सहने धरतीजस्तै ऊर्जाशील-उत्पादनशील छिन्, ओलान । असंगठित राजनीतिक विद्रोह र असन्तुष्टिबीच ओलानको छोरा अन्तिममा आन्दोलनकारीको पछि लागेर जानुले चीनले अब लामो समय गरिबी र उत्पीडन खपेर बस्दैन भन्ने संकेत गर्छ । कल्पना गरिएजस्तै पछि चीन लाल भयो ।

द गुड अर्थको चीनलाई हेरेर नेपाली कम्युनिस्ट र राजनीतिक परिवर्तनलाई हामी अध्ययन गर्न सक्छौँ । परिवर्तनपछि अपरिवर्तनीय ढंगका विकृति किन जीवित भए ? नेपालका नेतृत्व वाङलुङजस्ता लाग्छन् । यो देश अझै ठूलो उथलपुथल पार्ने युद्ध पर्खेर बसेको पो छ कि !

महाभारतमा कृष्ण र अर्जुनबीच युद्धस्थलमा भएको संवादको अध्याय नै श्रीमद्भगवद् गीता हो । न्यायका लागि लड्नैपर्ने क्रान्तिकारी चेत दिने यो ग्रन्थ पश्चिमा दर्शनमा समेत उत्तिकै प्रभावी देखिन्छ । कांग्रेसको जनक्रान्ति, जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह र जनजाति आन्दोलनमा गीतादर्शन सान्दर्भिक रह्यो । गीताको सशक्त पक्ष नै हामीभित्रको विद्रोहात्मक मनोविज्ञान र ताकतलाई निभ्न नदिनु हो । विद्रोह नबोकेको जाति, संस्कृति र सभ्यता बाँच्नै सक्दैन ।

कृष्णले अर्जुनलाई भनेका छन्- 'मारियौ भने स्वर्ग जान्छौ, जित्यौ भने पृथ्वीमा राज गर्छौ । दुवै अवस्थामा तिम्रो जित अवश्यभावी हुनाले तिमी युद्ध लड ।' गीतादर्शनबाट क्रान्ति, संन्यास, कर्म, भक्तिजस्ता अनेक विकल्पका साथै सांख्यदर्शन र कर्मयोग बुझ्न सक्छौँ । सकारात्मक बाटो छनोटको अवसर भएकाले निराशाको खाडलमा जाकिनबाट बचाउने मानसिक चिकित्सा पनि गीतामा छ ।

गीताले मनोवैज्ञानिक उपचार मात्रै गर्दैन, हामीलाई गलत दिशामा डोर्‍याउन पनि सक्छ । अर्जुनलाई मानव बमको रुपमा प्रयोग गरी आफ्ना शत्रु नाश गर्न कृष्णले विराट स्वरुपबाट सम्मोहित गरेको छ र फालेको गाण्डिव उचालेर युद्धका लागि अर्जुन तयार भएको छ । अहिले पनि आफ्ना अहं र कुण्ठा शान्त पार्न हजारौँ मानिसलाई आत्मघाती बम आक्रमणमा प्रयोग गरिन्छ । विश्व आतंकवादलाई पनि बढावा दिन सक्छ, कृष्णको विचारले । विश्वका उत्कृष्ट दर्शनको अग्रपंक्तिमा उभिने हैसियतयुक्त गीतालाई दलित, महिला आदिका पहुँचभन्दा माथि पूजाकोठामा सीमित गर्दै शोषण गर्ने संविधान बनाए, भक्तिवादीले । गीतालाई थुक लगाएर पढ्नै नमिल्ने, पुरेतले मात्रै व्याख्या गर्नुपर्ने दिव्य-ग्रन्थका रुपमा अभ्यास गरिएकाले आलोचनात्मक दृष्टि कमजोर भयो ।

प्रस्तुति : गुरुङ सुशान्त

 

प्रकाशित: भाद्र २४, २०७६

ट्याग: तीन किताब