क्रान्तिकारी पत्रिकामा राजाको दीर्घायु कामना

- शिशिर वैद्य

०३६ सालतिर प्रकाशित अनुभूति त्रैमासिक, पूर्णांक ४-५, स्तालिन अंक थियो । रुसी कम्युनिस्ट पार्टीका शक्तिशाली नेता स्तालिनमाथि लेखिएका कविता, लेख, जीवनी एवं विभिन्न रचना प्रकाशित छन्, पत्रिकामा । पत्रिकाको अन्तिम गातामा तीन विज्ञापन छापिएका छन् । अन्तिम पानाको विज्ञापनमा नेसनल ट्रेडिङ लिमिटेडको तर्फबाट विजयादशमीको शुभकामना छ । भित्री गातामा श्री ५ महाराजाधिराज र बडामहारानीको दीर्घायुको कामना गरिएको शुभकामना सन्देश छ ।

पञ्चायती क्रूरता चरम बिन्दुमा रहेको वर्ष हो, ०३६ साल । निरंकुश मानिएको यस्तो समयमा स्तालिनको महानताको गाथा एवं कम्युनिस्ट सिद्धान्त र विचारले भरिएको पत्रिकामा महाराजाधिराजको दीर्घायुको कामना ? प्रश्नले मन उद्विग्न भयो । त्यसैले केही समयअघि जम्मा पारेका पुराना साहित्यिक पत्रिका फेरि एक पटक पल्टाउन मनमस्तिष्कले झक्झकायो ।

मेरा अगाडि थिए सुस्केरा, अक्षलोक, नौलो साहित्य, संकल्प, कटिबद्ध, युगबोध, मधुमास, दियालो, वेदना, उत्साह, नेपाली साहित्य, युवा साहित्य, नवआलोक, झिसमिसे, दियो, जनसाहित्य, युग विजय, हातेमालो, नयाँ कदम, निर्माण, रातो क्षितिज, साहित्य, स्वास्नीमान्छे, सितु, मूल्यांकन, रत्नश्री, नेपाल पत्र, मुक्ति...। पत्रिका र विज्ञापन एकअर्काका पूरक हुन्, सहयोगी हुन् । विज्ञापन पत्रिकाको आर्थिक मेरुदण्ड हो । त्यसैले पत्रपत्रिकामा नववर्षको शुभकामना, प्रजातन्त्र दिवसमा शुभकामना छापिनु स्वाभाविकै हो । तर वामपन्थी विचारधाराका पक्षपोषक पत्रपत्रिकामा राजाको दीर्घायु कामना कताकता नमिलेजस्तो, नसुहाएजस्तो लाग्ने रहेछ । माथि उल्लिखित सबै पत्रिका यो विरोधाभासपूर्ण विज्ञापनका भागीदार हुन् भन्न मिल्दैन । भनौँ, कम्तीमा मेरा अगाडि भएका अंकमा ती चोखा थिए, यो मामिलामा । थुप्रै पत्रिकामा विभिन्न संघसंस्था र कलकारखानाका तर्फबाट विजयादशमी र नववर्षको शुभकामना विज्ञापन प्रकाशित छन् । तर केही पत्रिकाका विज्ञापन निकै विरोधाभासपूर्ण छन् । जस्तो, ०३० साल असारमा प्रकाशित संकल्प मासिकमा १३ विज्ञापन युवराजधिराजको तेस्रो शुभजन्मोत्सव अवसरमा दीर्घायुको कामनासहित छापिएका छन् । पत्रिकाको दोस्रोदेखि सातौँ पाना पल्टाउन्जेलसम्म पाठक ती विज्ञापन पढ्न र हेर्न बाध्य हुन्छन् । ०३८ साल वैशाखमा प्रकाशित नौलो साहित्यको पूर्णांक ६, राजनीतिक लेख अंकमा विशेष सामग्रीका रूपमा नेपाल कम्युनिस्ट पार्टीका ऐतिहासिक दस्तावेज प्रकाशित गरिएका छन् । कम्युनिस्ट पार्टीको घोषणापत्र, कार्यक्रम मस्यौदा, पार्टी सदस्यका लागि मात्र भनेर लेखिएको दस्तावेज, चुनावी घोषणापत्र आदि छापिएको पत्रिकाको यो अंक कम्युनिस्ट पार्टीको इतिहासबारे पढ्न इच्छा राख्नेका लागि निकै महत्त्वपूर्ण हो । कम्युनिस्ट पार्टीका ऐतिहासिक तथ्य छापिएको पत्रिकाको यस अंकमा ठूल्ठूला अक्षरमा श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेवलाई ३६ औँ जन्मोत्सवको शुभकामना व्यक्त गरिएको नेसनल ट्रेडिङको विज्ञापन पनि छापिएको भेटिनुलाई सामान्य रूपमा कसरी लिने ? ०४४ सालमा प्रकाशित सुस्केरा द्वैमासिकमा मोदनाथ प्रश्रति, राधाकृष्ण मैनाली, हिरामणि शर्मा पौड्याललगायतका समालोचना, कविता आदि प्रकाशित छन् । सुस्केराको यस अंकमा श्री ५ महाराजाधिराजको ४३ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा चिरायु तथा भक्तिपूर्वक शुभकामना विज्ञापन छापिएको छ । त्यस्तै, ०३७ सालमा प्रकाशित कटिबद्ध मासिकमा पनि महाराजाधिराजको ३६ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्यको कामनासहित शुभकामना सन्देश छापिएका छन् । अक्षलोक त्रैमासिक, संचेतना त्रैमासिक, मुक्ति मासिक, निर्माण मासिक, दियालो आदि पत्रिकामा पनि यस्ता शुभकामना विज्ञापन छापिएका उदाहरण थुप्रै छन् । भक्तपुर नगर पञ्चायतले छापेको पञ्चायत र मदनदेव भट्टराई प्रधानसम्पादक र मुमा बडामहारानी संरक्षक रहेको रत्नश्रीजस्ता पत्रिकामा यस्ता विज्ञापन छापिनुलाई सामान्य रूपमा लिन सकिन्छ । तर वामपन्थी विचारधारा, प्रगतिशील साहित्य, लेख, समालोचना आदि सामग्रीको संकलन रहेका पत्रपत्रिकामा महाराजाधिराजहरूको दीर्घायु कामनासहितका विज्ञापन उचित मान्न अलि गाह्रै पर्दो रहेछ । भन्नेले ती विज्ञापन व्यावसायिक कुरा हो भन्लान्, पत्रिकाको सिद्धान्त र विचारसँग त्यसको कुनै सरोकार छैन पनि भन्लान् । तर व्यावसायिकताका नाममा आर्थिक लाभका लागि राजा-महाराजाहरूको दीर्घायु कामना पनि छाप्ने अनि क्रान्तिका कुरा पनि छाप्ने प्रवृत्तिलाई कसरी बुझ्ने ?

माथि उल्लिखित र उल्लेख नगरिएका विभिन्न साहित्यिक पत्रपत्रिकाको मूल उद्देश्य सामाजिक वास्तविकता र वैचारिक सामग्रीलाई सशक्त रूपमा आम मानिससामु पस्किनु थियो । झिसमिसे, वर्ष २२ पूणार्ंक ३५ मा सम्पादक रघु पन्त लेख्छन्, 'राजनीतिक आन्दोलनले मानिसलाई जुलुसमा ओराल्यो, नारा लगाउन सिकायो, संघर्ष गर्न लगायो तर संस्कारयुक्त नयाँ मानिसको निर्माण गर्न सकेन । नयाँ मान्यता, मूल्य र जीवनशैलीका लागि उत्प्रेरित गर्न सकेन । नयाँ आदर्श र आस्थाको स्थापना गर्न सकेन । मानिसको संस्कारमा परिवर्तन र व्यवहारमा परिमार्जन ल्याउन सकेन । साहित्य यसमा प्रभावशाली माध्यम बन्न सक्ला भन्ने आशाका साथ हामी तपाईंमाझ झुल्केका छौँ ।' अनेक नाममा विभिन्न जिल्लाबाट प्रकाशित भएका यस्ता साहित्यिक पत्रपत्रिकाको उद्देश्य यस्तै थियो । सबै सम्पादकको भनाइ पनि लगभग यस्तै थिए । तर ती विशुद्ध साहित्यिक पत्रिका मात्रै थिएनन् । त्यस समय प्रकाशित हुने थुप्रै साहित्यिक पत्रपत्रिका पार्टीका मुखपत्रजस्तै थिए ।

३० वर्ष लामो पञ्चायती शासनमा निरंकुशता झेल्दै थुप्रै साहित्यिक पत्रपत्रिका प्रकाशित भए । कैयौँ पत्रिकामाथि पटक-पटक प्रकाशनमा बन्देज पनि लागे । पत्रिकामा राज्यविरुद्धका सामग्री छापेको निहुँमा पत्रकार-सम्पादकहरू जेल परे । छापाखानामा ताला लागे । उद्देश्यमूलक यस्ता पत्रपत्रिका प्रकाशित गर्नु र निरन्तरता दिनु चुनौतीपूर्ण समय थियो । कतिपय अवस्थामा सेन्सरका मान्छे 'तँ छाप्, म नदेखेजस्तो गर्छु तर अलि नरम है, हामीलाई पनि अप्ठेरो नपरोस्' पनि भन्थे । चुनौती लिए पनि आफू बच्ने उपाय पहिल्यै लगाउँथे । विभिन्न चुनौतीको सामनाका साथ प्रकाशित यस्ता पत्रपत्रिकामा ठूल्ठूला अक्षरमा छापिएका विज्ञापनरूपी महाराजाधिराजको जयगानले भने क्रान्तिकारी लेखरचनाको चुरोलाई गिज्याएजस्तो लाग्दो रहेछ । जतिसुकै सर्वहारा वर्गको पक्षमा लेखिएका साहित्य भए पनि विपक्षीलाई कुरा काट्न यी विज्ञापनले प्रशस्त स्थान दियो । कुरा काट्न र आरोप लगाउन जति सजिलो हुन्छ, प्रमाणित गर्न त्यति नै कठिन । के साँच्चै वामपन्थी विचारधाराका यी साहित्यिक पत्रपत्रिकाप्रति दरबारले नरम नीति लिएकै हो त ? जवाफ कसले दिने ?

राजाको दीर्घायुको कामनासहितका विज्ञापन छापिएका भए पनि यी पत्रपत्रिका समाजमा चेतना फैलाउन र वामपन्थी विचारधारालाई प्रचारप्रसार गर्न महत्त्वपूर्ण साधन थिए । त्यति मात्रै होइन, यी साहित्यिक पत्रिका युवा लेखकले आफ्ना रचना छाप्न पाउने बिसौनी पनि थिए । वर्तमान समयका थुप्रै नामी लेखकले सुरुआती लेखन यिनै साहित्यिक पत्रिकाबाट गरेका अनेकौँ उदाहरण छन् । विज्ञापनशून्य पत्रिका पनि नभएका होइनन् । ती कसरी चलेका थिए, प्रकाशक-सम्पादकले नै भन्न सक्लान् । मूल्यांकन, झिल्कोजस्ता म्यागजिन पनि थिए, जसको माग बजारमा अत्यधिक थियो । यी पत्रिकाका नयाँ अंक कहिले आउला भन्ने प्रतीक्षामा रहन्थे, पाठक ।

साहित्यिक पत्रपत्रिकाको पञ्चायतकालीन भीड सुकेको छ । औँलामा गन्न सकिने केही अनेक नामधारी साहित्यिक पत्रिकाले पत्रकारिताको यो विधालाई धान्ने प्रयास गरिरहेका छन् । तर ती पत्रिकाको विज्ञापनशून्य अवस्थाले वर्तमान महँगो र प्रतिस्पर्धी बजारमा ती कसरी चलिरहेका छन् भन्ने प्रश्न भने मनमा उब्जिँदो रहेछ । साहित्यको बजारमा साहित्यिक पत्रिकाभन्दा पनि विभिन्न विधाका साहित्यिक पुस्तक प्रकाशनको संख्या अत्यधिक बढेको छ । साहित्य लेख्ने, पढ्ने र प्रकाशन गर्नेको संख्यामा भएको वृद्धिलाई सकारात्मक नै मान्नुपर्छ । यसले राम्रो लेख्न र उत्कृष्ट कलेबरमा साहित्यलाई प्रस्तुत गर्ने प्रतिस्पर्धा बढाएको छ । राजतन्त्रको समाप्तिसँगै दीर्घायु कामनाका विज्ञापन स्वतः बन्द भएका छन्, राजतन्त्रको वकालत गर्ने केही राजावादीका पत्रिकाबाहेक । तर यससँगै साहित्य प्रकाशनमा विज्ञापनको स्थान प्रायोजनले लिएको छ । साहित्यसम्बन्धी भइरहेका विभिन्न कार्यक्रम यसका साक्षी हुन् । 

प्रकाशित: भाद्र २५, २०७६

ट्याग: आर्काइभ