चिनियाँ लुटेरा

- सुरेश किरण

नेपालमा चिनियाँ गतिविधि बढेको भन्ने गुनासो आइरहेको अलि धेरै नै भयो । तर मान्छेले पत्याएका थिएनन् । धेरैलाई लागेको थियो कि यो अमेरिकाले लगाएको आरोप हो । किनभने चीनबारे अमेरिकाको टिप्पणी अक्सर यस्तै हुने गर्छ । तर अहिले आएर यो कुरा पनि नपत्याई नहुने अवस्था आएको छ । किनभने नेपाली बैंकहरुको एटीएमसमेत लुट्न चिनियाँ आइपुगेका छन् । गत साता देखिइहालियो, एक बथान चिनियाँले एकैचोटि नेपालका विभिन्न बैंकको एटीएम लुटे ।

-चिनियाँ लुट्ने काममा समेत मुलुकको राष्ट्रिय नीति अनुशरण गर्दा रहेछन् । चीनले जे उत्पादन गरे पनि एकै पटक धेरै मात्रामा उत्पादन गर्ने नीति लिएको छ । 'मास प्रोडक्सन' मा जाँदा त्यसको उत्पादन मूल्य कम पर्ने रहेछ । अहिले लुट्ने काममा समेत त्यही सूत्र फलो गरेका छन् । धन्य चिनियाँ लुटेराहरु !)

चीनबाट छिट्टै रेल आउला कि भन्ने प्रतीक्षा नेपाली जनतालाई थियो । तर रेल आउनुभन्दा अघि लुटेरा आए । चीनले जे गर्छ, त्यो नयाँ शैलीले गर्छ । लुटेरा पनि नयाँ शैली नै लिएर आए । बैंक लुट्ने भनेको पैसा नै लुट्ने हो । तर उनीहरुले बैंकभित्र छिरेर लुटेनन्, एटीएममार्फत लुटे । लुटमा पनि नयाँ प्रयोग । अब यसले एउटा स्वाभाविक प्रश्न उठाएको छ, रेल नआउँदै त यति धेरै लुटेरा आइसके भने रेल आइसकेपछि झन् के हालत हुने होला ?

प्रकाशित: भाद्र २५, २०७६

ट्याग: परिहास