[आवरण] विदेशीको अपराध भूमि
नेपालमा एकपछि अर्को अपराधकर्ममा विदेशी संलग्नता
♦ १३ भदौ ०७६ साढे २ बजे चिनियाँ टोली काठमाडौँ ओर्लियो, चीनबाट । चिनियाँको स्वागतका लागि नेपाली टोली पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको थियो । चिनियाँलाई निजी गाडीमै लैजान नेपाली टोलीको तयारी थियो । तर चिनियाँ टोली एउटा गाडीमा नअटेपछि ट्याक्सी खोजियो । चिनियाँलाई नेपाली टोलीले सीधै ठमेल पुर्यायो । पर्यटन मौसम सुरु भइसकेकाले चिनियाँ अनुहार आउँदा पर्यटक सोचेका थिए, देख्नेले पनि । भोलिपल्ट १४ भदौ मध्याह्न विभिन्न बैंकका एटीएमबाट ३ करोडभन्दा बढी रकम निकाल्ने एउटा चिनियाँ टोली पक्राउ पर्यो । त्यसको पत्तो बैंकको सुरक्षा संयन्त्र र प्रहरी प्रशासनले पाइसकेको थिएन । सुरक्षा र सूचनाको कमजोरीले उक्त चिनियाँ टोली काम फत्ते गरेर १६ भदौमा फर्किने योजनामा थियो । संयोगले प्रभु बैंकका कर्मचारीले पत्तो पाए, बैंकका एटीएममा गडबडी भइरहेको । ती कर्मचारीले तत्कालै प्रहरीलाई खबर गरे । समयमै प्रहरी सक्रियताले बैंकबाट रकम निकाल्ने चिनियाँ टोलीमध्ये ५ जना पक्राउ परे । आखिरमा पोल खुल्यो, बैंकबाट रकम झिक्ने त्यो ह्याकरको समूह सोही चिनियाँ टोली रहेछ । त्यसपछि सोचमग्न बनायो- के एक दिनको अन्तरमै यति ठूलो ह्याकिङ प्रकरण सम्भव थियो ? सम्भव नमान्ने हो भने नेपालको सुरक्षासम्बन्धी सूचनाको कमजोर पाटो यहीँनेर खोतलिन्छ । सूचना र डाटाबेस प्रणालीलाई त १३ भदौको एक साताअघि अर्थात् ७ भदौ ०७६ सालको घटनाले गिज्याइदिन्छ । उक्त दिन टर्किस एयरलाइन्स इस्तानबुल जान लागेको थियो, त्रिवि विमानस्थलबाट । उडान समयमै हल्लाखल्ला भयो, यात्रुको सामान चोरिएको भनेर । विमानभित्र यात्रुको सुन र नगद चोरिएको हल्ला हुनेबित्तिकै सुरक्षा निकाय सक्रिय भयो र दुई जना पक्राउ परे पनि । चोरी प्रकरणमा पक्राउ पर्नेमा पनि चिनियाँ नागरिक नै थिए, क्वु वेई र हु झिङझोङ ।
♦ १८ वैशाख ०७६ मा यस्तै घटना पर्दाफास भइदियो, एम२९८१९८३५ नम्बरको राहदानीवाहक दक्षिण कोरियाली महिला नारा किमको । नाराको नेपाल आउजाउ क्रम निकै थियो, पर्यटकका रूपमा । र, उनको बसाइ पोखरामा बढी हुन्थ्यो । त्यही बसाइले जुराइदियो एक जना मगर परिवारको बच्चा नाराका लागि । नारा बच्चा लिएर कोरिया जाने योजनामा पनि थिइन् । त्यही उद्देश्यले बच्चाको नाम राखियो- किम छानोराङ । पूर्वी रुकुमको मगर परिवार पोखरामा मजदुरी गर्दै आएको थियो । त्यो परिवारसँग सम्बन्ध बनाएर नाराले हरिचोकस्थित जिनो अस्पतालबाट जन्मदर्ता प्रमाणपत्र र पोखरा महानगरपालिकाबाट सिफारिस बनाइन् । त्यही कागजातका आधारमा ६ महिने ती बच्चाको राहदानी पनि बनाइदिइन् । ती महिला पनि फन्दामा परिन्, बच्चाको अनुहार नमिलेपछि । अध्यागमन विभागका कर्मचारीले त्यही अनुहारका आधारमा शंका गरेर थालेको अनुसन्धानले गलत पुष्टि मात्रै गरेन, धर्मपुत्र-पुत्रीका नाममा मौलाएको धन्दाको पर्दा पनि खोलिदियो । काठमाडौँ जिल्ला अदालतले नारालाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइदिएको छ, २३ जेठ ०७६ मा ।
यी दुई घटनाले एकै पटक दुई तथ्यको पर्दा उघार्यो । पहिलो, विदेशी नागरिकको शृंखलाबद्ध बदमासी र अपराधकर्म । दोस्रो, नेपालको सुरक्षा प्रणाली, सूचनाको सहज पहुँच र कमजोर निगरानी । घटनामा दोषी पक्राउ परे भनेर उम्किन सकिएला तर नेपालको सुरक्षा र सूचना प्रणाली कमजोर छ भन्ने बुझेरै निरन्तर अपराधकर्ममा जुट्न विदेशी प्रोत्साहित भइरहेका छन् ।
विभिन्न बैंकका एटीएम काउन्टरबाट रकम निकाल्ने क्रममा १४ भदौमा पक्राउ परेका चिनियाँ नागरिक
पूर्वडीआईजी हेमन्त मल्लको भनाइमा नेपालमा कस्ता मान्छे आउँदै छन् भन्ने जानकारीसमेत नहुँदा अपराधकर्ममा संलग्नहरू सहजै प्रवेश पाउँछन् र अपराधमा लाग्छन् । अनि, आएकामाथि पनि निगरानी नहँुदा अपराधमा सहजै जोडिन सक्छन् । आखिर १३ भदौको घटनाले विमानस्थल जाँचको प्रवृत्ति र संयन्त्रको फुक्काफाल प्रवृत्ति अनि बैंकहरूको आन्तरिक सुरक्षाको खेलाँची पनि उदांगो भइदियो । अर्को पनि तथ्य देखाइदिन्छ, विदेशी नागरिकका अपराधकर्मको उकालिँदो ग्राफले । जस्तो, बैंकिङ अपराधका क्रममा चिनियाँ मात्र होइन, बुल्गेरिया, टर्की र उत्तर कोरियाका नागरिकसम्म संलग्न भेटिन्छन् ।
विदेशीका बहुरूप
स्रोत : गृह मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरो, अध्यागमन विभाग
डेढ वर्षपहिला अर्थात् २४ चैत ०७४ मा हाई-प्रोफाइलका व्यक्ति पक्राउ परे, बालयौन दुराचारको अभियोगमा । काभ्रेको मण्डन देउपुरस्थित चीनकाजी महर्जनको घरमा पक्राउ परेका पिटर जोन डाल्गलिसले युएन ह्याबिटाटको अफगानिस्तान प्रतिनिधि भएर सन् २०१० देखि २०१४ सम्म ४ वर्ष बिताएका थिए । विश्व स्वास्थ्य संगठनको सल्लाहकार भएर लाइबेरिया र विश्व खाद्य कार्यक्रममा डार्फरमा समेत काम गरेका यी क्यानेडियन ३ वटा मानार्थ विद्यावारिधि प्राप्त हुन् । स्टि्रट किड्स इन्टरनेसनलका संस्थापक रहेका उनले गरिबी र अभावको फाइदा उठाई बालबालिकालाई पढाइदिने, विदेश घुमाइदिने, जागिर लगाइदिनेजस्ता प्रलोभन दिएर यौन शोषण गरेको तथ्य खुल्छ । त्यही अभियोगमा अदालतले उनलाई २३ वैशाख ०७५ मा जेल पठाएको हो ।
५ माघ ०७५ मा बेलायती नागरिक रोबर्ट कोले समातिए, बालयौन दुराचार अभियोगमा । कालीमाटीस्थित सुविधासम्पन्न अपार्टमेन्टको चौथो तलामा बस्थे, ५१११२३६५९ नम्बरको राहदानीवाहक रोबर्ट । उमेरले ५० वर्ष कटेका रोबर्टको चालढाल, आवतजावत, बोलीव्यवहारले अपराधकर्ममा संलग्न छन् भन्ने शंका गर्ने ठाउँ दिन्थेन । रोबर्टको पोल खुल्नेबित्तिकै नेपाल प्रहरीले ५ माघ ०७५ मा बिहान ४ बजे नै अपार्टमेन्टबाट पक्राउ गर्यो । रोबर्टलाई २ नेपालीले साथ दिएको तथ्य पनि त्यही पक्राउमा खुल्यो । ३ जना पीडित बालकलाई उद्धार पनि गरियो ।
रोबर्ट नेपालभित्र लुकीछिपी बालयौन दुराचारमा संलग्न एक्लो विदेशी नागरिक होइनन्, न त पछिल्लो नै । रोबर्ट पक्राउ परेको २ महिना मात्रै बितेको थियो, २८ चैत ०७५ मा फ्रान्सेली नागरिक जर्ज सिमानस्काई ठमेलबाट समातिए, सोही अभियोगमा । १३ डीडी ८०५७१ नम्बरको फ्रान्सेली राहदानीवाहक ६९ वर्षीय जर्जको नेपाल यात्रा फगत बालयौन दुराचारका लागि थियो । पिटर, रोबर्ट र जर्जको उदाहरणले हाइप्रोफाइल र विकसित देशका नागरिक पर्यटक मात्र बनेर आउँदैनन् भन्ने पुष्टि गर्न काफी भइदियो ।
२ वर्षयताको प्रहरी रिपोर्टलाई आधार मान्ने हो भने पनि १२ जनाभन्दा बढी विदेशी नागरिक बालयौन दुराचारमा संलग्नताको आरोपमा पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता दीपक रेग्मीको भनाइमा फान्स, जर्मनी र क्यानडालगायत देशका नागरिक बालयौन दुराचारमा बढी संलग्न देखिन्छन् ।
०७६ साउन तेस्रो साता डिल्लीबजार कालिकास्थानस्थित अध्यागमन विभाग पुगिन्, ५६०७९३४०२ राहदानीवाहक बेलायती महिला डोना स्मिथ । आमाछोरीको भिसाका लागि विभाग पुगेकी स्मिथ निकै हतारोमा देखिइन् । विभागका कर्मचारी स्मिथसहित अन्य विदेशी नागरिकको कागजात जाँचिरहेका थिए । स्मिथको हतारो, बच्चासँगको व्यवहार सहज थिएन । अस्वाभाविक चालचलनले विभागका कर्मचारीलाई स्मिथप्रति शंका उब्जायो । स्मिथसँग बच्चाको व्यवहार थप पुष्टि गरिदिने खाले थियो । त्यहीँबाटै विभागका कर्मचारीले शंकाको सुई स्मिथमाथि घुमाए र अनुसन्धानमा ताने । आखिरमा स्मिथ अवैध रूपमा बच्चा बेलायत लैजाने प्रयासमा रहेको पुष्टि भयो ।
ललितपुर महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा उक्त बच्चा जन्माएको दाबी गरेकी स्मिथले तयार पारेका सबै कागजात पनि नक्कली भेटिए । १६ असार ०७६ मा पहिलो पटक नेपाल आएकी स्मिथ दोस्रो पटक ११ साउन ०७६ मा आइन्, बच्चा लिन । यसको चाँजोपाँजो नेपाल बाल संगठनका कर्मचारीले मिलाएका रहेछन् भन्ने तथ्य सार्वजनिक भएको मात्रै के थियो, त्यसमा बेलायती दूतावास पनि तानियो । दूतावास शंकामा तानिनुमा स्मिथको भनिएको बच्चा, जुन आन्ना बेल लक्ष्मी श्रेष्ठ स्मिथको नाममा उसैले ७९२१५९३१४ नम्बरको राहदानी दिएको थियो । दूतावासले ख्याल गरेको हुन्थ्यो भने ११ साउनमा काठमाडौँ आएकी स्मिथले कसरी १२ साउनमा बच्चा जन्माउन सम्भव भयो ? बच्चाको जन्मदर्ता प्रमाणपत्रले बोल्छ, १२ साउनमा बच्चा जन्मिएको ।
नेपालमा थुप्रै विदेशी नागरिक अपराधकर्ममा संलग्न छन् । अध्यागमन विभागको तथ्यांकलाई मात्रै आधार मान्दा पनि विभिन्न अपराधकर्ममा संलग्न भएबापत गत वर्ष मात्रै ६ सय ३८ विदेशी देश निकालामा परे । नेपालका जेलमा करिब १२ सय विदेशी छन् । चिनियाँ नागरिक सुन तस्करीमा बढी संलग्न देखिन्छन् भने भारतीय दूरसञ्चार सेवाको अवैध सेवा अर्थात् कल बाइपासमा । ती भारतीय नागरिकलाई साथ दिनेमा बंगलादेशी हुन्छन् । प्रहरीकहाँ भारतीयको संख्या निकै देखिन्छ तर विभागको तथ्यांकमा चिनियाँ । यसो हुनुमा भारतीयलाई भिसा नलाग्ने भएकाले विभागसम्म पुग्दैनन् । तर चोरी, लुटपाटदेखि कल बाइपासजस्ता अपराधकर्ममा भारतीयको उल्लेख्य संख्या छ ।
नेपाल आउने विदेशी विभिन्न २३ प्रकारका अपराधकर्ममा संलग्न हुने गरेको भेटिएको छ । सीआईबीका प्रवक्ता रेग्मीको भनाइमा बालयौन दुराचार, बैंकिङ कसुर, लागूऔषधजस्ता अपराधकर्ममा बढी संलग्न छन् । "यस्ता अपराधकर्ममा खासगरी युरोपेली देशका नागरिक संलग्न देखिएका छन्," रेग्मी भन्छन्, "भारत, चीनबाट आउनेहरू पनि अन्य विभिन्न अपराधकर्ममा संलग्न भेटिन्छन् ।"
अहिले वैंकिङ अपराधकर्ममा चिनियाँ नागरिक जोडिनु एक वर्षअघि उत्तर कोरियाली लजारस समूहले नेपालको एनआईसी एसिया बैंकको रकम लगेको थियो । त्यसको एक वर्ष पहिले २० भदौ ०७४ मा टर्किस नागरिक एक्रेम अर्मान्सी पनि एटीएमबाट रकम झिक्ने क्रममै पक्राउ परेका थिए । उनी दरबारमार्गको नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम शाखाबाट रकम निकाल्न संलग्न थिए । त्यो अभियोग सदर गर्दै उच्च अदालत पाटनले १३ कात्तिक ०७४ मा जेल चलानको आदेश दियो ।
बुल्गेरियाली मिट्को स्टोयानोभी ठमेलको बुद्ध होटलको कोठा नम्बर ५०५ मा बस्थे । उनी कुन प्रयोजनका लागि आएका थिए भन्ने प्रस्ट खुलेको थिएन । होटलले पनि चासो दिएको थिएन । तर नक्कली भिसा कार्डमार्फत नेपाल इन्भेस्टमेन्ट बैंकको ठमेल शाखाबाट रकम झिक्न लाग्दा स्टोयानोभी बच्न सकेनन् ।
सुन तस्करीकै कुरा गर्दा चिनियाँ नागरिक छुट्दैनन् । २८ चैत ०७५ कै सन्दर्भ लिन सकिन्छ । उक्त दिन ३ जना चिनियाँ नागरिक ३ किलो सुनसहित पक्राउ परे । चीनको कुनमिङबाट सीधै काठमाडौँ ओर्लेका झ्याङ झियाङ, माओ इन्गुवा र माओ फुमिङले मलद्वारमा सुन लुकाएर ल्याएका थिए । यहीसँग मिल्दोजुल्दो थियो, १९ साउन ०७६ को घटना । हङकङबाट काठमाडौँ आएको ड्रयागन एयरको फ्लाइट नम्बर केए१०४ बाट ४ किलो सुनसहित चिनियाँ नागरिक लि निङ जी पक्राउ परे । प्रहरीको तथ्यांक हेर्दा पनि साइबर अपराध, बैंकिङ कसुर र सुन तस्करीमा चिनियाँको संलग्नता देखिन्छ ।
विदेशीहरू बैंकिङ कसुर, धर्मपुत्र-पुत्रीको व्यापार मात्र होइन, धर्म प्रचारमा पनि संलग्न छन् । खासगरी विद्यार्थी र पर्यटक भिसामा आउने जापानी तथा कोरियाली धर्म प्रचारमा संलग्न हुन्छन् । १८ कात्तिक ०७५ मा रूपन्देहीमा यासुको ओवा र मारी इक्युरा दुई जापानी नागरिक पक्राउ परे । बुटवल मोतीपुर क्षेत्रको सुकुम्बासी क्षेत्रमा क्रिस्चियन धर्म प्रचारमा भेटिए । त्यही बेला प्रहरीले पक्राउ गर्यो र देश निकालामा परे । जापानी र कोरियाली मात्र होइन, अमेरिकी नागरिक पनि दाङमा भेटिए, धर्म प्रचारमा क्रममा । असार ०७६ मा पक्राउ परेका सिन क्यान्टा ओलिएना मेसँगै भारतीय गौरव श्रीवास्तव पनि समातिए । दाङ प्रहरीले त ती अमेरिकी नागरिकलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगाउन प्रस्ताव गरेको थियो ।
नेपालमा उज्वेकिस्तानका युवती आउँछन् भन्ने पोल खुलेको धेरै भएको छैन । अध्यागमन विभागका अनुसन्धान अधिकृत बैकुण्ठराज रेग्मीको भनाइमा पछिल्ला दिनमा उज्वेकिस्तानी युवतीको संख्या बढ्न थाले पनि किन आउँछन् भन्ने खुल्दैन । यद्यपि उज्वेकिस्तानी युवती नेपाल मात्र होइन, यहीँको बाटो भएर भारतसम्म पुग्ने र ओभर स्टेपछि नेपाल हुँदै फर्किने गरेका छन् । यही वर्ष विभागले ५ उज्वेकिस्तानी युवतीलाई देश निकाला गरेको छ । ती ५ जना ओभर स्टे भएका र नक्कली भिसा टाँस गर्नेहरू थिए ।
विभागमा परेको ठाडो उजुरीकै आधारमा गरिएको अनुसन्धानमा कोरियाली बुङमो हाङ हामाथि छानबिन भयो । छानबिनले पुष्टि गर्यो, उनी ठगी धन्दामा संलग्न भएको । त्यही आधारमा डेढ महिनाअघि अर्थात् १ साउनमा देश निकालामा परे । पोल्यान्डका मार्सिन कोराल वाल्कलाई राहदानीबिना नेपाल बसेको अभियोगमा पोखरामा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानमा राहदानी नम्बर एक्स ०८७१०३९ भेटियो तर राहदानी भेटिएन । विभागले १० साउन ०७६ मा देश निकालाको निर्णय गरिदियो । यही हविगत भोगिन्, बेलायती अमन्दा क्रिस्प्टीले । ५२७७२९८०१ नम्बरको राहदानीवाहक बेलायती नेपालमा ओभर स्टे थिइन् । ६ हजार अमेरिकी डलर तिरिन्, जरिवानाबापत क्रिस्प्टीले । विभागले १६ साउन ०७६ मा बेलायत पठाइदियो ।
बंगलादेशका मोहम्मद सैल कविरलाई ४ वर्ष पहिले वीरगन्जमा कल बाइपासको धन्दा सुरु गर्न लागेकै बेला प्रहरीले समात्यो । अनि ४ वर्ष जेल जीवन बिताएपछि एक महिना पहिले अर्थात् १९ साउनमा देश निकालामा परे । विदेशीका अनेक धन्दामा संलग्न कथाको फुर्को जोडिन आइपुग्छ, डेनिस नागरिक मथुरी मेकाइल चुफो । उनी बालयौन दुराचारमा संलग्न थिए । काठमाडौँ मूलपानी क्षेत्रमा बसेर धन्दा चलाएको सूचनाका आधारमा उनी विभागबाट देश निकालामा परे, १९ साउनमा ।
नेपाल ट्रान्जिट
नेपाल पछिल्लो दिनमा अपराधकर्मसँगै मानव तस्करीको जालोसँग जोडिएको छ । द्वन्द्वग्रस्त मध्यपूर्वका देशसहित इरानलगायत मुलुकका नागरिकलाई नेपालको बाटो हुँदै युरोप र अमेरिका लैजान थालेका छन्, मानव तस्करले । तिनले काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित र भरपर्दो ट्रान्जिटका रूपमा प्रयोग गरिरहेको तथ्य एक वर्षमा यस्तै मुद्दामा २४ भन्दा बढी इरानी देश निकाला हुनुले पुष्टि गर्छ । इरानीले काठमाडौँ विमानस्थलमा प्रयोग गर्ने युरोपेली देशको नक्कली राहदानीको संख्याले पनि मानव तस्करको तारो काठमाडौँ भएको देखिन्छ ।
इरानीलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट फान्स, स्पेन इटाली, गि्रस, पोल्यान्ड, पोर्चुगल, फान्सदेखि दक्षिण अमेरिकाको मेक्सिकोसम्म पुर्याउने गरेको तथ्य छन् । र, ती मानव तस्करले पहिला प्रयोग गर्ने भारत-बैंकक-अबुधावी-युरोप रुट परिवर्तन गरेर बैंकक-काठमाडौँ-चीन-युरोप नयाँ रुट बनाएका छन् । पछिल्ला दिनमा विकसित यो रुटको तथ्य बुझ्न इरानी महिला इब्राहिमी इरमियाको घटना नियाल्दा पुग्छ । इब्राहिमीको साथमा इटालीको नक्कली राहदानी रहेको पुष्टिपछि चीनले १ चैत ०७५ मा नेपाल फिर्ता पठाइदियो । काठमाडौँबाट कुनमिङ उडेकी इब्राहिमी कुनमिङबाट काठमाडौँ फिर्ता भएलगत्तै अध्यागमन विभागले पक्राउ गर्दा मानव तस्करको विकसित रुटबारे तथ्य सार्वजनिक भयो ।
इब्राहिमी चीनको कुनमिङबाट फान्स जाँदै थिइन् । उनी बैंककबाट २८ फागुन ०७५ मा काठमाडौँ ओर्लिएकी थिइन् । ब्लु होराइजन होटलमा बसेकी इब्राहिमी ३ दिनपछि चाइना साउथ वेस्टर्न एयरबाट कुनमिङ हान्निइन् । ४ हजार अमेरिकी डलरमा इटालीको नक्कली राहदानी खरिद गरेको बताएकी इब्राहिमी त्यसरी युरोप जाने नयाँ र एक्लो इरानी नागरिक थिइनन् ।
पछिल्ला दिनमा इरानीहरू टर्कीबाट बैंकक हुँदै काठमाडौँ आउँछन् । गृह मन्त्रालय स्रोतका अनुसार त्यसरी आउने इरानीमध्ये कतिपयले टर्कीमै युरोपेली देशको नक्कली राहदानी खरिद गर्छन् र नेपालसम्म आइपुग्छन् । अनि कतिपयले बैंककमा आएर खरिद गर्छन् । तर नेपालसम्म आइपुग्दा भने इरानी राहदानी नै प्रयोग गर्छन् । जब नेपाल छाड्ने बेला हुन्छ, उनीहरू खरिद गरिएको राहदानीबाट उड्छन् । १० फागुन ०७५ कै घटनाले पनि त्यही पुष्टि गर्छ । उक्त दिन युरोप छिर्ने अभियानमा नेपाल आएका ३ इरानी देश निकाला गरिए । १४ पुस ०७५ मा पक्राउ परेका मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई गृह मन्त्रालयले ५ वर्षका लागि निष्कासनको निर्णय गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले ५ हजार युरोमा गि्रस र इटालीको राहदानी खरिद गरेका थिए । र, भारतबाट नेपाल भने स्थलमार्गबाटै आएका थिए ।
इरानीले लर्को लागेर युरोपेली देशको नक्कली राहदानी प्रयोग गर्छन् । जस्तो, डेनमार्कको नक्कली राहदानीमा बाबाक फिरोजी, स्पेनको राहदानीमा सादेग महदिन र जर्मनीको राहदानीमा हमिद माफी नेपाल छिरेका थिए । तीमध्ये स्पेनको नक्कली राहदानीमा आएका महदिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले ३० चैत ०७५ मा पक्राउ गर्यो । नेपालको सुरक्षा संयन्त्रको प्रभावले भन्दा पनि कतारबाट इरानी राहदानीमा आएका महदिनले भिसा लिने क्रममा स्पेनको नक्कली राहदानी देखाएपछि शंकाको सुई उनीतिर सोझियो र पक्राउ परे । यद्यपि अन्य २ इरानीको नक्कली राहदानी विमानस्थलस्थित कर्मचारीले खुट्याउन नसक्दा डेनमार्क र जर्मनीको नक्कली राहदानीमा आगमन अनुमति दिए । क्यानडा जाने क्रममा नेपाल पसेका माफीलाई समेत चीनको ग्वान्झाउ अध्यागमनले फिर्ता पठाएपछि मात्र विभागले छानबिन गरेको थियो ।
विभागका एक कर्मचारीको भनाइमा विदेशीले नेपाललाई ट्रान्जिट बनाएर नक्कली राहदानी प्रयोग गर्ने गरेका छन् । कतिपयले भने सक्कली राहदानी र केहीले चोरीको राहदानी प्रयोग गरेको भेटिएका छन् । नेपाललाई ट्रान्जिट बनाउनेमा इरानी मात्रै छैनन् । जस्तो, जुन १५ मा बेलायतको नक्कली राहदानीवाहक ६ पाकिस्तानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिसा दियो । त्यसो हुनुमा ती पाकिस्तानीसँग रहेको बेलायतको राहदानी सक्कली वा नक्कली खुट्याउन सकेन । त्यसको एक दिनपछि मात्रै कर्मचारीले सुइँको पाए, पाकिस्तानी हुन् भनेर । त्यसपछि उनीहरूको खोजी गरियो र ४ जनालाई ठमेल र २ जनालाई विमानस्थलबाटै पक्राउ गरियो ।
नक्कली राहदानी प्रयोग गरेका पाकिस्तानीलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो । पाकिस्तानीजस्तै अफ्रिकीदेश इरिटि्रयाका १० नागरिक पनि नक्कली राहदानी प्रयोग गरेर पूर्वी टिमोर जाने प्रयासमा काठमाडौँ आइपुगेका थिए । केही महिनापहिले ती नागरिक काठमाडौँबाट सहज ढंगले बोस्निया हर्जगोभिनासम्म पुगेका थिए । तर उनीहरूको राहदानी नक्कली हो भनेर त्यही पुष्टि भयो ।
यी सबै घटनाले बताउँछ, नेपालको अध्यागमन भरपर्दो र संवदेनशील छैन । सबैभन्दा महत्त्वपूर्ण त राहदानी अध्ययन गर्ने मेसिनसमेत छैन । बायोमेटि्रक्ससहितको सफ्टवेयर प्रणाली अहिलेसम्म राख्न नसक्दा नेपाल ट्राजिन्ट मुलुक बनिरहेको छ । विभागसँग सूचना अभावले नै कुन अपराधसँग जोडिएको व्यक्ति नेपाल प्रवेशको प्रयासमा छ भन्ने खुल्दैन । जस्तो, इरानी नागरिक रेजा फादे स्पेनको नक्कली राहदानीको साथमा ३ साउन ०७६ मा नेपाल आइपुगे । तिनको उद्देश्य मूलतः नेपाल-चीन हुँदै स्पेन पुग्नु थियो । भलै, उनको योजना सफल भएन । यस्तै घटना भयो, २० साउनमा । उक्त दिन दुर्बइको बाटोबाट नेपाल प्रवेशका लागि आएका ४ सिरियाली मोनिर क्वास, फतामे तहेसा, सारबेल कोइरी, अमाल नायफलाई इन्ट्री रिफ्युज -फिर्ता) गरिदियो । तर त्यसको कारण खोजिएन । सिरियन नागरिकले नेपालमा अनअराइभल भिसा नपाउने हुँदा मात्रै फिर्ता भए । खासमा उनीहरू नेपालमार्फत युरोप जान चाहन्थे ।
भीआईपी कान्ड
विदेशी नागरिकले नेपालमा मच्चाएका तहल्का पछिल्ला तीन उदाहरण, जो भीआईपी घटनाका रूपमा पनि परिचित छन् । तिनले नेपालको सुरक्षा संवेदनशीलता र संयन्त्रमाथि प्रश्न उठाइदिए । जस्तो, ०६० मा काठमाडौँमा पक्राउ परेका फ्रान्सेलीनागरिक चाल्र्स शोभराज । शोभराजमाथि ६ पुस ०२६ मा क्यानेडियाली नागरिक लोरेन्ट क्यारियरको हत्या गरी मनोहरा खोलामा फालेको अभियोग छ ।
शोभराजको चर्चित भनाइ छ, नेपालको विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु । दशक पुरानो शोभराजको त्यो भनाइ सुरक्षा प्रणाली हेर्दा अहिले पनि सान्दर्भिक लाग्छ । अर्को घटना, भारतीय नागरिक मनमित सिंह सुन्धारास्थित केन्द्रीय कारागारमा छिर्न मात्र होइन, कैदीलाई गोली हान्नसमेत सफल भए । नक्कली भारतीय नोटको कारोबारमा संलग्नताको अभियोगमा जेल परेका युनुस अन्सारीमाथि २६ फागुन ०६७ मा सिंहले गोली दागे । नेपाली जेलको दुर्दशा देखाउन काफी थियो, यो घटना ।
त्यति मात्र होइन, बंगलादेशी नागरिक तथा कांग्रेस नेतृ सुजाताका ज्वाइँ रुबेल चौधरीमाथि कल बाइपास मुद्दा जोडियो । ०६७ चैतमा चितवनमा पूर्वयुवराज पारस शाहसँग झगडा भएपछि चौधरीको धन्दा खुलेको हो । तर त्यो मुद्दा त्यत्तिकै सेलायो । रत्नपार्क नजिकैको घन्टाघरअगाडि इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्यामा भारतीय अन्डरवल्र्डसँग बब्लु भनिने त्रैलोक्यविक्रम सिंह समूहको संलग्नता देखियो । अर्थात्, विदेशी जोडिएका यी भीआईपी घटनाले नेपाली कानुन र प्रवृत्ति उदांगो पारिरहेका छन् ।
जहाँ सजिलो, त्यहीँ विदेशी
अस्थिर राजनीतिक परिस्थितिमा दण्डहीनता मौलाउनु नौलो होइन । त्यही दण्डहीनताको फाइदा उठाउँदै विदेशीहरू नेपालमा अपराधकर्ममा संलग्न हुन्छन् । त्यसमा कमजोर कानुन, निगरानी अभाव र डाटावेस सूचना अभावको फाइदा पनि विदेशी अपराधीले लिएका छन् । पूर्वडीआईजी हेमन्त मल्लको विश्लेषणमा नेपालमा विदेशीको सामाजिक अपराधकर्म वृद्धि हुनुमा नेपाली समाजको लोभी प्रवृत्ति र गरिबी पनि हाबी छ । "विकसित देशका नागरिकलाई तेस्रो विश्वका देशका मानिसलाई सहजै पैसामा प्रभाव पार्न सकिन्छ भन्ने विश्वास छ," मल्ल भन्छन् "त्यही मनोविज्ञान बोकेर नेपाल आउँछन् र छिटो प्रभावमा पर्छन् ।"
पोखरामा कोरियाली नागरिक नारा किम र बेलायती नागरिक स्मिथले बच्चा लैजान परिवारलाई सहजै मनाएको घटनाले मल्लको विश्लेषणलाई बल दिन्छ । विदेशीमाथि नेपालमा निगरानी कमजोर हुनु पनि अपराध बढ्नुमा अर्को कारण हो । यस्तै छिद्र खोजेर भित्रिएका विदेशीबाट सुरक्षा चुनौती थपिएको छ । नेपालमा घटित पछिल्ला घटना विश्लेषण गर्दै पूर्वगृहसचिव गोविन्द कुसुम साइबर अपराध मात्र होइन, कृत्रिम बौद्धिक अपराधको चुनौती आइसके पनि नेपाल अहिलेसम्म साइबर अपराधको वरपर घुमेको बताउँछन् । उनको भनाइमा अपराधका चुनौती नयाँ ढंगले थपिएका छन्, हाम्रो काम गराइ र बुझाइको शैली पुरानै छ, त्यसले पनि विदेशी नेपाललाई सुरक्षित थलो ठान्छन् । यद्यपि अपराध अस्वाभाविक घटना भने होइन । जहाँ सजिलो हुन्छ, विदेशी त्यही आउँछन् । "विदेशीको बढ्दो अपराधकर्मले देशको कूटनीतिक सम्बन्धमा खलल पार्ने र अपराधको नेटवर्किङ बढाउँछ," कुसुम भन्छन्, "त्यसबाहेक सामाजिक प्रणाली, अर्थतन्त्र मात्र होइन, राजनीतिमा अपराधीकरण पनि बढाउँछ ।"
कुसुमको भनाइमा सहमत छन्, मल्ल । खासगरी विदेशी नागरिकमाथि निगरानी बढाउन डाटावेस प्रणालीको विकास अपरिहार्य हुन्छ, जुन अहिलेसम्म गृह मन्त्रालयले प्रयोगमा ल्याइसकेको छैन । अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता रामचन्द्र तिवारी विभाग समयानुकूल सुधार नभएको स्वीकार्छन् । भन्छन्, "हामी अब विस्तारै बायोमेटि्रक्स सफ्टवेयर प्रणाली लागू गर्ने तयारीमा छौँ । त्यसपछि धेरै समस्या समाधान हुन्छन् ।"
नेपालमा सुरक्षा पाटो कमजोर छ । विकसित देशले सुरक्षालाई प्राथमिकतामा मात्र राख्दैनन्, त्यसैको छाताबाट अरू संयन्त्र तयार गरेका हुन्छन् । जस्तो, भारतले नक्कली भारुदेखि सीमा सुरक्षाको सन्दर्भ नेपालमाथि उठाइरहेको हुन्छ । चीनले तिब्बत र उइगुरको मुद्दालाई आन्तरिक सुरक्षासँग जोडेर नेपालसँग व्यवहार गरिरहेको हुन्छ । तर नेपालमा विदेशी नागरिक अपराध गरेर पनि फुक्काफाल बस्न सक्छन् । नेपालमा दण्ड कमजोर छ । सुपुर्दगी सन्धि नभएका कारण अपराधमा संलग्नलाई पक्रेर नेपालले सम्बन्धित देशमा बुझाउन सक्दैन । यी दुवैको फाइदा विदेशी अपराधकर्ममा संलग्नले लिइरहेका छन् । त्यस अर्थमा विदेशी नागरिकमाथि निगरानी, बायोमेटि्रक्स प्रणालीको सफ्टवेयर सुरुआत, डाटाबेस प्रणाली विकास र कतिपय सन्दर्भमा सुपुर्दगी सन्धि ढिला भइसकेको छ ।
आवरण : बालयौन दूराचारमा संलग्न पिटर जोन डाल्गलिस, तस्बिर : न्युयोर्क टाइम्सबाट
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...