गिरहतले दिएको पुस्तैनी पीडा
"सानैदेखि भोगी मालिकको काम गरेँ । अहिले पनि मालिक भोगीकै निगाहमा चुल्हो बलेको छ ।"
घामपानी अनि निधारमा निस्किने चिटचिट पसिना नभनेरै परिश्रम गर्छन्, फुलेश्वर सदाय मुसहर, ५९ । बुढ्यौलीमा उनको त्यही थाप्लोमा १ लाख २८ हजार रुपैयाँ ऋणको भारी छ । त्यसैले शारीरिक श्रमलाई उनी ‘ऋण’ को पर्यायवाची मान्छन् ।
सिरहा लक्ष्मीपुर पतारी-४ धन्छबारका भूमिहीन सुकुम्बासी दलित परिवारका फुलेश्वरका चार भाइ छन् । उनका बुबा नथुनीले गिरहत (मालिक) विल्सा यादवको घरखेतमा हलो जोतेरै छोराछोरी हुर्काए । दाजुभाइमध्ये साइँला फुलेश्वर बुबा नथुनीका विश्वासपात्र थिए । सानोमा फुलेश्वर बुबाले माटो काट्दा, जोत्दा आफूभन्दा अग्लो हलोको लगना समाउन पुग्थे । तर नथुनीका त्यही छोरा फुलेश्वर गिरहतको ऋण तिर्न संघर्षरत छन् । भन्छन्, "गिरहतको ऋण तिर्न नसकी मरिएलाजस्तो छ ।"
फुलेश्वरका चार दाजुभाइमध्ये माइला गुल्टेन कल्याणपुरमा छोरीसँगै बस्छन् । चार भाइमध्ये जेठा सैनीको मृत्यु भइसकेको छ । उनको र कान्छा रवि बुबाको परिवार नथुनीको १० धुर गाउँ ब्लक जग्गामा बसेको छ । साढे तीन धुर जग्गामा दुई परिवारका सदस्य दुःखकष्ट गरेरै भए पनि फुसको घरमा बसिरहेका छन् । फुलेश्वर गिरहत भोगी यादवको घरमा सानैदेखि नोकरी गर्थे भने पछि पत्नी भालसेर र चार भाइ छोरा र एक छोरी धनेश्वरीसमेतले काम गरे । फुलेश्वरको जीवन नै भोगीको घरमै चल्यो । अहिले पनि गुजाराको माध्यम तिनै भोगी हुन् । फुलेश्वर भन्छन् "सानैदेखि भोगी मालिकको काम गरेँ । अहिले पनि मालिक भोगीकै निगाहमा चुल्हो बलेको छ ।"
फुलेश्वर सदाय मुसहर, पत्नी भालसेर र नातिनी दीपिका
फुलेश्वरका चार भाइ छोरा बेचु, गंगा, रामस्वरूप, बिन्हु हुर्किएपछि भोगीको घरमै काम पाए । उनी छोरा हुर्किएर काममा सघाए पनि खुसी धेरै दिन नटिकेको गुनासो गर्छन् । हुर्किएकी छोरी धनेश्वरीको तेनुवापट्टीबाट भएको मगनीअनुसार ओपिनसँग विवाह गरिदिए । विवाहका लागि उनले भोगीसँग १५ वर्षअघि ५ हजार ऋण लिएका थिए । विवाहमा तामझाम गरेर मुसहर समाजमा राम्र्रै इज्जत राखे । भालसेर सम्झन्छिन्, "त्यतिखेर गाउँले समाजले धनेश्वरी साँच्चै फुलेश्वर र भालसेरको घरमा धनकी देवी भएर जन्मिएकी रहिछन् भन्थे ।"
गिरहतको खेतीखोला हेर्नुपर्ने र छोरीको विवाहको ऋण तिर्नुपर्ने छँदै थियो, फुलेश्वर र भालसेर दम्पतीले । गिरहतको काम गरेरै उनीहरूले महिनामा दुई बोरा धान ऋण तिर्न थाले । "काम गरेर ऋण तिर्दै गएको छु । मजदुरीमा पाउने धान बुझाउँछु । बाँकी धान भात खाएर गुजारा चलाउँछु," फुलेश्वर भन्छन्, "ऋण सकिनुको साटो झन् बढेको बढ्यै छ ।"
ऋणमै फुलेश्वरले जेठा बेचु र गंगाको दुई छोराको बिहे गरिदिए । बेचु पटना ससुराली बस्छन्, साइँला रामस्वरूप मलेसिया रोजगारीमा छन् । कान्छो बिन्हु बाआमासँगै कृषि मजदुरीमा खट्छन् । गिरहतकहाँ काम गरी केही अनाजले ऋण र गुजारा चलाउँदै आएका फुलेश्वर उनै गिरहतले ऋण तिर्न दबाब दिएपछि भने छटपटीमा छन् ।
फुलेश्वरका छोरा गंगाले धनेश्वरीको विवाहमा लिएको ऋण काम गरेर सकियो होला भन्ठानेका थिए । भन्छन्, "बाबाले ऋण तिरिसके होलान् भनेर सोच्यौँ तर लाखौँ रुपैयाँ बाँकी रहेको सुनेर मरेतुल्य भएका छौँ । दैनिक ५ सय रुपैयाँ ज्यालामा काम गर्ने हामीजस्ता निमुखालाई गिरहतले त्यति धेरै ऋण छ भनेपछि कहाँबाट तिर्ने भन्ने पिरलो थपियो ।"
गिरहतले बारम्बार पैसा तिर्न ताकेता गरेपछि वैदेशिक रोजगारीमा रहेका भाइ रामस्वरूपले पठाएको ६४ हजार रुपैयाँ ५ साउनमा बुझाएको गंगा सुनाउँछन् । भाइलाई विदेश पठाउँदा गिरहतबाट ऋण नलिए पनि ठूलो रकम रहेको देखिँदा अनपढलाई जे भने पनि हुने रहेछ भन्ने लागेको उनको गुनासो छ ।
ऋण सघाउन भोगी यादवकहाँ काम गरिरहेका फुलेश्वर दम्पती गुनासो पोख्छन्, "ऋण सकिनुभन्दा पनि हामी दुवै त्यसको पिरलोले बित्छौँ जस्तो छ ।" गिरहतकैमा काम गर्दा पनि ऋण तिर्न दबाब दिने, हप्काउने र विदेशको छोरालाई पैसा पठाउन जोडबल गरिरहेको उनको दुखेसो छ ।
घरखर्च र छोरीको बिहेमा गरी नगद र अन्न जोड्दा अहिलेसम्म २ लाख नाघेको छ । तर गाउँले समाजको आग्रहमा छूट दिएर १ लाख २८ हजार रुपैयाँ बाँकी रहेको गिरहत भोगी यादव बताउँछन् ।
ऋणमाथि ऋण कसरी खप्टियो भन्ने प्रश्नमा गिरहत भोगी यादवले आफ्नैमा खेतबारीको काम गर्ने हुँदा सय कडा अढाई रुपैयाँका दरले मात्र ब्याज लिएको दाबी गरे । भन्छन्, "अझ कम भयो । अहिले पनि मेरैमा काम गर्छन् । आफ्नै परिवारका सदस्य मानेर फुलेश्वरलाई धेरै छूट दिएको हुँ ।"
फुलेश्वरजस्तै सिरहा धनगढीमाई-९ का कोविया सदाय मुसहरले गिरहत पवन घिसिङसँग १० हजार रुपैयाँ ऋण लिएर माहिली छोरी सुनिताको तीन वर्षअघि सप्तरी भेडियाका इन्दलसँग विवाह गरिदिए । सुनिताको ९ महिने काखे छोरी भइसक्दासम्म पनि कोविया र मञ्ची दम्पतीले त्यो ऋण तिर्न सकेका छैनन् । उनीहरूको थाप्लोमा अझै पनि ७ हजार रुपैयाँ ऋण छ । कोविया भन्छन्, "हामी दुवै गिरहत पवनकैमा काम गरेर गुजारा चलाउँछौँ । हलो जोत्ने, खेतको आली धुरदेखि धान, बियाँ उखेल्ने काम गर्छु, मञ्चीले गिरहतको धान रोप्नेदेखि घरखेतको काम गर्छे । त्यसैबाट रकम र अन्न ल्याएर अलिअलि ऋण र घर खर्च चलाइरहेका छौँ ।" उल्टै गिरहत पवनले कामबाट पनि हटाइदिएका र अन्यत्र काम गरेर ऋण तिर्न दबाब दिएको कोविया दम्पतीको गुनासो छ ।
०६८ सालको जनगणनाअनुसार २ लाख १७ हजार घरधुरी मुसहरको एक टुक्रा पनि जमिन छैन । मजदुरी गरी गुजारा चलाउँछन् । १० लाख ३० हजार घरधुरीको खेतीका लागि आफ्नो जग्गा छैन । तीमध्ये अधिकांश गुजाराका लागि गिरहतको मजदुरीमा खट्छन् । नेपालमा ४२ हजार ५३ हजार २ सय २० घरधुरीको बसोबास छ । भेडियाका इन्दल सदाय मुसहर ट्रयाक्टर चालक हुन् । वैदेशिक रोजगारीमा गएर टन्नै रकम कमाउन चाहन्छन् । तर सुकुम्बासी परिवारको भएकाले ऋण नपाएकै कारण विदेश जान पाएका छैनन् ।
इन्दलजस्तै धन्छवारका विन्हु सदाय मुसहर पनि कृषि मजदुरी त्यागेर विदेशमा कमाउन जान चाहन्छन् । सुकुम्बासी भएकाले पैसाको जोहो गर्न सकिरहेका छैनन् । भन्छन् "गाउँका साहू-महाजनकहाँ ऋण माग्न गए पत्याउँदैनन् । जग्गा-जमिन धितो राख भन्छन् । जग्गा-जमिन छैन, गिरहतकहाँ गए ब्याजमाथि ब्याज तिर्नुपर्छ । विदेश गएर कमाउनुको केही अर्थ हुँदैन ।"
दलित हरुवा-चरुवा समुदायको सशक्तीकरणमा काम गरिरहेको सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरी दलित समुदायमध्ये पनि मुसहर परिवार अतिविपन्न सूचीमा रहेकाले अधिकांशको थातथलोको समेत ग्यारेन्टी नहुँदा ऋणको भारीमा पिल्सिएको बताउँछन् । आईएलओको सर्वेक्षणअनुसार सिरहामा १८ हजार १ सय ६० हरुवा-चरुवा परिवार रहेको उनको भनाइ छ । भन्छन्, "पुस्तौँदेखि गिरहतको माटोसँग खेलेर जीविका चलाउन बाध्य हरुवा-चरुवा परिवारको आफ्नै नामको थातथलो नहुँदा असुरक्षा त छँदै छ, कतिपय गिरहतको ऋण तिर्न बँधुवा मजदुरका रूपमा काम गर्न बाध्य छन् । राज्यले बेलैमा सोच्नुपर्छ ।"
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...