सिद्धार्थ अमालगम

- नेपाल संवाददाता

कलाको पर्यायवाची बनेको छ, बबरमहलस्थित  सिद्धार्थ आर्ट ग्यालरी । ग्यालरीको ग्राउन्ड फ्लोरमा धार्मिक आस्था बोकेका र ल्यान्डस्केप चित्र क्रमबद्ध मिलाएर राखिएको छ । यस्तै, नारी हकका कुरा, अमूर्त चित्र, ०७२ को भूकम्पको सम्झनामा कुँदिएका सिर्जना राखिएका छन् । यस वर्ष पि्रन्टमेकिङ, मूर्ति, न्यु मिडिया र पेन्टिङ प्रदर्शनीमा छन् ।

ग्यालरीमा करिब ५० कलाकारका १ सयभन्दा बढी सिर्जना राखिएका छन्, अमालगम शीर्षकमा । प्रवेशद्वारको देब्रेपट्टी नै भेटिन्छन्, पि्रन्टमेकिङमा अग्रज कलाकार उमाशंकर साहको चित्र । इचिङ माध्यममा बनेको तस्बिरमा काल्पनिक उपत्यका छ । उपत्यकाका ३ वटै सहरको मिश्रण एकै ठाउँमा । नेपाली कलाको अध्ययन र प्रवर्द्धनमा दशकौँ बिताइसकेकी क्युरेटर संगीता थापा भन्छिन्, "साहका चित्रमा सधैँ घाट हुन्छ । मन्दिर र घर, सबै कोठामा बत्ती बल्छ । तर पूरै सहर सुनसान । कस्तो अनौठो शान्ति ?"

क्युरेटर थापा र कलाकार शशीकला तिवारीले संयुक्त रुपमा ०४३ मा स्थापना गरेका थिए, सिद्धार्थ ग्यालरी । अंग्रेजी महिनाको 'सेप्टेम्बर कलेक्सन' भन्दै कलाकारका सिर्जना प्रदर्शन सुरु गर्दै आएकामा पछि मनसुन कलेक्सनमा परिणत भयो । यसबीच थुप्रै ग्यालरी जन्मे । मनसुन कलेक्सन अरुले पनि गर्न थालेपछि थापाले अमालगम शीर्षकमा प्रत्येक वर्ष प्रदर्शनी गर्न थालिन् । थापाका अनुसार अमालगममा अग्रजदेखि नवकलाकार सबैलाई एउटै प्लेटर्फम दिएर तिनका कला दर्शकसामु प्रस्तुत गर्नु हो । भन्छिन्, "थुप्रै कलाकारले पेन्टिङ प्रदर्शनीका लागि स्पेस माग्छन् । सबैलाई सिंगो स्पेस दिन सक्दैनौँ । त्यही कारण वर्षमा एकपल्ट भए पनि सबै कलाकारलाई समावेश गर्छौं ।"

७ वर्षदेखि प्रदर्शनी भइरहेको अमालगमको एउटा अर्थ हुन्छ, टुक्रा जुन जोड्दा पूर्ण बन्छ । अग्रज कलाकार गोपाल कलाप्रेमीदेखि नवकलाकार मीन थापासम्मका चित्रले सजिएको प्रदर्शनी साँच्चै पूर्ण लाग्छ । २२ भदौबाट सुरु प्रदर्शनी १ असोजमा बन्द भई १४ असोजदेखि १२ कात्तिकसम्म पुनः चल्नेछ ।

प्रकाशित: भाद्र २९, २०७६