जनोत्तेजक प्रियतावादको विस्तार

- सीके लाल

कुनै बेला चितवनलाई ७६ औँ जिल्ला भन्ने गरिन्थ्यो । नेपालमा ७७ जिल्ला कायम भइसकेकाले आन्तरिक आप्रवासीको हालीमुहाली रहेको यस क्षेत्रलाई अब ७८ औँ जिल्ला भन्नुपर्ने होला । चितवनको जनसांख्यिक संरचना विविधतापूर्ण हुनुमा भौगोलिक, ऐतिहासिक एवं राजनीतिक कारण छन् । नेपालको लगभग मध्य भित्री मधेसको अवस्थिति, गोर्खाली साम्राज्यको मुटु मानिने पहाडको गण्डक क्षेत्रसँगको सामीप्य एवं नारायणी नदीतीरले गर्दा चितवन रणनीतिक रूपले महत्त्वपूर्ण भौगोलिक इकाइ हो । त्यो कुरा बुझेर राजा महेन्द्रले अमेरिकी सहयोगमा योजनाबद्ध जनसंख्या स्थानान्तरणद्वारा यस इलाकाको जनांकिकीय बनोट (डीमग्रैफिक कम्पोजिसन) परिवर्तन गर्न लगाएका हुन् । सन् १९५० को मध्यसम्म चितवनमा मूलतः थारू, केही माझी एवं अलिअलि मुसहरको बाहुल्य थियो । त्यसपछि कहिले बाढीपीडितलाई पुनस्र्थापन गर्ने निहुँमा त कहिले तथाकथित सुकुम्बासीलाई पुनर्वास गराउने बहानामा सरपट कटानीद्वारा खाली गरिएको जग्गामा पहाडका आन्तरिक आप्रवासीलाई बसाइयो । कालान्तरमा थारु थातथलोमै अल्पसंख्यक भए । रैथानेहरूको तुलनामा नयाँ बासिन्दामा सफल हुन चाहने भावना बलियो हुन्छ । झन् अधिवासीहरू (सेट्लर्स) वर्चस्वशाली समुदायका छन् भने तिनमा आत्मविश्वासका साथै हकदारताको भावना उत्तिकै हुन्छ । तिनको प्रभुत्व भित्री मधेसका बस्तीजस्तै चितवनमा पनि देख्न सकिन्छ ।

प्रियतावादको चर्चा चितवनबाट सुरु गर्नुपर्ने कारण अधिवासी चरित्रको मोटामोटी व्याख्या मात्र नभएर त्यहाँको हालसालै घटित पत्रकारको आत्महत्या काण्ड एवं त्यस दुखद प्रसंगसँग जोडिएको भीडको मनोविज्ञान पनि हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसबारे विज्ञ न्यायकर्मीले मात्र टिप्पणी गर्ने आँट जुटाउन सक्छन् । मुद्दासँग सम्बद्ध टिभी प्रस्तोता रवि लामिछाने एवं उनका सहअभियुक्त आफ्ना फरियाद लिएर उच्च अदालतको शरणमा पुगेका छन् । तर त्यस घटनाले उत्पन्न गराएको परिस्थितिबारे भने जनवृत्तमा यथेष्ट छलफल हुनुपर्छ । के नेपालको राजनीतिमा जनोत्तेजक पि्रयतावादको नयाँ लहरका प्राथमिक संकेत देखिन थालेका त होइनन् ? चितवन एक किसिमले जनोत्तेजक राजनीतिको दिशासूचक रहँदै आएको छ । धेरैले बिर्सिसकेको हुनुपर्छ तर एउटा हिन्दी फिल्मका हस्तीले भन्दै नभनेको कुरा प्रकाशित गरेर 'ऋतिक रोशन प्रकरण' सँग सम्बद्ध साम्प्रदायिक दंगाको सुरुआत चितवनकै पत्रकारबाट भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको चरणबद्ध सत्ता हत्याउने उपक्रमका लागि वातावरण बनाउने अग्रसरतामा चितवनका अधिवासीको सक्रियता दृश्य नभए पनि उपेक्षा गर्न नसकिने किसिमको थियो । नवघोषित तत्कालीन युवराजका नाउँमा बसअड्डाको नामकरण गर्ने सहर चितवन थियो ।

अदालतको आदेशमा तोकिएको धरौटी बुझाएर साधारण तारेखमा हिरासतमुक्त भएका फौजदारी अभियोगका अभियुक्तको समर्थनमा झन्डै पाँच-सात हजारको भीड जम्मा हुनु सतही टिप्पणीको विषय मात्र हुन सक्दैन । हुन त कुनै सार्वजनिक व्यक्तित्वका लागि लागि भीड ओर्लिनु दुर्लभ घटना होइन । त्यसमाथि टेलिभिजन प्रस्तोताको प्रभावकारिता तिनको कार्यक्रमको प्रकृतिमा पनि भर पर्छ । सामान्यतः लाइभ प्रसारण हुने 'सीधा कुरा जनतासँग' प्रस्तुति जनसुनुवाइ 'फम्र्याट' आधारित एवं उत्तेजक प्रकारको छ । भीडका अगाडि प्रस्तोता आफैँ प्रवक्ता, अधिवक्ता एवं दण्डाधिकारी एकै पटक देखिने त्यस्ता सबै कार्यक्रमको विशेषता हुने गर्छ । त्यसमाथि 'सीधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता जटिल प्रश्नलाई सामान्यीकरण गर्ने कलामा पोख्त छन् ।  त्यति हुँदाहुँदै पनि नारायणी तटको आकस्मिक जनसमूहलाई त्यो घटना नेपाली राजनीतिमा फेरि फैलिँदै गएको जनोत्तेजक प्रियतावादको प्रारम्भिक लक्षण ठहरिन सक्छ ।

अवधारणाको अन्योल

प्रियतावाद कस्तो हुन्छ भन्ने ठम्याउन असहज हुँदैन । तर समसामयिक विश्वमा डढेलो सरी फैलिँदै गएको प्रवृत्तिलाई परिभाषित गर्न भने अप्ठेरो छ । समाजमा जुनसुकै कारणले असन्तुष्टि बढ्दै गएपछि उकुसमुकुस हुन थाल्छ । सामान्यजनले त्यसपछि आफ्नो रिस पोख्ने माध्यम खोज्न थाल्छन् । आधुनिक समाजमा सामान्यजनको झोकले राजनीतिक दल, सञ्चार माध्यम वा नागरिक समाजजस्ता संस्थागत प्रयत्नबाट निकास पाउँछ । बेचैनी व्यक्त गर्ने परम्परागत माध्यम धार्मिक कर्मकाण्ड हुन् । धर्मविमुख भएर पनि सामाजिक आधुनिकता अंगीकार गर्न नसकेकाहरू चमत्कारमा विश्वास गर्छन् । तिनको प्रतिक्रिया भावनात्मक, असर तात्कालिक हुन्छ । अनि प्रितावादीको उदय हुने परिस्थिति उत्पन्न हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, टर्कीका राष्ट्रपति रजब तैयब एर्दोगान, बेलायतका प्रधानमन्त्री वोरिस जोन्सन, फिलिपिन्सका राष्ट्रपति रोडि्रगो दुर्तेते, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो वा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानजस्ता पात्रहरू तिनका देशमा पि्रयतावादका लागि वातावरण तयार भएपछि उदाएका हुन् । एकाएकजस्तो देखिए पनि पृष्ठभूमिबेगर प्रियतावादी भइदिएका भए तिनको नियति उल्काजस्तै चम्किएर बिलाउनुमा सीमित हुने थियो । अन्य राजनीतिकर्मीजस्तै प्रियतावादी पनि परिस्थितिका निर्माता हुनुका साथै तात्कालिक अवस्थाका उत्पाद पनि हुन्छन् ।

प्रियतावादका लागि उपयुक्त अवस्था उत्पन्न भएपछि त्यस्तो परिस्थितिलाई आफ्नो महत्त्वाकांक्षा परिपूर्तिको माध्यम बनाउने व्यक्तिमा पनि केही चारित्रिक विशेषता भने हुनुपर्छ ।प्रियतावादको वैचारिकतामा सिद्धान्तभन्दा पनि व्यक्तिको प्रमुखता हुन्छ । भीडको नेतृत्व लिन तम्सिने पात्रमा प्रदर्शनप्रियता भएन भने तिनको उत्तेजक क्षमता घट्छ । स्वकेन्द्रता एवं आत्ममुग्धताबेगर आस्थाविहीन राजनीति गर्न सकिँदैन । त्यसपछि अधिवासीको हकदारता भावलाई तुष्टि दिन नश्लवाद, नारीद्वेष, अन्य घृणा, आत्मश्लाघा एवं देशाहंकार पनि तीव्र हुनुपर्छ । विगतप्रतिको आसक्ति, वर्तमान अवस्थाको भय एवं कहालीलाग्दो भविष्यको चित्रणले समाजमा "ध्रुवीकरण गर्दै लगेर प्रियतावादीलाई आफ्ना समर्थक गोलबद्ध गर्न सजिलो हुन्छ । अमेरिकाको टाइम पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि आवरण पृष्ठमा प्रयोग गरेको 'प्रधान विभाजक' विशेषण लगभग सबै पि्रयतावादी राजनीतिकर्मीमा लागू हुन्छ । प्रियतावादको आधारभूत मान्यता नै 'शुद्ध हामी' एवं 'अतिक्रमी अन्य' बीच कायम रहेको दूरीलाई बढाएर 'आफ्ना सामान्यजन' अवधारणा बलियो बनाउनु हो । रक्षक, उद्धारक एवं मुक्तिदाताको छवि स्थापित गर्न आफ्ना सामान्यजन भन्न सकिने अन्धसमर्थकको जमात जरुरी हुन्छ ।

प्रियतावादीका शैलीमा पनि पर्याप्त समानता भेट्टाउन सकिन्छ । स्वकेन्द्रीयताले गर्दा ती आफ्ना सहयोगीलाई समेत तिल बराबर गन्दैनन् । तिनको व्यवहार आक्रामक हुन्छ । पुरुषत्वलाई ती पौरखको पर्याय मान्छन् । तिनमा स्वार्थको दृढता एवं नीतिको लचकता एकसाथ रहेको हुन्छ । सार्वजनिक जीवनमा आक्रामक देखिनबाट ती हच्किँदैनन् । विनम्रताको नितान्त अभाव भए पनि यदाकदा कमजोरप्रति करुणामय अनुकम्पा देखाएर वाहवाही लुट्ने कलामा प्रियतावादी पोख्त हुन्छन् । प्रियतावादीको धेरै चरित्र फासीवादीसँग मिल्दोजुल्दो देखिन्छ । प्रचारतन्त्रमा एकाधिकारको अभाव एवं सैन्यवादको हालीमुहाली स्थापित नभएसम्म प्रियतावादको अभ्यास फासीवादजस्तो विध्वंशक भने बन्दैन । फासीवादी एक हदसम्म मित्रहीन एवं एकाकी हुन्छन् ।प्रियतावादीलाई आफ्नाको ताली एवं 'अरू' ठहर्‍याइएकाहरूको गाली उत्तिकै मन पर्छ । अन्य ठहर्‍याइएकाहरूको आलोचना तिनको ऊर्जा-स्रोत हो । बरु उपेक्षा तिनले सहन सक्दैनन् ।

परिभाषाको खोजी

अंग्रेजी भाषाको 'पपुलिज्म' एउटा राजनीतिक प्रवृत्ति सँगसँगै पद्धति पनि हो, जसअन्तर्गत सामान्यजनलाई तिनको हित संस्थापनको बेवास्तामा परेको कुरा औँल्याएर उत्तेजित तुल्याउने गरिन्छ । जनोत्तेजक नारा उचालेर गम्भीर मुद्दालाई ओझेल पार्दै समर्थन हासिल गर्ने प्रवृत्ति राजनीतिकर्मीमा नयाँ होइन । समग्र राजनीतिक पद्धतिको रूपमा विश्लेषण गर्ने हो भने पपुलिज्मका पछाडि रहेको विचारधारासम्म पुग्नुपर्ने हुन्छ । केही शब्दकारले त्यसैको स्थानीयकरण गरेर ‘लोकरिझ्याइँ’अभिव्यक्ति प्रचलनमा ल्याएका छन् । राजनीतिकर्मीहरूमा देखिने प्रवृत्तिलाई लोकरिझ्याइँले समेट्छ । तर लोकरिझ्याइँको अर्थ वास्तवमा बहुसंख्यकका पूर्वाग्रहको तुष्टीकरण (अपिजमेन्ट) सँग मिल्दोजुल्दो लाग्छ । समर्थनको खोजीमा रहेका व्यक्तिको केही कार्यक्रम वा बढीमा त्यस्तो नीतिलाई ‘लोकरिझ्याइँ’भन्न मिल्छ । नीतिहरूको संगृहीत सिद्धान्तमा 'वाद' जोडिएपछि त्यस्तो व्याख्याले विगतको वर्णन, वर्तमानको विश्लेषण एवं आगतको पूर्वानुमानसमेत समेट्न सक्नुपर्छ । त्यस्तो व्यापक अर्थका लागि प्रियतावाद बढी उपयुक्त अभिव्यक्ति हुन सक्छ ।

व्यापकताले गर्दा प्रियतावाद बढी चर्चित हुन पुगेको भए पनि तार्किकको साटो बहुसंख्यकले रुचाएको नीति अँगाल्ने शासकको प्रवृत्ति भने नयाँ होइन । मर्यादा पुरुषोत्तम भनिने रामको अबधका महारानीलाई सहरबाट निकाला गर्ने निर्णय लोकरिझ्याइँ थिएन । अबधका बहुसंख्यक बासिन्दाले आफ्ना राजाको छनोटलाई मन पराएनन् । तर त्यो कदम तत्कालीन समाजमा व्याप्त रहेको पुरुषत्व मान्यता एवं नारीद्वेषलाई अगाडि बढाएकाले त्यसलाई पि्रयतावाद भन्न भने मिल्छ । स्वघोषित 'डाक्टर' कुँवर इन्द्रजीत सिंह अर्थात् केआई सिंह ( १९०६-१९८२) आधुनिक नेपाली इतिहासका नमुना पि्रयतावादी थिए । उनले सन् १९५१ को क्रान्तिलाई अपूरो भने । त्यो यथार्थ थियो तर त्यसलाई पूर्णता दिने क्षमता उनमा मात्र थियो भन्ने भ्रम सिर्जना गर्ने कर्म पि्रयतावादले मात्र गर्न सक्छ । सन् १९५७ मा उनी चार महिने प्रधानमन्त्री भए । केही कालका लागि सिंहदरबार कब्जा गरेर विद्रोही छवि पनि कायम राखे । भारतको साटो चीन पलायन गरेर राष्ट्रवादी परिचय पनि सुदृढ गरे । तर अन्ततः उनको पहिचान टाइम पत्रिकाका अनुसार धनीलाई लुटेर गरिबमा बाँड्ने 'रबिन हुड अफ हिमालयज्' कहलिनमा सीमित भयो । लोकरिझ्याइँमा लाग्ने फगत व्यक्ति पनि हुन सक्छ । प्रियतावादीलाई भने संस्थागत सहयोग चाहिन्छ । प्रभावशाली बुद्धिजीवीले तिनका लागि वैचारिक आधार तयार गरी दिन्छन् । धनाढ्य पुँजीपतिले स्रोत उपलब्ध गराउँछन् । प्रतिभाशाली पत्रकारहरू प्रचारकको अवतारमा देखा पर्छन् । र, अन्ततः राजनीतिक संगठनले तिनलाई वैधानिकता प्रदान गर्छन् ।

भ्रष्टाचारको विरोध गर्नेहरू सामान्यतः संरचनात्मक सुधार वा असमानता घटाउनेजस्ता जटिल विषय उठाउन चाहँदैनन् । तिनीहरूसँग यथास्थिति बदल्ने वैकल्पिक खाका पनि हुँदैन । 

खासमा प्रियतावादको आदिम रूप समानता एवं न्यायको सपना बेच्ने वामपन्थी प्रारूप नै हो । सम्भ्रान्तको शक्तिलाई चुनौती दिने साहसिक एवं उत्साही व्यक्तिका पछाडि सामान्यजन उभिनु स्वाभाविक हुन्थ्यो । विजित क्षेत्रको सम्पत्तिमा हिस्सा पाउने लोभ देखाएर तलबबेगर आफ्नो लडाकु समूहमा युवालाई सम्मिलित हुन लोभ्याएका गोर्खाली राजालाई जनरञ्जक प्रियतावादी भन्न सकिन्छ ।

आशको व्यापार गर्ने जनरञ्जक प्रियतावादीमा कठिन प्रश्नको सहज समाधान प्रस्तुत गर्न सक्ने विलक्षण क्षमता हुन्छ । तिनले आफ्नो उपलब्धिको अभिलेख एवं व्यक्तिगत विश्वसनीयता बेच्छन् । त्यसैले जनरञ्जक प्रियतावाद (र्‍याडिकल पपुलिज्म) त्यतिविघ्न हानिकारक हुँदैन । जोखिमपूर्ण भनेको दक्षिणपन्थी वा पुनरुत्थानवादी प्रकृतिको जनोत्तेजक प्रियतावाद(डेमगाजिक पपुलिज्म) हो । त्यसो किन हो भने जनोत्तेजकप्रियतावादले भयको खेती गर्छ । यस प्रकारको प्रवृत्तिलाई जर्मन भाषाको 'पपुलिज्मस' शब्दले समात्छ, जसको अर्थ हुन्छ- राजनीतिक स्थितिलाई नाटकीय बनाएर विरोधीलाई बदनाम गर्दै अन्ध समर्थन हसुर्ने रणनीति ।

शब्द खोज्न वा गढ्न उतिसाह्रो गाह्रो कुरा होइन । बोल्न सिक्ने बच्चाले पनि नयाँ-नयाँ शब्द आविष्कार गरिरहेका हुन्छन् । तिनलाई अथ्र्याउन भने सहज हुँदैन । सुकरातले त्यसै भनेका होइनन्, शब्दको परिभाषाबाट ज्ञानको सुरुआत हुन्छ । प्रत्येक राजनीतिक वादका कम्तीमा सांस्कृतिक, आर्थिक, सामाजिक एवं राजनीतिक आयाम हुन्छन् । जनोत्तेजक प्रियतावादले प्रतिगामी संस्कृतिलाई बढावा दिन्छ । प्रतिगामी भाष्यअनुसार धर्म पहिलेको पवित्र थियो । धर्मान्तर वा अन्य धर्म अँगालेका आगन्तुकले सांस्कृतिक प्रदूषण फैलाउँछन् । भाषा शुद्ध हुने गथ्र्यो । एउटा मात्र भाषाको वर्चस्वले यथास्थितिको स्थायित्वलाई सघाउने गथ्र्याे । विभिन्न जनबोलीको विविधताले 'शुद्ध बासिन्दा' पहिचानलाई अपवित्र तुल्याउँछ । उस्तै पोसाक, समान भोजन एवं एउटै नृत्य तथा संगीतले गर्दा 'राष्ट्रिय' जीवनशैलीमा एकरूपता थियो । अल्पसंख्यक, आगन्तुक एवं बाहिरियाले त्यस्तो सदृश्यतालाई बिथोलिदिन्छन् ।

चाकर पुँजीवादबेगर जनोत्तेजक पि्रयतावादले स्वीकारता पाउन सक्दैन । फर्केर सामन्तवादमा जान सम्भव हुँदैन । खुला बजारले महत्त्वाकांक्षी एवं मिहिनेती आगन्तुकका लागि ढोका खोलिदिन्छ । समाजवादी नीतिले गर्दा नवसशक्त समूह आर्थिक गतिविधिमा समेत हस्तक्षेप गर्न सक्ने हैसियतमा पुग्छन् । चाकर पुँजीवादको विशेषता नै के हो भने त्यसले  जनोत्तेजक प्रियतावादीलाई स्रोतको कमी कहिल्यै हुँदैन । भारतीय प्रधानमन्त्री मोदीले नोटबन्दी एवं सामान तथा सेवा कर (जीएसटी) जस्ता आत्मघाती निर्णय लिन सक्ने आत्मविश्वास सहनृजातीय गुजराती उद्यमी एवं व्यापारीको आडभरोसाबाट पाएका हुन् । स्मरणीय छ, भारतका दस सबभन्दा ठूला औद्यौगिक घरानामध्ये पाँच प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातका छन् । भारतमा चाकर पुँजीवादको जरा गहिरिँदै जाँदा त्यो संख्या अझ बढ्न सक्छ ।

जनोत्तेजक प्रियतावादको सामाजिक पक्ष पनि परम्परामा आधारित हुन्छ । कुनै व्यक्ति वा तिनको समुदाय शासन गर्नलाई नै जन्मिएका हुन्छन् भन्ने भावना जनोत्तेजक प्रियतावादीको मनमा जरा गाडेको हुन्छ । नश्लवाद त्योसँग सम्बद्ध अवधारणा हो । नारीद्वेषबेगर पुरुषवादी सोपानतन्त्र धराशयी हुन्छ । त्यस्ता दुवैखाले सामाजिक प्रवृत्तिका प्रतिनिधि पात्र राष्ट्रपति ट्रम्प हुन् । बहुसंख्यकको साम्प्रादायिकताका उत्कृष्ट उदाहरण प्रधानमन्त्री मोदी हुन् । उनले नेपालको लालबाबु पण्डित प्रवृत्तिका 'आदर्श अल्पसंख्यक' खोजेर मात्र आफ्नो मन्त्री बनाउँछन् । जनोत्तेजक प्रियतावादको राजनीतिले आफ्ना सांस्कृतिक, सामाजिक एवं आर्थिक मूल्य-मान्यताबाट शक्ति हासिल गर्छ एवं तिनलाई नै बलियो पनि बनाउँदै लग्छ । त्यसैले त्यस्तो प्रवृत्ति छिट्टै अन्त्य होला भनी हल्का तवरले लिन मिल्दैन । जनोत्तेजक प्रियतावादको राजनीति समसामयिक विश्वको कठोर यथार्थ भएकाले गहन विमर्शको अपेक्षा राख्दछ ।

उत्तेजनाको राजनीति

वैज्ञानिकका अनुसार मस्तिष्कको तौल सामान्य व्यक्तिको कुल शारीरिक वजनको जम्मा दुई प्रतिशत मात्र हुन्छ तर त्यस प्राणाधार इन्दि्रयले औसतमा दैनिक ऊर्जा खपतको झन्डै २० प्रतिशत हिस्सा प्रयोग गर्छ । अन्य प्राणीजस्तै मानव पनि ऊर्जा किफायत गर्ने जन्तु हो । त्यसैले अधिकांश व्यक्तिले जटिल समस्याको सहज समाधान सुन्न रुचाउँछन् । आफ्ना लागि सोच्ने काम अरूले गरिदेओस् भन्ने चाहन्छन् । त्यस्तो अवस्थामा आफ्ना गतिविधिका असरको जिम्मेवारीबाट मुक्त पनि हुन पाइन्छ । प्रियतावादी राजनीतिको आधारभूत प्रस्तावना सामान्यजनमा देखिने सोचप्रतिको उदासीनता हो । अन्य जम्मै रणनीति त्यसै पूर्वधारणाबाट जन्मिएका हुन् ।

राष्ट्रियताको पवित्रता एवं 'अन्य' भयले विश्वव्यापीकरणबाट उत्पन्न व्यापक उथलपुथलमार्फत प्रमुखता पाएको छ । जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन एवं यान्त्रिकीकरणको समष्टिगत प्रभावले थातथलोमा रोजगारका अवसर सीमित हुँदै गएका छन् । हरेक ठाउँका सम्भ्रान्तमा आफ्नो हालीमुहाली समाप्त हुने डर पलाएको छ । इजरायली समाजशास्त्री सैमी समुहाको आफ्नै देशको अनुभवका अनुसार प्रजातन्त्र सुस्तरी नृजातीय चरित्रको बन्दै गएको छ । नृजातीय प्रजातन्त्रमा संवैधानिक सर्वोच्चता कायम रहन्छ । आवधिक निर्वाचन हुन्छन् । तर संस्थाहरू बिस्तारै आफ्नो अक्षुण्णता गुमाउँदै जान्छन् । नृजातीय ऐक्यबद्धताले गर्दा अल्पसंख्यक तिरष्कृत हुन्छन् । नग्न बहुसंख्यकवाद हाबी हुन्छ । र, रूपमा प्रजातन्त्र कायम रहे पनि सारमा जनतन्त्रले मृत्युवरण गर्छ । प्रारम्भिक परिस्थितिको आकलन गरेर जनोत्तेजक प्रियतावादीले त्यस्तै 'अन्य भय' भजाएर सत्तामा पुग्छन् । हालैको भारतीय चुनावताका सत्ताधारी दलका उम्मेदवार मेनका गान्धीले ठाडै आफ्नो निर्वाचन क्षेत्रका मुसलमान मतदातालाई हप्काइन्, 'जित्न त म तिमीहरूको मतबेगर पनि जित्छु तर त्यसले तिमीहरूलाई राम्रो हुने छैन ।' उनले जितिन् ।

घुसखोरीको विरोध गरेर पनि केही प्रियतावादी वाहवाही कमाउँछन् । सामान्यजनले नीतिगत भ्रष्टाचार सजिलै ठम्याउन सक्दैनन् । कर हेरफेरले कसलाई कति फाइदा हुन्छ भन्ने वित्तीय विश्लेषणको विषय भए पनि कर माफी दिएको कुरा सबैले बुझ्छन्। घुसखोरीले दैनिक जीवन प्रभावित हुन्छ । भ्रष्टाचारको विरोध गर्नेहरू सामान्यतः संरचनात्मक सुधार वा असमानता घटाउनेजस्ता जटिल विषय उठाउन चाहँदैनन् । तिनीहरूसँग यथास्थिति बदल्ने वैकल्पिक खाका पनि हुँदैन । फगत भ्रष्टाचारविरोधी नाराको भरमा प्रियतावादी राजनीति गर्न सफल पात्रका रूपमा भारतका आम आदमी पार्टीका प्रणेता अरबिन्द केजरीवाललाई लिन सकिन्छ । उनले अभ्यास गरेको प्रशासनिक प्रियतावादका सीमितता भने केलाएर साध्य छैन । शासकीय सुधारबेगर प्रशासनिक भ्रष्टाचार उल्लेख्य रूपमा नियन्त्रण गर्न कठिन हुन्छ ।

आर्थिकभन्दा पनि सामाजिक असमानता देखाएर गरिने सम्मानको प्रियतावादी आकर्षणलाई भारतको स्वतन्त्रताअघि मुहम्मद अलि जिन्नाले उत्कर्षमा पुर्‍याएर पाकिस्तान निर्माण गर्न सफल भएका थिए । स्वतन्त्र भारतमा सम्मानजनित प्रियतावादको आकर्षणलाई प्रधानमन्त्री मोदीले वर्चस्ववादी प्रियतावाद (चल्तीको भाषामा मण्डलवादलाई कमण्डलवादको हाँक) मार्फत तत्कालका लागि चुनौती दिन सफल भए पनि आर्थिक संकट गहिरिँदै जाँदा 'आत्मगौरव' अभिकथनको राजनीति पुनः सतहमा आउन सक्छ ।

अनिश्चितताको वातावरण एवं त्यस्तो परिस्थितिका लागि सहज शत्रुको उपलब्धताले जनोत्तेजक प्रियतावादको आकर्षण बढाइदिन्छ । राष्ट्रपति ट्रम्पका लागि मेक्सिको छ । प्रधानमन्त्री मोदी आफ्ना सबै असफलताको दोष पाकिस्तानलाई दिएर उम्किन सक्छन् । योगी आदित्यनाथ आफ्नै राज्यका मुसलमानलाई 'ठाउँमा' राख्न व्यस्त छन् । युरोपका सबैजसो जनोत्तेजक राजनीतिकर्मी आफ्ना समर्थकमाझ विद्यमान 'मुसलमान भय' भजाएर खाइरहेका छन् । सहज शत्रु उपलब्ध छैन भने 'भूतको भय' खडा गरेर भए पनि प्रियतावादीहरू उत्तेजना फैलाउन उद्धत हुन्छन् । नागरिकताका नाममा नेपालमा चलिरहेको राष्ट्रवादको खेतीलाई जनोत्तेजक आह्वानको उदाहरणका रूपमा लिन सकिन्छ ।

परस्पर विरोधी अवधारणाजस्तो देखिए पनि अभिजात्य प्रतिशोध (एलिट रिभेन्ज) पनि जनोत्तेजक प्रियतावादको कारक तत्त्वमध्ये प्रमुख हुने रहेछ । अर्ध-अश्वेत व्यक्तिपछि महिला राष्ट्रप्रमुखको अवधारणाबाट अत्तालिएका कतिपय मतदाता 'अमेरिकालाई फेरि महान बनाऊ' नाराका साथ मैदानमा उत्रिएका उम्मेदवारका पछाडि लागेका हुन सक्छन् । राष्ट्रपति एवं उपराष्ट्रपतिदेखि सिंहदरबारमा समेत मधेसीको गतिविधि बढ्न थालेपछि पहिलो संविधानसभा विघटन गराउने 'सेतो कमिज' दूरभिसन्धिले नृजातीय समर्थन प्राप्त गरेको हो । सामान्यजनको नाममा तिनलाई नै कमजोर तुल्याउने अभिजात्य प्रतिशोध जनोत्तेजक प्रियतावादको अनौठो विशेषता हो । प्रसंग भारतमा नोटबन्दी लागेको बेलाको हो । पटनाबाट वोधगया जाने बाटोमा एउटा खुद्रा व्यापारीले गुनासो गरे, 'बजारमा नगद अभावले व्यापार चौपट भयो ।' एकछिनपछि आफैँ थपे, 'ठूला मान्छेले केही सोचेरै गरेका होलान् ।' प्रश्नविहीन अन्धसमर्थनलाई प्रयोग गरेर चतुर प्रियतावादीले अन्य सामान्यजनसँग प्रतिशोध लिन्छन् ।

मुख्य मुद्दाबाट ध्यान अन्यत्र मोड्ने कलामा प्रियतावादी पोख्त हुन्छन् । खासगरी शब्दजाल बुन्नमा तिनलाई कसैले सक्दैनन् । प्रधानमन्त्री मोदी आद्यक्षर (इनिसल्ज) जोडेर नारा बनाउन सिपालु छन् । वाक्यको मूल अर्थ फेरेर तिनको गरिमा नष्ट गर्ने विधि राष्ट्रपति ट्रम्पले अँगालेका छन् । 'फेरि महान' बनाउने अमेरिकामा नश्लवाद, नारीद्वेष एवं असमानता उस्तै हुनेछ भन्ने कुरा उनले भन्दै नभनी आफ्ना समर्थकलाई आश्वस्त पारिरहेका हुन्छन् । नेपालमा सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको 'राइनो' र गैँडा बहस हास्यास्पद लागे पनि त्यसभित्रको राजनीतिक अभीष्ट खतरनाक छ । परिभाषाको शक्ति हत्याउने प्रयत्नलाई हल्का रूपमा लिन उपयुक्त हुँदैन । हावा, पानी र माटोसुहाउँदो नामबाट त्यस्तै व्यवस्थाको औचित्यसम्म पुग्न धेरै समय लाग्दैन ।

हिन्दीमा बडबोलापन (बोस्ट्फल्नेस) भनिने प्रवृत्ति हावादारी मात्र होइन । गफ दिनेलाई सितिमिति कसैले पत्याउँदैन । बडबोलापन भनेको सम्भव तर असाध्य (अन्वर्कबल) कुराको फूर्ति लगाउनु हो । अमेरिकाले चाहेको खण्डमा आफ्नो सिमानामा पर्खाल त लगाउन सक्छ तर त्यसको खर्च मेक्सिकोलाई बेहोर्न लगाउन सक्दैन । सर्वेसर्वा शर्मा ओलीका पानीजहाज, पाइपको ग्यास एवं डाँडापारिका रेलजस्ता कुनै पनि कुरा असम्भव छैनन् । त्यसैले उनका समर्थक प्रत्येक नारामा उफ्रीउफ्री ताली बजाउँछन् । साध्य हुन भने इच्छाशक्तिका साथै साधनको जोहो पनि गर्नुपर्ने हुन्छ । त्यति प्रश्न गर्ने क्षमता थोरै व्यक्तिमा हुन्छ भन्ने प्रमाणित मान्यतामा पि्रयतावादको राजनीति चल्ने गर्छ ।

प्रतिरोधको सम्भावना

परस्पर विरोधीजस्तो लागे पनि जनोत्तेजक प्रियतावादको कारण फेरि पनि जनरञ्जक प्रितावादमै गएर खोज्नुपर्ने हुन्छ । जनअसन्तोष व्यापक हुँदै गएपछि जनोत्तेजक प्रियतावाद जन्मिन्छ । जनरञ्जक प्रियतावादमा पनि सामान्यजनको सर्वोच्चता त हुन्छ तर भीडले उत्तेजनामा आफ्नो दीर्घकालीन हितसमेत स्वयं पहिल्याउन सक्छ भन्ने कुरा प्रगतिवादी राजनीतिमा मान्य हुन सक्दैन । अन्धजनवाद समाधान नभएर समस्या बन्न गएका उदाहरण इतिहासदेखि वर्तमानसम्म छ्यापछ्याप्ती पाइन्छन् । लोकतन्त्रको आदर्शमा जनआकांक्षासमेतलाई पनि तार्किक आलोचनाको परिधिभित्र ल्याउन उपयुक्त हुन्छ । त्यसो गर्न सकियो भने जनोत्तेजक पि्रयतावाद जन्मिने दलदल सुकेर लोकतन्त्रका लागि ठोस धरातल निर्माण हुन्छ ।

नेपालमा सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको 'राइनो' र गैँडा बहस हास्यास्पद लागे पनि त्यसभित्रको राजनीतिक अभीष्ट खतरनाक छ । परिभाषाको शक्ति हत्याउने प्रयत्नलाई हल्का रूपमा लिन उपयुक्त हुँदैन ।

सार्वजनिक वृत्त भनिने सम्भ्रान्तहरूको विमर्श मैदानले यथास्थितिबाट बाहिरिने वातावरण बन्न दिँदैन । त्यसविपरीत सामान्यजनको वृत्त तात्कालिक समाधानका पक्षमा जनमत बनाउनेतिर लाग्छ । दिगो उपाय भनेको संस्थाहरूको निर्माण, उपयुक्त ऐन एवं कानुनमा सुधार तथा निरन्तर जनपक्षीय दबाब सिर्जना गर्नु हो । सार्वजनिक वृत्तले 'भ्रष्टाचारीलाई किरा परोस्' गन्जी बेच्छ । जनवृत्तले तिनलाई ठाडै टुँडिखेलमा झुन्ड्याउनुपर्ने आवाज उठाउँछ । पहिलोले ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोजस्तो राजनीतिकर्मी जन्माउँछ भने दोस्रोले शंकाको भरमा अपराधीलाई गोली ठोक्ने फिलिपिन्सका राष्ट्रपति रोडि्रगो दुर्तेतेजस्ता अवसरवादी सत्तामा पुग्छन् । संरचनात्मक परिवर्तनका लागि चाहिने संयमको वकालत लोकवृत्तले मात्र गर्न सक्छ । केही त्यस्ता उपक्रमका उदाहरण नभएका होइनन् । काठमाडौँमा मार्टिन चौतारी एवं विराटनगरको नर्थ साउथ कलेक्टिभ्स तिरस्कृत विचारबारे खुला छलफल गर्ने मञ्च हुन् ।

मानवाधिकारवादीसमेत स्वयंलाई राष्ट्रवादी कहलिन धक नमान्ने भेनेजुएला एवं उत्तर कोरियाजस्ता 'स्वाभिमानी' मुलुकको तालिकामा नेपाल पनि पर्न आउँछ । त्यस्तो हुनु जनोत्तेजक प्रियतावादीलाई खुला मैदान प्रदान गर्नु हो । जस्तोसुकै 'स्वर्गको टुकडा' पनि मानवताका आधारभूत मान्यताबाहिर रहनु हुँदैन । पर्णपत्र अध्यक्ष पुष्पकमल दाहाल अन्तर्राष्ट्रिय न्यायको क्षेत्राधिकारभित्र प्रवेश गरेर 'हिरो' हुन चाहन्छन् भने उनको त्यस्तो विशेषाधिकारको सम्मान हुनुपर्छ । अधिकांश अल्पविकसित देशमा मानव अधिकारको क्षेत्र केही सामाजिक उद्यमीहरूको उपक्रम बन्न गएकाले तिनको राजनीतिक प्रभावकारिता कम हुन गएको हो । संकटकालमा मात्र नभएर निरन्तर निगरानी गर्ने नागरिक अग्रसरता कायम गर्न सकियो भने प्रियतावादीले जनअसन्तोषलाई जनआक्रोशमा रूपान्तरण गरेर सत्ताको सिँढी चढ्ने मौका पाउँदैनन् ।

असर जतिसुकै नकारात्मक भए पनि प्रविधिको विकासलाई बेवास्ता गर्न सकिँदैन । (अ)सामाजिक सन्जाल आफैँमा मा निनैतिक (एमोरल) माध्यम हो । तर त्यसको व्यापक प्रयोगले तात्कालिकतालाई बढावा दिन्छ । फटाफट समाधानको प्रवृत्तिप्रति आकषिर्त तुल्याउँछ । ट्वीटर नामक मञ्च राष्ट्रपति ट्रम्प एवं प्रधानमन्त्री मोदीजस्ता राजनीतिकर्मीको मन पर्ने सञ्चार औजार भएको अकारण होइन । हुन त मूलधारको मिडियाबाट पनि सम्पादकीय अनुशोधन हराउँदै गएको छ । तर जोसुकैले जोसँग पनि जस्तोसुकै कुस्ती खेल्न सक्ने (अ)सामाजिक सन्जालजत्तिको छाडा मूलधारको मिडिया आफ्नै अस्तित्व जोगाउन पनि सक्दैन । मिडियाको विविधता एवं त्यसमा बहुलता जनोत्तेजक प्रियतावादलाई मन्द बनाउने प्रभावकारी ओखती हुन सक्छ ।

अन्ततः प्रियतावादको अचूक समाधान राजनीतिक दलहरूलाई जीवन्त बनाउनु नै हो । प्रियतावाद स्वाभाविक रूपमा व्यक्ति केन्दि्रत हुन्छ । रिपब्लिकन पार्टी कुहिएर अमेरिकामा जनरञ्जकको साटो जनोत्तेजक प्रियतावाद हाबी भएको हो । भारतीय जनता पार्टी हतास भएपछि तिनका समर्थकले अतिवादी नायकलाई काँधमा बोकेर अहमदावादबाट नयाँ दिल्ली पुर्‍याएका हुन् । नेपालका राजनीतिक दल पनि भित्रभित्रै खोक्रो हुन थालेकाले चितवनको अप्रत्यासित भीड चुनौतीजस्तो देखिएको हो । प्रजातान्त्रिक अभ्यास सुदृढ गर्न राजनीतिक दलहरूप्रतिको आकर्षण पुनस्र्थापित गर्नुको विकल्प तारणहार नायकको खोजी हुन सक्दैन । 

प्रकाशित: भाद्र ३१, २०७६

ट्याग: विशेष