इतिहाससँग रङ संवाद

- सुनिता लोहनी

आफूलाई २८ वसन्तको लक्का जवान ठान्छन्, चित्रकार हरिप्रसाद शर्मा, ८२, । नसोचून् पनि किन ? प्रदर्शनी हुने अघिल्लो दिन पनि क्यानभासमा चित्र कोरिरहेका थिए । मल्लकालीन राजा प्रताप मल्ल मस्तमौला मुडमा मोहनचोकमा केटीहरुसँग होली खेलिरहेको चित्र छ, नेपाल कला परिषद्मा जारी प्रदर्शनीमा । पेन्टिङको छेउमा लेखिएको छ, वर्क इन प्रोग्रेस ।

कलाकार हरिप्रसादले ६ वर्षको उमेरमै रङसँग संवाद गर्न थाले । अरु जात्रा, रमाइलो, प्रकृतिको आनन्दमा घोत्लिँदा उनी भने कसले के लगायो, तिनका आकृति, भावभंगी र नापनक्सा हेर्न व्यस्त रहन्थे । धेरैले रुख हेर्छन्, रुखका चरा हेर्छन् तर उनी भने रुखको रङ हेर्थे । त्यसको 'कम्पोजिसन' मा ध्यान दिन्थे ।

रुद्रीपाठ गर्ने पण्डितको छोराले चित्र बनाउन थाल्यो भनेर बाले पीर नगरेका होइनन् । तर काठमाडौँको लगनटोलमा हुर्किएका उनलाई नेवारी संस्कृति, परम्परा, रहनसहन, चाडपर्व, जात्रा, नाचगान, गीतसंगीतले कलाकार बनायो । ११ वर्षको छँदा बाले जीवनरत्न शाक्यकहाँ पठाए । कालिदास श्रेष्ठ र चन्द्रमान मास्केबाट चित्रकलाका व्यावहारिक ज्ञान सिके । ००७ देखि ५ वर्ष जुद्धकला पाठशालामा फाइन आर्ट पढे । उनलाई नपढेको कलाकार भन्लान् भन्ने साह्रो पीर लाग्थ्यो । कलेज जानुपर्छ भन्ने सोचले २५ वर्षको उमेरमा एसएलसी गरे । घरेलु तथा साना उद्योग, राष्ट्रिय संग्रहालय र नेपाल एयरलाइन्समा डिजाइनरका रुपमा काम गरे । ३२ वर्षे सरकारी जागिरपछि अवकाश लिए ।

उनले इतिहासका विषयमा चित्र कोरेका छन् । विवादित विषयमा बनाउँदा इतिहासकारलाई सोध्छन्, किताब पढ्छन् । शिलापत्र, ताम्रपत्रलाई आधार मान्छन् । हरिप्रसादले ०३० मा प्रथम चित्रकला प्रदर्शनी गरेका थिए भने ०५९ दोस्रो पटक गरेका थिए । प्रदर्शनीमा उनले नेवारी संस्कृति र परम्परामा आधारित चित्र, अरनिकोको चीन यात्रा, पृथ्वीनारायण शाहको १८२५ सालको इन्द्रजात्राको दिन काठमाडौँ विजयलगायत ४५ वटा चित्र छन् । भन्छन्, "मैले ३ भाग अध्ययन र अनुसन्धानबाट जे फेला पर्‍यो, त्यही बनाएको छु । एक भाग कल्पनशीलता आधारित छ ।"

इतिहासका विषयमा चित्र बनाउन सहज पक्कै छैन । शनिबारपिच्छे अर्थशास्त्रका प्राध्यापक छोरा विष्णुप्रसादको मोटरसाइकल पछाडि बसेर काठमाडौँ, पाटन, भक्तपुर, ठिमी, हरिसिद्धि, चापागाउँ, चोक र वहाल चाहार्दै, फोटा खिच्दै, मानिससँग कुराकानी गर्दै फर्किएको उनी सम्झन्छन् । उनी अध्ययन, अनुसन्धानदेखि क्यानभासमा चित्र कोर्दासम्मको पूरै प्रक्रियालाई रमाइलो मान्छन् । भन्छन्, "चित्र बनाउन बस्दा लाग्छ, म दर्शक हुँ । ती पात्र र वस्तु आफैँ त्यहाँ आएर बस्छन्, मैले ब्रसले चलाउने मात्र हो ।"

०५२ मा पत्नी राधादेवीको देहान्तपछि घरमै राधाकुटी आर्ट ग्यालरी बनाएका हरिप्रसादको पृथ्वीनारायण शाहले दिव्योपदेश दिइरहेको चित्र अद्भुत लाग्छ । नुवाकोटको दरबारमा अन्तिम समय भाइभारदारलाई दिएको सन्देश लियोनार्दो दा भिन्चीले जिसस क्राइस्टको अन्तिम भोजको दृश्य कैद गरेको द लास्ट सपरजस्तै चमत्कारी छ । उनलाई शासनसत्ता र नागरिकले पृथ्वीनारायणलाई अपहेलना गरेको मन पर्दैन । प्रश्न गर्छन्, "उनले उतिबेला एकीकरण नगरेको भए नेपाल कहाँ हुन्थ्यो ?"

प्रकाशित: आश्विन १, २०७६

ट्याग: कोलाज