सेनाका पत्याइनसक्नु गफ
सैनिक जंगी अड्डाले ३१ भदौमा तात्तातो खबर पस्कियो, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने सैनिकको भत्ता बढाएको ।
सैनिक जंगी अड्डाले ३१ भदौमा तात्तातो खबर पस्कियो, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने सैनिकको भत्ता बढाएको । राष्ट्रसंघको साधारण सभाले मिसनमा खटिने जनशक्तिको भत्ता बर्सेनि निर्धारण गर्छ । सोझो हिसाब गरौँ, अहिले मिसनमा खटिने हरेक सैनिकले १ हजार ४ सय २८ अमेरिकी डलर पाउँछन् । यो रकमको निश्चित प्रतिशत सेनाले आफ्नो सैनिक कल्याणकारी कोषका लागि काट्छ । दर्जाअनुसार भिन्नभिन्न भत्ता दर तोकेर सेनाले दिन्छ ।
यसरी तलबभत्ता दिने प्रक्रियामा कल्याणकारी कोषका लागि काटिने रकम घटाउँदा सैनिकको आम्दानी बढेको हो । सेनाले सोझै भत्ता बढाइदिएको होइन । तर जंगी अड्डाले आफ्नै तजबिजले भत्ता बढाइदिएको जसरी प्रचार गरेर लाभ लिन खोज्यो । राष्ट्रसंघको साधारण सभालाई मात्र शान्ति मिसनमा खटिने कर्मचारीको सुविधा निर्धारण गर्ने अधिकार हुन्छ । सशस्त्र प्रहरीले ०७५ देखि नै मिसनमा खटिने कर्मचारीबाट कोषमा रकम काटिने व्यवस्था बन्द गरेको छ । त्यही निर्णय सेनाले अहिले गरेको हो ।
सांगठिनक सुधारका काम थालेर वाहवाही कमाइरहेका प्रधानसेनापति पूर्णचन्द्र थापाकै अध्यक्षतामा बसेको कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले गरेको निर्णयबाट मिसनमा जाने सैनिक लाभान्वित पक्कै भए । तर त्यो मिसनवालाकै पैसा हो, सेनाले बढाएको होइन । कोषमा रकम नकाट्ने हो भने भत्ता अझै बढ्छ । कोषको मुख्य आम्दानी यही कट्टी रकम हो । कोषको पैसाको बलमा सेनाले बेलाबेला व्यापारिक आकांक्षा बढाउँदै आएको छ । मूल चरित्रबाट विचलित बनिरहेको सेना झन् प्रचारमुखी बन्दा क्षति कसले बेहोर्ला सेनापतिज्यू ?
गुप्तचरका निम्तालु गायब
भारतीय खुफिया संस्था रअका प्रमुख सामन्त गोयल साउनको पहिलो साता राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) को निमन्त्रणामै नेपाल आएका थिए । समकक्षी संस्थाको निमन्त्रणामा आए, गए । तर कुरो यत्तिमै सकिएन । निम्तो दिनेले नै निम्तालु कहाँ गए भन्ने पत्तो नपाएपछि के होला ?
४ साउनमा काठमाडौँ ओर्लिएको गोयल टिमका लागि हायात होटलमा भारतीय दूतावासले बासको बन्दोबस्त मिलाएको थियो । साँझ आएको टोली होटल पुग्यो । केही समय आराम गरेर दुइटा गाडीमा पाहुना टोली निस्कियो । तर चाबहिलदेखि एकाएक गायब भएछ । एनआईडीले पाहुनाले समेत थाहा नपाउने गरी पछ्याइरहेको थियो । शनिबार भएकाले काठमाडौँको ट्राफिक अन्य दिनको तुलनामा चाप थिएन । यस्तो बेलासमेत पाहुना कता गए भन्ने एनआईडीले लख काट्नै सकेनछ ।
एनआईडीले झन्डै दुई घन्टासम्म आफ्नै पाहुना गायब भएको पीडा बेहोर्नुपर्यो । त्यसपछि दुई गाडी फरक-फरक स्थानमा देखिएछन् । एउटा महाराजगन्ज र अर्को बालुवाटार । तर मान्छेबिनाका गाडी मात्रै । एनआईडीले राती ११ बज्न लाग्दा मात्रै चाल पाएछ, गोयलको टिम प्रधानमन्त्री केपी ओलीको पाहुना बनेर बालुवाटर छिरेको ।
तीन दिने नेपाल बसाइमा गोयल भ्रमणबारे छिसिक्क सूचना चुहिएन । तर सोमबार पशुपतिनाथको दर्शन गरेर दिल्ली फिर्तीपछि गोयल भ्रमण र उनका राजनीतिक भेटघाटबारे सूचना छ्यालब्याल भए । हिन्दु कट्टरपन्थी भारतीय सरकारले साउने सोमबारको साइतमा महफ्वपूर्ण कदम चालिरहेको रहेछ । साउनको पहिलो सोमबार चन्द्रयान २ नामक यान चन्द्रमा पठायो । अन्तिम साउने सोमबार कश्मीरको विशेष अधिकार खारेज गरिदियो । नेपालको राजनीतिमा हाबी संस्था रअ प्रमुखले पहिलो सोमबार नेपालको पशुपतिनाथ दर्शन गरे । सरकारका प्रवक्ताले रअ प्रमुख गोयलले प्रधानमन्त्रीसँग नभेटेको जिकिर गरिरहे । प्रधानमन्त्रीकै स्वकीय सचिव राजेश वज्राचार्यले भेटको प्रबन्ध गरेपछि प्रधानमन्त्री मातहतकै संस्था एनआईडीले कसरी चाल पाओस् । यस्तो हुस्सुपन हटाउन एनआईडीले पनि साइत हेर्ने विकल्प रोज्ने कि Û
हराएको नो हर्न
सरकारले दुई वर्षअघि जथाभावी सवारी साधनको हर्न बजाउन निषेध गर्यो । यो कामको प्रशंसा देशविदेश सर्वत्र भयो । ट्राफिक प्रहरी, काठमाडौँ महानगर, यातायात व्यवस्था विभागको सहकार्यमा ध्वनि प्रदूषण कम गर्ने अभियान थियो, त्यो । कार्यान्वयन, नियमन गर्ने जिम्मा ट्राफिक प्रहरीको थियो । एक वर्षजति यो नियम राम्ररी लागू भयो । धेरैले ठानेका थिए, यो थिति सदाका लागि बस्यो । अभियान सुरु हुँदा डीआईजी मिङमार लामा महानगरीय ट्राफिक महाशाखाको प्रमुख थिए । त्यसपछि सर्वेन्द्र खनालले यसलाई लागू गराउन थप तदारुकता देखाए ।
सडकमा हर्नको आवाज एक वर्षजसो नसुनिएसरह थियो । तर अहिले सडकमा ट्याँट्याँटुँटुँको राज फेरि फर्किएको छ । ट्राफिक प्रहरी नसुनेझैँ गर्छ । नो हर्न अभियानका अगुवा स्वयं कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको प्रमुख बनेका छन् । तर आफैँले थिति बसालेको चीज हेर्दाहेर्दै बिगि्रएको आईजीपीले देखेनन् । अगुवापछुवा सुरक्षा दस्तासहित साइरनजडित गाडीमा हुइँकिँदा सडकको हर्न आतंक नसुनिएको हो वा पदमा पुगेपछि भुइँका आवाज नसुन्ने रोग लागेको हो, आईजीपीसाब ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...