पढ्नुहोस्, 'रातो टीका निधारमा' को समीक्षा

- गोकर्ण गौतम

रातो टीका निधारमा रिलिजको पूर्वसन्ध्यामा लेखक-निर्देशक अशोक शर्माले भनेका थिए, 'फिल्म स्टारले होइन, कन्टेन्टले चल्छ ।' चल्न मात्र होइन, फिल्म अब्बल हुन पनि कन्टेन्टकै प्रधान भूमिका हुन्छ । तर आफ्नै बोली व्यवहारमा उतार्न उनी पूरापूर चुकेका छन् । साम्राज्ञीराज्यलक्ष्मी शाहसहित करिब एक दर्जन चलेका कलाकारको डफ्फा भए पनि कन्टेन्ट र त्यसको प्रस्तुतिचाहिँ कमजोर छ । मध्यान्तरसम्म शर्माले सम्पूर्ण ध्यान कमेडीमा खर्चेका छन् तर कथा र पात्रअनुकूल कमेडी पैदा छैन, जबर्जस्त हँसाउन खोजिएको छ । मध्यान्तरपछि उद्यमशीलताको पैरवी गर्न खोजेका छन् तर परिस्कृत र विश्वसनीय दृश्यको अभाव छ । जबकि वैदेशिक रोजगार र त्यसबाट निम्तिएको नकारात्मक प्रभावजस्तो वर्तमान समाजको यथार्थ उठाउन खोजिएको छ । यसको नामचाहिँ उनले आफ्नै फिल्म अल्लारेको हिट गीत 'रातो टीका निधारमा...'बाट राखेका हुन् ।

फिल्मका मुख्य पात्र र तिनका चालढाल असाध्यै सामान्य छन् । विदेशमा मान्छे पठाएर कमिसन लिने काम गर्छ, आकाश (अंकित शर्मा) । उसकै वरपर हुन्छन्, गणेश (बुद्धि तामाङ) र मोहित (रवीन्द्र झा) । गणेश छिनछिनमा बिर्सने रोगले पीडित छ, मोहित बिहे नभएर हैरान । आकाश आफैँसँग पढ्ने दृष्टि (साम्राज्ञी)लाई मन पराउँछ । अमेरिकामा मास्टर्स गर्ने सपना बोकेकी दृष्टि र यहीँ केही गर्ने दृढ इच्छा भएको आकाशको प्रेम सफल होला ? फिल्म करिब उसैगरी अगाडि बढ्छ, जसरी दर्शक सोच्ने गर्छन् । चक्मा दिने 'ट्वीस्ट' केही छैन ।

सुरुमै प्रमुख चरित्रलाई दृश्य होइन, 'भ्वाइस ओभर'बाट चिनाइन्छ । सिचुएसनजस्तो होस्, हँसाउन मरिहत्ते गरिन्छ तर न रसिला पञ्चलाइन छन्, न त कलाकारको टाइमिङमा निखारता छ । फलतः युट्युबमा बग्रेल्ती भेटिने कमेडी भिडियोको झल्को आउँछ । अर्को खट्कने पक्षचाहिँ चरित्र र तिनको प्रवृत्ति स्थापित गर्न नसक्नु हो । आकाश र दृष्टिबीचको सम्बन्धसमेत प्रगाढ लाग्दैन । दुई-चार पटक बाइकमा सँगै घुम्दैमा, आइसक्रिम खाँदैमा, सँगै रक्सी पिउँदैमा अनि गीतमा नचाउँदैमा विश्वसनीय सामीप्य झल्किँदैन । त्यसैले त वियोगमा पात्र रुन्छन् तर त्यसको संवेदनाले दर्शकलाई छुँदैन । न पात्र खित्का छाडेर हाँस्दा नै दर्शकको मुहारमा मुस्कान छाउँछ । फिल्ममा पटक-पटक यस्तो परिस्थिति झेल्नुपर्छ । दृष्टि अमेरिकाबाट मास्टर्स गरेर फर्किसकेकी हुन्छिन् तर समय बितेको हेक्कै हुन्न ।

मध्यान्तरपछि फिल्म उद्यमशीलतातिर लाग्छ, गाउँले महिला एकजुट हुन्छन्, आधुनिक कृषि गर्छन् तर जोत्दा-जोत्दै सुत्केरी हुने अनि विदेशबाट फर्किएको पतिले घर छिर्नासाथ पत्नीको झाँको झार्नेजस्ता 'क्लिसे' दृश्यले हल्का बनाएको छ । भलै आर्थिक सबलीकरणमाप्रयत्नरत दृष्टिहरु हाम्रा आदर्श हुन् । गाउँमा अवसर नदेख्ने महिलालाई दृष्टिले प्रेरित गरेका पल तुलनात्मकरुपमा सबल छ । तर त्यहीबीच गणेश र उसकी पत्नी अनि मोहित र उसकी नवदुलहीका लम्बेतान दृश्यले मूलकथाको बेगमा भाँझो हालेको छ । आकाश र दृष्टिबीचको उतारचढाव पनि नाटकीय लाग्छ । चरित्रको स्पष्ट रुपरेखा र उद्देश्य नहुँदा यस्तै उल्झनले पिरोल्छ । जातीय संस्कारअनुसार पात्रले रातो र सेतो टीका लगाउनु सकारात्मक पक्ष हो ।

कलाकार पनि अपजसलायक छन् । निर्देशक अशोक शर्माका छोरा अंकितको डेब्यु चरित्र र अभिनय दुवै हिसाबले बिर्सनयोग्य छ । चरित्रलाई आत्मसात् नगर्दा उनको उपस्थिति बनाबटी लाग्छ । अभिनयमै करिअर बनाउन उनमा प्रचुर मिहिनेतको आवश्यक छ । निरन्तर खस्किरहेको साम्राज्ञीको क्रेजमा यसपटक थप धक्का पुग्छ । चरित्रलाई जीवन्तता दिन चुकेकी छिन् । यही कोटिको चरित्र र अभिनयले उनको भविष्य सुनौलो देखिन्न । बुद्धि तामाङ र रवीन्द्र झा सदाझैँ 'टाइपकास्ट'मा सीमित छन् । हँसाउनुबाहेक उनीहरुलाई खेलाउनुको खास अर्को उद्देश्य देखिन्न । निता ढुंगाना, खुश्वु खड्का, अर्जुन श्रेष्ठ, जयनन्द लामालगायत कलाकारको हालत पनि भिन्न छैन । कर्कश ब्याकग्राउन्ड स्कोरले दृश्यमा विरक्ति पैदा गर्छ । 'रातो टीका निधारमा...' गीतको रि-रेकर्डिङचाहिँ श्रुतिमधुर छ ।

लामो समयपछि अशोक शर्मा अघिल्लो वर्ष निर्देशनमा फर्किएका थिए, जय भोलेबाट । तर बजारु कमेडीमा रमाएर कथा र प्रस्तुतिलाई न्याय नगरेकाले उनीसँग निराश भइयो । यस पटक निराशाको ग्राफ अझ उकालो लागेको छ । उनीजस्ता अनुभवी निर्देशकलाई यस्तो बेतुकको कमेडी र अविश्वसनीय कथावाचनले शोभा दिँदैन । यो फिल्म न बजारका लागि स्वस्थकर छ, न त कलात्मक अभिवृद्धिका लागि प्रीतिकर । यसो भनूँ, 'रातो टीका निधारमा...' गीत सदाबहार छ तर यो फिल्मले हेरुन्जेल पनि मन जित्दैन । बरु झिँजो पैदा गर्छ ।

फिल्म : रातो टीका निधारमा

लेखक-निर्देशक : अशोक शर्मा

कलाकार : साम्राज्ञीराज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्धि तामाङ, रवीन्द्र झा आदि ।

विधा : कमेडी

समय : १ घन्टा ५४ मिनेट

रेटिङ : १/५

प्रकाशित: आश्विन १०, २०७६