विजय-पथ
नेपाली रंगमञ्च र फिल्ममा विजय स्थापित कलाकारमा दर्ज भएका छन् । हास्यपरक होस् वा गम्भीर, सहरिया होस् वा गाउँले, रिसाहा होस् वा सोझो, जुन चरित्रमा पनि जीवन्त लाग्छन् ।
शेरबहादुर देउवाको क्यारिकेचर गर्दा ८ कक्षा पढ्दै थिए, विजय बराल, ३२ । देउवाको आवाज र हाउभाउ दुरुस्तै नक्कल गरेपछि स्कुलमा हिट भए, क्यारिकेचरको हुटहुटी अझ बढ्यो । त्यसपछि माग्ने बूढा, धुर्मुस, हरिबहादुरको नक्कल गरे । वल्लोपल्लो गाउँबाट क्यारिकेचरका लागि बोलावट हुन थाल्यो । विजय फुरुंगै । त्यसैले त एसएलसी सक्नेबित्तिकै सर्लाही लालबन्दीबाट काठमाडौँ आए, हास्य कलाकार बन्ने सपना बोकेर ।
के चाँजोपाँजो मिलेन कुन्नि, लालबन्दी नै फर्किए । प्लस टु भ्याए अनि फेरि काठमाडौँ रवाना । सपना बदलिएको थिएन । तर जब आरोहण गुरुकुलका नाटकको अम्मली बने, विजयमा बेचैनी बढ्यो । सम्झन्छन्, "क्यारिकेचर सबथोक लाग्थ्यो तर यो त कलाकारिताको सागरको एक थोपा मात्र रहेछ । त्यसैले हास्य कलाकार होइन, कलाकार बन्ने निर्णय गरेँ ।" तर कलाकारिताको बाटो कसरी पक्डिने ? उनलाई नै मेसो थिएन ।
करिब डेढ दशकअघिको कुरा हो, यो । उनीजस्ता 'आउटसाइडर' लाई काठमाडौँमा टिक्नै धौ-धौ थियो । तर संघर्ष र धैर्य भएपछि कसले छेक्ने, कसले रोक्ने ! नेपाली रंगमञ्च र फिल्ममा विजय स्थापित कलाकारमा दर्ज भएका छन् । हास्यपरक होस् वा गम्भीर, सहरिया होस् वा गाउँले, रिसाहा होस् वा सोझो, जुन चरित्रमा पनि जीवन्त लाग्छन् ।
संयोग कस्तो भने मण्डलाको मञ्चमा विजय नै छन्, सिनेमा हलमा पनि उनै । मण्डलाको महाभोजमा उनी चुनाव लडिरहेका छन् भने फिल्म कबड्डी कबड्डी कबड्डीमा दयाहाङ राईको लंगौटिया यार । दुवै हाउसफुल छन् । ३ असोजमा सार्वजनिक अनुप ओझाको 'संसारै बैमानी...' गीतमा विजय फिचरिङ छन्, अनेक हुलियामा । महाभोजअगाडि मण्डलामा मञ्चित नाटक मिमांसामा पनि उनले अभिनय गरेका थिए । सुनाउँछन्, "अभिनय जति गर्दै गयो, त्यति जान्नुपर्ने कुरा धेरै बाँकी रहेको थाहा हुँदो रहेछ । हरेक नाटक, फिल्म मेरो सिकाइकै प्रक्रिया र परिणाम हुन् ।"
गुरुकुलले अभिनयको प्यास जागृत गरायो तर त्यहाँ सिक्ने माहोल मिलेन । केही समयको छटपटीपछि भारतका विख्यात रंगकर्मी एमके रैनासँग डेढ महिना प्रशिक्षण लिन पाए । रैनाकै निर्देशनमा अन्धोयुग नाटक खेले । यसपछि उनको अभिनयप्रतिको लगाव अझ गहिरियो । राजन खतिवडासँगको भेटपछि बल्ल राहत महसुस भयो । खतिवडा नयाँ नाटकघर मण्डला खोल्ने तयारीमा थिए । तर न पर्याप्त बजेट थियो, न त प्रभावकारी टिम । विजयको आगमनले टिम दरिलो भयो । पैसा नहुँदा पसिना खन्याएर त्यसको जोहो गरे ।
मण्डलाको भवन ठड्याउने क्रममा जग खन्न, इँटा धुन, सिमेन्टको मसला बनाउन, रंग लगाउन खटिए । पारिश्रमिक त परै जाओस्, खानाको समेत टुंगो हुन्नथ्यो । कहिलेकाहीँ त चिउरा र प्याजमै चित्त बुझाउनुपथ्र्यो । भन्छन्, "अहिले सम्झँदा कसरी गरियो भनेर आतेस लाग्छ तर मण्डला बनेपछि अभिनय गर्न पाइन्छ भन्ने लोभले सबै दुःख ओझेल पथ्र्यो ।"
भयो पनि त्यस्तै । मण्डलाको पहिलो नाटक सुनकेशरीदेखि त्यसपछिका अधिकांश नाटकमा विजय छुटेनन् । चरणदास चोर, जार, डिग्री माइला, सिरुमा रानीलगायत नाटकमा आफूभन्दा झन्डै दोब्बर उमेरको चरित्र निर्वाह गरे । मितज्यू नाटकमा एकैसाथ ८५ वर्षको वृद्ध र ३५ वर्षे अधबैँसे बने । पात्रअनुरुप क्षणभरमै बोल्ने शैली र हाउभाउ फेर्नुपथ्र्यो । भनेजस्तै नाटक खेल्न पाए तर एक पैसा आउँदैन्थ्यो । छाक टार्ने पिरलो छँदै थियो । छड्के, कर्कश, बधशालाजस्ता फिल्म खेले तर पाँच हजार पाउन महिनौँ कुर्नुपथ्र्यो । रोल पनि सम्झनायोग्य हुँदैनथ्यो । कबड्डीले भने उनमा बहार ल्यायो । पारिश्रमिक पाँच हजारबाट एक लाख पुग्यो, दर्शकमाझ चिनिए । पर्दामा दयाहाङ र बुद्धि तामाङसँगको उनको दोस्ती लोकप्रिय भयो । त्यसपछि हुर्रे, पण्डित बाजेको लौरी, मिस्टर भर्जिनजस्ता फिल्ममा अभिनयकला पोखे । माछा-माछा र दयारानी प्रदर्शन हुनै बाँकी छन् । यात्रा जिन्दगीको सुटिङ सुरु हुँदै छ ।
दयाहाङ, सौगात मल्ल, विपिन कार्कीको उदयसँगै नेपाली फिल्ममा 'हिरो' को परम्परागत मानक भत्कियो । फिल्ममा मुख्य भूमिका पाउन हुलिया होइन, अभिनय कुशलता चाहिन थालेको छ । यो परिवर्तनबाट विजय पुलकित छन् । तर फिल्ममा अझै चाहेजस्तो चरित्र नपाएको महसुस हुन्छ, उनलाई । हतारोचाहिँ छैन । उनलाई थाहा छ, अभिनेताले अभिनयबाटै आफूलाई प्रमाणित गर्ने हो, अरु तिकडम चल्दैन । भूमिका छोटो होस् या लामो, जीवन्त बनाउन मरिमेट्छन् । कतिपयले उनलाई थिएटरको कलाकार भन्छन् । उनी आफूलाई चाहिँ बाँड्न चाहँदैनन् । भन्छन्, "थिएटर वा फिल्म, माध्यम जुन होस्, मतलब छैन । भिन्न चरित्रलाई जीवन्त ढंगले बाँच्न पाए पुग्छ ।"
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...