पूर्वमहारथीको अर्को घोटाला
पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अनियमितताको तथ्य फेला परेको छ ।
पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अनियमितताको तथ्य फेला परेको छ । आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेका सेनाका विभिन्न इकाइमा भएका निर्माणमा अनियमितता भेटिएको सेनाकै आन्तरिक छानबिनले पुष्टि गरेको कागजात नेपालले फेला पारेको छ । झन्डै ७७ करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माणका क्रममा अपचलन भएको हो । ३० करोड रुपैयाँ बराबरको भौतिक संरचना बनाएर र नबनेकालाई बनाएको भनेर रकम हिनामिना गरिएको हो ।
सेनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय छ, जसले निकुञ्ज क्षेत्रको सुरक्षा र वन्यजन्तु चोरी-निकासी नियन्त्रणको जिम्मा पाएको छ । निर्देशनालयअन्तर्गतका गण, गुल्मका भौतिक संरचना भने सेनाले मापदण्डविपरीत बनाएको हो । जंगी अड्डाको सर्वोत्कृष्ट अभ्यास महाशाखाको अनुगमनले गुणस्तरहीन ब्यारेक तयार भएको औँल्याएको थियो ।
३१ भदौ ०७५ मा महाशाखाका महासेनानी प्रकाशजंग कार्कीको अध्यक्षतामा चार सदस्यीय अनुगमन कार्यदल बनेको थियो । कार्यदलमा मध्य पृतना स्थपति सेवाका प्राविधिक प्रमुख सेनानी धु्रव पण्डित, गुणस्तर नियन्त्रण निर्देशनालयका सेनानी श्यामसुन्दर सापकोटा, कालीभक्ति गणका इन्जिनियर सहसेनानी मनोजकुमार राना थिए । प्रतिवेदनअनुसार २१ वटा इकाइमा अनुगमन गर्दा कुनै पनि संरचना मापदण्डअनुरूप बनेको पाइएको थिएन । छानाबाट पानी चुहिने, ढल निकास नराखेको, प्लास्टर स्तरीय नभएको, गुणस्तरहीन सेनेटरी तथा इलेक्टि्रफिकेसनका सामान प्रयोग गरेकोजस्ता कमजोरी प्रतिवेदनमा औँल्याइएको छ ।
सम्झौतामा उल्लेख भएभन्दा फरक गुणस्तरका सामान प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । कतिपय ठाउँमा त नक्सामा भन्दा बेग्लै भवनसमेत बनेका छन् । जस्तो, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको मेघौलीमा बटुक दल गण, पर्सा राष्ट्रिय निकुञ्जको आधावारस्थित तारा दल गणको भवन नक्साअनुसार १० फिट उचाइ हुनुपर्नेमा २ फिट कम बनाइएको छ । यो समस्या अन्य गण, गुल्ममा समेत भेटिएको थियो । तारा दल गणकै निजगढ सुरक्षा पोस्ट बनाउँदा सिमेन्ट नाम मात्रको राखेको प्रतिवेदनमा उल्लेख छ ।
पूर्वसेनाप्रमुख क्षत्रीको पालामा देशभरका सैनिक कार्यालयहरूमा चाहिने सामान खरिदका लागि केन्द्रीकृत ठेक्का प्रणाली लागू गरिएको थियो । यही नीतिअनुसार देशभरका सैन्य इकाइका लागि आपूर्तिकर्ता छनोट सैनिक मुख्यालयले गथ्र्यो । यस शैलीको ठेक्का प्रणालीका कारण मापदण्डविपरीत संरचना बनेको प्रतिवेदनमा उल्लेख छ । भनिएको छ, 'केन्द्रीकृत रूपमा बजेट परिचालन गर्नुभन्दा सम्बन्धित युनिट कमान्डरको जिम्मामा बजेट निकासा छाडेर युनिटमा पनि निर्माण र अनुगमन बोर्ड खडा गरी पृतना र केन्द्रबाट अनुगमन गर्ने व्यवस्था हुनुपर्छ ।'
यति मात्र होइन, अनुगमन गरिएका सबै कार्यालयको ठेक्का एउटै निर्माण व्यवसायीलाई दिइएको थियो । यसलाई समेत प्रतिवेदनले गम्भीर त्रुटि मानेको छ । एउटै निर्माण कम्पनीलाई जिम्मा दिँदा गुणस्तरहीन काम भएको कार्यदलको टिप्पणी छ । प्रतिवेदनमा भनिएको छ, 'निर्माण व्यवसायी छनोट गर्दा स्थान विशेषअनुसार फरक-फरक र प्रतिष्ठित कम्पनी छनोट गरेमा उपयुक्त हुने ।'
कार्यदलले ठेकेदारसँग समेत स्तरहीन कामबारे सोधीखोजी गरेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिले ठेक्का रकमको ३० प्रतिशत सुरुमै ठेक्का दिने पक्षलाई बुझाउनु परेकाले अब्बल काम गर्न नसकिएको बताएका थिए । यो कुरा प्रतिवेदनमा भने किटिएको छैन । तर प्रायः ठेक्कामा ठेक्का दिने पक्षलाई निश्चित प्रतिशत कमिसन बुझाउने प्रवृत्ति सामान्य मानिन्छ । यही कमिसनका कारण गुणस्तरीय काम नहुने 'ओपन सेक्रेट' तथ्य हो । फरक के हो भने यहाँ ठेक्का दिने सैनिक पक्षले प्रचलितभन्दा बढी कमिसन माग्यो । फलतः समस्याग्रस्त भवनहरू बनेको छानबिनबाट पुष्टि पनि भयो । प्राविधिकसहितको छानबिन टोलीले स्थलगत अध्ययनपछि २१ पृष्ठको प्रतिवेदन सैनिक सचिव विभागमा बुझाएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत 'बि्रफिङ' गरेको थियो ।
सेनापतिको शंकास्पद भूमिका
एक वर्षे कार्यकाल पार गरेको अवसर पारेर प्रधानसेनापति थापाले २४ भदौमा २४ पाना लामै सार्वजनिक भाषण गरे । भाषणमा आफूले सांगठनिक सुधारका महत्त्वपूर्ण पहलकदमी थालेको प्रस्ट सन्देश त थियो नै, पूर्ववर्तीहरूले गरेका अनैतिक लाभको पापको भारी आफूले नबोक्ने भन्दै यसअघिका कारोबारका फाइल पल्टाउने मनसायसमेत व्यक्त गरे । तर एक वर्षअघि आफैँले बनाएको अनुगमन कार्यदलले दिएको कैफियतयुक्त प्रतिवेदनबारे भने सेनाप्रमुख मौन छन् ।
सेनापतिको जिम्मेवारी सम्हालेको एक सातामै कार्यदल गठन भएको थियो । ज्ञातव्य रहोस्, २१ वटा गण र गुल्महरूमा स्थलगत निरीक्षण गरेपछि कार्यदललाई खप्तड र बर्दिया राष्ट्रिय निकुञ्जमा भने अनुगमनका लागि नजान जंंगी अड्डाबाट मौखिक आदेश आएको थियो । तत्कालीन एक उपरथीमार्फत त्यहाँ नजाने सन्देश पाएको नाम नछाप्ने सर्तमा कार्यदलका एक सदस्यले बताए । खप्तड र बर्दियामा ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको थियो, ब्यारेक निर्माणका लागि ।
कार्यदलले अनौपचारिक माध्यमबाट लिएको सूचनाअनुसार बर्दिया र खप्तडमा नयाँ संरचना निर्माण नै नगरी बजेट खर्चिएको थियो । ती स्थानमा पुरानै संरचनालाई नयाँ भनेर रकम निकासा भएको थियो । यद्यपि यो कुरा प्रतिवेदनमा भने समेटिएको छैन । "माथिबाट नजानू भनिएपछि गइएन," कार्यदलका एक सदस्य भन्छन्, "भवन नै नबनाई रकम निकासा गरिएको हामीलाई पहिल्यै थाहा थियो । त्यसैले जान दिइएन ।"
हुन पनि सैनिक सचिव विभागको पत्रअनुसार 'राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयअन्र्तगत रहेका सबै गण गुल्महरूमा ०७३ र ०७४ मा निर्माण तथा पुनर्निर्माण भएका भौतिक संरचनाको अनुगमन गर्ने कार्य' का लागि कार्यदल बनाइएको हो । सैनिक सचिव विभागको पत्रसहित प्रस्ट कार्यादेश हुँदाहुँदै बर्दिया र खप्तड निकुञ्जमा अनुगमन रोक्नु अर्थपूर्ण मानिएको छ ।
संसद्मा उजुरी
पूर्वसेनापति क्षत्रीले अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानबिनका लागि संसदीय समितिमा उजुरी दर्ता भएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा १२ भदौमा उजुरी परेको समितिकी शाखा अधिकृत गुणमाया सुनुवार सिंह बताउँछिन् ।
समितिका सभापति शशी श्रेष्ठका अनुसार सबै उजुरीबारे प्रारम्भिक छानबिनका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । रेखा शर्माको अगुवाइमा गठित कार्यदलमा दिलेन्द्रप्रसाद बडु र नवराज सिलवाल सदस्य छन् । कार्यदलले रिपोर्ट दिएपछि मात्रै उजुरीबारे थप निर्णयमा पुगिने श्रेष्ठको दाबी छ । भन्छिन्, "छानबिनका लागि हामी कुनै पनि कसर बाँकी राख्दैनौँ ।" तर त्यसका लागि कार्यदलको सुझाव पर्खनुपर्ने उनको भनाइ छ । कार्यदलका सदस्य सिलवालले भने सदस्यहरूको समय नमिल्दा कार्यदलको बैठक नै बस्न नसकेको जिकिर गर्छन् । "को कता, को कता भएकाले कोरम नपुगेर बैठक नबसेको हो," सिलवाल भन्छन्, "पूर्वसेनापतिको उजुरी परेको भन्ने सुनेको छु । यसबारे हामी गम्भीरतापूर्वक अध्ययन गर्नेछौँ ।"
मुलुकको रक्षार्थ अन्तिम शक्ति सेनाका प्रमुखमाथि नै भ्रष्टाचारजस्तो संगीन आरोप लाग्न थाल्नु संवेदनशील भएकाले सूक्ष्म छानबिन गर्नुपर्ने सिलवालको धारणा छ । सैनिक कमान्ड सम्हालेको चार वर्षमा क्षत्रीले एक अर्ब रुपैयाँ बराबरको अचल सम्पत्ति जोडेको नेपालले खुलासा गरेको थियो (हेरौँ, अर्बपति महारथी, ७ असोज ०७५) । सेनाको भ्रष्टाचार हेर्ने अधिकार नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सैनिक अधिकारीलाई छानबिन गर्न आनाकानी गर्दै आएको छ । संविधानले अवकाशप्राप्त सैनिक अधिकारीमाथि छानबिन गर्ने-नगर्नेबारे केही बोलेको छैन ।
यो पनि पढ्नुहोस् : अर्बपति महारथी
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...