'बली राजा-महाराजाको अहं हो'

- मनबहादुर बस्नेत

सामान्यतः धार्मिक स्थल सबैका लागि सधैँ खुला हुन्छ तर दसैँको महानवमीमा मात्रै खुल्छ, वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर यसका आफ्नै मान्यता भएको मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य बताउँछन्

उपत्यकाका तीन वटै जिल्लामा तलेजुको मन्दिर तर काठमाडौँको विशेष मानिन्छ, किन ?

अन्यत्र वर्षभरि खुला गरिन्छ । भक्तपुरमा तलेजु वरिपरि जहिल्यै दर्शन गर्न सकिन्छ । पाटनमा जतिखेरै मन्दिरभित्रै छिर्न सकिन्छ । तर काठमाडौँमा वर्षमा एक दिन मात्र । अर्को कुरा, काठमाडौँका त्यतिबेलाका राजा प्रताप मल्लले १६ भाषा जान्दथे । ती सबै भाषामा तन्त्र साधना गर्थे । सबै भाषामा दीक्षा लिए । शक्तिशाली बने ।

महत्व बढाउन मात्र वर्षमा एक दिन खुला गरिएको ?

पहिलो- दरबार क्षेत्र भयो । राजा-महाराजा मात्रै बस्ने दरबारमा जो पनि, जहिले पनि आउजाउ हुँदा त्यसको महत्व कम हुन्छ । दोस्रो- आराधनाबाट राजाले शक्ति आर्जन गर्ने थलो भएकाले पनि यहाँ सर्वसाधारणको आवतजावत कम गरिएको हो ।

तर त्यो दिन पनि सर्वसाधारणले मन्दिरमै देवताको दर्शन गर्न पाउँदैनन्, प्रांगणमा निकालिन्छ, नि ?

वर्षमा एक पटक देवतालाई चलाउनुपर्छ । स्थिर भयो भने देवताको शक्ति जाग्दैन । त्यसैले मन्दिरमा देवताको प्रतिमा खडा गरेर त्रिशूलचोकमा लगेर राखिन्छ । जात्रामा देवतालाई घुमाउनुको कारण पनि शक्ति पुनः आर्जन हो । फूलपातीको दिन त्रिशूलचोकमा कालरात्रि गरेपछि नवमीदेखि कात्तिकको कृष्णपक्षसम्म काटमार हुँदैन । मंसिर कृष्णपक्षको प्रतिपदामा निमन्त्रणा पूजा गरेपछि फेरि बलि चल्न थाल्छ ।

मन्दिरहरुमा बलिको चलन कसरी आयो ?

बलि भनेको अहं हो । भगवानले बलि लेऊ भनेको होइन । राजाहरुले आफ्नो अहं प्रदर्शन गराउने क्रममा मन्दिरमा बलि चढाउने क्रम सुरु भयो । खासचाहिँ 'भगवान्' लाई आत्मा चढाउने हो । आत्मा भनेको आनन्द, सफा मन ।

भनेपछि बलि प्रथा बेठीक रहेछ ?

बेठीक त होइन । मन्दिरमा बलि चढाउनाले जनावरको काटमार भएको होइन । परम्परा राजाहरुको दम्भले बस्यो भनेको मात्रै हो ।

बलि दम्भको उपज भन्नुहुन्छ, फेरि यो ठीक पनि भन्नुहुन्छ, विरोधाभास भएन ?

बलि दिएपछि हामी तन्त्र साधना गरेर भोलिदेखि तिमी पशुत्वबाट मुक्त भयौ भनेर संकल्प गर्छौं । मासु खानका लागि बलि दिएको होइन ।

विभिन्न पर्वमा पूजा गर्दा तलेजुमा १६ जातका मानिस चाहिन्छ, किन ?

खासमा राजाहरुले कसैलाई भेदभाव छैन भन्ने देखाउन यो चलन थालेका हुन् । १६ जातका ४२ जना मानिस चाहिने त्यो चलन अद्यापि छ ।

प्रकाशित: आश्विन १३, २०७६