‘संघीयताप्रति सरकार इमानदार छैन’

- नेपाल संवाददाता

गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन (०५१) गराएपछि नेपाली राजनीतिले के मोड लियो भनेर कसैले पनि लेख्ने हिम्मत नगरेकामा आक्रोशित सुनिन्छन्, कांग्रेस उपसभापति विमलेन्द्र निधि त्यसबेला कोइरालाले मध्यावधि निर्वाचन गराउनु ऐतिहासिक भुल भएको उनको दाबी भन्छन्, "गिरिजाबाबुले गरेको त्यो ऐतिहासिक भुलबारे तथ्य खोज्नुपर्छ अहिलेको पुस्ताले नखोजे त्यसपछिकाले खोज्छ-खोज्छ " निधिसँग सन्तोष आचार्यका प्रश्न :

संविधान दिवसका बेला फेरि यसमा संशोधनको कुरा सुनियो नि ?

संविधान संशोधन गर्न हामी प्रतिबद्ध छौँ। मधेससँग कांग्रेसको सम्बन्ध धेरै पुरानो छ । हामीले स्वीकारेका छौँ कि मधेसी र जनजाति धेरै पहिलेदेखि नै शासन प्रणालीमा उपेक्षित छन् । जुन तहसम्म उपेक्षित छन्, त्यो हदसम्म शासन प्रणालीको मूलधारमा उनीहरूलाई ल्याउनुपर्छ, संविधानमार्फत तिनको माग सम्बोधन गर्नुपर्छ । यसैले हामीले एकातिर संविधान दिवस मनाउँदै आएका छौँ भने अर्कोतिर यो संविधानले छुटाएका विषय सम्बोधन गर्नुपर्छ भनेर आवाज पनि उठाउँछौँ ।

संघीय प्रणालीमै प्रधानमन्त्री केपी ओलीको अरुचि देखिन्छ भन्ने तपाईंहरूको दाबी यस्तो हो भने झन् कसरी संविधान संशोधन होला ?

यसैले त समस्या आएका छन् । हामीले संघीय, समावेशी, गणतन्त्रात्मक, लोकतान्त्रिक मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ । नेकपाले यही प्रणालीअन्तर्गत दुई तिहाइ मतसहित सरकार बनाएको हो । ओलीजी पनि यही प्रणालीअन्तर्गतै प्रधानमन्त्री बन्नुभएको हो । उहाँले पटक-पटक संघीयता 'मेरो मान्यता होइन' भन्दै आउनुभएको छ । यसलाई लुकाउनुभएको छैन । यो मामिलामा म उहाँलाई इमानदार पनि भन्छु ।

प्रधानमन्त्रीकै कारण संघीय प्रणालीले गति लिन नसकेको हो ?

जसले यो प्रणालीमै विश्वास गर्दैन, उही 'ड्राइभिङ सिट' मा बसेको छ भने यो अगाडि बढ्दैन, कार्यान्वयन हुँदैन भन्ने त घामजत्तिकै छर्लंग छ । अहिले संघीय सिद्धान्तअनुरूप राज्य संरचनाले काम गरिरहेको छैन । नेपालको संविधानका विभिन्न धारा र अनुसूचीमा पनि प्रस्टसँग संघीय प्रणालीबारे लेखिएकै छ । संविधान र राज्यको पुनर्संरचना आफैँमा पूर्ण छ भनेर भन्दिनँ । तर अहिले जे व्यवस्था संविधानमा गरिएको छ, त्यसको समेत कार्यान्वयन हुन सकेको छैन ।

ओली सरकारको रुचि केन्द्रीकृत प्रणालीतिर बढी देखिएको हो ?

जनवादी केन्द्रीयता कम्युनिस्टहरूको मूल मान्यतै हो । ऊ सबै अधिकार केन्द्रमा राख्ने प्रणालीमा विश्वास गर्छ । त्यही मानसिकता लिएर यो सरकारले काम गरिरहेको छ । प्रदेशको त कुरा छाडौँ, संघमा पनि विभिन्न निकायको अधिकार खोसेर प्रधानमन्त्री कार्यालयमा ल्याउने काम भइरहेको छ । प्रदेशहरूसँग डाह गरेको देखिन्छ । स्थानीय तहको हकमा पनि त्यही भइरहेको छ । हामी जे भन्छौँ, त्यही हुनुपर्छ भन्ने शैलीले नियन्त्रण गर्न खोजिएको छ । सरकार संघीय प्रणालीप्रति इमानदार छैन । सरकारले संसद्मा ल्याएका जुनसुकै विधेयक पनि संघीय सिद्धान्तको प्रतिकूल गएका छन् । संविधानमा भएको व्यवस्था र प्रावधानविरुद्ध गएका छन् । हामीले परिवर्तन गरेर ल्याएको ऐतिहासिक राज्य पुनर्संरचनालाई सम्वर्द्धन गर्ने काम यो सरकारले गरिरहेको छैन । राजनीतिक रूपमा पहिले गर्नुपर्ने काम त यो सरकारले गरिरहेको छैन भने उसले सुख, शान्ति र समृद्धि भन्नु बेकार हो ।

वैवाहिक अंगीकृत नागरिकका सम्बन्धमा कांग्रेस किन अन्तरिम संविधान, ०६३ मै फर्कियो ?

कांग्रेस फर्केको छैन । वर्तमानलाई नै निरन्तरता दिनुपर्छ भन्ने मान्यता हो । वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधान पञ्चायतकालमा पनि थियो । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्नासाथ विवाह प्रमाणपत्र र आफ्नो पूर्वनागरिकता त्याग्ने कारबाही गरेको निस्सा पेस गरेपछि नागरिकता प्रावधान आएको हो । त्यो पनि हामीले लडेर ल्याएका थियौँ, त्यतिबेला । वैवाहिक सम्बन्धलाई हल्कासँग लिनु हुँदैन । बिहान एउटा टेम्पो समात्यो, बेलुकी अर्को टेम्पो समातेर जाने र फर्किने प्रणाली होइन । मानव सभ्यताको विकासमा विवाह सबैभन्दा महत्त्वपूर्ण संस्था हो । यो संस्था कुनै राज्यभन्दा कम बलियो होइन । 

‘सरकार संघीय प्रणालीप्रति इमानदार छैन । सरकारले संसद्मा ल्याएका जुनसुकै विधेयक पनि संघीय सिद्धान्तको प्रतिकूल गएका छन् । संविधानमा भएको व्यवस्था र प्रावधानविरुद्ध गएका छन् ।’

नागरिकताजस्तो संवेदनशील विषयमा तपाईंहरूको अडानले राष्ट्रियता कमजोर हुन्छ कि भन्ने आशंका गरिँदै नि ?

यो सिद्धान्त र परिभाषा नबुझ्नेले बिहे गर्नेबित्तिकै नागरिकता पाउनु हुँदैन भन्दै छन् । वैवाहिक सम्बन्ध पनि राष्ट्रियता र देशभक्तिसित जोडिएको छ । वंशसँग जोडिएको छ । भौतिकवाद र विज्ञानमा विश्वास गर्नेहरूलाई भन्न चाहन्छु, विवाह भनेको वंशको पहिलो सर्त हो । यदि कम्युनिस्ट साथीहरूले यो कुरा बुझ्नुभयो भने सिन्दुर र नागरिकताको सम्बन्ध बुझ्नुहुन्छ । उहाँहरू राष्ट्रियताको कुरा गर्नुहुन्छ । यो कुनै एउटा जातिविशेष वा समुदाय मात्रको पनि होइन । राष्ट्रियता भनेको सबै जनताको सामूहिक भावना हो । कम्युनिस्टहरूले हामीलाई राष्ट्रियताको पाठ पढाउनु पर्दैन । किनभने उनीहरू कहिल्यै पनि राष्ट्रवादी हुँदैनन् ।

नागरिकताको सन्दर्भमा बेलाबेला किन अनुदारवाद हाबी हुन्छ ?

हामीकहाँ वर्चस्ववादको मनोविज्ञान बढी छ । अर्को यो विषयमा अज्ञानता पनि उत्तिकै छ । कम्युनिस्टहरूमा मधेसका जनतामा देशभक्ति नै छैन भन्ने मनोविज्ञान छ । मधेसी भारतीय हुन्, विदेशी हुन् भन्ने केहीलाई लागेको छ । यो देशको सबैभन्दा खतरनाक मनोविज्ञान नै यही हो ।

प्रमुख प्रतिपक्षी के एजेन्डाविहीन भएकै हो ? किनभने आफैँले ल्याएको धर्म निरपेक्षको खिलाप गएर हिन्दु राष्ट्रको मुद्दा स्थापित गर्ने प्रयास प्रारम्भ भएको देखिन्छ वास्तविकता के हो ?

यो संविधानको मस्यौदा गर्ने बेलादेखि हाम्रो पार्टीको हरेक तहको बैठकमा जुन निर्णय भएका छन्, त्यही नै कांग्रेसको आधिकारिक लाइन हो । यो संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको हो । संविधानको आधारभूत तत्त्वमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रति निर्वाचन, धर्म निरपेक्षता र अहिंसा तथा शान्ति पर्छन् । कांग्रेसले आफ्नै नेतृत्वमा गरेको राज्यको पुनसर्ंरचना र शासन प्रणालीमा जुन आधारभूत तत्त्व छ, त्यही नै पार्टीको आधिकारिक धारणा हो । धर्मका आधारमा राजनीति गर्नु हुँदैन भनेर बीपी कोइरालाले लेख्नु नै भएको छ । नेपाललाई हिन्दु राज्य भन्नु बेइमानी हो भनेर बीपीले पटक-पटक भन्नुभएकै छ । धार्मिक स्वतन्त्रता वा धर्म निरपेक्षताको पक्षमा हुनुहुन्थ्यो, बीपी । यी दुवै कुरा एकै हुन् । सर्वधर्म समभाव अर्थात् सबै धर्मलाई सम्मान गर्ने हो । कसैले धार्मिक स्वतन्त्रताको कुरा गर्छ भने त्यसमा हामीलाई आपत्ति छैन ।

कांग्रेस वैचारिक रूपमा अलि ढुलमुल भएको हो वा जनता तथा कार्यकर्ता तहमा बुझाउन नसकेको ?

वैचारिक रूपमा कांग्रेस प्रस्ट छ । मैले जुन ९ वटा आधारभूत तत्त्वबारे कुरा गरेँ, त्यसमा कांग्रेसभित्र कुनै अलमल छैन । तर कार्यकर्ता तथा सदस्यका बीचमा जति प्रस्टसँग बुझाउनुपर्ने हो, त्यो हामीले नसकेकै हो । केन्द्रीय समितिका सदस्यदेखि महाधिवेशन प्रतिनिधि, जिल्ला, गाउँ र आम जनताको तहमा पनि बुझाउन सकिएको छैन ।

 ‘मर्ने बेला पार्टीले चारतारे झन्डा ओढ्याइदिए हुन्थ्यो भन्नेहरूले जिउँदो हुँदा रूख छापमा मत नदिने प्रवृत्ति छ । रूख छापमा मत नदिनु अन्तर्घात हो । चारतारे झन्डा ओढ्ने तर रूख छापमा मत नदिनु नै अन्तर्घात हो ।’

गुट व्यवस्थापन हुन नसक्नुमा वैचारिक अलमल हो कि ?

कुनै पनि राजनीतिक दलभित्रको गुट-उपगुटको न्यूनीकरण वैचारिक आधारमा व्यवस्थापन गर्न सकिन्छ । व्यक्तिलाई होइन, नीति, कार्यक्रम, सिद्घान्त र विचारलाई प्राथमिकता दिने हो भने गुट-उपगुट न्यून हुन्छ । यसले दुष्परिणाम ल्याउँदैन । कांग्रेसभित्र दुई-तीन गुट छन् । त्यसभित्र पनि उपगुट छन् । हिन्दु राष्ट्रको कुरा पनि त्यहीबाट आएको हो, धर्म निरपेक्षताको कुरा पनि त्यहीँ छ । यसैले वैचारिक रूपमा स्पष्ट हुनु जरुरी छ ।

कांग्रेसभित्रको अन्तर्घात आम जानकारीमै गुट व्यवस्थापनमा नेतृत्व चुकेकै कारण यो समस्या देखिएको हो ?

कांग्रेसभित्र गुटसँग जोडिएको विषय अन्तर्घात हो । कांग्रेसको चुनाव चिह्न रूख र झन्डा चारतारे हो । यो झन्डाप्रति कसैको बेइमानी देखिएको छैन । तर मर्ने बेला पार्टीले चारतारे झन्डा ओढ्याइदिए हुन्थ्यो भन्नेहरूले जिउँदो हुँदा रूख छापमा मत नदिने प्रवृत्ति छ । रूख छापमा मत नदिनु अन्तर्घात हो । चारतारे झन्डा ओढ्ने तर रूख छापमा मत नदिनु नै अन्तर्घात हो ।

प्रकाशित: आश्विन १३, २०७६