असत्यभित्रको अस्तित्व

- विश्व पौडेल

त्यो वर्ष पूरै उत्तरी क्यालिफोर्नियामा सुक्खा थियो, मेरा घरबेटी सम्झाइराख्थे- 'पानी कम प्रयोग गर्नू है ।' सेप्टेम्बरको सुरुमा गर्मीको प्रकोप बढ्यो । जताततै 'हिट वेभ' को कुरा हुन थाल्यो । मेरो पनि बिहान ९ बजे नै पसिना आउन थाल्यो । र, एक दिन ननुहाउँदा काखी गनाउन थाल्यो । मिसिगनबाट क्यालिफोर्निया झरेका घरबेटी भने पर्यावरण बचाउनै पनि पानी कम गर्नुपर्छ भन्नेमा जोड दिन छाड्दैनथे ।

‘बुझ्यौ, नुहाउँदा स्याम्पु दल्ने बेला पनि धाराको पानी बन्द नगर्ने मान्छे त पापी हो,' एक दिन उनले भने ।

'सही कुरो,' मैले जवाफ फर्काएँ । मेरो आफ्नै बानी भने एक पटक खोलेको धारा नुहाएर नसकी बन्द नगर्ने थियो ।

त्यो उखर्माउलो गर्मी सेप्टेम्बरभरि नै रह्यो । मलाई चितवनको गर्मी सम्झाउँदै घामले पोल्यो र किताबको झोला बोकेर सडकमा हिँड्न पनि नसक्ने भएँ । एकातिर कोठामा पुग्नेबित्तिकै थकाइ लाग्ने र अर्कोतिर भएको आफ्नो सानो स्टुडियोमा खाना पकाउँदाको एक-एक विवरण घरबेटी बाले हेरिराख्ने तथा पानी बढी खर्च गर्‍यो भन्ने गुनासो गर्ने स्थिति हुन थाल्यो । त्यही बेला हो, मैले रेस्टुराँमा अलि बढी समयसम्म लगातार खान थालेको । लामो जुँगा पालेको एक पाकिस्तानीको रेस्टुराँ डुरान्ट एभेन्युमा थियो । त्यहाँ बन्ने मुख्य खानाभन्दा अन्तिममा खाने थोरै खीर मलाई मीठो लाग्थ्यो ।

संयोगवश त्यहाँ एक नेपाली भाइ काम गर्ने रहेछन् ।

'के नाम तिम्रो ?' मैले सोधेँ ।

'चन्द्रप्रसाद थपलिया । म चितवन चनौलीको ।' उसले भन्यो ।

'ए, म पूर्वी चितवनको । अनि चनौलीको विकास विष्ट चिन्छौ ? सधैँ फस्ट हुन्थ्यो नि । मेरो साथी हो ।' मैले भनेँ । खासमा विकाससँग मेरो सानो  चिनजान मात्र थियो, त्यो पनि हाइस्कुल पढ्दातिर । तर मुखबाट त्यो प्रश्न निस्किहाल्यो ।

चन्द्रले एउटा फलामे बाला लगाएको थियो । मैले उसलाई भनेको थिएँ, 'तिमी त पन्जाबीजस्तै बाला लगाउँदा रहेछौ ।'

'मेरो एक्सले दिएको दाइ ।' उसले भन्यो । मेरो त्यसबेलासम्म कुनै पनि खालको प्रणय सम्बन्धको अनुभव थिएन र मलाई उसको कुराले ईष्र्या भयो ।

मैले उसलाई त्यो सेप्टेम्बर लगालग दुई-तीन दिन भेटेँ । भेटपिच्छे ऊ या राजनीतिको कुरा गथ्र्यो या त आफ्नी पूर्वप्रेमिकाको । उसको थेप्चो परेको टाउकोमा अगाडिका दाँतको बीचमा केही छिद्र थियो र कपालको बीचमा सिउँदोजस्तो पारेको थियो । राजनीतिको कुरा गर्दा ऊ सधैँभरि एउटा कुरा भन्न छुटाउँदैनथ्यो, 'नेपाल पनि कुनै बस्ने ठाउँ हो दाइ ?'

म पढाइको तनावमा थिएँ र उमेर घर्किन लाग्दा पनि बिहे नभएको अर्को समस्या झेल्दै थिएँ । भेटघाट हुँदा नातेदारहरु पनि पढाइ कस्तो छ भन्ने भन्दा 'ओहो ! मैले फलानो ठाउँमा यो केटी देखेको छु, बिहे गर्ने हो भने कुरा अघि बढाऔँ ?' भनेर सोध्थे । म उनीहरुलाई मेरो अहिले जागिर छैन, फुर्सद छैन आदि भन्थेँ । तर भित्रभित्र भने उनीहरुले मलाई कुनै एक सुन्दर महिलासँग चिनाजानी गराइदिऊन्, जसले जागिर नभए पनि, धेरै सुन्दर नभए पनि र पढाइमा तनाव भइरहेको भए पनि मसँग घरबार जोड्न आनाकानी नगरोस् भन्ने मेरो चाहना थियो । तर त्यो अति संवेदनशील उमेर थियो । मानौँ, सम्पूर्ण जीवन नै बिहे गर्ने प्रतिस्पर्धाका लागि बनाएजस्तो । त्यसैले चन्द्रले आफ्नो पूर्वप्रेमिकाको कुरा गर्दा मलाई अप्ठेरो महसुस हुन्थ्यो । सायद मेरा लागि त्यस्तो महफ्वपूर्ण बन्दै गएको प्रतिस्पर्धामा त्यो साधारण चन्द्रले मलाई सजिलोसँग हराइरहेको देखेर । त्यसैले ऊसँगको केही भेटपछि मैले कुराकानी गर्न खासै रमाइलो मान्न छाडेँ । मलाई राजनीतिमा खासै रुचि थिएन र रुचि भएको विषयमध्ये एकमा उसले मलाई सजिलैसँग पराजित गरेको थियो ।

त्यसपछि लगभग पैँतालीस दिनजति म उक्त रेस्टुराँमा गइनँ । अक्टुबर अन्त्यमा बर्कली सुन्दर हुँदै गयो । पारिलो घाममा ब्यानक्रफ्ट वेका क्याफेमा बसेर कफी खाँदै गफ गर्ने प्राध्यापकहरु, साथरगेटमा हरेक दिन जम्मा भएर गाउने एक्यापेल्ला गायकहरु, हप्तैपिच्छे हुने अमेरिकी फुटबल खेलका खेलाडीहरु, स्टुडेन्ट युनियन हलको बाहिर नाच्ने नृत्यकक्षाका विद्यार्थीका बीचमा मेरा महफ्वपूर्ण दिन बिस्तारै गुड्दै गए । गर्मीको महसुस पनि कम हुन थाल्यो । तर सुक्खा र जल उपलब्धताको समस्या भने जहाँको तहीँ थियो ।

'धेरै पानी खर्च गर्नु हुँदैन है मित्र, धर्तीमाताको सराप लाग्छ ।' घरबेटी बेलाबेला मलाई चेतावनी दिन आउँथे ।

♦♦♦♦

मेरा बा र आमाले पन्ध्र र बाह्र वर्षमा बिहे गर्नुभएको थियो । उहाँहरुले गर्ने बिहेको परिभाषा छुट्टै थियो ।  बिहे गर्न अप्ठेरो हुनुमा उहाँहरुबाट खासै यस विषयमा मेरो समय सुहाउँदो प्रशिक्षण नपाउनु पनि थियो । प्रेम-साहित्य पढ्दै हुर्केको मलाई बुबा सुझाउ दिनुहुन्थ्यो, 'बुझिस् त्यो रुद्रप्रसादकी भान्जी फरासिली रहिछ, मोटीमोटी गोरी रहिछ, बिहा गर्दा फरक पर्दैन ।' बिहेको छनोट सबैभन्दा मिल्ने व्यक्तिसँग नभई 'फरक नपर्ने' व्यक्तिसँग भए पनि हुने उहाँको धारणा हुन्थ्यो, जसले मलाई बिहे गर्न अप्ठेरो महसुस गराउँथ्यो ।

हामीमध्ये धेरैलाई श्रीमतीसँग प्रेम हुँदैन तर हामी प्रेम भएको छ भनेर सोच्छौँ, अरुका अगाडि अभिनय गर्छौं र आफैँ त्यो अभिनयलाई विश्वास गर्छौं ।

म त्यस्तो समयको मान्छे थिएँ, जो पुरानो हिन्दी चलचित्र हेरेर आफ्नी श्रीमतीको भावभंगिमा कस्तो होस् भन्ने सोचाइ बनाउँथ्यो । यस्ती श्रीमतीको कल्पना गर्थें, जो मैले जिस्काउँदा भुइँतिर हेरेर फिस्स हाँसोस्, हाँस्दा पनि सकस भएजस्तो ओठ पनि बिस्तारै खुलोस् । नौनी रंगको चुच्चो नाकमुनि सेता दाँत बिस्तारै देखिऊन्, सिउँदो वरिपरि कपाल रेशमजस्तो गरेर सधैँ उडोस् । मेरा कुराको उसले खासै प्रतिवाद नगरोस् । बाहिर अरुसँग कुरा गर्दा म उदारजस्तो देखिए पनि भित्र सुषुप्त रुपमा यी चाहना रहिरहेका हुन्थे । मलाई विश्वास थियो, मौका पाउनेबित्तिकै सुषुप्त चाहनाले मेरा बाहिरी सोचाइलाई जित्न केही बेर लाग्दैनथ्यो । त्यसैले जब मैले श्रद्धा गर्ने एक नेताले बुहारीलाई दाइजो ल्याइन भनेर कुटे भन्ने पढेँ, केही आश्चर्य लागेन । मान्छे झुटो बोल्ने र झुटो काम गर्ने आडम्बरभित्र हुर्कन अभिशप्त प्राणी हो, जसको सत्य बेलाबेला त्यो आडम्बरको पर्दा च्यातेर बाहिर निस्कन्छ । कसैलाई त्यो पर्दाबाहिर निस्कन समय लाग्छ, कसैलाई लाग्दैन । समय र परिस्थिति अनुकूल हुँदा ती नेताजस्तै व्यक्ति हुन सक्छु भन्नेमा मलाई कुनै द्विविधा थिएन । मान्छेको मन, व्यवहार र फरकबारे बुझ्न म बिस्तारै मनोचिकित्सकसँग कक्षा लिन लागेँ ।

मेरो पहिलो कक्षा रिचार्ड कृडको थियो ।

एक दिन प्राध्यापक कृडसँग कफी खाँदै ब्यानक्रफ्ट वेको क्याफे मिलानोमा बसिरहेको थिएँ । उक्त क्याफेको छत कन्भर्टिबल थियो, परेका बेला खोल्न र बन्द गर्न मिल्ने । त्यसबेला उनीहरुले त्यो छत खोलेका थिए र मलाई चर्को पोलेको पनि थियो । धेरै पछि त्यो दिन पानी पर्न सक्ने सम्भावना छ भनेर मौसमसम्बन्धी वेबसाइटहरुले भनिरहेका पनि थिए । म एक पटक पानी पर्दा त्यो क्याफेका कर्मचारीले छत बन्द गर्न नभ्याएकाले भिजेको पनि थिएँ । मैले प्राध्यापक रिचार्डलाई भनेँ, 'यी क्याफेका मान्छेहरु यस्ता बेवकुफ छन् र पनि म हरेक दिन यहाँ आउँछु । कसैले कुन क्याफे मन पर्छ भनेर सोध्यो भने क्याफे मिलानो भन्छु ।'

'धेरै जना मान्छेको बिहे पनि यस्तै त हुन्छ ।' उनले भने । मैले बुझिनँ र उनलाई के भन्ने खोजेको भनेर सोधेँ ।

'धेरैले बिहे प्रेममा परेर गरेका हुँदैनन् । उनीहरुले जीवनमा बिहे गर्न खोजेको व्यक्तिकहाँ पुगिसकेको हुन्छ । हाइस्कुलको त्यो सुन्दर केटो, अहिले कतै रेस्टुराँमा काम गर्दै हुन सक्छ । त्यो पनि तालु खुइलिएर बूढो भइसकेको हुन सक्छ र पनि सम्झनाकै ती व्यक्ति हाम्रो यादको सबभन्दा सुमधुर पलका मालिक हुन सक्छन् । यादमा समय नै जमेको हुन्छ । खासमा समय त चलायमान हुन्छ । ती सम्झनाले गर्दा हाम्रा वर्तमान जोडीलाई त्यति न्याय गर्दैनौँ । सबैजसो मान्छेको बिहेको कारण सामाजिक दबाब नै हो । खासमा हामीमध्ये धेरैलाई श्रीमतीसँग प्रेम हुँदैन तर हामी प्रेम भएको छ भनेर सोच्छौँ, अरुका अगाडि अभिनय गर्छौं र आफैँ त्यो अभिनयलाई विश्वास गर्छौं । मैले श्रीमतीलाई मन पराउँछु भन्नु र तिमीले क्याफे मिलानो मन पराउँछु भन्नु खासमा एकै कुरा हो, हामीले कुनै पलमा यिनीहरुलाई मन पराएका हुन्छौँ तर हामी सधैँ यिनीहरुलाई मन पराएको अभिनय गर्छौं ।

त्यस दिन रिचार्डले मलाई मनोचिकित्साको एक महफ्वपूर्ण कुरा दोहोर्‍याइतेहर्‍याइ भने, 'हामी झुटो बोल्छौँ, झुटो काम गर्छौं तर त्योभन्दा पनि सबैभन्दा महफ्वपूर्ण कुरा आफ्नो झुटलाई नै विश्वास गर्छौं ।'

रिचार्डका ती कुरा सुनिरहँदा नै हो, मेरो चन्द्रसँग फेरि भेट भएको ।

'ओहो दाइ ।' चन्द्र क्याफेमा छिर्‍यो र मेरोछेउ बस्यो ।  रिचार्डसँग उसलाई परिचय गराउन मलाई अप्ठेरो लाग्यो ।

'ओहो भाइ । एकछिन ऊ त्यता बस न । म योसँग काम सकेर फेरि आउँछु ।' चन्द्रलाई भनेँ । ऊ केही पर बस्यो र एक कप लाट्टे मगाएर पिउन थाल्यो । बीचबीचमा उसका र मेरा आँखा जुधिरहन्थे र त्यसले मलाई अप्ठेरो महसुस गराइरहन्थ्यो । सम्भवतः मेरो अप्ठेरो महसुस गरेर रिचार्ड चाँडै निस्किए ।

जाने बेला उनले भने, 'मान्छे कतिसम्म झुटो बोल्न सक्छ भन्ने उसलाई नै थाहा हुँदैन । कतिपय मानिसलाई सुरु-सुरुमा त  आफूले झुटो बोलेको छु भन्ने थाहा हुन्छ तर पछि त्यही पनि थाहा हुन छाड्छ । आफूले झुटो बोलेको छु भनेर बिर्सेको मान्छेलाई त्यो झुटो अरुलाई भन्दा उनीहरु आफैँलाई पनि विश्वास हुन्छ ।'

चन्द्र मलाई किन भेट्न आएको थियो, मैले हाम्रो बसाइको अन्तिमसम्म पनि थाहा पाइनँ । ऊ यताको कुरा गथ्र्यो, उताको कुरा गथ्र्यो, युनिभर्सिटी अभेन्युमा झुक्किएर भेटिएको लिंकन विश्वविद्यालय पढ्ने कुनै महिलाको कुरा गथ्र्यो र तुरुन्त साटक मार्गमा देखिएकी अर्की महिलाको कुरा गथ्र्यो । महिलाको धेरै कुरा गर्‍यो तर अरु छेउ न टुप्पोका कुरा पनि गर्‍यो । नेपाल र नेताहरुलाई गाली गर्‍यो । मुलुकका सबै समस्याको समाधान उसले देखाएको बाटो हुँदै गर्नुपर्ने जस्तो कुरा गर्‍यो । उसको कुरा सुन्दा-सुन्दा अल्छी लागेपछि भने हामी दुवै उठ्यौँ ।

'अब नेपाल कहिले जानुहुन्छ त दाइ ?' उसले सोध्यो ।

'मंसिरमा,' मैले जिस्केजस्तो गरी उत्तर दिएँ ।

♦♦♦♦

नभन्दै त्यो मंसिरमा मलाई नेपाल जानुपर्ने भयो ।

चन्द्रले उसको बुबाआमालाई केही पठाउनु छ भनेपछि मैले भनेको थिएँ, 'बरु पैसा पठाऊ । सामान, त्यो पनि अमेरिकामा किनेर किन पठाउनु ?' ऊ न सामान दिन आयो, न त पैसा ।

म जहाज चढ्ने दिन उसले फोन गरेर भन्यो, 'म आउन भ्याइनँ दाइ, घर गएर बाआमालाई मैले पठाएको भनेर चार सय डलर दिनुहोला है । आएपछि दिन्छु नि ।' मैले न नाइँ भन्न सकेँ, न त हुन्छ ।

अन्त्यमा उसले भन्यो, 'दाइ, स्मितालाई पनि एक पटक भन्नुहोला है । एभरेस्ट बैंकमा काम गर्छे । फोन नम्बर मैले म्यासेज गरिदिएको छु । मेरोबारे राम्रो कुरा राखिदिनुहोला ।' स्मिता अर्थात् उसको एक्स ।

चितवन पुगेर म चन्द्रको घर चनौली गएँ । वरिपरि नयाँ घर बनिरहेका देखिन्थे । तर उसको पुरानो घरनजिक गोठमा गाईवस्तुले पराल खाएको हेर्दै एक वृद्ध बसिरहेका थिए । उनको माथिल्लो गिजामा दाँत थिएनन्, माथिल्लो ओठ मुखभित्रतिर गएको थियो र तल्लो ओठले नै नाकलाई झन्डै छोएको थियो । उनले ढाका टोपी र दौरा-सुरुवाल लगाएका थिए । सम्भवतः भर्खर बाहिरबाट फर्केर घर छिर्ने बेला गोठका गाईवस्तु निरीक्षण गर्दै थिए । मैले मोटरसाइकल चलाएको थिएँ । मलाई देखेपछि उनी केही नबोली एकटकले हेरिरहे । जसरी नयाँ चस्मा लगाउँदा केही बेर देखिँदैन अनि बिस्तारै स्पष्टसँग देखिन्छ, उनलाई पनि त्यस्तो भएको थियो कि ! अन्तिममा उनले मलाई खुट्याए र हाँसे । त्यसो भए पनि पहिला बोल्ने पालो भने मेरै परेको थियो । सायद उनको बोल्ने बानी कम भएको थियो कि !

'एक्लो छोरो, अमेरिका गएको यत्रो भइसक्यो । अझै वास्तापास्ता केही गर्दैन ।' बूढाले मेरो परिचय सुनेपछि भने । 'यता फर्केर पनि आउँदैन । हामीसँग जग्गा प्रशस्त छ तर के काम जग्गाको ? के काम हुन्छ, नयाँ  घरको ?' बूढाले विरक्त मान्दै सुनाए ।

'चन्द्रले मसँग केही पैसा पठाएको छ ।' भनेँ । तिनले कति पैसा पठाएको छ पनि सोधेनन् । खालि यत्ति भने, 'पैसाको के महफ्व छ र बाबु ! उसैलाई देऊ । बरु घर जा भनिदेऊ ।'

मैले उनलाई चन्द्रको मिल्ने साथी कोही गाउँमा छन् कि भनेर सोधेँ । उनले नजिकैको भरतपुर अस्पतालमा प्रतीक डाक्टर छन्, जो सानैदेखि चन्द्रका साथी थिए भने ।

♦♦♦♦

प्रतीकले मलाई चन्द्रबारे भनेको कुरा यस्तो थियो ।

'म चन्द्रको १ कक्षादेखिको साथी हुँ । ऊ असाधारण नै थियो- कक्षामा, पढ्नमा, हाजिरीजवाफमा र भलिबलमा । हामी सबैको परिवार त्यसबेला विपन्न थियो तर उसको परिवार 'किसान विपन्न' थियो । जग्गा भएको तर आम्दानी नभएको । अहिले पो चितवनमा जग्गा हुनेहरु धनी भए, त्यसबेला जागिरे र व्यापारी हुनु किसान हुनुभन्दा सजिलो थियो, कम्तीमा तिनले महिनैपिच्छेजसो पैसा देख्न पाउँथे । किसानले फागुपूर्णेको भाखा गरेर सामान किन्थे । अन्नबाली बेच्ने बेला सबैले सस्तोमा बेच्नुपथ्र्यो । मेरा बा भरतपुरको जिल्ला कार्यालयमा पियन हुनुहुन्थ्यो । सम्भवतः त्यसबेला हाम्रो स्थिति चन्द्रहरुको भन्दा निकै राम्रो थियो ।

८ कक्षा पढ्दाको कुरा हो । हामी दुवै सानो थियौँ तर ऊ मसँग त्यसबेला एक जना ७ मा पढ्ने विद्यार्थीबारे कुरा गर्न थाल्यो । तिनको नाम स्मिता थियो र तिनी काठ व्यापारीकी छोरी थिइन् । तर त्यो काठ व्यापारी धेरै प्रगति गरिरहेको मान्छे थियो र स्मिता पनि कसैलाई नगन्ने खालकी थिई ।

'स्मिताबारे कस्तो खाले कुरा गथ्र्यो ?' मैले सोधेँ ।

'उसका कुरा सुन्दा उसलाई स्मिता र उसको बीच दुईतर्फी नै प्रेम हो भन्ने विश्वास थियोजस्तो लाग्थ्यो । जस्तो, एक दिन उसले मलाई भन्यो- प्रतीक, म अस्ति पानी परेका बेला ७ कक्षाबाहिर थिएँ । अचानक पानी परेकाले स्मिता दौडिँदै कक्षातिर आउँदै थिई । त्यसको पछाडि इन्द्रधनुष परेको थियो । मलाई त स्वर्गबाट मेरा निम्ति पठाएको अप्सराजस्तो लाग्यो ।'

मैले प्रतीकलाई भनेँ, 'सबैलाई त्यस्तो लाग्दैन र ? आफ्नो प्रेमलाई एकतर्फी प्रेम भनेर थाहा पाउन त निकै क्षमता हुनुपर्छ । भन्छन् नि, नबोल्दा लाज मानेर बोलिन तर मलाई भित्रभित्र मन पराउँछे भन्ने, बोल्दा कस्तो साइड दिएकी छ भन्ने । मेरो हाइस्कुलभरि सबै जनाजसो त्यस्तो सोचाइ भएका थिए ।'

'मैले भनिहालेँ नि, उसको लगाव असाधारण, अपरिपक्व थियो । जहाँसम्म मलाई लाग्छ, सुरुदेखि नै असफलताउन्मुख थियो । ऊ स्मितासँग बोल्न पनि धक मान्थ्यो । उसलाई हिन्दी चलचित्रमा जस्तो स्मितालाई कसैले जिस्कायो भने त्यसलाई पिटेर वा हाइस्कुलका प्रतियोगितामा राम्रो प्रदर्शन गरेर स्मितालाई प्रभावित पार्न सकिन्छजस्तो लाग्थ्यो । तर केटीको मन त साधारण, असफल ग्वाँचेहरुले पनि मीठो कुरा गरेर जित्न सक्छन् भन्ने कुरा उसलाई मैले कहिल्यै बुझाउन सकिनँ । काशी जाने कुतीको बाटोजस्तो ऊ स्मितासँग बोल्न नसक्ने तर अरु कुरामा एकाग्र भएर लाग्ने गथ्र्यो ।'

'उसको बिहे स्मितासँग हुन लेखेकै थिएन । चन्द्र पुल्चोक क्याम्पसमा पढ्दै गर्दा नै हो, स्मिताको गोन्द्राङतिरको केटासँग बिहे भएको । धेरै जग्गा भएको, राम्रो व्यापारीको छोरा थियो । बैंकमा जागिर खान सुरु गरेको थियो । स्मिता पनि वीरेन्द्र क्याम्पस पढ्दै थिई । कुरा छिनेको चार दिनमै बिहे भयो । चन्द्रले पनि पछि इन्जिनियरिङ सक्दै गर्दा बिहे गर्‍यो । चन्द्रले बिहे गरेको केही समयसम्म त मलाई बिहे भन्ने कुरा लेखेको ठाउँमा हुने रहेछजस्तो लागेको थियो ।'

प्रतीकको एकल प्रवचन रोक्न मेरो एक अनुभव उसलाई सुनाएँ ।

एक वर्षअघि क्यालिफोर्नियामा मैले एक विद्वान् योगीलाई भेटेको थिएँ । हिमालयमा धेरै वर्ष तपस्या गरेका अद्वैत सिद्धान्तका प्रखर अनुयायी । मेरा नातेदारको 'बिहे कहिले गर्ने' भन्ने सोधाइ र मेरो एक्लोपनले जन्माएको अपरिमेय निरस जीवनबीच मैले उनलाई भेटेको थिएँ । गोरो र दिनदिनै तेल लगाएर चम्किलो बनाएजस्तो अनुहार, धेरै मल राखेर उम्रेका असारे धानका बीउजस्ता मुलायम तिलचामले दा‍ह्रीजुँगा र घोप्टो परेका पहाडका भीरमा चर्ने बाख्राको जस्तो आत्मविश्वासले मलाई उनको प्रशंसक बनाएको थियो । मैले उनलाई सोधेको थिएँ, 'यदि आत्मा अमर, नित्य र शाश्वत छ भने यसका नातेदार हुन्छन् कि हुन्नन् ? हुन्नन् भने हाम्रा आमाबा, श्रीमती, छोराछोरीभित्रको आत्मा र हामीभित्रको आत्माबीच सम्बन्ध छ कि छैन ? को हुन् यिनीहरु ? कसरी हामीसँग यो बहुमूल्य जीवन बिताउन आए ?' उनले भने, 'यी आत्माहरु सबै नितान्त एक्ला हुन्छन् । समुद्रमा बगिरहेको एक फलेकले अर्को फलेकलाई छोएर फेरि आफ्नो बाटो लागेर गएजस्तो तिम्रो आत्माले यो जन्ममा भेटेको आत्मा फेरि अर्को जन्ममा नभेट्न पनि सक्छ । यो ठूलो समुद्रमा हामी सबैको आ-आफ्नो गन्तव्य छ ।' त्यसबेलासम्म कोही न कोही श्रीमती लेखेर ल्याएको त हुँला नि भन्ने मलाई आन्तरिक भरोसा जुन थियो, उनको जवाफले हटेको थियो । पहिलोपल्ट मेरो जुनी म एक्लैले बिताउनुपर्ने पनि हुन सक्नेजस्तो लागेको थियो ।

त्यसपछि प्रतीकलाई भनेँ, 'मलाई श्रीमती भाग्यमै लेखेर ल्याइन्छजस्तो लाग्दैन । हाम्रो आ-आफ्नो यात्रा र गन्तव्य छजस्तो लाग्छ ।'

'चन्द्रकी श्रीमती देवनगरतिरकी थिइन् । हामी सबै जन्ती गएका थियौँ । पार्टी पनि ठूलै दिएको थियो । त्यसबेलासम्म जग्गाको भाउ पनि बढ्न थालेको थियो र चन्द्रका बुबाको पनि फुर्तिफार्ती आउन थालेको थियो । तिनको नाम अलि पुरानो खालको थियो, चन्द्रमाया । तर हामी जन्तीले चन्द्रलाई कस्तो सुहाएको नाम भनेर जिस्कायौँ । सायद पहिलेको जन्मदेखि नै जोडी मिलाएर ल्याएको थियो कि भनेर पनि भन्यौँ । चन्द्रमाया भाउजू धेरै राम्री थिइन् । स्मिताभन्दा बेसी । स्मिताको जस्तो सहरिया पारा थिएन, त्यो बेग्लै कुरा हो । भेट्दा मीठो बोल्थिन् । उनको हाँसो राम्रो थियो, कपाल सधैँ अलिअलि उड्थे, परबाट हेर्दा, देखेको आधारमा भन्दा हाँसको सानो बच्चाको घाँटीका रौँजस्तो मुलायम हुँदो हो । चन्द्रसँग सम्बन्ध पनि राम्रो देखिन्थ्यो । बिहेको सात महिनापछि चन्द्रमाया भाउजू नारायणी पुलबाट हाम फालेर मरिन् । म भर्खरै एमबीबीएस सकेर भरतपुर अस्पतालमा काम गर्न थालेको थिएँ । चन्द्रमायाको शव पोस्टमार्टम गर्ने डाक्टरले पहिला मलाई उनको पेटमा तीन महिनाको बच्चा थियो भन्यो । मलाई एकछिन रिँगटा लाग्लाजस्तो भयो । भाउजूको लासको छाला माछाले कोपी-कोपी कोतरेको थियो, उनको आँखा गंगटोले खाएको थियो । हाम फालेर नारायणीको पानी छुनुभन्दा अघि नै भाजोभेगल सिन्कोप भएर, रक्तचाप बढेर मुटुलाई असर पारिसकेको थियो । पानीसँग शरीर ठोकिनाले करङ भाँचिएर तल्लो हाडले मृगौला र कलेजो छेड्दै ती अंगलाई काम नलाग्ने गरी हानि गरेको थियो । फोक्सो फुलेर सीओपीडी भएको थियो र नरम तन्तु चुँडिएका देखिन्थे । मृत्युको कारणमा 'पानीमा डुबेर' भनेर लेखिए पनि बिचरीको अंगअंग त्यसरी क्षतविक्षत भएको थियो, धन्न गोहीले टोक्नचाहिँ भ्याएन । मैले पोस्टमार्टमको एक-एक रिपोर्ट चन्द्रलाई सुनाएँ । तर त्यो मान्छेलाई धेरै दुःख महसुस भएजस्तो मलाई लागेन । भित्रभित्र कुनै पनि संवेदना बाँकी नभएजस्तो भएको थियो ऊ ।' प्रतीकले अझै पनि दुःख मान्दै भन्यो ।

'मेरो मनमा चन्द्रमाया भाउजूको अस्वाभाविक मृत्युमा चन्द्रको भूमिका छ भन्नेमा सन्देह थिएन । तर ठ्याक्कै के भूमिका थियो होला भनेर सोच्न सकिरहेको थिइनँ । भाउजूले आत्महत्या गरेको देख्ने धेरै थिए । साँझपख, लामो-लामो छाया हुने समय पुलको परसम्म उनका छाया पुगेका थिए । हाम फाल्दा पनि केही मान्छेले भनेअनुसार नदीको अर्कोतिरसम्म छाया पुगेका थिए रे । घटना भएको एक महिनापछि एक दिन देवनगर भाउजूको घर गएँ । मैले त्यस्तो नरमाइलो कहिल्यै महसुस गरेको थिइनँ । भाउजूले चन्द्रले कहिल्यै आफूलाई मीठो नबोलेको कुरा आमाबालाई सुनाएकी रहिछन् । चन्द्र ढुंगाजस्तो संवेदनाशून्य त थियो नै, बच्चा पेटमा भएको थाहा भएपछि पनि भाउजूलाई त्यो बच्चा आफ्नै त हो भन्ने खालका प्रश्न गर्ने गथ्र्यो । बाहिर अरुका अगाडि राम्रो देखिने, कोठाभित्र पसेपछि दुर्वचन बोल्ने र हातैसमेत हाल्ने उसको बानी थियो । हरेक कुरामा शंका गर्ने, जोसँग बोल्दा पनि त्यो तेरो पहिलेको सम्बन्ध त होइन भन्नेजस्ता कुरा गथ्र्यो । भाउजूकी आमाले धेरै विस्तृतमा चन्द्रको कुरा गरिन् र उनको कुरा सुनेपछि मलाई उक्त आत्महत्याको कर्ता चन्द्र भएकामा शंका भएन । खासमा मलाई ऊप्रति चन्द्रमाया भाउजूको अन्त्य भएको दिनदेखि नै जुगुप्सा उर्लेको थियो तर पनि सानोदेखि सँगै हुर्केको साथी भएकाले सम्बन्ध तोड्न पनि सक्दैनथेँ । त्यस दिन भने मैले चन्द्रलाई अब एक पटक भेटेपछि सम्बन्ध तोड्ने निर्णय गरेको थिएँ ।'

'अन्तिम भेटमा मैले चन्द्रलाई भनेँ, 'श्रीमान् गतिलो भएकी श्रीमतीले बिहेको ७ महिनामा आत्महत्या कसरी गर्छन् ? तैँले पक्का भाउजूलाई केही भनिस् ।' त्यसपछि ढुंगाजस्तो संवेदनहीन अनुहारले उसले मलाई आफ्नो कथा सुनायो ।'

'चन्द्रले भनेको थियो, 'म बिहे गरेपछि पनि बिहेको गुरुत्व बुझ्नसकिरहेको थिइनँ । मलाई यो सबै खेलौनाजस्तो लागिरहन्थ्यो । एक दिन चन्द्रमाया फर्केर देवनगर जान्छे, स्मिता म भएकोमा आउँछे र जीवन फेरि अर्को नियमित मार्गमा हिँड्छ भन्ने लाग्थ्यो । यसैले मैले कहिल्यै चन्द्रमायालाई आफ्नो भावनात्मक रुपमा नजिक हुन दिइनँ । ऊभित्र भने उत्तेजनाको ज्वालामुखी थियो । ऊ रमाउन, खेल्न र खुसीका खबर मात्र भन्न-सुन्न चाहन्थी । लाग्छ, म नजिक हुन नचाहनुले ऊ पीडामा थिई । यस्तैमा ऊ गर्भवती भई । मैले उसलाई एक दिन यो हाम्रै त हो भनेर सोधेँ । त्यस दिन धेरै नै झगडा भयो । मैले उसलाई मेरो स्मितासँग प्रेम छ भनेँ तर ऊ बिहे भएकी केटी हो भनिनँ । ऊ उदास भई । त्यस दिन ऊ मसँग माइत जान्छु भनेर निस्की तर नारायणीतिर लागी ।' यति भनेपछि अन्त्यमा उसले चिसो आवाजमा भन्यो, 'जातस्य ही ध्रुवो मृत्यु ...।'

चन्द्रमायाको शव पोस्टमार्टम गर्ने डाक्टरले पहिला मलाई उनको पेटमा तीन महिनाको बच्चा थियो भन्यो । मलाई एकछिन रिँगटा लाग्लाजस्तो भयो ।

प्रतीकले अन्त्यमा भन्यो, 'ती खुद ऊबाट निस्केका शब्द थिए । तर यथार्थमा त्यसो भन्दा ऊ अत्यन्त क्रूर देखिएको थियो । मलाई उसको कुरा सुनिन्जेल उसको शरीरबाट हजारौँ किरा निस्केर मतिर मुख बाइरहेजस्तो महसुस भएको थियो । मैले धन्न बान्ता गरिनँ । मैले उसले जीवनमा एक पटक पनि स्मितासँग कुरा गरेको देखिनँ । बरु म कहिलेकाहीँ ऊसँग गफ गर्थें । त्यस्तो स्वैरकल्पनामा उसको क्रूरता अडेको थियो ।'

♦♦♦♦

फोन नउठेकाले मैले स्मितालाई बैंकमा भेट्ने विचार गरेँ । चन्द्रले भनेझैँ उनी नारायणघाटको एभरेस्ट बैंकको कर्मचारी थिइन् । मैले परबाटै देख्दा उनी कुर्सीमा बसेकी थिइन् । उनको कालो कपाल कानसम्म सीधा र चम्किलो थियो भने कानभन्दा तलबाट घुमि्रँदै तल घाँटीसम्म पुगेको थियो । पंखाको हावाले र्फरर्फर उड्दा ती कपाल चलचित्रभित्र गीत गाइरहेका नायिकाका कपालजस्ता चित्ताकर्षक देखिन्थे । उनको कुर्ताको माथिल्लो भाग फूलबुट्टे अनि रातो र कालो रंगको थियो । उनको अनुहारमा एउटा पनि रौँ थिएन र निक्खर नौनीको प्रतिमाजस्तो थियो । अलिअलि चुच्चो नाकले उनको लाम्चो अनुहारलाई सुहाएको मात्र थिएन, त्यसले अनुहारमा झल्किएको आत्मविश्वासलाई अझै बढाएको थियो । सुन्दरता र वस्त्रको छनोट यस्तो थियो कि हरेक साधारण मान्छे उनीसँग कुरा गर्न धक मान्थ्यो भन्ने कुरामा परबाट देख्नेबित्तिकै द्विविधा भएन ।

'रेमिट्यान्ससम्बन्धी कुरा बुझ्नु थियो । प्रतीक डाक्टर साहेबले एभरेस्ट बैंकमा मैले चिनेको स्मिता म्याडम हुनुहुन्छ भन्नुभएको थियो । हेल्प गर्नुहुन्छ होला ?' मैले भनेँ । बहाना गर्न कति गाह्रो हुँदो रहेछ भन्ने सँगसँगै बुझ्दै पनि गएँ । उनले हुन्छ भनिन् । यसरी मैले उनको ध्यान आफूतिर तानेँ । त्यसपछि उनले कुन देशको रेमिट्यान्स भनेर सोधेपछि अमेरिका भनेँ । अनि, रेमिट्यान्सको कुरा गर्दै गएपछि केही छिनमा उनलाई भनेँ, 'चन्द्रप्रसाद थपलियालाई चिन्नुहुन्छ होला है । प्रतीक र ऊ त सँगसँगै पढेका रहेछन् भनेपछि तपाईंहरु पनि सँगैजस्तो त होला । हामी उता यौटै सहरमा छौँ ।'

उनको अनुहारको प्रदीपन बिस्तारै हरायो तर सम्हालिएर भनिन्, 'चिन्दिनँ त ।'

त्यसपछि मैले जे भने पनि उनले सुनेजस्तो लागेन, उनले पनि मलाई एक झुटो व्यक्तिलाई जस्तो व्यवहार गरिन्जस्तो लाग्यो । मलाई हरेक शब्द बोझजस्तो लाग्यो र अन्ततोगत्वा भनेँ, 'चन्द्रको कुरा तपाईंसँग गर्ने म पहिलो व्यक्ति हैन होला है ?'

'त्यो मान्छेसँग मैले कहिल्यै गफ पनि गरेकी छैन । यौटै स्कुलमा पढ्थेँ, बस् । गएको दुई वर्षभित्र मात्रै पाँच जना मान्छे उसको उपहार लिएर आए होलान् । सबैलाई उसले आफ्नो दुईतर्फी प्रेम थियो भन्दो रहेछ । आफू भागेर अमेरिका बसेको छ, श्रीमती पनि मरिछन्, बाबुआमाको बिजोग छ । किन त्यस्तो भएको

होला ! धन्न मेरो बूढाले कुरा बुझ्छन् र मतिर भने केही समस्या छैन ।'

उनको हरेक शब्दमा परिपक्वता थियो र शरीर अमत्र्य सुन्दरताको उदाहरण । चन्द्रजस्तो मानसिक रुपमा कमजोर मान्छे उनीप्रति आसक्त हुनु कुनै ठूलो कुरा थिएन । उनी चन्द्रप्रति अनासक्त हुनु पनि मैले हेर्दा स्वाभाविक थियो ।

♦♦♦♦

मलाई विश्वास थियो, चन्द्र म फर्किंदा बर्कलीमा हुने छैन भनेर । नभन्दै ऊ थिएन । उसको पाकिस्तानी साहूले मलाई भन्यो, 'वो वार्सिलोना चला गया । कहता था रेस्टुराँ चलाउँगा ।'

त्यसको सात वर्षपछि म श्रीमती र छोरी हित बार्सिलोना गएको थिएँ । जीवन स्थायी र स्थिर थियो । म बिहे नहुँदाको र पीएचडी पढ्दाको तनाव दुवैबाट मुक्त थिएँ । बार्सिलोनामा म क्यास्प रोडको एक अपार्टमेन्टमा छोटो समयका लागि बसेको थिएँ । त्यहाँ वरिपरि केही नेपाली रेस्टुराँ थिए । म छोरीलाई लिएर हरेक साँझ डुल्थेँ ।

बार्सिलोनामा एक शनिबार हामी तीन जना ला राम्ब्ला घुम्न गएका थियौँ ।

त्यहाँको मिराडोर डी कोलोममा अमेरिकातिर हात देखाउँदै कोलम्बसको मूर्ति उभिएको थियो । मनोचिकित्सा पढेकी मेरी श्रीमतीलाई त्यस दिन चन्द्रको कुरा सुनाएको थिएँ । उनले चन्द्रमायाबारे भनिन्, 'हामीले नबुझेको कुरा के हो भने यो संसारमा झुटैझुट छ, कुनै झुटले हामीलाई हानि गर्दैन, कसैले हानि गर्छ । त्यो हानि गर्ने झुटलाई जसले बेलामै चिन्न सकेन, झुटबीच कतै नठोक्किईकन यात्रा गर्न सकेन, उसलाई पीडा हुन्छ । चन्द्रमायाले झुटको जाल चिन्न सकिनन् ।'

अर्कोतिर कोलम्बसको मूर्तितिर देखाउँदै उनले भनिन्, 'यिनले झुटो बोलेका थिए, भारत पत्ता लगाएँ भनेर । तर त्यो झुटले कुनै स्पेनियार्डलाई हानि गरेन । हानि गरेको भए यसरी मूर्ति ठडिने थिएन ।'

दिउँसो त्यहाँ बसेर भूमध्यसागर हेरेपछि श्रीमती नजिकै अर्को एक साथीलाई भेट्नुपर्ने भएकाले ओलम्पिक पार्कतिर गइन् । म छोरीलाई लिएर ला राम्ब्लातिर हिँड्न थालेँ । त्यहाँ राम्ब्ला डेल्स कापुचिन सडकमा कफी खान अर्डर मात्र दिएको के थिएँ, मैले चन्द्रलाई छेउको एक भारतीय तथा नेपाली भोजन खुवाउने रेस्टुराँमा देखेँ ।

'यस्तो संयोग कमै हुन्छ, यत्रो लाखौँको जनसंख्या र पर्यटक भएको सहरमा तिमीलाई भेटाउनु त ।' मैले भनेँ ।

ऊ मलाई देखेर आत्तिएन । मैले उसको अनुहार पढिरहेको थिएँ, न उसमा कुनै गल्ती भाव थियो, न त चोरी पक्डिइएला कि भन्ने विषाद । बरु मलाई ऊसँग बोल्न गएकामा अप्ठेरो महसुस गरायो । मैले भनेँ, 'चन्द्र तिमीलाई मैले नेपालबाट फर्केर धेरै खोजेको थिएँ । तिमी त यता आएछौ ।'

'हो दाइ, साथीहरुले स्पेनमा फ्युचर हुन्छ भनेर बोलाए ।' उसले भन्यो ।

'कस्तो गर्दै छौ त ?' मैले सोधेँ ।

'राम्रो गरेको छु । एउटा रेस्टुराँ छ, एउटा तरकारी र ग्रोसरी बेच्ने पसल छ । सन्तुष्ट छु ।' उसले भन्यो । तर बोल्दा बेलाबेला मलाई यसरी हेथ्र्यो, मानौँ ऊ आफैँलाई 'यो मान्छे किन यहाँ आयो ?' भन्ने प्रश्न गरिरहेको छ।

उसले छोरीलाई एक स्मुदी किनिदियो । मसँग भने अरु धेरै बोल्न खोजेन । अप्ठेरो शान्तिबीच हाम्रा केही मिनेट बिते । म त्यति पर, त्यति पछि भेटेको व्यक्तिसँग द्वन्द्व गर्ने मुडमा थिइनँ । त्यसै पनि मैले उसलाई केही हदसम्म चिनिसकेको थिएँ । निस्कने बेला  उसलाई भनेँ, 'तिमीलाई थाहा छ, यो सडकको नाम जुन केपुचिन मतबाट राखिएको छ, त्यो मत मान्नेहरु क्रिस्चियन सम्प्रदायभित्र पनि सबैभन्दा गरिब सम्प्रदाय हुन् भनिन्छ । केपुचिनहरुको नामबाट अरु कुनै मुख्य सहरमा यस्तो सडकको नाम राखिएजस्तो मलाई लाग्दैन । यिनीहरु विसं १७६३ मा पहिलोपल्ट काठमाडौँ पुगेका थिए । अहिले झोले पर्यटक नेपाल जान्छन् भनेजस्तै त्यो बेला पनि धर्म प्रचारकमध्ये सबैभन्दा गरिब मानिने केपुचिनहरु नेपाल गएका थिए ।'

'हो र दाइ, यिनीहरुमा गरिब भएकामा, स्रोतविहीन भएकामा कत्तिको हीनताबोध थियो होला त ?' उसले सोध्यो ।

'गरिबीभन्दा पनि यिनीहरुको तयारीसमेत राम्रो थिएन । यिनीहरूलाई आफू सही ईश्वरभक्त भएको विश्वास थियो तर प्रमाण थिएन । यिनीहरु नेपालमा पूर्ण रुपले असफल भए । एक त यिनीहरुले आफ्नो चुनौती नै बुझ्न सकेनन्, पृथ्वीनारायण शाहले काठमाडौँ खाँदा गल्तीले केपुचिनहरुले मल्ल राजाहरुलाई इस्ट इन्डिया कम्पनीसँग सम्पर्क गराइदिनेजस्ता मद्दत गरेका छन् भन्ने सोचेका थिए । त्यसैले केही समय त यिनीहरु देश निकालामा नै परे । दोस्रो, केही समयमा फर्केपछि रणबहादुरको पालासम्म यिनीहरु केही न केही रुपमा काठमाडौँमा बसेका थिए । तर इतिहासकार के पनि भन्छन् भने अन्तिम केपुचिन पादरी एकदम कमजोर थिए । उनी युरोपबाट कसैले पैसा ल्याइदिए हुन्थ्यो भनेर बसेका थिए । उनको चरित्र पनि राम्रो थिएन । यिनीहरुले नेपाली जनतालाई राम्ररी बुझ्नै सकेनन्, आत्मबल पनि थिएन । त्यसैले यिनीहरु आफ्नो लक्ष्यमा हार खान पुगे ।'

म ऊबाट छुट्टनि लागिसकेको थिएँ । उसको सानो प्रतिक्रिया सुनेँ, 'हो दाइ, हार खाने भनेको गरिबीले भन्दा आत्मबल नभएर नै हो ।'

प्रकाशित: आश्विन १४, २०७६

ट्याग: कथा