नदोहोरिऊन् काण्ड

- जनक नेपाल

दसैँ मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहणको पर्व हो । राष्ट्रप्रमुखलाई अभिभावक मानेर टीका थाप्ने चलन राजसंस्था रहँदादेखि नै चल्दै आएको छ । पछिल्लो समय दसैँमा राष्ट्रपति, प्रधानमन्त्री, नेतादेखि नागार्जुन पुगेका पूर्वराजासँग टीका थाप्नेहरुको लाइन बढ्दो छ । मान्यवरहरु स्वार्थ समूहबाट घेरिँदै गएका छन् । त्यसैले हरेक वर्ष दसैँमा अनेक काण्ड दोहोरिन्छन् ।

गत वर्ष शीतलनिवासमा कुर्सी काण्ड भयो । राष्ट्रपतिले टीका लगाइदिँदा सात महिनाअघि आफैँलाई सपथ खुवाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले घुँडा टेकेर टीका थापे । आफ्नै पूर्वनेता वामदेव गौतमलाई समेत कुर्सी नहुँदा राष्ट्रपति भण्डारीको 'कमन सेन्स' ले काम गरेन । कुर्सी काण्डले टीका थाप्न शीतलनिवास पुग्नेहरुको दसैँ खल्लो बनाइदियो । सामाजिक सन्जाल रंगिए । पत्रपत्रिकामा हप्तौँसम्म आलोचनाका टीकाटिप्पणी छापिए । शुभचिन्तक र राष्ट्रका विभिन्न ओहोदावालको औपचारिक टीका तथा प्रसाद ग्रहण चल्यो । प्रधानमन्त्री केपी ओली दसैँका पाँचै दिन कर्मकाण्डी पण्डितझैँ व्यस्त भए । त्यसैको धपेडीले उनी बिरामी नै परे । केही दिन अस्पताल भर्ना हुनुपर्‍यो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दसैँ नमनाउने नेता हुन् । तर आफूले नलगाए पनि शुभचिन्तक र कार्यकर्तालाई टीका लगाइदिन्छन् । केही वर्षयता उनको दैलोमा टीका थाप्न जानेको संख्या बढ्दै छ । दसैँमा मिसिने राजनीति झन् बुझिसाध्य छैन । राजा ज्ञानेन्द्रले विवादास्पद छविका पुत्र पारसलाई युवराज घोषणा गर्न दसैँ पर्खेका थिए । दसैँ वहिष्कार अभियानका नेता गोरेबहादुर खपांगीले शाही मन्त्री भएपछि दरबार पसेरै टीका र जमराको माला लगाए । राष्ट्रिय सभा उपाध्यक्ष मोहम्मद मोहसिनले त्यसै गरे ।

प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्रमा पनि राष्ट्राध्यक्षले टीका लगाइदिने परम्परा बसाए । भण्डारीले निरन्तरता दिइरहेकी छन् । नेकपाका प्रस्तावित उपाध्यक्ष गौतम राष्ट्राध्यक्षसँग आशीर्वाद लिनुपर्छ भन्ने मान्यता राख्ने नेतामा पर्छन् । राजा ज्ञानेन्द्र सत्तामा रहेका बेलासमेत उनी टीका लगाउन दरबार धाउँथे । यी र यस्ता आयाम थपिँदै जालान् । तर दसैँको सांस्कृतिक महत्व नै बिटुल्याउने गरी अर्को काण्ड भने नदोहोरियोस् । ओहोदाधारी, नेता-कार्यकर्ता र शुभेच्छुकका निम्ति अहिलेलाई यत्ति नै शुभकामना !

फैलिँदो दसैँ

दसैँलाई हिन्दु, खस-आर्यको चाड भनिन्छ । तैपनि केही दशकअघिसम्म खस बाहुल्यका सुदूरपश्चिमीपहाड र कर्णालीमा दसैँ मनाइँदैनथ्यो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सुनाउँथे, उनी किशोर हुँदासम्म हुम्लाका गाउँमा दसैँ मनाइँदैनथ्यो । मध्यपहाडका कर्मचारीले दसैँ भित्र्याए । सुरुका वर्षमा रैथाने समुदायलाई दसैँको अर्थ र महत्व थाहै भएनछ । थालमा अबिर र चामल मुछेर केटाकेटीहरु होलीमा झैँ जो भेट्यो, उसलाई टीका लगाइदिँदै हिँड्थे रे । अहिले भने कर्णालीमा दसैँले जरा गाडिसकेको छ ।

सुदूरपूर्वका जनजातिले दसैँ मनाउन थालेको पनि धेरै भएको छैन । तराईका हिन्दुले दसैँ मनाउँछन् तर रामलीला र रावणबध गर्दै । दुर्गापूजामा व्रत बस्छन् । उनीहरुका लागि दसैँभन्दा नवमीको महत्व ज्यादा हुन्छ । तराई-मधेस, पूर्वी पहाड, कर्णाली र सुदूरपहाडका लागि दसैँभन्दा प्रमुख पर्व अरु नै छन् । तैपनि दसैँको आयतन फैलिँदै छ । यो हिन्दुभन्दा ज्यादा नेपाली समुदायको मौलिक पर्व बन्दै छ ।

पहाडी समुदायमा देवीपूजा र बलि प्रथा छ । त्यसैले उनीहरुका लागि दसैँ व्रतभन्दा धेरै खानपिनको पर्व हो । दही, अक्षता र अबिरको टीका नेपालबाहेक अन्यत्र लगाइँदैन । टीका रातो होस् वा सेतो, दसैँ एक दिन मनाइयोस् वा पूणिर्मासम्मै- धार्मिक, सांस्कृतिक महत्वका आ-आफ्नै व्याख्या छन् । खस आर्य, मंगोल वा मधेसीको साझा भइसकेको दसैँ बिस्तारै सामाजिक पर्व बन्दै छ । 

दसैँ अर्थात् यात्रा

सरकारी विद्यालयले दिने एकमहिने बिदालाई बिर्सिने हो भने दसैँको जम्माजम्मी बिदा भनेकै चार दिन हो । त्यसको आधाआधी समय त बाटोमै बित्छ, यात्रामै लाग्छ । सपरिवारको यात्राले स्वाभाविक छ, दसैँको झन्डै आधा बजेट यातायातमै सकिन्छ । सरकारले पोहोरै यातायात क्षेत्रको सिन्डिकेट हटाएको दाबी गर्‍यो । बस समितिका काउन्टर र अफिस बन्द भए । तर यात्रामा सुधारको अनुभूति गर्न पाएनन्, यात्रुले । सरकारी निर्णय रुट परमिटका लागि समितिसँग जुधिरहेका व्यवसायीका लागि गरिएझैँ भयो ।

बस काउन्टरमा टिकट बुकिङ खुलिसकेको छ । यात्रु टिकट पाउन लाइन लागिसकेका छन् । जे-जस्तो सास्ती भोगे पनि घर त जानैपर्‍यो । बाआमा परिवार र आफन्त भेट्नैपर्‍यो । चाडपर्व भनेकै पारिवारिक मिलन हो । वर्षको एकपल्ट पारिवारिक जमघटको बृहत् माहोल दसैँबाहेक अरु कुनै पर्वमा मैले देखेको छैन । गाउँ र सहर जोड्ने, खसीबोका किनबेच गर्ने र अभिभावकको आशीर्वाद लिने यो पर्वले पारिवारिक खण्डीकरणलाई सन्तुलित बनाइराखेको छ । सद्भावको सम्बन्ध मजबुत पारिरहेको छ । होइन र !

प्रकाशित: आश्विन १४, २०७६

ट्याग: नोटबुक