सुनको मृग

- रमेश क्षितिज

जीवनभर कुदिरहेको हुँदो रहेछु

भीडमा- एक्लो/फगत एक्लो भएर

एकान्तमा- जुलुसै-जुलुस बोकेर

बहुमूल्य सामान छुटेर

हतारमा फर्किरहेको यात्रीजस्तो

सधैँ-सधैँ दौडिरहेको हुँदो रहेछु

 

स्वर्गबाट झरेका टुक्राजस्ता हरिया फाँटहरू हेर्दै

मग्न भएको हुनुपर्ने म

 

साँझमा रङ फेरिरहेका हिउँचुली

र निर्मल ताल हेरेर सुस्ताएको हुनुपर्ने

वा हाँगा र हाँगाबाट पोखिएको कलरव

कि अनवरत बगिरहेको नीलो नदीको

राग- गायन सुनेर रमाएको हुनुपर्ने

 

सम्झिन भ्याएको हुनुपर्ने- आफू जन्मेको घर

पढेको स्कुल र बाल्यकालमा सँगै खेलेका साथी

चिप्लिएको गोरेटो र छाया बसेको चौतारी

र अक्षर सिकाएका गुरु

 

बिहानमा- गुम्बाको प्रार्थना वा

बजिरहेका घन्टाहरूको ध्वनि सुनेर

जलिरहेका दियो

कि घाम ओढेका संन्यासी पहाड देखेर

सोचेको हुनुपर्ने- कहाँबाट आएको म,

जानु छ कहाँ ?

 

यो चलिरहेको श्वास के हो ?

यो देखिएको रंगमञ्च के हो ?

अस्तित्वको आभास के हो ?

कति जन्मदेखि हिँडिरहेछु म-

यो पृथ्वी नामको विशाल पाटीमा बास बस्दै ?

 

म त झन्-झन् बेगवान

उडिरहेका बासनाका चराहरू पछ्याउँदै

कि एक नाम होस् मेरो- भन्दो रहेछु

खुम्च्याएर संसारको विशालता

क्यारमको बोर्डझैँ चार आना जमिनको

गोटी भएको हुने रहेछु

 

आफूतिर फर्केर हेर्न बिर्सेको म

कामनाका पुतलीले भ्रमित भएर

अनेकौँ सुगन्ध खोज्दै हिँडेको हुने रहेछु

 

बिर्सेको हुने रहेछु- जिउनुको अर्थ

अघि-अघि दौडिरहन्छ, सुनको मायावी मृग

पछि-पछि म- राम भएको हुने रहेछु ।

 

प्रकाशित: आश्विन १४, २०७६

ट्याग: कविता