हवल्दार सुकबहादुर

-  महेशविक्रम शाह

हवल्दार सुकबहादुर गुरुङ टर्च बाल्दै कोठाबाट बाहिर निस्क्यो ।

उसले नीलो डांग्री लगाएको थियो । डांग्रीमाथि नीलो पारकर ज्याकेट । शीरमा खुइलेको ऊनी नीलो टोपी । उसको दाहिने हातमा लामो टर्च र बायाँ हातमा घँघारुको लठ्ठी थियो ।

उसले टर्च बाल्दै दाहिने हातको नाडीमा बाँधेको घडीमा हेर्‍यो । रातको बाह्र बज्दै थियो ।

उसले टर्चको तिखो उज्यालो परपरसम्म फाल्यो । टर्चको उज्यालोमा चौकी हुँदै गाउँतिर सोझिएको गोरेटो, गाउँपालिकाको अफिस, सँगै जोडिएको वाणिज्य बैंक, स्कुल, गाउँपालिका प्रमुखको घर र गाउँको पुछारका केही घर दृष्टिगोचर भए । उसले टर्च घुमाएर चौकीअगाडिको खाली जमिनमा हेर्‍यो । टर्चको उज्यालोमा बडेमाको डोजर टलल टल्क्यो । डोजरको अगाडि एक प्रहरी राइफल समातेर ड्युटी गरिरहेको थियो । गाउँमा विकासको मूल फुटाउन गाउँपालिका प्रमुखले भर्खर यो डोजर खरिद गरेर ल्याएका थिए ।

'ए बले, डोजर सही सलामत छ?' डोजरको सुरक्षाप्रति हवल्दार सुकबहादुर चिन्तित थियो ।

'ठीक छ हवल्दार साप ।' प्रहरी जवान बलबहादुर उर्फ बलेले सलाम ठोक्दै जवाफ दियो ।

सबै ठीकठाक देखेर हवल्दार सुकबहादुर सन्तुष्ट देखियो ।

हिजोअस्तिभन्दा आज सुकबहादुर सजग र सचेत थियो । भोलि बिहान गाउँपालिकाका प्रमुखले किनेको डोजरले खन्ने सडकको उद्घाटन गर्न हेलिकप्टरबाट मन्त्रीज्यूको गाउँमा आगमन हुँदै थियो । मन्त्रीको सुरक्षाको सवाल थियो । सुरक्षाका लागि नै उसले जिल्लासँग थप मद्दत मागेको थियो । जिल्लाले सईको कमान्डमा पठाएको दस जनाको थप मद्दतको टोली बिहानसम्म आइपुग्दै थियो । सदरमुकामबाट सडक र पैदल गरी चौकीमा आइपुग्न तीन दिन लाग्थ्यो ।

चौकी वरिपरिको वस्तुस्थिति बुझिसकेपछि सुकबहादुर सेन्ट्री बसेको ठाउँनिर गयो ।

'रात्रि गस्ती टोली गाउँ गयो ?'

'अघि नै गइसक्यो सर ।' सेन्ट्री बसेको जवान रामबहादुर खत्रीले जवाफ दियो ।

'भोलि मन्त्री आउँदै छन् । चनाखो भएस् । कहीँ सुत्लास्, होस गरेस् । विप्लवका यी फ्याउराहरुले चैनसँग बस्न दे'का छैनन् । बमसम् पड्काउलान् । दायाँबायाँ हेरेर ड्युटी गरेस् ।'

हवल्दार सुकबहादुर गुरुङ सेन्ट्रीलाई सम्झाउँदै गर्दा टर्च बालेर परपरसम्म हेर्दै थियो । कहीँ-कतै केही बिग्रे-भत्केको छ कि !

'ए रामबहादुर तेरो राइफल चालू छ ?' सुकबहादुरले रातीको पालोपहरा बसेको सेन्ट्रीतिर

हेर्दै सोध्यो ।

'ठीक छ हजुर !' रामबहादुर जोडले बोल्यो ।

'के ठीक छ ?' सुकबहादुरले ऊतिर हे‌र्‍यो ।

'हजुरले भनेअनुसार सब ठीक छ हजुर !' रामबहादुरले छाती तन्कायो ।

'मैले भनेअनुसार होइन कि तैँले देखेअनुसार सब ठीक छ ? हो ?' सुकबहादुरको स्वर चर्को भयो ।

'त्यो पनि ठीक छ हजुर ।' रामबहादुरले राइफललाई जोडले आङमा च्याप्दै तनक्क तन्क्यो ।

'प‌र्‍याबेला राइफल पडि्कन्छ त ?'

'पड्किन्छ होला सर ।'

'यो राइफल पड्काएको छ ?'

'छैन सर ।'

'अनि कसरी थाहा भयो कि यो राइफल पड्किन्छ ?'

हवल्दार सुकबहादुरले टर्चको तेजिलो प्रकाश सुकबहादुरको अनुहारमा फाल्यो ।

'राइफल पड्काएको कति भयो ?'

'बेसिक तालिममा दस राउन्ड पड्काएको थिएँ हजुर ।'

'तालिम गरेको कति भयो ?'

'दस वर्ष हजुर ।'

'त्यसपछि पड्काएको छैन ?

'छैन सर ।'

'अनि पड्काउन आउँछ त ?'

'भुलेजस्तो लाग्छ हजुर । गाह्रै पर्लाजस्तो छ ।' रामबहादुरले डराई-डराई कमान्डरको अनुहारमा हेर्‍यो ।

हवल्दार सुकबहादुर गुरुङको अघिको जोस ठन्डा भएको थियो । सेन्ट्रीको ड्युटी बसेको रामबहादुरको जवाफले कन्सरीका रौँ ठाडा भए पनि ऊ चुप लाग्यो । उसलाई राम्रोसँग थाहा छ, रामबहादुरले जे भनेको थियो, सही भनेको थियो । गोलीगठ्ठाको अभावमा वेसिक तालिमपछि कैयौँ वर्षसम्म प्रहरी फायरिङको अभ्यासबाट वञ्चित हुन्थे ।

'जता हे‌र्‍यो उतै बिजोग छ ।'

हवल्दार सुकबहादुरले खुइय सुस्केरा छाड्यो । रातको एक बज्न थालेको थियो । ऊ कोठाभित्र छि‌र्‍यो ।

गाउँपालिका प्रमुखको भैँसीगोठमा वाषिर्क ६ हजार तिर्ने गरी भाडामा चौकी बसेको थियो । गोठलाई बारेर दुई कोठा छुट्याइएको थियो । एउटा कोठामा घरबेटीका दुई भैँसी र एक पाडो किलोमा नारिएका थिए । अर्को कोठालाई बीचमा बारेर दुई कोठा बनाइएको थियो । बाटोतिरको कोठामा भुइँमा म्याट्रेस बिछाएर पाँच प्रहरी जवान सुत्थे । पछाडिपट्टकिो कोठा चौकी इन्चार्जको कोठा थियो, जहाँ हवल्दार सुकबहादुर बस्थ्यो । गोठको पछाडि प्रहरी जवान आफैँले काठका खम्बा ठड्याएर बाँसले वरिपरि बेरी छतमा खुइलेको टिन ठोकेर जेनतेन कामचलाउ भान्छा घर बनाएका थिए ।

यो कोठा उसको अफिस र निवास दुवै थियो । कोठामा एउटा काठको खाट थियो । बस् । यसै खाटमा बसेर ऊ अफिसको काम गथ्र्यो । ड्युटी अह्रनखटन गथ्र्यो । उजुरीकर्ताको उजुरी सुन्थ्यो । कुनै भीआईपी आइहालेछन् भने यसै खाटमाथि बसालेर चिया टक्र्याउँथ्यो । ड्युटीबाट फुर्सद मिलेका बेला पिस्तोल भिरेको बेल्ट फुकालेर सिरानमा राख्थ्यो र हातखुट्टा फैलाएर सुत्ने प्रयास गथ्र्यो ।

ऊ छालाको बुट खोल्नै लागेको थियो, एउटा आवाजले झस्क्यो । उसका कान ठाडा भए ।

'ए रामे केको आवाज हो यो ? राम्रोसँग हेर ।' सुकबहादुर आधा खोलेको बुटसँगै बाहिर निस्क्यो ।

'भैँसीले हगेको हो सर !' रामबहादुरको जवाफ सुनेर सुकबहादुर खितखित हाँस्यो ।

'भैँसीले हगेको पनि बम पड्केजस्तो लाग्न थाल्यो अब । दिमागले काम गर्न छाडेछ कि क्या हो !' बुदबुदायो सुकबहादुर ।

'यी राक्षसका सन्तानलाई नि बेलाकुबेला मध्य राती

हग्नुपर्ने !' जोडले चिच्यायो सुकबहादुर ।

'यिनीहरुलाई छुट्टै ट्वाइलेट जानुपर्दैन हजुर, जहाँ उभियो, त्यही ट्वाइलेट हो । ड्यूटी बसेका बेला रातभर गोबर गन्हाउँछ हजुर । हामीले चौकीको ड्युटी गरेको हो कि भैँसीगोठको !' रामबहादुरले दुखेसो पोख्यो ।

'के गर्छस् त बाबै, माओबादी विद्रोहीले द्वन्द्वकालमा बम हानेर भत्काएको दुई तले पक्की चौकी यत्तिका वर्ष बिते पनि बनेको छैन । सितिमिति गाउँलेहरु चौकीलाई घर भाडामा दिन मान्दैनन् । धन्न गाउँपालिका प्रमुखले भैँसीगोठ भए नि बस्न दिएका छन् । नत्र चौतारीको बास हुन्थ्यो । यत्तिमा पनि सन्तोष मान ।' सुकबहादुरले भैँसीको गोठमा चौकी बस्नुको बाध्यता बिसायो ।

'हवल्दार साप एउटा कुरा सोधूँ ?'

'के हो भन न ।'

'कैगरी विप्लव माओवादीहरु आक्रमण गर्न आए रे । तर मेरो यो राइफल पड्केन भने के गर्ने

हजुर ?' रामबहादुरको अनुहारमा डरको भाव सलबलाइरहेको थियो ।

'सके मार्ने, नत्र मर्ने ।'

'के रे हजुर ?'

'देशका लागि बलि चढ्ने, आफ्ना लागि रु. दस लाख कमाउने । तँलाई अहिले एक महिनाको तलब पाउन नि धौ-धौ हुन्छ । मरिस् भने भोलिपल्टै शहिदको लिस्टमा तेरो पनि नाम चढ्छ र दस लाखको चेक आइपुग्छ ।

बुझिस् ?' हवल्दार सुकबहादुर बोल्यो । उसको अनुहार भावहीन थियो ।

हवल्दार सुकबहादुर कोठामा फक्र्यो । उसलाई बुट खोल्न मन लागेन । लुगा फेर्ने जाँगर आएन । उसले कुनामा ठाडो पारी राखेको थ्रीनटथ्री राइफललाई दाहिने हातले समात्यो । खाटमा थचक्क बस्यो । राइफललाई काखमा राखेर त्यसको बट, म्यागजिन, ट्रिगर, कमानी र नाललाई हातले मुसार्न थाल्यो ।

देशमा पञ्चायत ढलेपछि प्रजातन्त्र आयो र त्यसपछि गणतन्त्र आयो । जहिले जे आए पनि न यो राइफलले हाम्रो साथ छाड्यो, न त यसको महफ्व कम भयो । आधा शताब्दीदेखि हाम्रै साथमा छ यो । मान्छे फेरिए पनि थोत्रो राइफल फेरिएको छैन । यही थोत्रो राइफलको भरमा दस वर्षसम्म माओवादी विद्रोहीको आक्रमण थेग्यौँ । अहिले फेरि विप्लव माओवादीलाई झेल्नु परिरहेको छ । भविष्यमा अझ यो थोत्रो राइफलले क-कसको आक्रमण झेल्नुपर्ने हो, केही ठेगान छैन ।

राइफललाई छातीमा टाँसेर सुकबहादुर खाटमा पल्टियो । उसले आँखा चिम्ल्यो । उसको अगाडि फनफनी घुम्न थाले, विस्मृतिमा हराइसकेका दृश्यचित्र ।

देशभर माओवादी सशस्त्र द्वन्द्व चरम अवस्थामा पुगेको थियो । विद्रोेहीहरुले कुन बेला कहाँ आक्रमण गर्छन् अनुमान गर्न गाह्रो थियो । गाउँको एक प्रहरी चौकीमा प्रहरी जवान सुकबहादुर रात्रिको ड्युटीमा थियो । ऊ राइफलको नाललाई अगाडि सोझ्याएर अलर्ट मुद्रामा उभिएको थियो । कम्मरमा गोलीको पाउच बाँधेको थियो । राइफललाई उसले फायरिङ पोजिसनमा राखेको थियो । चौकीका हरेक कुनामा प्रहरी राइफल र गोलीगठ्ठाले सुसज्जित भएर ड्युटी गरिरहेका थिए । झिसमिसे बिहानमा अचानक चारैतिरबाट माओवादी विद्रोहीहरुले आधुनिक हतियारले आक्रमण गरे । प्रहरी जवान सुकबहादुरले फायर खोल्न खोज्यो तर राइफल पड्केन । विद्रोहीले मेसिन गन र एके ४७ बाट प्रहार गरेका गोलीले चौकी छियाछिया हुन थालिसकेको थियो । दुई-तीन गोली उसको शरीरलाई छुँदै निस्के । उसले राइफलबाट फायर खोल्न हरसम्भव प्रयास गर्‍यो । तर सकेन । अन्ततः हत्केलामाथि ज्यान राखेर ऊ गोली नआएको दिशातिर बेतोडले कुद्यो । कुद्दाकुद्दै ऊ कहाँ पुग्यो, भेउ पाएन । बिहान थाहा पायो, चौकी पूरै ध्वस्त भएछ । उसका दस सहकर्मी आक्रमणमा मारिएछन् । विद्रोहीतर्फ कुनै क्षति भएनछ । चौकीलाई ध्वस्त पारेर फर्किने बेला विद्रोहीले प्रहरीका लत्ताकपडा र बिस्तरामा समेत आगो लगाइदिएका थिए ।

हवल्दार सुकबहादुरले आँखा खोल्यो । आँखा आँसुले भिजेका थिए । 'त्यस दिन साहस गरेर नभागेको भए दस जना साथीहरुसँगै म पनि मारिने थिएँ । मलाई अझै एक अर्को लडाइँ लड्नु रहेछ । सायद त्यसैले म बाँचेँ ।' द्वन्द्वको पीडा सम्झेर हवल्दार सुकबहादुरको छातीमा सूल उठेझैँ भयो ।

आश्चर्यको कुरा के थियो भने अठार वर्षपहिले माओवादी आक्रमणबाट ध्वस्त भएको चौकी यही गाउँको थियो । र, ऊ त्यसबेला प्रहरी जवान थियो । विद्रोही माओवादीको तर्फबाट सशस्त्र हमलाको नेतृत्व गर्ने व्यक्ति कोही नभएर भोलि उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा आउन लागेका मन्त्रीज्यू थिए । समय परिस्थितिले सुकबहादुरलाई फेरि यही चौकीमा ल्याई पु‌र्‍याएको थियो । र, ऊ आफूमाथि आक्रमण गर्ने माओवादी विद्रोहीको कमान्डरको सुरक्षाका लागि विप्लव माओवादीसँग लडिरहेको थियो ।

हवल्दार सुकबहादुर अतीतमा आफूले भोगेको भोगाइलाई वर्तमानसँग तुलना गर्न थाल्यो ।

'करिब पच्चीस वर्षदेखि हामीले यही राइफलको भरमा माओवादी विद्रोहीहरुसँग दस वर्षे सशस्त्र युद्ध लड्यौँ । माओवादी विद्रोहीसँग आधुनिक हतियार थिए । तर हामीसँग भएका बहुसंख्यक राइफल पड्किँदैन थिए । नपड्किने राइफल पनि पड्किन्छ भन्ने आशमा हामीले माओवादी विद्रोहीका आक्रमण झेल्यौँ । सशस्त्र द्वन्द्वमा हामीले ठूलो क्षति बेहोर्नुप‌र्‍यो । अन्ततः देशमा गणतन्त्र आयो । गणतान्त्रिक शासन व्यवस्थामा हामी प्रहरी पनि गणतान्त्रिक प्रहरी बन्यौँ । तर यो राइफल राज्यको सुरक्षा गर्न सक्ने गरी गणतान्त्रिक बन्न सकेन ।'

हवल्दार सुकबहादुरले राइफललाई ठाडो पारेर हे‌र्‍यो । ठाउँ-ठाउँमा खिया लागेर विरुप बनेको थियो, त्यो पुरानो राइफल । एउटी बूढी महिलालाई मेकअप गरेर तरुनी बनाउन नसकिएझैँ यो थोत्रो राइफललाई पनि पुल थु्र र तेलले जति चम्काउन खोजे पनि गोली पड्काउने बेला सधैँ धोका दिन्थ्यो ।

हवल्दार सुकबहादुरको दिमाग स्थिर थिएन । चाहिने-नचाहिने कुराले दिमाग रन्थनिरहेको थियो । ऊ जुरुक्क उठ्यो । कोठाबाहिर निस्क्यो । उसले टर्चको उज्यालो भैँसीगोठमा फाल्यो । भैँसी निश्चिन्त भएर उँघिरहेका थिए । उसलाई भैँसीको जिन्दगी देखेर ईष्र्या लाग्यो ।

सुकबहादुरले नचाहँदा-नचाहँदै पनि दिमागमा आउन थाले- उसको जागिरको भरमा बाँचिरहेका बूढा बाआमा, स्वास्नी र छोराछोरीका आकृतिहरु ।

'साला यो जिन्दगी पनि कुनै जिन्दगी हो र !' सुकबहादुर जोडले चिच्यायो ।

'मलाई थाहा भएन साप ।' रामबहादुर हडबडाउँदै बोल्यो ।

'चुपलाग गोरु ।' सुकबहादुर कड्क्यो ।

उसले टर्चको प्रकाश नजिकैको एक ढिस्कोमा फाल्यो । ध्वस्त भएको चौकी यहीँ थियो । ढिस्कोमाथि गाउँका भुस्याहा कुकुर उँघिरहेका थिए । त्यो ढिस्कोतिर हेर्दै हवल्दार सुकबहादुर भावुक बन्यो ।

अठार वर्षपहिले यो चौकी आक्रमण गरेर ध्वस्त बनाउने विद्रोहीहरु जंगल छाडेर सिंहदरबार छिरे । मन्त्री भए । आफ्नो वरिपरि सशस्त्र सेना र प्रहरीको सुरक्षा कवच बनाए । तर यो गाउँमा माओवादी विद्रोहीको गोली र बमको धमाकाले ध्वस्त भएको ठाउँमा न नयाँ प्रहरी चौकी बन्यो, न त यो खिया लागेको राइफल नै फेरियो । राज्यसँग लडाइँ लडेका विद्रोहीहरुको जीवनमा यति ठूलो परिवर्तन ! तर राज्यको तर्फबाट विद्रोहीसँग लडाइँ लड्ने यो हवल्दार सुकबहादुर भने जहाँको तहीँ ! शासनमा परिवर्तन आयो तर मेरो रासन र आसनमा किन परिवर्तन आएन ? एउटा विद्रोही सिंहदरबार बस्यो । सिंहदरबारमा बसेको विद्रोहीका विरुद्धमा खडा भएको अर्को विद्रोही जंगल पस्यो । जंगल पसेको नयाँ विद्रोहीसँग पनि यो हवल्दार सुकबहादुरले भैँसी गोठमा बसेर यही खिया लागेर मक्केको नपड्किने थोत्रो राइफलले युद्ध लड्नुपर्ने ? के म प्रहरी मात्र हुँ, यो देशको नागरिक होइन ?'

सुकबहादुरलाई भाउन्न भयो । कहिलेकाहीँ यी कुरा सम्झेर उसको दिमाग हल्लिन्छ । आफूले अनुभव गरेका कुरालाई ऊ बिर्सन सक्दैन । विद्रोहीको गोली लागेर झन्डै मरिसकेको मान्छे हो ऊ । नसम्झुँ भने पनि दिमागमा आइहाल्छ । एकछिन त उसलाई लाग्यो, कतै ऊ आफैँ विद्रोही हुन लागेको त होइन !

हवल्दार सुकबहादुरलाई रिंगटा लागेजस्तो भयो । ऊ फेरि टर्च निभाएर कोठाभित्र छिर्‍यो । ओछ्यानमा ढल्यो । आँखा चिम्म गर्‍यो । उसले बिर्सने प्रयास ग‌र्‍यो, आफ्ना अतीतका भोगाइहरु । उसले आफ्नो दिमागलाई केही नलेखिएको सेतो कागजको पानाजस्तो सपाट र शून्य बनाउन खोज्यो । नचाहँदा-नचाहँदै पनि दिमागमा आउन थाले- उसको जागिरको भरमा बाँचिरहेका बूढा बाआमा, स्वास्नी र छोराछोरीका आकृतिहरु । तिनका निन्याउरा अनुहार सम्झेपछि उसमा आएको विद्रोही भावना क्रमशः मत्थर हुँदै गयो ।

 'म एक अनुशासित सिपाही हुँ । म प्रश्नकर्ता होइन, आदेशको पालनकर्ता मात्र हुँ ।' उसको सुषुप्त चेतनाले उसलाई सचेत गरायो ।

हवल्दार सुकबहादुर ओछ्यानबाट जुरुक्क उठ्यो । एक सचेत नागरिकको भावनाबाट मुक्त भएर बर्दीधारी अनुशासित प्रहरीको कलेबरमा फर्किंदा उसले आफूलाई तनावरहित महसुस ग‌र्‍यो ।

ऊ कोठाबाट बाहिर निस्क्यो ।

'ए रामबहादुर...।'

'हजुर साप ।'

'सधैँ हेक्का राखेस् । हामी प्रहरी राष्ट्रका पहरेदार हौँ । हामी जनताका सेवक हौँ । सरकारका रक्षक हौँ । हाम्रो आफ्नो व्यक्तिगत जीवन हुँदैन । हामीले पाउने बिदा पनि सुविधा हो । हाम्रो अधिकार होइन । बर्दी धारण गरेपछि हाम्रा कुनै निजी इच्छा र आकांक्षा हुँदैनन् । इमानदार भएर सरकारको आदेशको पालना गर्नु हाम्रो एक मात्र कर्तव्य हो... बुझिस् ।'

हवल्दार सुकबहादुर लगातार बोलिरहेको थियो । र, प्रहरी जवान रामबहादुर आङमा राइफल च्यापेर लामो हाइ काढ्दै निदको झप्की लिइरहेको थियो । 

प्रकाशित: आश्विन १५, २०७६

ट्याग: कथा