टोपीले छोप्न नसक्ने चिरा

- वसन्त थापा

काठमाडौँमा म प्रायः मुडुलो टाउको नै हिँड्ने गर्छु । टोपी लगाएर टाउकोलाई सधैँ छोपिराख्नेमा पर्दिनँ । धेरै जना खुइले तालु छोप्न टोपी लगाउँछन् । तीलचामलेबाट कपासजस्तो हुँदै गएको भए पनि कपालले आफू उम्रेको ठाउँ छाडिनसकेको हुनाले मेरो टाउकालाई टोपीको पर्दा हालिरहने जरुरत परेको छैन ।

तैपनि चिसोबाट जोगिन जाडो याममा बेलाबखत शिर छोप्नुपर्ने खण्ड आउँछ । त्यस्तो बेला अपवादस्वरुप टोपी लगाउने गर्छु । तर नेपालीभन्दा बढी म अरु खालका शिरपोसले शिर छोप्छु । कहिले अफगानी, कहिले माओ टाइपको, कहिले चे ग्वेवारा स्टाइलको त कहिले फिडेल क्यास्ट्रो मार्काको र कहिलेकाहीँ युरोपियन ह्याट त कहिले घाम छेल्ने टोपी । यद्यपि मसित मित्र हरि शर्माको जस्तो शिरपोसहरुको बृहत् संकलन छैन ।

नेपालमा रहेर नेपाली टोपी लगाउनुको आफ्नै जोखिम छ । ढाका टोपीलाई पहिलेका एमालेहरुले लगभग पेवा बनाइसकेका छन् । टोपीको साथमा अझ अस्टकोट पनि छ भने त त्यो एक सय प्रतिशत नभए पनि ९५ प्रतिशत एमाले ट्रेडमार्क भइहाल्यो । उता भादगाउँले कालो टोपीलाई भने कमरेड प्रचण्डले पहिरिने गरेका छन् । कालो भादगाउँले टोपीलाई बिट मार्ने वा कुच्याउने तरिका हेरेर पनि मानिसले तपाईंको राजनीतिक संलग्नताबारे अड्कल लगाउन सक्छन् । कांग्रेसीहरु खास तरिकाले सिउरको माझमा कुच्याएर कालो टोपी लगाउँछन्, जस्तो, बीपी कोइरालाको तरिका थियो । त्यसैले ढाका वा भादगाउँले कालो टोपीका कारण नचाहीकनै कुनै पार्टी विशेषको कार्यकर्ता या अनुयायीमा दरिन सक्ने सम्भावना प्रबल छ । आफू कसैको कार्यकर्ता नभए पनि हेर्नेले त्यस्तो देख्न सक्छन् । व्यर्थैमा अर्काको नामको बिल्ला भिरिमाग्नु मजाको कुरा होइन ।

नेपालमा छँदा आक्कलझुक्कल मात्र नेपाली टोपी पहिरिए पनि विदेश जाँदा भने म गौचर विमानस्थलमा जहाजभित्र पदार्पण गर्दादेखि नै शिरमा नेपाली टोपी लगाउने गर्छु । मैले यस्तो अभ्यास चलाएको केही वर्ष यतादेखि हो र त्यसो गर्नुका पछाडि केही कारण छन् ।

म विदेश भ्रमणमा जाने भनेको सभा-सम्मेलन वा फिल्म फेस्टिभलमा भाग लिने सिलसिलामा नै हो, जहाँ थुप्रै मानिसको जमघट हुने गर्छ । त्यस्ता उपक्रममा धैरै मानिसलाई भेट्न सकिने अनि आफूलाई पनि धेरैले देख्न सक्ने सम्भावना हुन्छ । त्यस्ता भेलामा भेट हुनेले तपाईं कहाँबाट वा कुन देशबाट आउनुभएको हो भनी सोध्नु पनि एकदम स्वाभाविक नै हो । आफूसँग फुर्सद छ वा कुराकानी तन्काएर एकैछिन टाइमपास गर्ने मुडमा भए त्यस्तो प्रश्न गर्नेलाई म प्रायः प्रतिप्रश्न गर्ने गर्छु, 'तपाईं अड्कल गर्नुस्, म कुन देशबाट आएको हुँला ?' अनि अड्कल लगाउन उनीहरुलाई म तीन मौका दिन्छु ।

धेरैले सजिलै मेक्सिको वा पेरु भन्छन् वा दक्षिण अमेरिकाको ग्वाटेमालाजस्ता कुनै मुलुकको नाम लिन्छन् । हाम्रो छालालाई 'गहुँगोरो' र अंग्रेजीमा 'ह्वीटीस' भन्ने गरेका छौँ । तर हाम्रो छालाको रंगलाई चिनाउने शब्द भनेको 'ब्राउन' नै हो । हो, त्यही कारण उनीहरुले मजस्तालाई देखेर मेक्सिको वा पेरु भन्ने गरेका । समग्रमा 'ल्याटिनो' भनेर चिनिने दक्षिण अमेरिकाका बासिन्दा यही 'ब्राउन' रंगको घेराभित्रै पर्छन् ।

त्यसरी मलाई पेरु वा मेक्सिको निवासी वा ल्याटिनो ठान्नेहरुलाई सजिलो पारिदिँदै 'मेरो देश एसिया महादेशमा पर्छ' भन्छु । त्यति संकेत पाएर पनि उनीहरु मलेसिया, फिलिपिन्स वा इन्डोनेसियाको नाम लिन पुग्छन् । कसै-कसैले निकै जान्ने पल्टिएर 'टिबेट' वा 'इन्डिया' सम्म भन्छन् तर किटेर नेपाल भन्ने बिरलै भेटिन्छन् । उनीहरु तीनै अनुमानमा असफल हुन्छन् ।

बाह्य संसारका धेरै व्यक्तिको दिमागमा जडित सूचनाको राडारले नेपाल नामको देश सितिमिति टिपेको हुँदैन । त्यसबाहेक बम्बईया भाषामा भन्ने हो भने आफ्नो 'थोपडा' नै यस्तो खालको छ, जसलाई देखेर मानिसले जे पनि ठानिदिन सक्छ ।

आजभन्दा लगभग ३५ वर्षपहिले पाङबोचेमा पसल चलाएर बसेकी एउटी शेर्पिनीलाई मैले 'चिया पाइन्छ बहिनी ?' भनेर सोध्दा तिनले 'ए मैले त तपाईंलाई जापानी मेम्बर पो होला भन्ठानेको' भनेकी थिइन् । जापानीसित रंग नमिले पनि अनुहारको ढाँचाका कारण तिनले त्यसो भनेकी हुनुपर्छ । म कालापत्थर चढेर र्फकंदै थिएँ र हिउँले डढेर अनुहार कालो भएको थियो । मसित गएका साथीहरु लेक लाग्नाले लोबुजेबाट अघिल्लो दिन नै तलतिर झरेका थिए र म उनीहरुलाई भेट्न एक्लै तेङबोचेतर्फ जाँदै थिएँ ।

एक पटक कोरियाको सोलतर्फ जाँदा कोरियन एयरलाइन्सकी परिचारिकाले अरु विदेशी यात्रुलाई अध्यागमनको कार्ड भर्नलाई दिइन्, मलाई भने छुटाइन् । मैले अंग्रेजीमा खोइ त मलाई कार्ड दिएको भन्दा जिब्रो टोकेर 'तपाईंलाई मैले कोरियन नै भन्ठानेकी' भनिन् । अरुले कोरियन ठान्नु र कोरियनले नै कोरियन ठान्नुमा फरक छ । तिनलाई समेत मेरो अनुहारले त्यस्तो भान दिएछ ।

यस्तैगरी अर्को एयरलाइन्सकी परिचारिकाले चाहिँ मलाई चिनियाँ भन्ठानेकी थिइन् । युरोपबाट दोहा हुँदै नेपाल फर्किरहेको थिएँ र काठमाडौँ पुग्ने बेला के लगाइरहनु भनेर मैले टोपी फुकालेको थिएँ । एउटी नेपाली पनि थिइन्, कतार एयरवेजको परिचारिका टोलीमा । तिनलाई मैले नेपालीमा चिया पाइन्छ भनेर सोध्दा 'ए मैले हजुरलाई त चाइनिज पो भन्ठानेकी' भनेकी थिइन् ।

अनि, एउटी मारवाडीवालाले काठमाडौँको एउटा योग केन्द्रमा एक पटक मलाई अंग्रेजीमा 'के तपाईं असमिया हो' भनेर सोधेकी थिइन् । मैले पसिना पुछ्नका लागि असमिया डिजाइनको गम्छा घाँटीमा बेरेको थिएँ, जसलाई देखेर उनीबाट त्यस्तो जिज्ञासा आएको थियो ।

मलाई नेपालीबाहेक सबैले अनेक थोक भनेकाले  लाग्यो, मैले आफ्नो राष्ट्रिय सत्व स्थापित गर्न केही गर्नैपर्छ । त्यसैले केही नभए पनि विदेश यात्रा जाँदा र त्यहाँ रहँदा शिरमाथि नेपाली टोपी लगाउने मैले निश्चय गरेको हुँ र आफ्नो निर्णयअनुसार सकेसम्म चल्दै पनि आएको छु ।

संविधानले नै चिरा कोरेर वैधानिकता प्रदान गरेको छ । त्यस चिरालाई सम्भवतः अब कुनै पनि साइजको टोपीले छोप्न सक्दैन ।

तर शिरमा नेपाली टोपी ढल्काउँदैमा सबैले तपाईंलाई नेपाली भनेर चिनिहाल्छन् भन्नेचाहिँ कुनै ग्यारेन्टी नहुने रहेछ । आखिर हाम्रो देश भनेको विश्व मानचित्रमा सवा अर्बभन्दा बढी जनसंख्या भएका दुइटा ठूला मुलुकको चेपुवामा परेको एउटा सानो सुर्को हो, एउटा 'हाइफेन' अर्थात् एउटा योजक चिह्नजस्तो । संयुक्त राष्ट्रका १ सय ९३ वटा सदस्य मुलुकमध्ये एउटा निम्छरो मुलुक । बाहिरका मानिसले नेपाललाई हिमालय, सगरमाथा, लुम्बिनी, गौतम बुद्ध, गोर्खा आदि कुरासित जोडेर हेरिदिऊन् भन्ने हामी चाहन्छौँ । उनीहरु भने त्यसरी हेर्दैनन् । फेरि नेपालको नाम उजिल्याउने हामीले त्यस्तो के नै गरेका छौँ, जसका कारण उनीहरुले याद राखून् !

त्यसैले शिरमा टोपी लगाएकै कारण नेपाल भन्छन् भन्ने आशा नगरे हुन्छ । बरु इन्डोनेसिया र मलेसिया पो भन्छन्, विशेषगरी भादगाउँले कालो टोपी लगाएको अवस्थामा । भादगाउँले टोपी हाम्रो आफ्नै हो भन्छौँ, त्यो बेग्लै कुरा हो । तर कालो टोपी लगाउनेमा उनीहरुले देखेका त इन्डोनेसियाका सुकार्नो र सुहार्तोहरु अनि मलेसियाका महाथीरहरु न हुन् । हामीले लगाउने र इन्डोनेसिया, मलेसियाका मानिसले लगाउने टोपीको कपडा र ढाँचादेखि सिलाउने तरिका बेग्लै हुन्छ भन्ने उनीहरुलाई के थाहा !

अलिक झिल्के प्रकारको ढाका टोपी लगाएको बखतमा त उनीहरुले घाना र सेनेगल भन्न पनि बेर मान्दैनन् । एक जना गोरा युरोपेलीले मैले लगाएको ढाका टोपीप्रति लक्ष्य गरेर ठट्टा मिसाएर सोधेको थियो, 'तपाईं अफ्रिकाबाट आएको हो ?' त्यसो भनिरहँदा उसले मेरो छालाको रंगलाई भने बिर्सिएजस्तो लाग्यो मलाई । तर उसले त्यसो नभनोस् पनि किन ? उसले देखेको ता जायरका मोबुटु सेसे सेके टुरेजस्ताले लगाएको झन्डै हाम्रो ढाका टोपीकै झल्को दिने शिरपोस त हो ।

यति हुँदाहुँदै पनि विदेशमा नेपाली टोपी लगाएर हिँड्नाले केही फाइदा मिल्छ । टोपीले तपाईंलाई भीडमा अलग्गै छुट्याउँछ । मानिसको नजरलाई एक पटक आफूतर्फ आकषिर्त गराएरै छाड्छ, त्यो टोपीले । नेपाल कहिल्यै नआएकालाई त माने न मतलब ! तर नेपाल आइसकेकाहरुले देखे भने प्रायः 'ए तपाईं नेपालबाट आएको' भनेर कुरा थाल्छन् र आफू यहाँ आउँदाको अनुभव सुनाउँछन् । तपाईंको टोपी अपरिचितसित कुराकानी थालनी गर्ने एउटा राम्रो बहाना बन्न सक्छ । माउन्टेन फिल्म फेस्टिभलमा भेटिने भनेका अधिकत्तर पर्वतप्रेमी नै हुन्छन् । टोपीका कारण कोहीचाहिँ नेपाल कसरी आउने भनेर जानकारी पनि माग्छन् ।

पोर्चुगलको राजधानी लिस्बनको कुनै भित्री बजारमा एक्लै बरालिएर हिँडिरहेका बेला मलाई पछाडिबाट उछिनेर अघिल्तिर आई 'अंकल नमस्कार, कहिले आउनुभएको यहाँ' भनेर एक तन्नेरीले बाटामा भलाकुसारी गरेको रमाइलो घटना सम्झन्छु । बरा ! उसलाई काममा पुग्न ढिलो भइरहेको रहेछ, धेरै बेर कुरा गर्न सकेन । बीच बजारमा उभिएरै एकअर्काको जानकारी आदानप्रदान ग‍र्‍यौँ । धेरै समय दिन नसकेकामा दुःख मनाउ गर्दै ऊ आफ्नो बाटो लाग्यो ।  नेपाली टोपी नलगाएको भए त्यस तन्नेरीका आँखा ममाथि अवश्य पनि नपर्दो हो । कथम् परिहाले पनि नेपाली नै हो भनेर सायद ठम्याउन नसक्दो हो ।

यति हुँदाहुँदै पनि बिरानो ठाउँमा भेटिने सबै नेपालीले तपाईंको शिरमा टोपी देखेर त्यसै प्रकारको आत्मीयता प्रकट गर्छन् भन्नेचाहिँ छैन । 'ए यो पनि नेपाली रहेछ' भन्ने हेयको भाव उनीहरुका आँखामा प्रकट हुन सक्छन्, तर 'कहाँबाट आएको' वा 'कता जान लागेको' भनेर भलाकुसारी गरिरहने नेपालीपन त्यहाँ देख्न पाइँदैन । नेपालमा कुटिल नेता, काइते प्रशासक र घुस्याहा कर्मचारीका टाउकाको टोपी हेर्दा-हेर्दा वाक्क लागेर पनि हुन सक्छ, परदेशमा टोपी लगाएको आफ्नै देशबासी देख्दासमेत उनीहरुमा त्यस्तो विरक्ति पैदा भएको ।

पहिले-पहिले परदेशमा कुनै नेपाली भेट्दा आफ्नै परिवारजनलाई भेटेजस्तो हुन्थ्यो । एयरपोर्टमा जहाज पर्खंदै गर्दा पनि मितेरी गाँसिन्थ्यो । पहिलेभन्दा अचेल नेपालीहरु गतिमान भएका छन् । रोजगारीको सिलसिला वा पारिवारिक भेटघाट अथवा सभा-सम्मेलनमा भाग लिन विदेश यात्रा गर्नेहरु प्रशस्त हुन्छन् । 'प्याकेज टुर' मा देशदेशावरको भ्रमणमा जानेहरुको संख्या पनि बढ्दो छ । खाडी मुलुकका एयरपोर्ट भएर आउने-जाने नेपाली त कति भेटिन्छन्

कति ! तैपनि पहिले विदेशी भूमिमा नेपाली-नेपाली भेट हुँदा एकअर्काप्रति जुन निकटता वा आत्मीय भाव भेटिन्थ्यो,

हिजोआज त्यो नभेटिएको अनुभूति हुन्छ, चाहे तपाईं टोपी लगाउनुस्, चाहे नलगाउनुस् ।

उदाहरणका लागि, युरोपको कुनै एयरपोर्टको रेस्टरुममा मलाई देखेपछि एक नेपाली तन्नेरी ठिटोले मुख धोएर भित्तामा जोडिएको मिसिनबाट तान्नुपर्ने कागजको तौलियाले मुख छोपेको छोप्यै गरिरह्यो । सायद मलाई उसले मरमद्दत गर्नुपर्ला भनेर मसित ऊ तर्किन खोजेको होला भन्ने लाग्यो । उसलाई धेरै समय त्यस्तो अप्ठेरो परिस्थितिमा राखिरहनु उचित नहुने ठानेर म आफैँ सुरुक्क रेस्टरुमबाट बाहिरिएँ ।

अर्को प्रीतिकर नलाग्ने घटना पनि म सम्झन्छु । हामी नर्वेबाट मस्को हुँदै फर्किरहेका थियौँ । पाँच जनाको हाम्रो टोली ठूलै थियो । मस्कोमा हामी बसेको सिटकै एकदम पछिल्तिरको लहरमा दुई जोडी नेपाली आएर बसे । उनीहरु आपस्तमा 'सियोस्’ 'तियोस्' भनेर कुरा गरिरहेका थिए । हाम्रो टोलीको बोलीमा उनीहरुको जस्तो दरबारिया लबज नभए पनि बोल्न त हामी नेपाली नै बोलिरहेका थियौँ । हो, हाम्रो टोलीका चार जना कीर्तिपुरका स्थानीयबासी थिए । उनीहरुको मातृभाषा नेवार भएकाले आपस्तमा कहिलेकाहीँ नेवारीमा पनि कुरा गर्थे । मस्कोदेखि काठमाडौँसम्मको लामो उडानमा उनीहरु मात्र होइन, हामी पनि कैयौँ पटक सिटबाट उठ्यौँ होला, शौचालय गयौँ होला, हाम्रा आँखा एकअर्कासित जुधे होलान् । तर उनीहरुले हामीसित कुरा गर्ने किञ्चित चासो देखाएनन् । उनीहरुको चिसोपन देखेर हामीले पनि बोलचाल गर्नु आवश्यक ठानेनौँ । यही संवादहीनताको वातावरणमा हामी काठमाडौँ ओर्लियौँ, त्यसपछि त किस्सै खत्तम ।

यी सबै प्रसंग सायद नेपालीको बदलिँदो सामाजिक व्यवहारका अभिव्यक्ति हुन् । एकै ठाउँमा आमनेसामने बस्दा पनि बिल्कुनै बेवास्ता देखाउनुमा लाग्छ, प्रविधिले भूमिका खेलेको छ । आजको प्रविधिले सबैलाई आत्म केन्द्रित बनाएको छ, सबै जना आ-आफ्नो सेलफोनमा घोरिएर रमाइरहेका छन् । हरेक व्यक्ति आफैँमा मस्त छ ।

तर देशको परिस्थिति पनि त्यसका निम्ति जिम्मेवार छ । हामीले 'विश्वकै प्रगतिशील' संविधान त ल्यायौँ । 'हामी नेपाली' भन्ने एउटा ढिक्को भावनालाई जानेर होस् वा नजानी खण्डित पार्ने काम ग‍र्‍यौँ । अब नेपाली मात्र भनेर नपुग्ने भएको छ । नेपाली शब्दका अघिल्तिर 'खस आर्य', 'जनजाति', 'मधेसी' आदि उपसर्ग राखेर व्यक्तिलाई परिभाषित गर्नुपर्ने भएको छ । जस्तो, 'चाइनिज अमेरिकन', 'ब्ल्याक अमेरिकन' वा 'इन्डियन अमेरिकन' या 'ह्वाइट अमेरिकन' भन्ने गरिन्छ । मानिस अर्को मानिसको अनुहारमा आफ्नो जात, वर्ग वा सम्प्रदायको प्रतिविम्ब खोजिरहेको हुन्छ, एक्काईसौँ शताब्दीमा । नेपालीहरु आ-आफ्नै 'घेट्टो' को पर्खालभित्र बस्ने एक शताब्दीअघिका यहुदी बनेका छन् । यस प्रकार नश्लीय आधारमा मानिस-मानिसबीच कित्ताकाट गर्ने काम कि त 'थर्ड राइख' ले युरोपमा गरेको थियो कि हाम्रै देशमा जंगबहादुरले र सात शताब्दीअघि राजा जयस्थितिले ।

समग्रमा पहाडे संस्कृतिसित जोडिएको वस्तु हुनाले यसै पनि टोपी नेपालीको साझा पहिचानको चिह्न बन्न सकेको थिएन । अहिले त संविधानले नै चिरा कोरेर वैधानिकता प्रदान गरेको छ । त्यस चिरालाई सम्भवतः अब कुनै पनि साइजको टोपीले छोप्न सक्दैन ।

प्रकाशित: आश्विन १५, २०७६

ट्याग: निबन्ध