सार्वजनिक बसमा एक दिन
सहरमा घनघोर पानी परेको छ
हत्तारिँदै दगुरेको पुरानो माइक्रो बस
फोहोर सडकपेटी र यात्रुहरूका उदास अनुहार
साग बेचेर हस्याङफस्याङ गर्दै घर र्फकंदै गरेकी अपरिचित महिला
बसभित्रका सबै-सबै स्तब्ध यात्रीहरू
मेरो छेउ चुपचाप-चुपचाप बसेको मैलो अनुहारको केटो
यी प्रतिविम्बले के दर्शाउन खोजेको छ ?
भन्नुहोस्, सरकार साँच्चै के बुझाउन खोजेको छ ?
हो, धेरैपछि आज म सार्वजनिक बसको यात्रामा छु ।
ती थाकेका आँखाहरूले
सोध्न खोजेका प्रश्न...
चुपचाप-चुपचाप लामो आख्यान हो
काठमाडौँ सहरको हिलाम्मे सडक छिचोलेर
हिँडिरहेको यो सिटिबस
मेरो पनि उदास-उदास जीवनको प्रतिविम्ब हो
नागरिकलाई किच्लाझैँ गर्दै
कतै रात्रिभोजमा तुफानले हुइँकिएको
पीएमको यो गाडीको आतंक
कति दिक्कलाग्दो छ, मृत्युभन्दा पनि दिक्दार...
अफिस जाँदा होस् या साथीहरूसँग भेट हुँदा
कि यो सहरको पुरानो मन्दिर र गल्लीहरू चहार्दा
कि भृकुटीमण्डपको सुनिता खाजा घरमा त्यसै-त्यसै टोलाइरहँदा
कि यसो कहिलेकाहीँ हुने जम्काभेटमा
देशको आदिवासी कवि चन्द्रवीर तुम्बापोले भन्ने गरेको
यो देश हाम्रो होइन, भूगोल मात्र हाम्रो हो भन्ने शब्द...
त्यसरी आक्रोश ओकल्नु
यो देशका निम्ति खतरनाक संकेत हो ?
विचारको कति भयानक प्रस्थान हो ?
ती दिनहरूमा भृकुटीमण्डपमा हरेक दिनजसो
कवि
पत्रकार
गीतकार
संगीतकार
सबै-सबैको उपस्थितिमा साँझ र्फकन्थ्यौँ विद्रोह बोकेर ।
कि बागबजारको पुरानो रातो घरमा क्रान्तिको कुरा गर्दा होस्
कि जनयुद्धका ती उज्याला दिनहरूमा मुक्तिको सपना देख्दा होस्
यात्राका ती विकराल दिनहरूमा
म कहिल्यै यति उदास थिइनँ
म कहिल्यै यति अटेर थिइनँ
म कहिल्यै यति पराजित थिइनँ
म कहिल्यै यति वीभत्स थिइनँ
म कहिल्यै यति खाली-खाली थिइनँ
केही त भइरहेछु
किन म आक्रोशित भइरहेछु ?
किन विचलित भइरहेछु ?
पक्कै म केही भइरहेछु,
साँच्चै शून्य-शून्य भइरहेछु ।
बसको झ्यालबाट बाहिर नियाल्दा
बर्सिरहेको यो वर्षात र आकाशमा गर्जिरहेको चट्याङ
हामीबीचको मौनता तोड्ने माध्यम भइदिएको छ ।
ऊ मलाई हेर्छ, पुलुक्क
म उसलाई हेर्छु, पुलुक्क
कहिलेकाहीँ अचानक यसरी भेटिएका पात्रहरूले पनि जीवनमा कत्रो प्रश्न छाडेर जाँदा रहेछन्
के म त्यो केटोको उदास अनुहारलाई बिर्सन सकूँला ?
सायद, यो बेलुकी रिङरोडको अनाम किनारमा
रुझ्दै-रुझ्दै ऊ जाँदै गर्दा पानी परेको यो क्षण म कहिल्यै भुल्ने छैन
हो, परिवर्तनका निम्ति देखेको सपना भुलेकी छैन ।
जस्तो कि म पहिलोपल्ट अन्तरी फुपूको हात समाउँदै स्कुल गएको दिन
जस्तो कि पहिलोपल्ट आमाको आँखामा मेरो खातिर छचल्किएको माया महसुस गरेको दिन
पहिलोपल्ट बुबाले यो संसार छाडेर जाँदाको पल
पहिलोपल्ट लोकतन्त्र ल्याउन जुलुसमा हिँडेका ती दिनहरू
पहिलोपल्ट कवि बन्ने सपना बोकेर
यो सहरका कविगोष्ठीमा हिँडेका ती दिनहरू
ओहो ! सम्झँदा पनि सपना हो कि विपनाजस्तो लाग्छ ।
कसरी-कसरी बीस वर्षदेखि यो सहरमा छु ?
हो, धेरै वर्षपछि म आज सार्वजनिक बसको यात्रामा छु ।
प्रकाशित: आश्विन १५, २०७६