लघुशंकाको सजाय

-  रामलाल जोशी

कतै लघुशंका गर्दैमा सजाय पाइहाल्ने जमाना त्यो थिएन । मान्छेहरु खेत, बारी, झाडी, भित्ता, कान्ला, जहाँतहीँ लघुशंका गर्थे । आइमाईहरु बसेर, लोग्नेमान्छेहरु उठेर । मन लागेको ठाउँमा लघुशंका गर्दैमा कसैले कसैलाई सजाय दिइहाल्ने दिन कहाँ थिए र ! त्यस्तो अवस्थासँग कसैले साक्षात्कार गरेकै थिएन । परन्तु, एउटा अकल्पनीय सजाय मेरो जीवनमा भोग्नुपरेको यथार्थ मसँग छ ।

लाग्थ्यो, असोजका जून कहिल्यै नबुढून् । सरादे पूणिर्माका रात यस्तै रहून् । जुनेली रातको खेला कहिल्यै खत्तम नहोस् । हे भगवान्, यो सृष्टि सधैँ यस्तै रहोस् ।

किन लाग्थ्यो भने, धमिलो खोलाको डर हराइसकेको थियो । सङ्लो पानीमा खोलीमाछा लड्किन थालिसकेका थिए । काँकडी झुलमा काँक्राहरु पहेँलिन थालेका थिए । खेतमा धानका बालामाथि सुनको पाइन्ा चढ्न थालेको थियो । मकैका जरा उखेलेर बारीमा तोरी छर्न थालिएको थियो । घरहरु लिपपोत गरेर चिटिक्क पारिएका थिए । सूर्यको प्रचण्ड धुपलाई उत्तरका डाँडाहरुले मधुर पार्न थालिसकेका थिए । सुलीमा मकै चढाएर वर्षा ऋतु माइत गइसकेकी थिइन् । खेतबारी, घरआँगन, डाँडाचहुर, चारैतिर सफा र स्वच्छ मौसम । उसै पनि वर्षातको भेलले धर्ती-आकाश, डाँडा-पाखा,  सबैतिर धोइपखाली चिटिक्क पारिएको समय हो, शरद ऋतु ।

ती दिनमा मान्छेहरुको ध्यान या त पिङको चहई-चहईमा केन्दि्रत थियो या भजनकीर्तनमा । गाउँका सारा युवा तन्नेरी पिङमा मच्चिएका हुन्थे भने बूढाबूढीहरु भजनकीर्तनमा । बीचका अधबैंसेहरु न यता, न उता । उनीहरुको समय सायद उकुसमुकुसमै बित्दो हो । आ-आफ्नै ध्यानमा रमाइरहेका बेला हाम्रो समूहतिर चियोचर्चो गर्ने कसलाई फुर्सद ?

हामी गुँडबाट उडेका चराझैँ निस्फिक्री भएर जुनेली रातमा घुम्थ्यौँ । सडक, गल्ली, चोक, चौतारा, काँकडीझुल, यत्रतत्र आजाद भएर चहाथ्र्यौं । बढीजसो गाउँका काँकडीझुलहरु चहाथ्र्यौं । डुल्दाडुल्दै थकाइ लागे खुइतेले केराको पातको सुल्पा बनाउँथ्यो । गोर्खे त्यसमा गाँजा भथ्र्यो । घुम्ना रानाले स्यार्र-स्यार्र सलाई कोरेर लाउँथ्यो । मचाहिँ सुल्पाको ठेकमा मुख जोडेर स्वाइँस्वाइँ तान्थेँ । पालैपालो तानेर जब लठ्ठ हुन्थ्यौँ, फेरि काँकडीझुल खोज्दै डुल्थ्यौँ । एक होइन, दुई होइन, दसौँ थाक्राका काँक्रा स्वाहा पाथ्र्यौं ।

एक दिनको कुरा, राती दस बजेको हुँदो हो । हामी जमिनदार्नी सोनिकाको काँकडीझुलमा थियौँ । जमिनदार त्रिविक्रमकी सधवा पत्नी सोनिकाले मलवारको मौजा एक्लै धानेकी थिइन् । आधा मौजा धनगढी थियो । जमिनदार प्रायः उतै बस्थे, अर्की पत्नीसँग । गाउँको जमिनदारी सोनिकाले नै धानेकी थिइन् ।

दस बजेतिरकै कुरा हो । मान्छेहरु प्रायः सुतिसकेका थिए । चरामुसाको पनि चाइँचुइँ थिएन । शरद ऋतु न हो, यसबेला कुकुर पनि आफ्नै मस्तीमा हुँदा हुन्, सायद । हामी निर्धक्क भएर काँक्राका लहरा तान्न थाल्छौँ । थाक्रामा चढेर चार वटा काँक्रा खुइतेले टिप्यो । भुइँबाटै लहरा लुछेर तीन वटा घुम्ना रानाले चुँड्यो । दुइटा गोर्खेले र दुइटा मैले टिपेँ । आलीमा बसेर खुइते खितखित गर्दै थियो । गोर्खेले 'नहाँसीकन खा' भन्यो । खुइतेले त्यसै गर्‍यो । आवाज ननिकालीकनै मुसुमुसु हाँस्यौँ, र कर्‍याम-कर्‍याम काँक्रा चपायौँ । फेरि टिप्यौँ, फेरि खायौँ । फेरि टिप्यौँ, फेरि खायौँ । काँकडीझुलका काँक्रा सकिए । खुइतेले फेरि केराका पातमा चिलिम भर्‍यो । दुई-दुई सर्का गाँजा तान्यौँ । गोर्खेले अर्को काँकडीझुलतिर जाने प्रस्ताव गर्‍यो । खुइतेले उठ्ने बेला भन्यो, 'पख थोडा मुतेर जाऊँ ।'

काँक्रा जाबो मुतेर पानी हुने चीज न हो । त्यतिका खाएपछि पिसाब नलागी के लागोस् त ? पिसाबले च्यापेको थाहा पाएपछि हामी लहरै उभियौँ । खुइते जमिनदार्नीको घरको भित्तातिर फर्कियो, घुम्ना काँकडीझुलतिर । गोर्खे अम्बाको फेदतिर सोझियो, मचाहिँ भर्खर जोतेर सम्याएको गह्रामा लघुशंका गर्न थालेँ । भर्खरै जोतेर गह्राको माटो मज्जाले पाटिएको थियो । सायद तोरी छरेर फ्ल्यागले पाटिएको । देख्दै रहर लाग्दो । लडीबुडी खेलौँजस्तो, समथर ।

जहाँ काँक्रा खायौँ, त्यो पानी त्यहीँ निखि्रँदै थियो । घुम्ना रानाले काँक्राका पात बजाउँदै थियो, गोर्खेले चाहिँ सुकेका स्याउला । घरको भित्तातिर फर्किएर खुइते तुरतुर गर्दै थियो । यता मेरो पिसाबको धारोले भने पाटिएको जमिनमा खोपिल्टो पारिसकेको थियो । फिँज उठिरहेथ्यो त्यहाँबाट । वाह ! हामी निर्धक्क भएर गहिरो सास लिइरहेका थियौँ ।

हामी कति बेपर्वाह बुद्धु । होस गुमाएका लठुवा, हैट् ! अनायास हाम्राअगाडि हातमा लाठो लिएर देखा परिन्, जमिनदार्नी सोनिका । उफ ! मेरो सातो गयो । खुइतेको खितखित कहाँ भाग्यो कहाँ । पिसाब नटक्टक्याइकनै हामी कुलेलम ठोक्यौँ । कति पिसाब कट्टुमा चुहियो, कति जाँघभरि तुर्कियो, होस कहाँ हुनु ।

एक सासमा हामी द्यौरामहल पुग्यौँ । द्यौरामहल त्यो पुरानो भग्नावशेष हो, जहाँ दिउँसोतिर बूढापाकाहरु सुखदुःखका कुरा गरिबस्थे । गाउँका सारा मान्छेहरुको जमघट हुने साझा चौतारी थियो । रातमा भने आवारा केटाहरु गफ चुटिबस्थे अथवा गाँजाको धुँवा उडाउँथे । बिहान सबैभन्दा पहिला पुग्ने मान्छेले यदाकदा एक-दुइटा कन्डम पनि त्यहाँ भेट्टाउँथ्यो ।

त्यहाँ पुगेर हामीले आ-आफ्ना मुटुका धड्कन छाम्यौँ । हाम्रो ढुकढुकी हाम्रो थिएन । धड्कनहरु विरानाजस्ता भएका थिए । नसा छाडेर रगतचाहिँ कहाँकहाँ उफ्रिनखोजिरहेथ्यो । थमथम्यायौँ ।

यता जमिनदार्नी सोनिकाले हातको लाठो फ्याँकिन् । काँकडीझुलतर्फ हेरिन्- दिउँसो देखेका काँक्रा एउटै थिएनन् । लहरा लुछलाछ पारिएका थिए । काँक्राका पातमा मुतेर सिकसिको पारिएको थियो । उनी भित्रैदेखि दुःखी भएर आइन् । धरधरी रुन मन लाग्यो, उनलाई । सरादलाई भनेर राखिएका काँक्रा एक पनि बाँकी थिएन । भित्रभित्रै आक्रोशको ज्वाला दन्कियो । उता भित्तातिर नजर पुर्‍याइन्, आधै भित्ता मुतका लहराले भिजेको थियो । 'छि ! छि ! ! छि ! ! ! मरिजाएस आवारा खाते ।' नमीठो मुखले प्याच्च थुकिन् ।

'कोर लागेर मर्न नसकेका चोरका छौँडाहरु । पख न, तिमीहरुलाई मैले जानेकी छु ।'

बर्बराउँदै जब आलीमा पुगिन्, टक्क अडिइन् , उनी । निहुरेर यसो ध्यानले जब हेरिन्, छक्क परिन् । कारण, त्यहाँ पिसाबले पारेको खोपिल्टो थियो । निहुरेर एक पटक फेरि हेरिन् । अहिले भर्खरैको दुःख र आक्रोश बिर्सिइन् । उनका मनमा कस्तो-कस्तो आश्चर्य भनौँ या रमाइलो लागेर आयो ।

'के यो पिसाबले पारेको खोपिल्टो हो ?' मनमनै उनी बर्बराउन थालिन्, 'लोग्नेमान्छेको पिसाबले पनि जमिनमा खोपिल्टो पार्न सक्छ ?' उनी छक्क परिन् ।

पत्याउन उनलाई गाह्रो भयो । उनले सुस्तरी दायाँ खुट्टाको बूढीऔँला खोपिल्टोमा चोबिन् । अहो ! पिसाबको तातोपनाले शरीरमा एक प्रकारको तरंग पैदा गर्‍यो । भित्र कतै भुइँचालो गएजस्तो भयो, उनको देहमा । एउटा अञ्जान तुफानी संवेग हो, या कामत भैरवी, चढिन् उनका शरीरमा ।

सोचिन्, 'यस्तो खाल्डो पार्ने गरी मुत्ने शक्ति पनि हुँदो रहेछ मान्छेमा ? को होला त्यो ? कस्तो होला, त्यो वीर पुरुष ? कति बलवान् होला, त्यसको कामशक्ति, जसले जमिनमा खोपिल्टो पार्न सक्यो ।'

सम्झेरै उनी भुतुक्क भइन् ।

सुस्तरी फेरि दायाँ खुट्टाको बूढीऔँला त्यहीँ राखिन् । उफ ! फेरि उस्तै तातो । उनको हृदयले एउटा रापिलो उच्छवास छाड्यो,

'ए पुरुष  !  धर्तीलाई तताउन सक्ने कस्तो वाफिलो शक्ति हँ ।' निहुरेर नाक खोपिल्टोको नजिक पुर्‍याइन् । सुस्तरी सुँघिन्, आहाहा.... लठ्ठ पार्ने कस्तो मादकता । सुगन्ध हो कि दुर्गन्ध, उनले छुट्याउनै सकिनन् । उनी मदहोस भइन् । त्यस मोहम्बला शक्तिकी फिदा भइन् उनी । नजाने कामावेशको एउटा संवेगमा उनका बेहोसी पाइला कता चले, चले ।

हामी द्यौरामहलको भग्नावशेषमा अट्टहास गरिबसेका थियौँ । गाँजाको धुँवाले हाम्रो अनुहार छपक्कै ढाकेको थियो । आफ्नै पागलपनमा एक किसिमको आनन्द हामी लुटिरहेका थियौँ । रातको करिब एघार बजेको हुँदो हो । अझै पनि कतै टाढा पिङ खेल्नेहरुको चचहुई चलिरहेको थियो । भजनकीर्तन गर्नेहरुको तुमुल आवाज गाउँबाट आइरहेको थियो ।

अट्टहासकै बीचमा फेरि एउटा आकृति आएर हाम्रा अगाडि खडा भयो । उही आकृति । एउटी रौद्ररुपिणी भैरवी हाम्राअगाडि खडा भइन् । जमिनदार्नी सोनिकाले नीलो गाउन घुँडाभन्दा थोरै माथि सारेकी थिइन् । त्यस मध्यरात्रिमा पनि पिडौला उनका प्रस्ट थिए- सेता ।

कम्मरमा हात लाएर रौद्ररुपिणी सोनिका गर्जिइन्, 'पख, तिम्रा बाउको बिहे देखाउँछु भोलि, लम्फु ज्याद्राहरु हो ।'

हाम्रो होस उड्यो । कट्टुमै पिसाब चुहिएलाजस्तै भयो । हे भगवान् ! कसो गर्नु हो, सुझसमझ केही आएन । जमिनदार्नी सोनिकाको रिस नबुझ्ने को थियो र गाउँमा ? कसलाई थिएन र उनको रिसाहा रुपको परिणति ?

 स्कुलमा कुरा पुग्यो भने रेस्टिकेट नहुने कुरै थिएन । खुइते, घुम्ना र गोर्खे भने घरबाट समेत निकाला हुने कुरा पक्का थियो ।

हामीले चुपचाप आ- आफ्ना सास बन्द गर्‍यौँ । बघिनी गर्जेझैँ जमिनदार्नी सोनिका गर्जिइन्, 'तोरी बोएको ठाउँमा मुत्ने को हो हँ ?'

आम्मै ! के अनिष्ट आइलाग्यो हे भगवान् ! त्यहाँ मुत्ने त मै थिएँ । मेरो सास बन्द होलाजस्तो भयो । कोही चुँ बोलेन । अपराधबोधले शिर झुकेका थिए ।

'को हो, भन्छौ कि दाउराले लपेटौँ ?'

उनको हातको दाउराको चिर्कटो माथि उठ्यो । सबभन्दा पैला खुइतेले कन्सिरी कन्यायो, 'म होइन, ऊ त्यो .... ।' खुइते चोरले आफ्नो चोरऔँला मतिर सोझ्याई दियो । घुम्ना झन् बाठो भयो, 'मैले टेसलाई जोटेको जागामा नामुट भन्याठेँ, मानेना ।"

गोर्खे झन् रुन्चे भयो, 'सब यल्ले गर्दा हो ।'

सारा दोष ममाथि थोपरेर आफू पानीमुनिको ओभाना हुन खोजे साथी भनाउँदाहरु ।

मेरो दाँतबाट पसिना छुटे । के बोलौँ ? बोल्ने मसँग शब्द थिएन । लाजले मुख रातो भयो, शिर तल । डरले मुटु थरथर भयो । घोर्ले बघिनीझैँ घुरेर उनले मलाई हेर्न थालिन्- मोटामोटा पिडौला, सुडौल जाँघ । खाइलाग्दा पाखुरा, भरिलो छाती । पुक्क परेका गाला, गठिलो शरीर । जवानीमा फक्रिन लागेका मेरो शरीरका एक-एक अंग घुरेर हेरिसकेपछि घुटुक्क थुक निलिन् ।

जुनेली रातमा द्यौरामहलअगाडि उभिएकी जमिनदार्नी सोनिका गर्जिइन्, 'भन्, तँलाई के सजाय दिऊँ ?' उनका हातको दाउराको चिर्पट फेरि माथि उठ्यो । मेरा पसिना छुटे ।

'जमिनदार्नी साहेब, हेडमास्टरलाई नभन्दिनुस् । गल्ती भयो । माफ पाउँ ।' मैले दस औँला जोडेँ ।

'तेसो भए सुन्', उनी भन्न थालिन्, 'आजको रात तँ मेरा बाख्रा कुरेर बस् । यै पालि बाघको बिगबिगी छ । डरले बाख्रा रातभरि चिच्याइरहन्छन् । बाख्राखोरको टाँडीमा सुतेर बस् । मान्छस् कि मान्दैनस्, भन् । ए केटा हो, तिमीहरु आ- आफ्ना घर जाओ ।'

पसिना छुटे । यो उमेरमै मैले बाघको आहारा बन्नुपर्ने भो त ?

बाख्राको खोर उनको घरभन्दा अलि पर आँगनको छेउमा थियो । गाई भैँसीका गोठहरु पनि थिए । तर मान्छेको आश्रय थिएन । खोरबाट दुई-चार बाख्रा बाघले तानेको पनि सुनिएको थियो । मान्छेहरुको भनाइ के पनि थियो भने जमिनदार्नीको बाख्राखोरको टाँडीमा राती चुडैल पनि आउँछ । त्यही भएर उनका कामदारहरु राती कोही बस्न सक्दैनन् टाँडीमा । हे भगवान् ! बारीमा एक तुर्को मुतेबापत आज मैले त्यस्तो सजाय भोग्नुपर्ने भयो । एकातिर बाघको डर, अर्कोतिर चुडैलको । मेरो जिउमा थरहरी छुट्यो ।

मैले भनेँ, 'खुइते म अब यहाँ पढ्दिनँ । यो ठाउँमा बस्न पनि बस्दिनँ । आजको रात बाँचे भने भोलि बिहानै उकालो लाग्छु ।'

खुइतेले यस पटक खितखित गरेन । अस्वाभाविक ढंगले ऊ गम्भीर भयो । उसका अनुहारमा विषादका धर्का कोरिए ।

एउटी रक्तमदा बघिनीका मुखमा एक्लै मलाई छाडेर केटाहरु आ- आफ्ना घरतिर लागे । जमिनदार्नीले भनिन्, 'चल् ।'

म उँधो मुन्टो गरेर उनका पछि लागेँ । बाटोभरि मलाई लागिरह्यो- रिसाहा जमिन्दार्नीको हातबाट कति बेला दाउराको चिर्पट मेरो टाउकोमा बजि्रन्छ । तर उनले त्यसो केही गरिनन् । घर पुगिसक्दा बरु माया पो देखाइन् । भनिन्-

'आवारा केटाहरुसँग डुलिहिँड्छस्, भोकै त होलास् नि ? खाना खाइस् ?'

मैले उनको मुख हेर्न सकिनँ । टाउको तल गरिरहेँ । बरन्डाको खाट देखाउँदै भनिन्, 'बस् ।'

आखिर म एक अपराधी न थिएँ । शिर झुकाएरै बसेँ । उनी भित्र पसिन् । एकछिनपछि थालभरि भात ल्याएर आइन्, कचौराभरि मासु । भनिन्, 'यत्ति नै बच्याथ्यो, भोकाको होलास्, खा ।'

मलाई विश्वास लागिरहेको थिएन- अघिकी रणचण्डी सोनिका के यिनै हुन् ? सानै समयको अन्तरालमा पनि एउटी स्त्री कसरी भैरवी र मायावी शान्तिको अलग-अलग रुपधारण गर्दी रै'छ, त्यसको ताजा उदाहरण थिइन्, जमिनदार्नी सोनिका । उनले मलाई सजाय दिनका लागि आफ्नो कब्जामा लिएकी थिइन् । परन्तु, एउटा अपराधीका लागि असोजको त्यस मध्यरात्रिमा उनी किन यति मायालु बनिरहेकी थिइन्, मैले बुभmन सकिनँ ।

खाना खाइसकेपछि मलाई बाख्राखोरको टाँडमा पुर्‍याइन् । बिस्तरामा सेतो तन्ना बिछ्याइदिइन् । भनिन्, 'केइ डर नमानेस्, सुत् ।'

मैले अझै उनको मुख हेर्न सकेको थिइनँ । उनी फर्किइन् ।

उनी गएपछि मेरो मनमा विचारका हुन्डरी चल्न थाले । यो कस्तो सजाय हो, बुझ्न सकिनँ । एउटा अपराधीलाई जमिनदार्नी सोनिकाले अस्वाभाविक माया किन देखाइन् ? मासु भात किन खुवाइन्  ? तन्ना फेरेर बिस्तरा किन लाइदिइन् । यति माया गरेर फेरि किन मलाई बाघ र चुडैलको मुखमा धकेलिन् ? के एउटा अभियुक्तलाई मृत्युदण्ड दिनुभन्दा पहिला उसको इच्छा लागेको खानेकुरा दिने मान्यताअनुसार मलाई मासुभात खुवाएकी हुन्, जमिनदार्नी सोनिकाले ? नत्र त्यत्रो बंगला हुँदाहुँदै किन यस मध्यरात्रिमा बाघ र चुडैलको मुखमा धकेलिन् मलाई ? हँ, किन ?

पटक-पटक मनमा यही डर उब्जन्थ्यो कि-कतिखेर बाघ आउँछ र ह्वाँ.... गरेर मुख बाउँछ । कतिखेर चुडैल आउँछे र नंग्रा गाड्छे । उफ ! मनभरि त्रास बोकेर निदाउन कसरी सक्नु ? पलपलको त्रास, बेचैनी र छटपटीले मुटु आधा भइसकेको थियो ।

तलतिर बाख्राहरुले घर्‍याङघुरुङ गर्दा पनि सास निस्केलाजस्तो हुन्थ्यो । पाठाहरुले म्याँम्याँ गर्दा पनि लाग्थ्यो, बाघ नजिकै आइसक्यो । डरले मुटु थुरथुर हुन्थ्यो । माथि छानामा छेपारो अथवा फट्यांग्राले खसखस गर्दा पनि लाग्थ्यो- चुडैल आइहाली । क्षणक्षणमा प्राण खुस्केजस्तो हुन्थ्यो । भित्रैदेखि रोऊँ-रोऊँ लागेर आयो 'भगवान् ! आजको रात बाँचेँ भनेँ बस्दिनँ यो ठाउँमा । पढाइ-सढाइ भाडमा जाओस् ।"

पलपलसँगको संघर्षमा म कमजोर भइरहेको थिएँ । यत्रो त्रासका बीचमा पनि कसरी-कसरी तन्द्रावस्थामा पुगेछु । जब म तन्द्रावस्थामा पुगेँ, एउटा आश्चर्यलाग्दो र रोमाञ्चक क्षण मेरो अगाडि आइपुग्यो । मेरोसामु एउटा नारी आकृति खडा भएजस्तो लाग्यो । सुस्तरी त्यो आकृति बाँगिँदै-बाँगिँदै ममाथि घोप्टियो । मुलायम हातहरु मेरो छाती र गालामा स्पर्श गर्न आए । गुलाबका पत्ताहरु मेरो ओठमाथि आएर चलमलाएजस्तो लाग्यो । गह्रुँगो भारीले मलाई थिचेझैँ लाग्यो । आहा ! कसिलो बाहुको रापले मलाई मदहोशमा पुर्‍यायो । नजाने अघिको डर खै कहाँ भागेर गयो । मैले आफ्नो दुनियाँ बिर्सिएँ । म कतै अलौकिक आनन्दमा पुगेको आभास भयो । त्यो क्षणको सुख कस्तो थियो, शब्दमा बयान गर्न सक्दिनँ म । त्यो रातले लगाएको गुन कस्तो थियो, बिर्सन कहिल्यै सक्दिनँ म ।

बिहान उठ्दा सूर्य सिमलको टुप्पोमा आई बसेको थियो । हतार-हतारमा म टाँढबाट ओर्लिएँ । निस्किन लाग्दा जमिनदार्नीले हातमा एउटा झोला थमाइदिइन् । भनिन्, 'कस्तो झुत्रो लुगा लाएको रै'छस्, दुई जोर कपडा हाल्दिएकी छु । चक्रे दर्जीकहाँ सिलाउन दिएस् । झोलामा चिउरा र नमकिन राख्दिएकी छु । भोक लाग्दा खाएस् । अबदेखि यस्तो बदमासी कहिल्यै नगरेस्, राम्ररी पढेस् ।'

मेरो आङमा स्नेहका काँडा उमि्रए । उनको मुख हेर्न सकिनँ । मैले झोला काँधमा भिरेँ । दुवै हातले चिम्सा आँखा निमोठ्दै द्यौरामहलतर्फ हान्निएँ । खुइते, घुम्ना र गोर्खे सायद रातभरि सुत्न सकेनन् । उनीहरु पहिल्यै त्यहाँ पुगिसकेका थिए । मप्रति चिन्ता र उत्सुकता थियो, उनीहरुमा । त्यसैले देखेर पनि सदाझैँ खितखित गरेन खुइतेले । घुम्ना राना जिस्किएन । गोर्खेका अनुहारमा खुसीका धर्का दौडिए । म बाँचेर आएकामा हषिर्त थिए, उनीहरु ।

खुइतेले भन्यो, 'एई, राती सुतिस् कि सुतिनस् ? निदाउन सकिस् ? निद्रा पर्‍यो ?'

'अहँ, सकिनँ नि । कहाँ निदाउन सक्नु ? कसरी निद्रा पर्नु त्यस्तोमा ? नसुतेरै झुलुक्क उज्यालो भयो ।'

'अनि के ऐल्यै घर फर्किन आँटिस् ? झोला बोक्या छस् त ।' गोर्खे अचम्मित भयो ।

'सुन् गोर्खे,' मैले भनेँ, 'अब म घर फर्किन्नँ । ह्यैँ बसेर सके पढ्छु, नसके जमिनदार्नीका भैँसी चराउँछु । गोठालो बन्छु । जमिनदार्नीकै खेत जोत्छु । खेताला बस्छु । तर घर फर्किन्नँ । गोर्खे । अहँ, अब म मरिगए घर फर्किन्नँ ।'

गोर्खे ट्वाँ परेर हेर्न थाल्यो । घुम्ना र खुइतेले पनि कन्सिरी कन्याए । बोल्न केही सकेनन् ।

प्रकाशित: आश्विन १५, २०७६

ट्याग: कथा
×