डायन

- आन्विका गिरी

रामचन्दरसँग म स्कुलमा हाजिर भएकै दिन भेट भएको थियो । भेट हुनु स्वाभाविक पनि थियो । ऊ स्कुलको पियन अनि म अंग्रेजी पढाउने नयाँ मास्टर । हेडसर विमलेश्वरले सबैसँग चिनाउँदा रामचन्दरसँग पनि चिनाए, 'अलि धेरै बोल्छ तर सब काम गर्छ । तपाइर्ं यहाँ नयाँ हुनुहुन्छ, केही चीज जरुरत भयो भने यसलाई अह्राउनुहोला ।'

उनले रामचन्दरलाई मलाई धेरै बोलेर दुःख नदिन पनि भने, 'बेसी बकबक नै करियही ! '

रामचन्दर हेडसरको कुराले मुस्कायो । उचाइमा मभन्दा अलि अग्लो रामचन्दरका आँखा भित्र धसेका थिए । ज्यान ठिक्कको थियो । बाइस काटेजस्तो लाग्दैनथ्यो । कपाल बायाँ सिउँदो पारेर तेल लगाएर कोरेको थियो । सर्ट, पाइन्ट मिलाएर लगाएको ऊ आफैँकुनै मास्टरझैँ नै देखिन्थ्यो । कपाल मिलाउँदा देखेँ, उसको निधारमा खत । निधारमा खत त मेरो पनि थियो । त्यसैले पनि रामचन्दर मलाई नजिकको लागिहाल्यो, अरु बातचित त हुन पाएकै थिएन ।

वीरगन्जबाट एकैचोटि मेरो सरुवा धनुषा भएको थियो । मलाई त बुटवल जाने चाहना थियो । परिवार उतै थियो तर चाहेजस्तो भएन । सोर्स पनि लगाएकै हो । तर सोर्सको फोर्स दह्रो रहेनछ अनि चित्त बुझाएर यो फिरकवाँ गाउँमा आइपुगेँ म ।

रामचन्दरसँगको भेट स्कुलमा मात्र सीमित भएन । मेरो बसोबासको व्यवस्था रामचन्दरकै घर नजिक हरिश कायस्थकहाँ भएकाले म उसकै साइकलमा चढेर स्कुल आउने-जाने गर्न थालेँ । बस्ने ठाउँदेखि दस मिनेटको दूरीमा भएको स्कुलमा रामचन्दर साइकलमै जान्थ्यो । भर्खरै बिहे गरेको उसले साइकल दहेजमा पाएको थियो । भन्थ्यो, 'अब ससुरालीले दिइसकेपछि चढ्नु त पर्‍यो ! मैले सही बात गरेँ कि गरिनँ भन्नुस् त ?'

'हो हो', म हाँसिदिन्थेँ ।

हरिश गाउँका मुखियाझैँ थिए । उनले भनेको जे पनि चल्थ्यो । प्रशस्त जग्गा-जमिन भएकाले पनि उनको भाउ बढी हुने नै भयो । अंग्रेजी पढाउने मास्टर भनेपछि उनले स्कुलमा बस्ने कोठा हुँदाहुँदै पनि आफ्ना छोराहरुलाई पढाउन मलाई आफ्नो घरमा राख्न स्कुललाई दबाब दिएका थिए रे ! यो कुरा मलाई रामचन्दरले स्कुल जान थालेको दोस्रो दिनै भन्यो । नभन्दै चौथो दिनबाट हरिशका छोराहरु मेरो कोठामा किताब लिएर छिरे । मेरो पनि खास काम के नै थियो र साँझमा ! मैले पढाउन सुरु गरेँ । ठूलो केटो परविन ७ मा र सानो केटो सन्तोष ६ मा पढ्थ्यो । हरिशले आफ्ना १६ र १८ वर्षकी दुई छोरीको बिहे गराइसकेका थिए ।

'केटाहरुलाई तगडा बनाइदिनुहोला सर,' उनले कुस्ती खेलाउन खोजेझैँ गरेर भने, 'एउटालाई म डाक्टर पढाउँछु, अर्कोलाई इन्जिनियर बनाउँछु ।'

'म कोसिस गर्छु', मैले पनि पहलमानी भाषामै भने, 'केटाहरु यसै पनि कमजोर छैनन् ।'

केटाहरु कमजोर थिएनन् पनि । दुवै कक्षामा फस्र्ट थिए । म माविलाई पढाउन भनेर गए पनि ७ कक्षामा पनि अंग्रेजी पढाउँथे । स्कुलमा शिक्षकको अभाव थियो, हेडसरले त मलाई विज्ञान पनि पढाइदिन भनेका थिए तर मानिनँ । सक्ने कुरै थिएन, त्यसैले मान्ने कुरा पनि थिएन । स्कुलमा जति कक्षा माथि बढ्दै गयो, त्यति छात्राहरुको संख्या कम थियो । कक्षा १० मा त हेडसरकी छोरी मात्र थिई । उसको पनि एसएलसी पास गर्नेबित्तिकै बिहे गरिदिने दाउमा थिए, हेडसर ।

'के गर्नु भन्न त नमिल्ने तर हाम्रो विरादरीमा धेरै पढेपछि बिहेको मुस्किल पर्छ', उनले एक दिन मलाई भने, 'प्रत्येक वर्ष महँगाइ बढ्दै जान्छ अनि दहेजको भाउ पनि बढ्दै जान्छ ।'

रामचन्दर दुसाद जातिको थियो । त्यसैले ऊ सोझै हरिशको आँगनमा छिरेर मलाई बोलाइहाल्दैनथ्यो ।

'सर जल्दी करु ! ' ऊ बाहिरैबाट चिच्याउँथ्यो, 'अबेर भेलै ! '

कहिले भने आफू आएको संकेत घन्टी बजाएर दिन्थ्यो । एक दिन रामचन्दर हरिशको घरअगाडि साइकलको घन्टी बजाइराख्दा उनले भनेको सुनेँ,

'मास्टर बाबुकें निक जका लजाही । फेर बीच पैरा मे नै गिरैए ।'

रामचन्दरले गाउँका सबैबारे मलाई भन्न भ्याइसकेको थियो । कसले कसको खेत अधियाँमा गर्छ, को कहाँ कति कमाउँछ ? कसको घरमा भात पाक्छ अनि कसको घरमा रोटी । यहाँसम्म कि कसले, कसकी स्वास्नी ताकेको छसम्म भन्न भ्याएको थियो । म उसका यस्ता कुरामा चासो दिन्नथेँ । वीरगन्जमा ५ वर्ष पढाएकाले म भोजपुरीमा मिसाएर टुटेफुटेको मैथिली बोल्थेँ । स्कुलका धेरैजसो सर वरपरका थिए, हिसाब पढाउन मोरङबाट आएका दीपक चौधरी यतैको रंगमा रंगिसकेका थिए । रामचन्दर मेरो भोजपुरी बिगारेर मैथिली सपार्न लागिपरेको थियो । त्यसैले स्कुल जाँदा र फर्कंदा ऊ मलाई मैथिली क्लास पनि दिइरहेको थियो ।

जनकपुर बजारबाट दस-बाह्र किलोमिटरभित्रको फिरकवा गाउँको बस्ती बाक्लो थियो । एकसँग अर्को घर जोडिएका थिए । दुई चार घर बाहुनको भए पनि धेरै दुसाद, डोमका नै थिए । गाउँबाट बाहिर निस्कनेबित्तिकै एउटा ठूलो पोखरी थियो, जहाँ गाउँलेहरु लुगा धुने, भाँडा माझ्ने र दिसा धुने सबथोक गर्थे । धेरैले त हरिशकै जमिनमा घर ठड्याएका थिए । रामचन्दरले पनि । गाउँमा धेरैजसो महिला घुम्टोभित्रबाट संसार हेर्थे । घरभित्र जे भए पनि बाहिर टाउकोमा हातले नसमाई ढाकी बोक्दा पनि उनीहरु घुम्टो ओढेरै बाटो पहिल्याउँथे । मलाई यस्ता दृश्यले अचम्मित पार्छ, धूमिल दृश्यमा पनि गोडा नअलमलिएको देख्दा !

एकाध बूढी महिलाहरुको अनुहार मात्र खुला हुन्थ्यो । ती पनि कि विधवा थिए, कि त गतिछाडा थिए, रामचन्दरको भाषामा । हरिशकी स्वास्नीको पनि म घरमा भएका बेला आवाज मात्र सुन्थेँ । उनी पनि मलाई देख्नेबित्तिकै घुम्टोभित्र लुकिहाल्थिन् । मसँग त कमै बोल्थिन् । कि प्रवीण कि सन्तोषले नै आमाको काम टार्थे, 'केही चाहियो सर ?'

'हाम्रो चलन यस्तै छ, सर । उनीहरुलाई बानी परिसकेको हुन्छ,' रामचन्दरले बाँकी मैथिलीमा भन्यो, 'घरमे त ठिके छै लेकिन बाहर आ दोसर मरदेके आगु घोघे निक लागैछै ।'

यो चर्चा मैले हरिशजी र हेडसरसँग पनि चलाएको थिएँ । उनीहरुको जवाफ पनि रामचन्दरकै जस्तो थियो । म सोच्थेँ, उनीहरु आफैँले निधो गरेर घुम्टो ओढ्दा हुन् त बाहिरको उज्यालो कसलाई मन नपर्दो हो ! मैले पनि उनीहरुलाई  सोधिनँ । मैले पनि उनीहरुले मालिक भने कैसँग जवाफ मागेँ । उनीहरुलाई सोध्थेँ भने भन्दा हुन्, आफ्ना कुरा ! अरुलाई सोधेपछि थाहा पाइयो, अरुकै कुरा ।

रामचन्दरको बुबा पहिला हरिशकै खेत कमाउँथे । उनको ढाड दुख्न थाल्नु र रामचन्दरले पिउनको जागिर पाउनु एकै साल भयो । अनि उनी घरमै बसेर चिलिम तान्न थाले । रामचन्दरकी आमा र स्वास्नी घरकै भातभान्सामा व्यस्त थिए । रामचन्दरकी दिदी मरेपछि भिनाजुले अर्को बिहे गरेकाले उसले भान्जालाई आफूसँगै राखेको थियो, जो सरस्वती माविमै ५ मा पढ्थ्यो ।

'कमाइ थोरै छ,' रामचन्दरको गुनासो थियो, 'बोझ धेरै छ । सर म त दुबई जान्छु होला ! '

म उसलाई देशमै बसेर केही गर्न सकिन्छ भनेर ढाडस दिइरहन्थेँ । त्यसताका माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो । फिरकवा गाउँमा पनि रातीराती मान्छे हिँड्छन् भन्ने हल्ला थियो । स्कुलमा पनि चन्दा संकलनका लागि पत्र आउने कुराले पूरा स्कुल हल्लिएको थियो ।

'सर म त दुबई जाने नै भएँ,' रामचन्दरले एक दिन म साइकलमा चढ्नेबित्तिकै भन्यो, 'तपाइर्ं देश बन्छ नभन्नु होला । गाउँमा माओवादीको बिगबिगी बढ्न थालेको छ अनि अब त मेरी स्वास्नी पनि पेटकी छे ।'

मैले केही भनिनँ । मलाई त लागेको थियो, मेरो ढाडसले काम गरिरहेका थियो । तर केही दिनमै उसले पियनबाट राजीनामा दियो । अर्को नयाँ पियन लछमन काममा आउन थाल्यो ।

रामचन्दर जाने अघिल्लो साँझ धेरै कर गरेपछि म उसको घरमा खाना खान गएको थिएँ । उसले आफ्नी आमा, बाउ र स्वास्नीलाई चिनायो । मैले बाउलाई त चिनेँ तर स्वास्नी र आमाको नमस्कार भन्ने आवाज मात्र सुनेँ । भान्जा सुरेशलाई त मैले पहिलेदेखि नै चिनेकै हुँ ।

'सर म गएपछि यो सुरेशको मामीलाई चिठी लेख्न मद्दत गर्दिनुहोला ।' रामचन्दरले खाँदै गर्दा भन्यो ।

'सुरेशले लेखिहाल्छ नि ! ' म पन्छिन खोजेँ ।

'यी चपाट मनक बात कि उतारतै ! ' उसले छेवैमा भएको भान्जाको टाउकोमा देब्रे हातले प्याट्ट हान्यो । भान्जो ङिच्च गर्‍यो ।

'संकोच नै मानव, मास्टर साहवस मनक बात सबटा चिठीमे लिखबालेबु ! ' उसले स्वास्नीलाई पनि भन्यो, जो भात थप्न तयार भएर अघिल्तिर उभिएकी थिई ।

मैले ऊतिर हेरेँ, घुम्टोभित्रको उसको मुन्टो हल्लियो ।

रामचन्दर गएको ६ महिनासम्म मैले जानकीका लागि दुइटा चिठी रामचन्दरको नाममा लेखिदिएँ । त्यतिखेरसम्म जानकीले छोरा पाइसकेकी थिई । उताबाट आएका तीन वटा चिठी पनि पढिदिएँ । पहिलो चिठीमा जानकीले पैसा पाएको र ऋण तिरेको कुरा लेखिदिन भनी । दोस्रो चिठीमा उसले आफू बसेको जमिन किन्न अलिकति पैसा पुगेन भनेर लेखाई । त्यही चिठीमा सुरेशले 'मामी लया लिपिस्टिक किनने है' भनेर लेखिदिनू भन्यो । जानकीले नाइँ भन्दाभन्दै पनि मैले लेखिदिएँ । उताबाट रामचन्दरको चिठी पनि आइरहेको थियो । उसले दिनरात काम गरेको कुरा लेखेको थियो । जानकीको यादले उसलाई ताकत दिइरहेको कुरा पनि लेखेको थियो ।

यस्तैमा रामचन्दरले घरमा टिभी पठायो । गाउँभरिमा हरिशको मात्र टिभी थियो, त्यो पनि श्यामश्वेत ! हरिशले २१ इन्चको रंगीन टिभी पठाएपछि त गाउँमा रामचन्दर परिवारको भाउ एक्कासि बढ्यो । सारा गाउँले उसको आँगनमा भेला हुन थाले । एकाध पटक रामचन्दरको ढोकाबाहिर मैले हरिशलाई पनि देखेँ । उनका छोराहरुको त बासै रामचन्दरकोमा हुन थालेको थियो । साँझमा पढाउन पनि मैले उनीहरुलाई उतैबाट बोलाउन लगाउनुपथ्र्यो ।

रामचन्दरको प्रगति बढिरहेको थियो । उसको अब आफ्नै जमिनमा ठडिएको काठकै भए पनि एकतले घर थियो । उसले अलिकति खेत पनि किनिसकेको थियो । हरिश आफ्ना छोराहरुसँगै सुरेशलाई पनि पढाउने कुरामा मन्जुर भएका थिए । पहिला मैले एक पटक कुरा गर्दा उनले मुख बिगारेका थिए । म बिदामा घर आउजाउ गथेर्ं । हरिशको जेठा छोरा दस कक्षा पुगेको थियो । म बीचबीचमा सरुवाको प्रयास पनि गरिरहेको थिएँ तर काम बनेको थिएन । देश बाह्रबुँदे समझदारी हुँदै संविधानको चुनावसम्म पुगिसकेको थियो ।

रामचन्दरको ठीकठाक चलिरहेको गाडीमा भने उसको बुबाको बिमारले ब्रेक लाग्यो । बुबालाई घरि ढाड दुख्ने, घरि मुटु दुख्ने, घरि टाउको दुख्ने त, घरि के हुने व्यहोरासहित मैले रामचन्दरलाई चिठी लेखिदिएँ, 'तुा जल्दी स आ ! '

सबै रामचन्दर आउने आशा गरिरहेका थिए । रामचन्दर आयो, तर लास बनेर । अन्तिम सास उसले उतै दुबईमा फेरेको थियो । जानकीले अब हरियो चुरा लगाउन छाडी । उसको हातमा सिल्भरको एउटा बाला देखेको थिएँ । ऊ हरिशकोमा ससुराको उपचारका लागि जमिन किनिदिन अनुरोध गर्न आएकी थिई । जमिन बिक्यो तर जानकीको ससुरा बिसेक भएन । ऊ पनि रामचन्दर गएकै ठाउँमा गयो । रामचन्दरले पठाउने कमाइ रोकिएपछि रामचन्दरले जोडेका सबै सामान बेचिन थालेका थिए । बिक्ने सिलसिला त टिभीबाटै सुरु भएको थियो । रामचन्दरको टिभी अब हरिशको बैठक कोठामा थियो । टिभी अलिअलि जोडेका गहना, घर, जमिन सबै बिकेपछि जानकी, उसकी सासू वरैयावाली र सुरेश पहिलेकै झुप्रोमा बस्न थालेका थिए । सुरेशको पढ्न आउने क्रम बन्द भएको थियो । मैले उसलाई स्कुलमै नआएको कुरा सोध्न भनेको थिएँ । अब अरुको घरमा म जबर्जस्ती पढाउँछु भन्न पनि सक्दिनथेँ । खासमा मैले त म स्कुलमै बस्छु भनेको थिएँ तर कहिले माओवादीको त्रास त कहिले मधेस आन्दोलनको त्रास देखाएर हरिशले मलाई जानै दिएनन् । म पनि डराएँ, ज्यानको माया कसलाई पो लाग्दैन !

म रामचन्दरको फटाफट उन्नतिको र उही क्रममा अधोगतिको साक्षी बनिरहेको थिएँ । पतिमा पूरै भर परेकी रामचन्दरकी स्वास्नी, छोरामा आश्रति रामचन्दरका बाउआमा एकदमै असहाय देखिन्थे । बाउ धेरै दिन असहाय भएनन् । अस्पतालमा बडो कष्टका साथ उनले अन्तिम सास फेरे ।

गाउँमा पहिला त सुक्नाको बयल मर्‍यो । साँझ ठीकठाक गुहालीमा बाँधेको दुइटामध्ये एउटा बयल बिहान लम्पसार परेको थियो । पछि वनीलालको कलमा पानी आउन छाड्यो । म घर र्फकंदा हरिशकी स्वास्नीलाई वनीलालकी स्वास्नी वरैयावालीले दिउँसो उसको कलको पानी खाएदेखि पानी नै आउन छाडेको सुनाउँदै थिई । उसले वरैयावालीले सुक्नाको वयललाई घाँस दिएकै दिन उसको वयल मरेको पनि सुनाई । म आउनेबित्तिकै दुवैले टाउकामा घुम्टो हाले । घुम्टोभित्रैबाट वनीलालकी स्वास्नीले भनिन्, 'वरैयावाली त हमरा डायन बुझाइय ! '

हरिशकी स्वास्नीले घुम्टोबाटै टाउको हल्लाइन् । मैले गाउँका कुरा यस्तै हुन् भनेर केही भनिनँ । म शिक्षकजस्तो मान्छेले कुनै प्रतिक्रिया नदिई हिँडेपछि पो उनीहरुको मनोबल बढ्यो कि ! आज पनि म आफूलाई धिक्कार्छु ।

म पैदलै स्कुल जाँदै थिएँ । रामचन्दर गएपछि म पैदलै जान्थेँ । रामपुरवाली काखमा छोरा बोकेर आउँदै थिई । रामपुरबाट विवाह गरेर आएकीले उसलाई सबैले रामपुरवाली भन्थे । ऊ रामचन्दरकै छिमेकी थिई ।

'कत्त सँ अबैछे?' मैले सोधेँ ।

'बेटाके धामी सँ फुकाव गेल छलिय ।' उसले सीधा जवाफ दिई, 'जानकी कोरामे लिते बौवा बोकैरदैछै ! '

'पेटमे चाली भगेल होतै ! ' मैले भनेँ, 'डाक्टर सँ देखाले ! '

'छेवैमे मनहुस आदमी भेला सँ डाक्टरके दबाइयो नै काज करतै ! ' उसले छोराको टाउको मुसार्दै भनी, 'हेल्थपोस्टमे त क्या बेर ल गेलियै ! '

'बजारके अस्पताल लक जो ! ' मैले भनेँ, 'ले, धर् ।'

त्यसको दुई-तीन दिनपछि वरैयावाली र जानकीलाई पोखरीको छेउमा कदमको बोटमुनि झोक्राएर बसेको देखेँ । म साँझको हावा खान निस्केको थिएँ ।

'बुढिया कथि भेल हौ ? मन खराब हौ ? के भो आमा, सन्चो भएन ?' मैले सोधेँ । उसका आँखा भित्रैसम्म धसेका रहेछन् ।

'बाप, मरद आ बेटा मर्लाकबाद बुढियासब कहियो स्वस्थ नै रहैछइ ! ओही उपर गरिब भेला प आरो दुःख ! ' ऊ त्यति भनेर उठेर गइहाली । जानकीले टिलपिल आँसु झारेर भनी, 'काइल वहे आदमीसब बन्इयाँ स देखै । आइ वहे आदमी आज देख नै सकैत है ।'

त्यो साँझ वरैयावाली सुरेशलाई खोज्दै हरिशकोमा आउँदा हामी आँगनमै चटिया बिछ्याएर खाना खाँदै थियौँ । गर्मीमा आँगनमै खाने चलन थियो । सुरेश पढ्न आउन छाडेको उसलाई पत्तै थिएन । परविनकी आमा छेउमा बसेर के लिने भनेर सोध्दै थिइन् । सुरेशलाई नदेखेपछि ऊ गइहाली । एकछिनपछि फेरि जानकी आई । पहिला खेतमा काम गर्न बोलाएर पछि पर्दैन भन्ने खबर गएको रहेछ । ऊ आफूलाई काममा बोलाउन अनुरोध गर्न आएकी थिई । आँगनमा दुई हात जोडेर उसले भनेकी थिई, 'कोइ कामोमे नै बजबैए । हम सब भूखे मरबै ।'

न हरिश, न त उनकी स्वास्नीले ऊतिर हेरे । लगालग खाइरहेका थिए । सन्तोषले 'तू जो । हम नै बजएबौ ! ' भनेर प्याच्च बोलेको थियो । सायद बाउआमाको कुरा सुनेको थियो ।

मध्यरातमा अचानक सन्तोष छट्पटायो भनेर हरिश मलाई उठाउन आए । सन्तोष घरि पेट, घरि टाउको समातेर नीलो हुँदै गयो । हरिशले मोटरसाइकल स्टार्ट गर्न नपाउँदै सन्तोषले अन्तिम सास फेर्‍यो ।

'यी त ठन्डा छै', हरिशकी स्वास्नीले आत्तिएर भनिन् । सन्तोष उनैको काखमा थियो । मैले नारी छामे चलेको थिएन । पछि हरिशले आएर मुटुको ढुकढुकी सुन्न खोजे, सुनेनन् । उनले पनि नारी छामे । अनि सन्तोषकी आमाको डाँकोले सारा गाउँ ब्युँझियो ।

जानकीको घर पनि ब्युँझियो । जानकीलाई हरिशको आँगनमा छिर्दै गरेको देखेँ । म हरिशलाई सन्तोषको लास पोस्टमार्टमका लागि अस्पताल लगौँ भनेर सुझाउँदै थिएँ । उनकी स्वास्नी आएर भनी, 'ई काम वहे साउस-पुतहु के है । सुक्नाके वयल मइरगेलै । वनीलालको कलके पाइन सुइख गेलै ।'

'भौजी यैहन समयमे केहन बात करैछी ! ' मैले अलि कडा स्वरमा भनेँ ।

'ऊ त अपन परोसिया के नै छोरलकै ! ' भाउजू झन् चर्को स्वरमा रुन थालिन्, 'रामपुरवालीके छौरा सवदिन बेमार रहैछै, धामी कहने रहैक तोरा परोसमे मनहुस आदमी छौ, होसियार रहिह ।'

उनको कुरा हरिशले चुपचाप सुने । लुंगीमै सुतेको हुनाले अब अस्पताल जानुपर्ला भनेर म कोठामा पाइन्ट लगाउन गएँ । फर्केर आउँदा सन्तोषको लास कुरेर परविन मात्र बसेको थियो ।

'बाबु कत्त गेलै ! ' मैले सोधेँ ।

'डायनके मार गेलैय,' उसले भन्यो । उसले घरमा भएका सबै हतियार लिएर घरमा आएका सारा गाउँ डायनलाई ठीक पार्न गएको पनि बतायो ।

'के डायन ?' म अत्तालिएँ ।

'वरैयावाली र जानकी ! ' उसले भाइको निधारमा हात राखेर सोध्यो, 'सर आदमी केनाक डायन हेतै ?'

'गरिब भेला प ! मौगी भेला प ! दलित भेला प ! अइसगैर भेला प ! ' त्यत्ति जवाफ दिएर म जानकीको घर गएँ । यस पटक ज्यानको माया नगरी उनीहरुलाई बचाउनु थियो । परविनले कति बुझ्यो ?

प्रकाशित: आश्विन १६, २०७६

ट्याग: कथा
×