अबिर

- युमा

हारको इतिहाससँग

कुनै

सरोकार छैन मेरो

जितको

पछि-पछि छु म

सधैँ

 

करोडौँ उज्यालोको

एक विम्ब हुँ म

 

न मार्न सक्छौ मलाई

न जलाउन

विचारझैँ

जब्बर छु म

 

जतिसुकै

गर्न खोज

मेरो तेजोबध

जति नै

गिराउन खोज

मेरो नूर

याद गर-

झुक्न

कदापि तयार छैन म

 

त्यतै कतै

थिएँ म

इतिहासका पानामा

सपनाका सारथि भनिएकाहरूको

निधारमा

 

लज्जित छु

पटक-पटक

छेपारोजस्ता

निर्वाचित अजिंगरहरू देखेर

यत्रतत्र

अब

स्वीकार्य छैन मलाई

तिम्रो

मायावी इन्द्रजाल

 

हिँड्नु छ मैले

अविजित लामो यात्रा

हतारमा छैन म

थकित छु जरुर

निराश छैन म

 

पर्खिरहेछु-

ध्वजापताका

र, आवाजको तुमुल नाद

हो, पर्खिरहेछु-

रंग्याउन लायक अनुहारको

विजय जुलुस

प्रकाशित: आश्विन १६, २०७६

ट्याग: कविता