कलामा शक्ति

- नेपाल संवाददाता

२० औँ शताब्दीमा पाब्लो पिकासो ले बनाएको 'गुर्निका' शीर्षकको पेन्टिङ विश्व प्रसिद्ध छ । भनिन्छ, कलामा शक्ति हुन्छ, 'गुर्निका' त्यसैको प्रतिविम्ब हो । दोस्रो विश्वयुद्ध हुनु केहीअघि जर्मन नाजीले स्पेनको बाक्स सिटीमा बमबारी गरेपछि पिकासोले विरोधस्वरुप उक्त चित्र बनाएका थिए । कालो-सेतो रङ पोतिएको पेन्टिङले नरसंहारबारे जुन कारुणिक दृश्य देखाएको छ, त्यसबारे सायदै कुनै शब्दले बयान गर्न सकिएला ।

चित्रको यही भाव बुझेर होला, 'आर्ट इज पावर' शीर्षकमा सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी भएको थियो । बाँके, मकवानपुर, सुनसरी, जुम्ला र सिन्धुलीका बालिकाले बनाएका चित्रमा समान अधिकार माग गरेकाले मर्मस्पर्शी लाग्छन् । बालिकाले आफ्ना दबेका आवाज चित्रमार्फत प्रस्तुत गरेका छन् ।

११ देखि १७ वर्ष उमेर समूहका २ सय ३५ बालिकाले बनाएका डेढ सय पेन्टिङ प्रदर्शनी गरिएको थियो । यसका लागि प्लान इन्टरनेसनल नेपाल, सिद्धार्थ आर्ट फाउन्डेसन, सिर्जनालय र कलासम्बन्धी संस्थासँग मिलेर कला कार्यशाला गरिएको थियो । प्लान इन्टरनेसनलले केटीहरुले समानता पाउँछन् भन्दै गत वर्षदेखि विश्वव्यापी रुपमा 'आर्ट इज पावर' को अभियान थालेको छ । उक्त प्रदर्शनी यसैको निरन्तरता हो ।

प्रकाशित: आश्विन १६, २०७६

×