पढ्नुहोस्, ‘छ माया छपक्कै’ को समीक्षा

- गोकर्ण गौतम

छक्का–पञ्जा सिरिजबाट व्यावसायिक कीर्तिमानी राखे पनि जोक्स मार्का कमेडीमा रुमल्लिएको चर्को आरोप खेप्नुपर्‍यो, दीपकराज गिरी र दीपाश्री निरौलाले । उनीहरुको ध्याउन्न कथामा स्वाभाविक हास्य पैदा गर्न होइन, हँसाउनकै खातिर कथा तोडमरोड गर्नतिर हुन्थ्यो । घुमाइफिराइ एकै शैलीका पात्र र प्रवृत्ति थोपरिन्थ्यो । नयाँ फिल्म माया छपक्कैमाचाहिँ यो धङधङीबाट बाहिर निस्कन खोजेका छन् । फिल्मको केन्द्रमा छ–खानेपानीबाट काकाकुल गाउँ, जहाँ प्रेम र राजनीति घुस्छ । दीपाश्री यस फिल्मकी सल्लाहकार निर्देशक हुन् भने दीपक मुख्य अभिनेता र पटकथाकार । निर्देशकचाहिँ दीपेन्द्र लामा । कमेडी त छ नै, विषयप्रति एक हदसम्म संवेदनशीलतापनि देखिन्छ । जीवन्त भने होइन । मूल सरोकारप्रतिको एकाग्रता छैन ।

कामरेड बीपी (दीपकराज)को घडेरी गाउँमा बाटो पुगेको छ, बिजुली पुगेको छ तर पानी पुगेको छैन । एक गाग्री पानी लिन घन्टौँ उकालो–ओरालो गर्नुपर्छ । बीपीका बाबु (प्रकाश घिमिरे)को सपना छ, चुनाव जितेर गाउँमा पानी ल्याउने । तर पञ्चायतकालबाटै राजनीतिमा लागे पनि टिकट पाउँदैनन् । पल्लो गाउँ टोड्केमा पानी प्रशस्त छ तर त्यहाँका स्थानीय नेताले पानी ल्याउनै दिँदैनन् । दुई गाउँका नेताबीच घमासान द्वन्द्व छ । उमेर ४२ पुगे पनि अविवाहित बीपीको टोड्के गाउँको नेताकी छोरी जल (केकी अधिकारी)सँग माया बस्छ । पानी र राजनीतिले उनीहरुको परिवारबीच लडाइँ छ । त्यसमा प्रेम सल्किएपछि आइपर्ने उतारचढावमा घुमेको छ, फिल्म ।

यो कथा कञ्चनपुरको साविकको गोदावरी गाविसको सत्य घटनामा आधारित रहेको फिल्म युनिटको दाबी छ, पात्रचाहिँ काल्पनिक । बीपी, उसका बुबा, साथीहरु गोली कान्छा (केदार घिमिरे) र प्रवीण (जितु नेपाल), जल, उनका बबा, मीतबुबा, दाजु अनि प्रवीणकी प्रेमिका पूजा (सुपुष्पा भट्ट), पात्रहरु बग्रेल्ती छन् । यी पात्रलाई स्थापित गराउँदा–गराउँदै मूलकथा प्रवेश ढिला हुन्छ । समस्या पनि पानीको मात्र छैन, बीपीको पार्टीभित्रको आन्तरिक टकराव छ, प्रवीणको प्रेमको चक्कर छ, त्यसमा जल र बीपीको सम्बन्ध थपिन्छ, बीपीलाई बिहे गर्न आमाले हैरान गर्छिन्, गोली कान्छाको बाबुलाई राजनीतिमा लागेर छोरो बिग्रियो भनेर चिन्ता छ । यी यावत् पक्षलाई बुन्दा–बुन्दा फिल्मको केन्द्रीय द्वन्द्व मानिएको पानीको खडेरी ओझेलमा पर्छ । कहिले प्रेमले थिच्छ, कहिलेचुनावी राजनीतिले । यद्यपि पात्र र घटनाक्रम रैथाने स्वादकै छन् ।

मुलुक संघीयतामा गएपछि प्राकृतिक स्रोतको बाँडफाँटले गाउँहरु विभक्त छन्, त्यसमै टेकेर नेताहरु जनता लडाउन र भोट कमाउन मरिहत्ते गर्दैछन् । यही बेथितिको झल्को पाइन्छ, छ माया छपक्कैमा । वर्षौं पार्टीका लागि रगत–पसिना बगाउने आदर्श नेता चुनावमा किनारा लाग्छन्, पैसावाला र नेताको चाकरी गर्नेचाहिँ चुनावमा चम्कन्छन् । यो विडम्बनालाई कठोर व्यंग्य गरेको छ, दीपक क्षत्रीको चरित्रले । आन्दोलनमा लागेको गोली बोकेर अभावको जिन्दगी बाँचिरहेका गोली कान्छाजस्ता चरित्र हामीकहाँ छ्यास्छ्यास्ती भेटिन्छन् । यसरी फिल्म  विविध कोणबाट समाजसँग नजिक देखिन्छ ।

दीपकले बिनाप्रसंगका संवादबाट हँसाउने हर्कतलाई धेरै हदसम्म त्यागेको देखिन्छ । छन्द मिलेका हास्यपरक संवादलाई महत्व दिइएकै छ तर त्यसले पात्र र सन्दर्भको मुड भने उतिविघ्न बिथोल्दैन । मीतबुबा (शिशिर वाङदेल)को ठूलै चुरिफुरी छ तर उनको पृष्ठभूमि पूरै बेवास्ता गरिएको छ । पूजाको अलप अनि बीपीप्रति जलको सोचाइको आकस्मिक बदलाव पत्यारिलो लाग्दैन ।

कथा उठानमा अलमल भएझैँ त्यसको विकासक्रममा आशातीत चुस्तता र बैठानमा विश्वसनीयता छैन । कतिपय चरित्र र घटनाक्रम छरिएका छन् । रक्सी पिइरहने गोली कान्छाका बुबाका उस्तै आशयका दृश्य दोहोर्‍याइन्छ । भलै गोली कान्छाका व्यवहार र बोलीले दर्शकलाई हँसाइरहन्छ । मध्यान्तरपछि गम्भीरतातर्फ मोडिन्छ तर बीपीको चरित्रमा आएको परिवर्तन मूर्त लाग्दैन । पटकथामा ‘ट्वीस्ट’ ल्याउन दीपक खप्पिस मानिन्छन् । क्लाइमेक्स पनि प्राय: दर्शकको अनुमानबेगर बनाउँछन् तर यसपटक कथाको संरचना र बहावअनुसार क्लाइमेक्ससम्म ‘ट्वीस्ट’को अपेक्षा भने पूरा हुन्न । बरु कथाको अन्त्य रोचक र व्यावहारिक बनाउनुभन्दा कथाको टुंग्याउनीका लागि सजिलो र हतारको विकल्प रोजिएको छ । ‘जूनको जुनेली...’ श्रुतिमधुर भए पनि कथावाचनमा किञ्चित प्रभावकारी छैन । सम्पादनका क्रममा १५–२० कैँची चलाएको भए फिल्म थप खदिलो हुन्थ्यो । पानी राजनीतिमा माथि भारतमा कौन कितने पानीमें बनेको छ ।

कथा र प्रस्तुतिझैँ चरित्रको कोणबाट पनि छ माया छपक्कै केही भिन्न लाग्छ । दीपकको चरित्र गम्भीर छ, हुलिया र हाउभाउबाटै उनी चरित्रको मनोविज्ञान दर्शकसम्म प्रवाह गर्न सक्षम छन् । उनले पनि हँसाउँछन् तर न त्यो भद्दा मजाक छ, न त बेतुकका संवाद नै । यसपटक उनी पटकथाकारभन्दा कलाकारका रुपमा काबिल लाग्छन् । केदार घिमिरेचाहिँ यस फिल्मको मनोरञ्जनका मुख्य स्रोत हुन् । छक्कापञ्जाका खाँटी फ्यानलाई उनको चरित्रले निराश हुन दिदैन । राजनीतिक खिचातानीले प्रेममा असफल जितु नेपाललाई पनि दर्शकले सम्झिरहन्छन् ।

हास्यकलाकारको भीडमा केकी अधिकारी हराउलिन् भन्ने चिन्ता थियो तर चरित्र र अभिनयमार्फत दरिलो छाप छोड्न सफल छिन् । यसले उनको हिट फिल्मको प्यास मेट्ने निश्चितप्राय: छ । प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर वाङ्देल पनि स्वाभाविक लाग्छन् । दीपक–दीपा फिल्ममेकिङको मामलामा सुध्रिएको संकेत हो, माया छपक्कै । त्यो भनेको, कमेडीको नाममा कथा र प्रस्तुतिमाथि अन्याय नगर्नु हो । तर यही स्तरको फिल्मले उनीहरुको दिल खोलेर प्रशंसा गर्न सकिन्न । निर्देशकीय पाटोमा दीपेन्द्र लामाभन्दा उनीहरुकै ‘सिग्नेचर’ शैलीको बोलवाला छ ।

छक्का–पञ्जा सिरिजको फ्यान होइन भने पनि यस फिल्मले निराश पार्दैन । कलात्मक र विश्वसनीय प्रस्तुतिको तीव्र अपेक्षा राख्नेलाईचाहिँ नामझैँ मायाले छपक्कै पार्दैन ।

फिल्म : छ माया छपक्कै

निर्देशक : दीपेन्द्र लामा

कलाकार : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी आदि ।

विधा : सोसल–ड्रामा, कमेडी

समय : २ घन्टा २५ मिनेट

रेटिङ : २.५/५

प्रकाशित: आश्विन २६, २०७६