सम्पदामा खेलाँची
जानकी मन्दिरको मौलिकता ख्याल नराखी जथाभावी संरचना
पटक–पटक जानकी मन्दिरको अस्तित्व र मौलिकतालाई संकटमा पार्ने कार्य किन भइरहेको छ, जनकपुरधाममा ? जानकी मन्दिर नै नरहे केको जनकपुरधाम र के रहन्छ प्रदेश २ मा ? पौराणिक संरचनाको छेडछाडको अर्थ मन्दिरलाई विश्व सम्पदा सूचीबाट बञ्चित गराउने षडयन्त्र हो ।
जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन सन् २०१४ देखि अभियान सञ्चालन गर्दै आएका ‘भोर’ नामक सामाजिक संस्थाका अध्यक्ष राजकुमार महतोले आफ्नो फेसबुक वालमा लेखे । जानकी मन्दिरको अव्यवस्थाका कारण पछिल्ला वर्षहरूमा मन्दिरको मौलिकतामा गम्भीर प्रभाव पर्ने खालका संरचना निर्माण गरिएका छन् । मन्दिरको ऐतिहासिकता र मौलिकताको ख्यालै नगरी जथाभावी शौचालय, भोजनालय तथा एसीलगायत उपकरण जडान भएका छन् । मन्दिर व्यवस्थापन ‘जेनतेन प्रकारेण आम्दानी होस्’ भन्ने मनसायले ग्रसित देखिन्छ । त्यसको ताजा उदाहरण हो– प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय र मन्दिर व्यवस्थापनको मिलेमतोमा निर्माणाधीन भवनको निर्माण कार्य पुरातत्त्व विभागले रोक्नु ।
प्राचीन वास्तुकलाको अनुपम नमुना मानिने जानकी मन्दिर अझ आकर्षक बनाउने उद्देश्यले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वर्ष मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए । अभियानअन्तर्गत जानकी मन्दिरमा मार्बल, टायल्स जडान, ढल निकास तथा प्रवेशद्वार निर्माणका लागि झन्डै ७ करोड बजेट विनियोजन गरेको छ ।
९ असार ०७४ मा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका छोटे महन्त रामरोशन दासबीच मन्दिरमा विद्युतीकरण गर्ने सम्झौता भएको थियो । करिव साढे ३ करोड लगानीमा एक वर्षभित्र सम्पन्न हुने भनिए पनि हालसम्म कामै थालिएको छैन । छोटे महन्त रामरोशन दास वैष्णव संघका पदाधिकारीहरू सम्पर्कविहीन बनेको बताउँछन् ।
“जानकी मन्दिर महन्त मात्रको सम्पति होइन, यो विश्वका सम्पूर्ण हिन्दुहरूको आस्थाको केन्द्र पनि हो । यस्ता सार्वजनिक सरोकारका विषयमा पुरातत्त्वविद्, स्थानीय तथा सरोकारवालासँग सल्लाह गरेर मर्मत सम्भार वा संरचना निर्माण गर्ने कि आफूखुसी ?” युवा अभियन्ता सुशील कर्ण भन्छन् । “जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने कि हालको संरचनालाई अझ आकर्षक र व्यवस्थित बनाउने ? पहिले यस विषयको छिनोफानो गरौँ अनि मात्र मन्दिरभित्र केही थपौँ या हटाऔँ,” इन्जिनियर रत्नेश्वरलाल कर्णको सुझाव छ ।
मन्दिरको बाहिरी परिसरमा खरन्जा र टायल्स जडान गर्ने, साधु भवन निर्माण गर्ने, गाईगोठ निर्माण गर्ने काम बेलाबेला हुँदै आएको छ । तीन दशकअघि गेरुवाले रंगिएको जानकी मन्दिर अचेल सेतो देखिन्छ । तर छोटे महन्थको दाबी छ, “बीचमा मन्दिरको आर्थिक अवस्था राम्रो थिएन अनि सस्तो गेरुवा रंगले रंगियो । गुरुजी (महन्थ रामतपेश्वर दास) महन्थ भएपछि पुरानै रंगमा रंगिएको हो ।” स्थानीय बुढापाका भने जानकी मन्दिरको मौलिक रंग गेरुवा नै रहेको दाबी गर्छन् ।
पुरातत्त्व विभागको स्वीकृति तथा अनुमतिविना कुनै संरचना निर्माण गर्न नहुने प्रस्ट प्राबधान हुँदाहुँदै जथाभावी रोक्न ‘विज्ञ समूह’ गठन गर्नुपर्ने तर्क पुरातत्त्व विभागका इन्जिनियर गोपाल झाको छ । उनका अनुसार स्थानीय सरकार, प्रदेश सरकार, पुरातत्त्व विभाग, वास्तुकला तथा संस्कृतिका जानकारहरूलाई राखेर विज्ञ समूह गठन गर्नुपर्छ । जानकी मन्दिर मात्र होइन, वरिपरिका विवाह मण्डप, तेलहा–मडहा पोखरी आदिको संरक्षण तथा सौन्दर्यीकरण गर्न विज्ञ समूहको सल्लाह अनिवार्य लिनुपर्छ ।
तथापि छोटे महन्थ भने मन्दिर व्यवस्थापन मन्दिरको मौलिकताबारे सचेत रहेको बताउँछन् । पूर्वसांसद तथा संस्कृतिका जानकार विजयकुमार सिंह सौन्दर्यीकरण अथवा मन्दिरका महन्त वा पूजारीहरूको सुख सुविधाका लागि आधुनिक संरचना निर्माण गर्नुभन्दा पनि मौलिकतालाई ख्याल गर्नुपर्ने सल्लाह दिन्छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...