अतिमानव पथ

- प्रकाश आङदेम्बे  

कुनै बेला मुगल सभ्यता चरम विकासको चरणमा थियो । अंग्रेजहरूले विश्वमा साम्राज्य विस्तार गर्दा मुगल राज्यमा कब्जा जमाए । त्यतिबेला उनीहरुले धनदौलत मात्रै लुटेनन्, भाषा-साहित्यका पाण्डुलिपि पनि सँगै लिएर गए । यसमा उमर खैयामका रुबाइयात पनि रहेछ । छापा प्रविधिको विकास नभए पनि उमरका रुबाइयात जनमानसमा भिजिसकेको थियो । पुनर्जागरण कालपछि एडवार्ड फिट्जजेराल्डले उमरको पाण्डुलिपि अंग्रेजीमा अनुवाद गरे र नाम दिए- रुबाइयात अफ उमर खैयाम । एघारौँ शताब्दीका खैयाम गणितज्ञ र खगोलशास्त्रीका रुपमा पनि परिचित थिए । संक्षिप्तमा धेरै कुरा अभिव्यक्त गर्न सक्नु खैयाम शक्ति हो ।

मदिरा, मधुशाला, स्त्री, सौन्दर्य, नसा आदिका कुरा गर्छन्, खैयाम । भिक्टोरियन युगमा काटमार, युद्ध, हत्या-हिंसाबाट आजित मानिसलाई खैयामका रुबाइयातले बाँच्ने आशासहित मनोरन्जन दियो । स्वच्छन्दतावादी अंग्रेजी साहित्यको विकास हुनुमा खैयामको भूमिका रहेको दाबी गरिन्छ । खैयामका रुबाइयातको केन्द्रमा छ, मृत्युचिन्तन । मृत्युचिन्तन मृत्यु चिन्नु मात्रै होइन, जीवनको क्षणभंगुरता र सौन्दर्यलाई नजिकबाट बोध गर्नु पनि हो । सुफी सन्त भएकाले उनले भनेको नसा मदिरा नभई परमात्मा र स्त्रीको अर्थ क्षणभंगुर सौन्दर्य हुन सक्छ । खैयामको विचारमा मन्दिर, मस्जिद, चर्च, गुम्बाहरुभन्दा मदिरालय महान छ किनकि सबै धर्मावलम्बीलाई छूट छ, त्यहाँ । लाग्छ- मानिसलाई अन्धआस्थाबाट व्यापक जीवनको स्वतन्त्रतातिर फर्काउनु उनको उद्देश्य हो ।

 अभाव र विसंगतिबीच भौतारिरहेको समय दस स्पेक जराथ्रुस्तका सूक्तिमय पंक्तिले मलाई आकषिर्त गर्‍यो । फ्रेडरिक नित्सेले जराथ्रुस्तलाई पात्रका रुपमा उभ्याएर आफ्ना विचार प्रवाह गरेका छन् । मानवता प्रेमका कारण पहाडी घरको एकान्त छाड्न चाहन्छन्, पैगम्बर । अरुलाई आफूले पत्ता लगाएको महान सत्य भन्न चाहन्छन्- अतिमानवको सत्य । जराथ्रुस्त पहिले एक गाउँमा गएर घोषणा गर्छन्- ईश्वर मरिसक्यो । अतिमानवका लागि मानवले नै प्रयास गर्नुपर्ने धारणा राख्छन् । पागलको संज्ञा पाउन थालेपछि उनलाई महसुस हुन्छ, सिकाउने पद्धति बदल्नुपर्छ । जराथ्रुस्त आफ्नो ज्ञानको केन्द्रीय बुँदा सुनाउँछन्- अतिमानव बन्न ईष्र्या चाहिन्छ, योद्धा हुनुपर्छ र दुनियाँमाथि दया राख्नै हुँदैन । उनले सायद गम्भीर कुरा राखेका थिए तर, चेलाहरु अन्योलमा परे । उदासीका साथ जराथ्रुस्तले आफ्ना शिष्यलाई बाहिरी दुनियाँ जान्न र शिक्षा फैलाउन प्रोत्साहित गर्छन् । जराथ्र्रुस्तले पछि थाहा पाउँछन्, शिष्यहरुले उनको शिक्षालाई विकृत पारेका छन् । उनी पहाडी एकान्त र साथीजस्ता जनावर छाडेर फेरि शिष्य खोज्न निस्कन्छन् । र, पत्ता लगाउँछन्- ईसाई धर्मको पुरानो शिक्षा र अतिमानववाला नयाँ शिक्षालाई एकै ठाउँ मिसाउने गल्ती उनका चेलाहरुले गरिसकेछन् ।

जराथ्रुस्तको मार्ग शुद्ध भएकाले गलत शिक्षण गर्नेविरुद्ध उनले आक्रमण गर्न थाले । मृत ईश्वर मान्ने पुजारीसँग लड्न थाले । ज्ञानलाई लेनदेनको साधन बनाउने प्रतिष्ठानका नेतृत्वसँग झगडा गर्न थाले । यस्तो तरिकाले मानवताको बस्ती निर्माण नहुने जिकिर गरे । मीमांसाको आरोह-अवरोहयुक्त लामो यात्रापछि जराथ्रुस्त आफ्नै पहाडी जीवनमा र्फकन्छन् । बाटोमा उनलाई देवत्वको वास्तविक प्रकृति महसुस भएपछि सोच्छन्- जे भयो, त्यो फेरि पनि हुन्छ । आनन्दको स्थिति प्राप्त गरेपछि उनी कैयौँ वर्ष आफ्नै सुखद एकान्तमा बस्छन् । दर्शन र चेतनाका अनेक विमर्श चलाए पनि मानिसलाई केन्द्रमा नराखेसम्म हामी रहस्यमा अलमलिन्छौँ । नित्से मान्छेलाई मध्यभागमा राख्छन् ।

कुनै बेला लक्ष्मीप्रसाद देवकोटाले शंकर लामिछानेलाई भनेछन्- 'शंकरजी, मैले जे गरेँ, त्यही बाटो तपाईं हिँड्ने हो भने नआउनुस् । आफ्नो बाटो आफैँ पहिल्याउनुस् ।' लामिछाने आफ्नै बाटो हिँडे । पारम्परिक शैली-संरचना र मानकमाथि नै प्रहार गरेकाले मलाई लामिछानेको एब्स्ट्रयाक चिन्तनः प्याज निकै आकर्षक लाग्छ । पुराना धारणालाई भत्काउनु एक प्रकारको विद्रोह नै हो ।

उनी सम्पूर्ण मानव जीवनलाई नै प्याजको प्रतीकमा उभ्याउँछन् । भनिन्छ- भौतिकी र आत्माको सम्मीलनबाट हाम्रो जीवन चलायमान छ । हाम्रो अस्तित्व र धारणा पनि प्याजजस्तै लाग्छ । समग्रमा एक डल्लो छ तर खोतल्दै जाँदा भित्र केही छैन । विभिन्न पत्रले छोपिएको हाम्रो अस्तित्वको अन्तर्य पनि प्याजजस्तै खोक्रो छ । जीवनको खोक्रोपनलाई यति सरस र मोहक बाटोबाट बताउन सक्नु उनको खुबी हो । उनका निबन्धले हाम्रै वरपरको जीवनलाई सचित्र व्याख्या गर्छ, दार्शनिक रंगमा । चेतन प्रवाह शैलीका कारण पनि कतिपय निबन्ध अमूर्त र जटिल लाग्न सक्छन् तर उनले बुनेको संसार ज्यादै रोचक लाग्छ ।

लामिछानेको चिन्तन मात्रै होइन, भाषिक विन्यास पनि निकै आरिसलाग्दो छ । गाली र अर्तीभन्दा पर पुगेर पाठकसँग संवाद गर्ने उनको शैली मोहक छ । उनी हजार वर्षपछिको सिमाना हराएको भूगोलको कुरा गर्छन्, जुन उत्कृष्ट कल्पना हो । अहिले पहिचान, आञ्चलिकता, सांस्कृतिक चेतनाजस्ता पक्ष घनीभूत रुपमा जागे पनि निबन्धमा शंकर लामिछानेकै युग चलिरहेको छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: आश्विन २७, २०७६

ट्याग: तीन किताब