विस्थापितको देपूजा

- नेपाल संवाददाता

कुलदेवताको पूजा अर्थात् देपूजा हाम्रा लागि दसैँजत्तिकै महत्त्व राख्छ । हाम्रो कुलदेवस्थान रहेको ठाउँ राष्ट्र बैंक टक्सार विभागको कार्यालय छ । सानो छँदादेखि नै यहाँ पूजा सकाएर लस्करै बसेर प्रसादको रुपमा समेबजी भोज खाँदाको रमाइलो अरुमा कहाँ ? पानी परेका बेला कार्यालय भवनभित्रै पनि हामीलाई बस्न छूट दिइन्थ्यो ।

०७२ सालको भूकम्पले यहाँका भवनमा क्षति पुगेपछि देवस्थल पनि अस्तव्यस्त हुन पुग्यो । त्यसमाथि धरहरा पुनर्निर्माण भन्दै यो क्षेत्रमा व्यापारिक टावर बनाउने क्रममा देवस्थल थप उपेक्षित हुन पुगेछ । यसपालिको देपूजामा देवस्थल छिर्दा असुरक्षित रुपले निर्माण सामग्री र काँडेतार बेपरवाह छरिएका थिए । झरी परिरहेको थियो, जेनतेन पूजा सकियो । बसेर भोज खानु थियो तर सुविस्ताले बस्न मिल्ने ठाउँ एक इन्च पनि थिएन । हामीले त्यहाँका एक अधिकारीलाई गुहार्‍यौँ तर उनले नसुनेझैँ गरे । आखिरमा काठमाडौँ मलसित जोडिएको एक रेस्टुराँका साहूजीसामु समस्या राख्यौँ । उनले आफ्नो ठाउँ मात्र होइन, टेबुल-कुर्सीसमेत प्रयोग गर्न दिए ।

भौतिक विकासको जग खन्ने क्रममा हाम्रो सम्पदा र संस्कृति खोस्रेर मिल्काउने क्रम बढ्दो छ । तर हाम्रा सच्चा पहिचान यिनै संस्कृति, सम्पदा हुन् भन्नेमा किन बुझ पचाएको ? हाम्रो सम्मानलाई नकुल्चिदिएको भए कति जाती हुन्थ्यो !

एक रुपैयाँ लुट्न नपाउँदा

पेट्रोल पम्पका कर्मचारीको व्यवहार देख्दा लाग्छ, एक र दुई रुपैयाँको कुनै मोलै छैन । प्रायः त्यहाँ यस्ता खुद्रा रकम फिर्ता दिने चलनै छैन । केही साताअघि दुई लिटर पेट्रोल भरेर २ सय २० रुपैयाँ दिएँ, फिर्ता दुई रुपैयाँ माग्दा कर्मचारीले झोलामा खुद्रा खोजेजस्तो गरे । एकैछिनपछि झर्को मान्दै भने, "मैले त दुई सय २० कै हालिदिएको नि ।"

फिर्ता नहुने यस्ता खुद्रा पैसा मात्र हिसाब लगाउने हो भने दिनभरिमा कति होला ? यति मात्र होइन, तेल वितरण पनि पारदर्शी हुन्न । हरेक पटक मिटरको अंकलाई जिरोमा ल्याएर तेल भरिदिने हो भने उपभोक्ता ठग्न पाइँदैन । त्यसैले उनीहरु बोतलमा तेल भरिदिन आनाकानी गर्छन् । भर्नैपरे आफ्नो बदमासी थाहा पाऊलान् भनेर पूरै तेल दिन्छन् ।

अर्को पटक पनि त्यहीँ तेल भर्न गएँ । मिटरलाई जिरो नपार्दै पाइपको नोजल मेरो बाइकको ट्यांकीमा राखे । मैले सयका दुइटा र २० को एउटा नोट दिएँ र 'दुई लिटर' भन्न नभ्याउँदै कर्मचारीले भरियो भन्ने संकेत गर्दै पाइप निकाले । ओहो, निमेषभरमै दुई लिटर तेल भरिएछ । जबकि त्यही बेला मिनरल वाटरको बोतलमा पेट्रोल भर्न आएका ग्राहकलाई एक लिटर तेल भरिदिन धेरै बेर लागेको देखेको थिएँ ।

खुलेआम लुटिन बाध्य भएपछि अर्को पटक खल्तीमा ठ्याक्कै १ सय ९ रुपैयाँ लिएर गएँ । मिटरलाई जिरोमा सेट गर्न लगाएँ र एक लिटर हालिदिनूस् भनेँ । मैले मिटरबाट आँखा नहटाएपछि कर्मचारीले अलि असहज महसुस गरे । मैले दुई रुपैयाँका दुई सिक्कासहित सय तथा पाँच रुपैयाँको नोट उनको हातमा थमाएँ । उनले दिक्क मान्दै भने, "ह्या, कस्तो खुद्राखुद्रा दिनुभएको यार ।" एक रुपैयाँ लुट्न नपाएकामा उनको मुख जसरी खुम्चियो, त्यो हेर्न लायकको थियो ।

पप्पु फेल हो गया

काठमाडौँको जाम हटाउन कम्मर कसेका चौडा सडकमा साँघुरा पुलहरु रोडा बनेपछि सरकारले पुल थप्यो । तर अधिकांश पुलको अष्टावक्र डिजाइन देखेपछि जोकोहीको मुखबाट निस्कन्छ, यो पनि पप्पुले बनाएको पुल हो ? नभनून् पनि किन ! पुल साविकभन्दा पाँच-छ फिट अग्ला छन् । जसमाथि चढाइ बनाउन सँगैको सडकका धेरै अंश खर्च हुन्छ । डल्लुमा बनेको पुलमाथि चढाइले मूल सडकको आधा पीच खाएको छ ।

नयाँ पुल प्रयोग गर्न असजिलो भएकै कारण यो प्रायः प्रयोगमा छैन । बाफलमा बनेको पुलको हालत उस्तै । चाहिनेभन्दा बढी हाइटमा बन्नाले यहाँको बस्ती पनि खाल्डोमा पर्न गयो, जसले यहाँ डुबानको समस्या झन् बढाइदियो । टेकुको पुल त नबन्दै मापदण्डविपरीत भनेर रोक्का भएको थियो । आखिर 'सेटिङ' मिल्यो, पुल बनिछाड्यो । अर्थात्, पप्पुहरु सरकारका तर्फबाट पास भए । तर पछि जोखिमपूर्ण भन्दै यसको प्रयोगमा रोक लागेको छ । अहिले यो पार्किङ र निर्माण सामग्री थुपार्ने स्थलका रुपमा प्रयोग हुँदै आएको छ । अब यसलाई भत्काउने कुरा अघि सारिएको छ । आखिर नभत्काई र नयाँ नबनाई नयाँ-नयाँ सेटिङ कसरी हुन्छ ?

सरकारले ग्रेस नम्बर थपेर पास गरिदिए पनि खासमा त पप्पुहरु फेल भएका न हुन् । नेताजीहरुले हेर्न-सुन्न नखोजेका मात्र हुन् ।

 

प्रकाशित: आश्विन २८, २०७६

ट्याग: नोटबुक