(पुस्तक समीक्षा) सिङगिङ बाउलको अपूरो उत्खनन

- मनबहादुर बस्नेत

विश्वभर प्रख्यात छ, सिङगिङ बाउल । ध्वनि र सांगीतिक बाजागाजाबाट निस्कने सुमधुर आवाजका माध्यमबाट शरीरमा हिलिङ गरिने सिङगिङ बाउलको उत्पत्ति कहिले भयो ? किटानी जवाफ छैन । सबैका आ-आफ्ना दाबी, प्रतिदाबी प्रस्तुत भइरहेछन्, संसारभर ।

उद्गम जहाँ भए पनि यसको चामत्कारिक कामले भने विश्वभर ख्याति कमाएको छ । यही मेसोमा नयाँ तथ्यसहित सिङगिङ बाउलबारे अनुसन्धानमूलक किताब लेखेका छन्, सलिल सुवेदीले । सिङगिङ बाउलको उत्पत्ति थलोबारे यकिन गर्न नसके पनि यो पुस्तकमा सिङगिङ बाउलको न्वारान नेपालमा भएको प्रमाण पेस छ । अभ्यासकर्ता जितबहादुर शाहीले सिङगिङ बाउल नामकरण गरेको लेखकले बताएका छन् । जितबहादुर शाहीः दि लिभिङ लेजेन्ड शीर्षकमा सुवेदीले शाहीलाई उद्धृत गर्दै लेखका छन्, 'धेरै मानिस डबकाको नाम के हो भनेर सोध्थे । मैले फ्याट्ट सिङगिङ बाउल भनिदिएँ । डबकाले एकदमै मधुर आवाज निकाल्छ ।' यही डबकालाई शाहीले सिङगिङ बाउल नाम दिएपछि विदेशी पर्यटकले विश्वभर फैलाएको सुवेदीले तर्क अगाडि सारेका छन्, पुस्तकमा ।

यसअघि समेत सुवेदीले सिङगिङ बाउलसम्बन्धी पुस्तक लेखेका छन् । ती पुस्तकमा उनले सिङगिङ बाउलको नामकरण पक्कै पनि कुनै स्थानीय बजारबाटै भएको हुनुपर्ने लख काटेका थिए । यो पुस्तकमा सुवेदीले त्यो स्थानीय बजार नेपाल भएको ठोकुवा गरेका छन्, शाहीको भनाइलाई आधार मानेर । नेपालबाट सिङगिङ बाउलको नाम फैलिएको भन्ने एउटा तथ्य स्थापित गर्न सक्नु पुस्तकको सबैभन्दा महफ्वपूर्ण पक्ष हो ।

यद्यपि शाहीको दाबीलाई पुष्ट्याइँ गर्ने आधार भने सुवेदीले दिन सकेका छैनन्, पुस्तकमा । त्यसैले यसको आधिकारिकतामाथि आगतका अनुसन्धानदाताले प्रश्न उब्जाउन सक्छन् वा यसलाई नमान्ने तर्क पनि अघि सार्न सक्छन् ।  यसले पुस्तकलाई आधारहीन बनाउने जोखिम छ । यसतर्फ लेखकले उति मिहिनेत गरेको आभास पुस्तक पढ्दा पाइँदैन । यो कुराको स्वीकारोक्ति लेखक स्वयंले एक ठाउँ गरेका छन् । लेखेका छन्, 'जितबहादुर शाहीको यो संस्मरणले पुरानो काठमाडौँ नै सिङगिङ बाउलको उद्गम थलो हो भन्ने प्रमाण खोज्न निकै उपयोगी हुनेछ ।'

पुस्तकले सिङगिङ बाउलमा कसरी नयाँ-नयाँ प्रयोग हुँदै आएको छ भन्नेसमेत खुलस्त पारेको छ । जस्तो,  अर्का हिलर एवं सिङगिङ बाउलविज्ञ श्रीकृष्ण शाहीले झाँक्रीतन्त्रलाई समेत सिङगिङ बाउलमार्फत प्रयोग गरेको पुस्तकमा उल्लेख छ । श्रीकृष्णलाई गुरु थापेर अमन शाही अगाडि आए । उनले झाँक्री विधालाई सिङगिङ बाउलमा प्रयोग गरिरहेका छन् । यस्ता रोचक प्रसंग पुस्तकमा छन् ।

पुस्तकमा सिङगिङ बाउल कसरी बन्छ, के-के मिसाइन्छजस्ता प्राविधिक विषयसमेत समेटिएका छन् । सिङगिङ बाउलका प्रकारदेखि कुन समस्याका लागि कुन विधि उपयुक्त हुन्छ भन्ने पनि पुस्तकमा राखिएको छ । आध्यात्मिक पक्षसँग जोडेर सिङगिङ बाउलले कसरी काम गर्छ भन्ने पुस्तकमा उल्लेख छ । चिन्ता, तनाव, डरजस्ता रोगको निदानमा समेत सिङगिङ बाउल विश्वका विकसित मुलुकले वैकल्पिक चिकित्साका रुपमा अवलम्बन गर्न थालेका छन् । यो सन्दर्भमा पुस्तकले सचित्र सिङगिङ बाउल थेरापीका विधि वर्णन गरेको छ । यसैले पुस्तक सिङगिङ बाउलबारे चासो राख्नेहरुका लागि कोर्ष किताब हुने देखिन्छ । अनुसन्धाता, अध्येतादेखि सिङगिङ बाउलका सिकारुसम्मलाई कामलाग्दो छ, पुस्तक । 

पुस्तक : सिङगिङ बाउल साउन्ड हिलिङ

लेखक   : सलिल सुवेदी

प्रकाशक : निभा गुरुङ अमन शाही

पृष्ठ : १०४

मूल्य  : उल्लेख नभएको

प्रकाशित: आश्विन २९, २०७६