पुरानै धङधङीमा बालविवाह
प्रहरी प्रशासन तथा सामाजिक संघसंस्थाको अभियान निष्प्रभावी
धनगढीमाई नगरपालिका-१३ की १४ वर्षीया किशोरी सविताकुमारी कामतीको ११ माघ ०७५ मा हुनै लागेको विवाह इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकियो । सविताको विवाह सुखीपुर नगरपालिका-८ का जीतेन्द्रसँग तय गरिएको थियो ।
यस्तै, लहान नगरपालिका-२४ की १४ वर्षीया सियाकुमारी कामतीको गत १६ वैशाखमा बिहे हुनै लाग्दा रोकियो भने सिरहा नगरपालिका -१० की १६ वर्षीया ताराकुमारी महराको गत १३ वैशाखमा लगनगाँठो कसिनै लाग्दा प्रहरी प्रशासनले हस्तक्षेप गर्यो ।
डोमको नियति
बालविवाहविरुद्धको अभियानमा अधिकारकर्मी र प्रहरीको सक्रियता बाक्लिए पनि तराईका जिल्लामा यस्तो विवाह रोकिनुको साटो अझ बढ्दो छ । मधेसका दलित डोम समुदायमा बालविवाह प्रचलन कायमै छ । तराई मधेसको समाजमा छोरीका लागि पर्याप्त दाइजो दिनुपर्ने बाध्यताका कारण पनि अभिभावकले किशोरी उमेरमै विवाह गरिदिन्छन् । छोरी जति नै पढे पनि दाइजो पर्याप्त मात्रामा लिनु-दिनुपर्छ भन्ने मान्यता र दाइजो नदिए छोरीले यातना, हिंसा भोग्नुपर्ला भन्ने मानसिकताका कारण बालविवाहले बढावा पाएको अधिकारकर्मीको भनाइ छ ।
प्रहरी तथ्यांकले पनि तराईका जिल्लामा बालविवाह क्रम बढेको देखाउँछ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार ०७३/७४ मा सिरहामा १, महोत्तरीमा ३, बारा, रौतहट र धनुषामा १-१ बालविवाहका घटना भए । त्यसैगरी ०७४/७५ मा पर्सामा ४, सप्तरीमा २, महोत्तरी, धनुषा र सिरहामा १-१ गरी जम्मा ७ बालविवाह भए । यो क्रम बढेर ०७५/७६ मा ती जिल्लामा २७ बालविवाह भए । त्यसमध्ये सबैभन्दा बढी सिरहामा १०, धनुषामा ६, महोत्तरीमा ४, बारा, सप्तरीमा २-२, पर्सा, रौतहट र सर्लाहीमा १-१ बालविवाहका घटना भए ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता डीएसपी ज्ञानकुमार महतो तराईका जिल्लामा बालविवाह क्रम बढेको बताउँछन् । "पहिला केटीको उमेर १८ वर्ष पुगेपछि विवाह गर्न सकिन्थ्यो तर अहिलेको नयाँ ऐनले २० वर्ष तोकेको छ," डीएसपी महतो भन्छन्, "पुरानै सोचाइका कारण पनि बालविवाह बढेको हो ।" बालविवाह रोक्न प्रहरी प्रशासन तथा सामाजिक संघ-संस्थाहरूले अभियान चलाइरहे पनि नियन्त्रण गर्न नसकिएकाले अभिभावक नै सजग हुनुपर्ने उनको तर्क छ ।
माइन्जन र पुरोहितको साथ
शारीरिक एवं मानसिक रूपमा सबल नभएसम्म विवाहमा हतारो नगर्न र कानुनी रूपमा पनि दण्डनीय भएको भन्दै सिरहाका जातीय माइन्जन र पुरोहितहरू एकै थलोमा भेला भएर बालविवाहविरुद्धको अभियानमा सक्रिय भएका छन् । जिल्लाको धनगढीमाई र लहान नगरपालिकाका जातीय माइन्जन र पुरोहितको संयुक्त भेलाले थारु समुदायका माइन्जन दुर्गाप्रसाद चौधरीको संयोजकत्वमा २१ सदस्यीय बालविवाह तथा दाइजोविरुद्ध जातीय माइन्जन र पुरोहित निगरानी समिति गठन गरिएको छ ।
उनीहरूले बालविवाह तथा दहेज कुप्रथा अन्त्य गर्न सामूहिक लिखित प्रतिबद्धता जनाउँदै १६ बुँदे घोषणापत्र जारी गरेका छन् । निगरानी समितिले कानुनले किटान गरेको २० वर्ष उमेर नपुगेका केटाकेटीको विवाहमा कुनै पनि पण्डित, पुरोहितले पुरेत्याइँ नगर्ने र माइन्जनहरूले भोजभतेरका लागि निम्तो बहिष्कार गर्ने घोषणा गरेको छ । समितिका सदस्यहरूले आफ्ना जातीय समुदायका अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुनुका साथै शारीरिक र मानसिक रूपमा दुर्बल हुने अभियान चलाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
विवाहमा पुरोहितले विवाह कर्म चलाउँछन् भने जातीय माइन्जनले भोजभतेर र निमन्त्रणालगायतको मुख्य जिम्मेवारी वहन गर्छन् । जातीय माइन्जनले नै कति जनालाई भोज खुवाउने र दाइजो लेनदेन विषयबारे पनि जातीय सभा र भोजमा चर्चा चलाउँछन् ।
अभियानमा सक्रिय लहान नगरपालिका-२४ का ८० वर्षीय पण्डित राजेन्द्र झाले उमेरभरि धेरै बालबालिकाको विवाह कर्म चलाए पनि त्यो गलत गरेको स्वीकार्दै अब २० वर्ष नपुगी विवाह गर्नुहुन्न भन्ने अभियानमा सक्रिय हुने प्रतिबद्धतासमेत जनाए । राजेन्द्रका बाजे मनु झा र बुबा बहुरी पुरोहित गर्थे । उनीहरूको शेषपछि राजेन्द्रले पनि पुरेत्याइँ कर्म धानेका छन् ।
मुलुकी देवानी (संहिता) ऐन, ०७४ ले केटाकेटीको विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह गरे कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ । सोही ऐनमा मन्जुरीबिना विवाह गर्न नहुने प्रावधान छ । यदि कसैले गरे वा गराए विवाह स्वतः बदर हुने र त्यस्तो विवाह गर्ने-गराउनेलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ ।
"पहिला पनि मुलुकी ऐन थियो । बुबा भन्नुहुन्थ्यो- त्यतिखेर विवाहका लागि कन्याको न्यूनतम उमेर ५ वर्ष र ०२० सालको मुलुकी ऐनमा विवाह गर्न स्त्रीको १४ र पुरुषको १८ वर्ष उमेर तोकिएको थियो," पुरोहित राजेन्द्र भन्छन्, "तर अहिले कानुनले विवाहको उमेर २० वर्ष तोकिसकेको हेक्का भएन, माइन्जन र पण्डित भेलामा जानकारी भएपछि अब बालविवाह रोक्न लागिपरेको छु ।" पुरोहितहरूमा पनि पुरानै मानसिकताका कारण बालविवाह रोकिन नसकेको र पण्डितले कर्म नचलाएपछि स्वतः रोकिने भएकाले अभियानमा सक्रिय भएको उनले सुनाए ।
६५ वसन्त पार गरेका दुःखीराम दलित चमार समुदायका पुरोहित हुन् । चमार समुदायको जन्मदेखि विवाह, अष्टजाम, पञ्चदान, घरबासलगायत पूजा संस्कार, कर्म उनैले चलाउँछन् । सिरहा गणेशपुरका उनले एक गाउँ मात्रै होइन, चमार समुदायको बसोबास रहेको सीमावर्ती क्षेत्र नरगी, बडहरी, मौवाही, पत्थरगाढादेखि जिल्लाको उत्तरवर्ती मलहनवा, सीमलटोकीलगायत २२ गाउँमा पुरेत्याइँ गर्छन् । उनको अगुवाइ नभएसम्म ती गाउँमा राम (चमार) समुदायको संस्कार कर्म चल्दैन ।
मामा मंगल दासबाट ज्योतिष र पुरोहित ज्ञान आर्जन गरेका दुःखीले ४० वर्ष पुरेत्याइँका क्रममा सयौँ जोडीको विवाह कर्म चलाइसकेका छन् । तर उनले भेलामा पहिलोपल्ट बालविवाह गर्नुहुन्न भन्ने जानकारी पाए । "४० वर्षसम्म पुरेत्याइँ गरे हुँला । पहिला केटाकेटीको उमेर २० वर्ष पुग्नुपर्छ भन्ने थिएन," पण्डित दुःखी भन्छन्, "हुर्केका केटाकेटी बिहे गर्ने चलन थियो । ४० वर्षपछि पहिलोपल्ट २० वर्ष उमेर नपुगेकालाई बालविवाह भनिँदो रहेछ । यो उमेरमा आएर बल्ल थाहा पाएँ ।"
त्यसो त, दुःखीलाई आफ्नै विवाह भएकोसमेत थाहा छैन । केटाकेटी छँदै उनका बुबा सुनरले लहान-६ की रेवनीसँग जोडी बाँधिदिएका थिए । ३ कक्षा पढ्दै गरेका बालक छोरा श्याम र विनोदको विवाह कर्म उनी आफैँले चलाइदिए । छोरी राम सुनैरको पनि बालखैमा विवाह गरिदिए । "आफ्ना जातिका अरूका त कति हो ? कत्तिको बालविवाह कर्म चलाएँ, गनिसाध्य छैन," भन्छन्, "हाम्रो जातिमा बालविवाह गर्ने चलनै थियो । त्यही कर्मलाई निरन्तरता दिएँ ।"
दलित जनकल्याण युवा क्लबले जातीय पण्डित र माइन्जनलाई भेला गरेर बालविवाह कानुनले वर्जित गरेको सम्बन्धमा पटक-पटक प्रशिक्षण चलाएको थियो । क्लबका सदस्यले बालविवाह गर्नुभन्दा छोराछोरीलाई शिक्षा दिन हतारो गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले आफ्ना जातीय समुदायका घरघर पुगेर 'बिहेबारी २० वर्षपारि' जस्ता सचेतना र कानुनी प्रबन्धबारे अभिभावकलाई सुझाउने संकल्प गरेका थिए ।
समाज परिवर्तनमा जातीय पुरोहित र माइन्जनहरूको अभियानले सघाउ पुग्ने हुँदा ती जातीय समुदायम वर्षौंदेखि चल्दै आएको बालविवाह रोकथाममा सहयोग पुग्ने दलित अधिकारकर्मी एवं क्लब अध्यक्ष विनोद बिसुन्के बताउँछन् । बालविवाह तथा दाइजोविरुद्ध जातीय पुरोहित र माइन्जन निगरानी समिति संयोजक दुर्गाप्रसाद चौधरी भन्छन्,"उमेर नपुगेका केटाकेटीको बिहे कर्म चलाउँदैनौँ, भोजभतेरमा खर्च गराउँदैनौँ ।"
अधिकारकर्मी राजकुमार राउत कुर्मीका अनुसार विसं १९१० को मुलुकी ऐनमा पनि विवाहका लागि केटीको न्यूनतम उमेर ५ वर्ष तोकिएको, ०२० को मुलुकी ऐनमा विवाह गर्न केटीको १४ र केटाको १८ वर्षको उमेर तोकिएको थियो । तर अहिले कानुनले विवाह उमेर २० वर्ष तोकिसक्दा पनि पुरानै मानसिकताका कारण बालविवाह रोकिन नसकेको कुर्मीको अनुभव छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...