भौतिकवादी बुद्ध
थोरै अपवादलाई छाड्ने हो भने हामीकहाँ यात्रा साहित्य कंगाल छ । ती कट्मिरा भावना र अज्ञानका पुलिन्दा बनेका छन् ।
डाक्टरको छोरा मरेको छ । लासमा घोप्टेर विलाप गरिरहेकी छन्, पत्नी ।
छोराको सद्गत नै नगरी मानवताका नाताले आग्रहवश अर्को युवककी पत्नीको उपचार गर्न पुग्छ । तर युवककी पत्नीले अर्कै पुरुषसँग जान लोग्नेसँग त्यो प्रपन्च गरेकी हुन्छे । वास्तविकता थाहा पाएर डाक्टर रिसले चुर हुन्छ । डाक्टरको त्यो असीम उदारता र संवेदनशीलतालाई नबुझी युवक धनको तुजुक देखाउँदै सोध्छ, 'किन रिसाउँछौ ? मैले तिमीलाई त्यसै बोलाएको छैन । भन, तिम्रो फिस कति भयो ?'
यो दृश्य कथासाहित्यका अनुपम कारिगर आन्तोन चेखबलिखित 'द इनेमी' को हो । ४४ वर्ष मात्रै बाँचेका यी कथाकारले कथामा उतारेको १९ औँ शताब्दीको जारकालीन रुसी जीवनचित्र आज पनि सान्दर्भिक भइदिन्छ । उनका कथा संकलन सेलेक्टेड सर्ट स्टोरिजमा समाजले वास्ता नगरेका, खुम्चिएर, लुकेर, हेपिएर बसेका, भित्रभित्र पीडा र दुःखले जलेका व्यक्तिको अशान्ति, कोलाहल, दुःखको चित्र र उच्च मानवीय भाव तटस्थ रुपमा प्रस्तुत गरिएको छ ।
थोरै अपवादलाई छाड्ने हो भने हामीकहाँ यात्रा साहित्य कंगाल छ । ती कट्मिरा भावना र अज्ञानका पुलिन्दा बनेका छन् । रत्नपार्कदेखि टेकुसम्मको टेम्पुयात्रालाई पनि कनीकुथी साहित्य बनाइदिने परिवेशमा जनकलाल शर्माको कौतुकमय डोल्पो यात्रा साहित्यको उदाहरणीय किताब हो । उत्खननका लागि ०२६ सालमा जाँदा डायरी शैली लेखिएको छ । डोल्पाको भूगोल, इतिहास, पुरातफ्व, जीवनशैली, रहनसहन, प्राकृतिक सौन्दर्य र मानवीय भावनाको सांगोपांगो चित्र सिनेमाझैँ हाम्रा आँखाअगाडि आउँछन् ।
काठमाडौँबाट प्रस्थानदेखि जुम्ला, तिव्रीकोट र डोल्पासम्मका हिन्दु परम्पराका पाँच मन्दिर, २३ बौद्ध गुम्बा र एक बोन्पो गुम्बा अनि त्यहाँका जातीय विविधताको अध्ययन, भाषा, संस्कृति, उद्योगधन्दा एवं रहनसहनको जीवन्त चित्रण छ । ५० वर्षअघि उनले गरेको यात्रा वर्णनले त्यो उच्च पहाडी तथा हिमाली जीवनको कठिनता तर अनुपम प्राकृतिक सौन्दर्य र पुराताफ्विक सम्पदाबारे हाम्रो मनमा असीम उत्सुकता जगाउँछ ।
हामीले बुद्ध नेपालमा जन्मेका हुन् भन्न खर्च गरेको ऊर्जा बुद्धशिक्षा बुझ्न सदुपयोग गरेको भए हाम्रो चिन्तनको धरातल धेरै उँचो हुन्थ्यो । मैले बुद्धको नाम लिनेबित्तिकै मेरा 'माक्र्सवादी' मित्रहरु आगो हुन्छन् । यो बुद्धशिक्षाबारे तिनको निरक्षरताको परिणाम हो । जातिभेदलाई धुलो चटाउने, पूजा, कर्मकाण्डलाई निरर्थक ठान्ने, ईश्वर, परलोक र आत्माको अस्तित्व नमान्ने, आफ्नै शिक्षालाई समेत अन्तिम सत्य नमान्ने, कुनै पनि कुराको स्वतन्त्र र स्थायी अस्तित्व नमान्ने, ज्ञानलाई नै सर्वोपरि ठान्ने बुद्ध दर्शन र भौतिकवादी मानिने माक्र्सवादमा आधारभूत भिन्नता छैन ।
उत्पादनको प्रसंगमा बुद्ध पूरै युटोपियन छन्, जसमा माक्र्स वस्तुवादी लाग्छन् । तर, मानवीय मनको उपचार गर्न बुद्धलाई भेट्ने सायदै कोही छन् । उनी आत्मअनुशासनले आफैँमाथि विजयी हुने मान्छेलाई संसारको कुनै पनि शक्तिले हराउन सक्दैन भन्छन् । बुद्धशिक्षा धर्म नभई दर्शन मात्र हो । बौद्ध दर्शनका इन्साइक्लोपेडिया मानिने भियतनामी बौद्ध भिक्षु थिक न्यात हन्हको ओल्ड पाथ, ह्वाइट क्लाउड्स पढिसकेपछि बुद्धबारे मेरो धारणा यस्तो बनेको हो ।
शान्ति अभियन्ता र कविको समेत परिचय बनाएका हन्हको यो किताब बुद्धको जीवन र दर्शन बुझ्न अत्यन्त उपयोगी छ । बुद्धको जीवनी भए पनि सुललित उपन्यासजत्तिकै सरस र सरल छ, यो । आख्यानपरक वर्णन र पूर्वदीप्ति शैलीले पनि यसलाई औपन्यासिक बनाएको छ । बुद्धलाई संबोधी प्राप्त हुँदाको सजीव तस्बिर खिचिएको यो पुस्तकले बुद्धको जीवनी र दर्शन सहजै बुझाइदिन्छ ।
हावाले हल्लाइरहेका हरिया पातमा घामको प्रकाश परेको हेर्दा- कुनै पनि चीजको अस्तित्व स्वतन्त्र हुँदैन, ती एक अर्कामा निर्भर हुन्छन् भन्ने निष्कर्षमा पुग्छन् उनी । र, उनलाई जीवनका चार आर्य सत्य र अष्टांग मार्ग सुझ्छ।
बुद्धलाई भेट्न आएकी वैशालीकी अनुपम सुन्दरी आम्रपालीको सौन्दर्यमा भिक्षुद्वय कालुदयी र नागसमल पानीपानी हुन्छन् । उनी गइसकेपछि दुई भिक्षुको मनस्थिति बुझेर बुद्ध भन्छन्, 'भिक्षु हो, करुणापूर्ण आँखाले हेर्न सकियो भने झट्ट हेर्दा सुन्दर वस्तु देखेर आसक्त र कुरुप वस्तुलाई देखेर घृणाभाव पैदा हुँदैन । करुणाको अर्थ हो, निःसर्त प्रेम अर्थात् प्रेमको बदलामा कुनै पनि अपेक्षा नगर्नु । मुक्त हृदय न सुन्दर वस्तुसँग सम्मोहित हुन्छ, न त कुरुप वस्तुसित विरक्त ।' जीवनका जटिलतम दर्शन बुद्धले सजिलै बुझाइदिन्छन् ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...