अपराधको आडमा चलेको एउटा ‘छुट्टै राज्य’

  • स्थलगत रौतहट

- मनबहादुर बस्नेत

फरहदवा (गौर)


उनले मेरो परिचयपत्र मागे । तर आफ्नो परिचय दिनुपरे कुरै नगर्ने अड्डी लिए ।

परिचयपत्र देखाउनैपर्ने स्थिति आइलाग्यो । तर त्यति गरिसक्दा पनि उनी ढुक्क बनेनन् । सुरक्षाकर्मीले झैँ मेरो शरीर खानतलासी लिए । आफ्नो आवाज कुनै गोप्य चीजले रेकर्ड पो गर्दै छ कि भनेर जाँच गरे ।

त्यसपछि वरिपरि हेरे । मेरो काननेर मुख जोत्दै भोजपुरी भाषामा फुसफुसाए, "सोले फिल्म हेर्नुभएको छ ?"

'छु' को जवाफ पाएपछि उनको वाक्य फुट्यो, "सोच्नुस् भोलि जेल -हिरासत) बाट छुटेर गाउँमा गब्बरसिंह आउँदै छ । अनि हाम्रो हालत के होला ? आफैँ बुझ्नुस् ।"

आधा घन्टा बात मार्दा अन्त्यमा परिचय खोलेका तर छाप्न मनाही गरेका यिनले १२ वर्ष पुरानो फरहदवा बम विस्फोट काण्डबारे बोलेका शब्द यत्ति हुन् । गब्बरसिंह विम्ब पाउने मानिस हुन्, सोही क्षेत्रका बासिन्दा एवं पूर्वमन्त्री मोहम्मद आफताव आलम, जसलाई यो घटनाको मुख्य योजनाकार मानिएको छ ।

कात्तिक पहिलो साता रौतहटको राजपुर-फरहदवा क्षेत्रमा पुग्दा कोही पनि निर्धक्क बोल्न मान्दैनथे । बम विस्फोटपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर मारेको घटनाको सबुत नष्ट पारेको अभियोगमा आफताव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् । उक्त विस्फोटमा त्रिलोकप्रताप सिंह र ओसी अख्तर मारिएको जाहेरी प्रहरीमा दर्ता छ । तर स्थानीयका अनुसार अन्य भारतीय पनि मारिएका थिए । यद्यपि आफताव पक्राउ परेको दुई साता बितिसक्दा पनि मृतक भनिएका परिवार कोही पनि सम्पर्कमा आएका छैनन् ।

राजपुर, फरहदवा क्षेत्रको प्रवेशद्वार


सदरमुकाम गौरदेखि १० किलोमिटर पश्चिम-उत्तर क्षेत्र राजपुरमा चैन छैन, गब्बरसिंह शैलीमा आएर बस्तीमा ध्वंस मच्चाउने हो कि भनेर । चैन त सदरमुकामस्थित प्रहरीलाई पनि छैन । पक्राउलगत्तै राजपुरको प्रहरी कार्यालयमा सुरक्षा बल थपिएको छ भने ६ कात्तिकमा प्रदेश प्रहरी कार्यालयबाट गौरमा दंगा नियन्त्रण गर्ने सय जनाको मद्दती फौज आएको छ ।

जे भने पनि बुरुक्क उफ्रिन्छ। कागजमा ल्याप्चे लगाउनुपर्ने । मान्दैन । जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका एक प्रहरीले मिसिल तयार गर्दाको हैरानी पोख्न नपाउँदै छेउमै रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की हौसिए, "अहिल्यै हिरासतबाट यहाँ ल्याएर ल्याप्चे लगाउन भन ।" प्रहरीसँग गरेको बयानमा औँठाछाप लगाउनै मानेका रहेनछन्, उनले । घटनामा आफ्नो संलग्नताबारे इन्कारी बयान दिएका आफतावले औँठाछापसमेत लगाउन इन्कार गरिदिएछन् । त्यसपछि प्रहरीले जिल्ला निर्वाचन कार्यालयलाई आफतावको औँठाछाप उपलब्ध गराइदिन पत्र काट्यो । मतदाता परिचयपत्र बनाउँदा निर्वाचन कार्यालयमा औँठाछापको अभिलेख हुन्छ । तर निर्वाचन कार्यालयले सहयोग गरेन । संघीय संसद्बाटै भए पनि आफतावको औँठाछाप झिकाउने प्रहरीको तयारी छ ।

जपुर फरहदवा क्षेत्रमा लामो समयदेखि आफ्नो दबदबा राख्न सफल आफताव आलम आखिर २६ असोजमा प्रहरीद्वारा समातिए । उनी समातिएपछि नै हो, आफताव परिवारले कसरी आफ्ना राजनीतिक अभीष्ट राज्य संयन्त्रको आडमा जोगाइरहेको रहेछ भन्ने सतहमा देखिएको । यो क्षेत्रमा त तीन दशकदेखि आफताव परिवारको राज चलिरहेको थियो ।

शेख इद्रिस-राज

रौतहट सदरमुकाम गौरदेखि चन्द्रनिगाहपुर सडक खण्डको ५ किलोमिटर कटेपछि देब्रेपट्ट सिमेन्टले ढलान गरिएको गेट देखिन्छ । गेटमा लेखिएको छ, 'स्व शेख इदि्रस, भूतपूर्वमन्त्री, पिप्राभगवानपुर प्रवेशद्वार, क्षेत्र नम्बर-२ ।'

अब इद्रिसको इलाकामा पसियो ।

पञ्चायतकालदेखिकै 'बडा नाम' हो, शेख इद्रिस । मुस्लिम समुदायबाट माथिल्लो ओहोदामा पुग्ने थोरै पात्रमध्येका एक । यिनै इद्रिसद्वारा राजनीतिक रूपमा पोषित व्यक्ति हुन्, राजपुर बमकाण्डका अभियुक्त आफताव । आरोपित आफताव इदि्रसका जेठा दाइ शेख सदिकका जेठै सन्तान हुन् । इदि्रसका साक्खै भतिजा । शेख परिवारले प्रजातन्त्र पुनरोदयसँगै राजपुर क्षेत्रमा तीन दशकदेखि अनवरत रजगज चलाइरहेको छ । शेख परिवारको रजगजको प्रकट अनुहार मात्रै हो, आफताव ।

राणाकालदेखिकै जमिनदार हो, शेख परिवार । इद्रिसका बुबा अर्थात् आफतावका हजुरबुबा शेख लियाकत फरहदवा क्षेत्रका जमिनदार थिए । जमिनमाथिको पकड त्यसबेलाको बलियो पुँजी थियो । शक्तिको स्रोत थियो । त्यही पुँजीले लियाकत परिवारलाई प्रभावशाली बनायो । लियाकतका कान्छा छोरा शेख जर्नेल पञ्चायतकालमा लामो समय राजपुर फरहदवाको प्रधानपञ्च चुनिएका थिए । माइला छोरा इद्रिस भने नेपाली कांग्रेसको राजनीतिमा जोडिए ।

सुरुमा इद्रिस टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद् हुँदै कांग्रेस प्रवेश गरेका थिए । १०-११ असोज २००७ मा भारतको बैरगनियामा आयोजित कांग्रेस सम्मेलनताका सबैजसो नेता इद्रिसकै घरमा बसेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री सुनाउँछन् । सम्पन्न शेख परिवारले पञ्चायतविरुद्धको क्रान्तिमा भरथेग गर्‍यो । पार्टीलाई आर्थिकदेखि विभिन्न सहायता दिलाइरहन्थ्यो । यो सम्मेलनलाई कांग्रेसको मात्र होइन, नेपालको राजनीतिक इतिहासमै महत्त्वपूर्ण परिघटना मानिन्छ किनभने यही सम्मेलनमा राणाशाहीविरुद्ध शान्तिपूर्ण नभई सशस्त्र आन्दोलन गर्ने, त्यसका लागि बर्माबाट हतियार मगाउने निर्णय भएको थियो ।

रौतहट कांग्रेसका पुराना नेता बिन्दा सहनीका अनुसार ०३९ मा शेख इदि्रसकै घरमा कांग्रेसले ९ दिने प्रशिक्षण चलायो । त्यसबेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सीके प्रसाईं, वासु रिसाललगायत सबै नेता उपस्थित थिए । बलियो गुप्तचरी सन्जाल भएको मानिने पञ्चायतमा समेत यति लामो समय नेपालकै गाउँमा कांग्रेसले प्रशिक्षण चलाउन सकेपछि इदि्रसप्रति कांग्रेस नेतृत्व अझै प्रभावित भएको सहनी सुनाउँछन् । फलस्वरूप तराईमा इद्रिस कांग्रेसको बलिया नेताका रूपमा स्थापित भए ।

प्रशिक्षण कार्यक्रमकै बीचमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) रौतहटको प्रथम महाधिवेशन भयो । नेविसंघका सभापति जयमुन्दर यादव गणतन्त्रवादी रामराजाप्रसाद सिंहको पार्टीमा लागेको गाइँगुइँ सुनिएकाले नयाँ नेतृत्व खोज्न अपर्झट महाधिवेशन गर्नु परेको थियो । "यस्तो कुराले मलाई पनि कसलाई जिम्मा लगाइदिने भन्ने भइरहेको थियो," सहनी भन्छन्, "अनि हतारहतार आफतावलाई सभापति बनाइयो ।" आफताव त्यसबेला नजिकै भारत सीतामढीको कलेजमा पढ्दै थिए ।

कृष्णप्रसाद भट्टराईले इद्रिसलाई रुचाउँथे । आफतावलाई राजकुमारसमेत भन्थे, त्यसबेला । ०४२ को सत्याग्रहताका गौरमा विद्यार्थीको ठूलो प्रदर्शनी भएको थियो । गौर, खेचरिया, धरहरीलगायतका विद्यालयबाट विद्यार्थी आएका थिए । शेख इद्रिसले गौर सत्याग्रहमा सहभागी विद्यार्थीको नेतृत्व आफताव र समीम अख्तरले गरेको भनेर पार्टी नेतृत्वसमक्ष रिपोर्ट दिए । समीम इद्रिसका भाइका छोरा हुन् । तर राजपुरबाट एक जना पनि विद्यार्थी प्रदर्शनमा नआएको सहनी सम्झन्छन् । भन्छन्, "यसरी आफतावलाई पार्टीभित्र प्रवर्द्धन गर्न थालियो ।"

घटनास्थल पुगेका मानव अधिकारकर्मीसँग स्थानीय


संकटमोचनस्वरूप नेविसंघको जिल्ला सभापति बनेका आफताव ०४७ मा नारायणी अञ्चलको उपसभापति बने । ०४६ को आन्दोलनमा सक्रिय भएपछि आफतावलाई इदि्रसले आफ्नो उत्तराधिकारी बनाउने गरी अघि बढाएको सहनीको कथन छ । इद्रिसका एक मात्र छोरा थिए, जफिर । जफिर सानैदेखि रोगी हुँदा राजनीतिक जीवनमा सक्रिय भएनन् । खुद छोराले आफ्नो बिँडो थाम्न नसक्ने देखेपछि इद्रिसले भतिजालाई पारिवारिक विरासत धान्ने व्यक्तिका रूपमा अगाडि सारे ।

इद्रिसबारे कतिपय मानिसबीच सफा छवि निर्माण भएको देखिन्छ । तर बाहिर भलाद्मी देखिए पनि इद्रिस मारमुंग्रीको राजनीतिभन्दा टाढा थिएनन् । प्रजातन्त्र पुनः स्थापनापछिको पहिलो संसदीय चुनावको प्रचारप्रसारमा राजपुरमा इदि्रस समर्थक चाँद अलीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । त्यही मुद्दामा अली ६ महिना जेल बसेका थिए ।

त्यसबेला इदि्रसका प्रतिद्वन्द्वी नेकपा (प्रजातन्त्रवादी) का विष्णुबहादुर मानन्धर थिए । बुबाको चुनावी गतिविधिमा सघाउन त्यतिबेला रौतहटमै रहेका विष्णुबहादुरका छोरा सुनील मानन्धर -हाल नेकपा केन्द्रीय सदस्य) का अनुसार इदि्रस पक्षले १० वटा बुथ कब्जा गरेको थियो । "बुथस्थलमा हाम्रा प्रतिनिधि बस्नै नसक्ने अवस्था भएपछि बुबाले चुनाव हार्नुभयो," उनी सम्झन्छन् । ज्ञात रहोस्, इद्रिस उक्त चुनावमा देशभरबाटै सहाना प्रधानपछि दोस्रो बढी सर्वाधिक मत ल्याउने व्यक्ति थिए । त्यसपछि त मानन्धरले क्षेत्र नै परिवर्तन गरेर ०५१ मा क्षेत्र नम्बर-३ बाट चुनाव लडे । "इद्रिस परिवारको पहिल्यैदेखिको दबदबा हो, त्यहाँ । भारतदेखि आपराधिक समूहका व्यक्ति ल्याउने र स्थानीयलाई तर्साउने त्यसबेलादेखिकै प्रवृत्ति हो," मानन्धर भन्छन्, "आफताव त्यो प्रवृत्तिको क्लाइमेक्स मात्र हुन् ।"

आलमकालमा अपराधै अपराध

११ मंसिर ०५३ मा इद्रिसको मृत्यु भएपछिको उपनिर्वाचनमा आफतावले टिकट पाए र जिते । त्यसको ठ्याक्कै एक वर्षपछि ०५४ मा आफताव श्रम सहायकमन्त्री बने । त्यसपछि गठित मन्त्रिपरिषद्मा उनी नबिराई मन्त्री बनिरहे, ०५७ सम्म । ०५६ को प्रतिनिधिसभा चुनाव हुँदा उनी राज्यमन्त्री थिए । चुनाव जितेपछि उनले राजपुरमा बन्दुकसहितको विजय जुलुस निकालेका थिए । १२ बोर बन्दुकसहित निकालिएको त्यो जुलुसमा अचानक गोली पड्कँदा उनकै समर्थक शेख ओसी मोहम्मदको मृत्यु भएको थियो । तर आफताव पक्षले विपक्षीले गोली चलाएको भन्दै एमाले समर्थकको घर तोडफोड गरिदियो । प्रहरीले केही एमाले कार्यकर्तालाई पक्राउ पनि गरेको थियो । पछि भारतबाट अपराधी आएर गोली चलाएको भन्दै प्रहरी प्रशासनले मध्यमार्गी बाटो अपनाएर अनौपचारिक सम्झौता गराइदियो ।

०५६ चैतमै वनराज्यमन्त्री छँदा आफताव अपहरण काण्डमा संलग्न भएका थिए । रौतहट जिल्ला विकास समिति (जिविस) सदस्य जयप्रकाश कौशललाई आफतावका भाइ मोहम्मद मेहताब आलमसहितको समूहले जिविस हाताबाटै लगेको थियो । त्यसपछि आफतावका काका शेख जर्नेलको घरमा उँधो मुन्टो पारेर झुन्ड्याएर यातना दिएको र प्रहरीले अपहरणमुक्त बनाए पनि कारबाही नगरेको पुनरावेदन अदालतका न्यायाधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक जाँझबुझ आयोगले निष्कर्ष निकालेको थियो । अपहरणमा जिल्ला वन कार्यालय पर्साको गाडी प्रयोग भएको थियो भने रौतहटका तत्कालीन प्रहरी प्रमुख मदन खड्काले आफूले कौशल अपहरणको खबर राज्यमन्त्री आफतावबाटै पाएको र प्रहरी पठाएर उद्धार गरेको अयोगसमक्ष बयान दिएका थिए ।

१४ वैशाख ०७१ मा राजपुरमा एक महिला बलात्कृत भइन् । प्रहरीले राजपुरकै शेख मुजरिया आलम र सफरुल्लाह खाँलाई पक्राउ गर्‍यो । जबकि खाँ घटना भएको दिन राजपुर प्रहरी कार्यालयको हिरासतमा थिए, अर्को छुट्टै घटनाको अनुसन्धानका लागि । नेपाललाई प्राप्त कागजातमा सफरुल्लाह खाँलाई १५ वैशाखमा मात्र छाडिएको देखिन्छ । बुझ्नुपर्ने कुरा के छ भने ०७० को चुनावमा खाँले आफतावलाई सहयोग गरेका थिएनन् । सोही कारण खाँलाई अनाहकमा फसाइएको स्थानीय सुनाउँछन् ।

भाइ पनि उस्तै

१८ असार ०६० सम्म देवा पटेल (हरदेव पटेल) अरूझैँ छ्यांग आँखा देख्थे । तर १९ असारमा उनका आँखा झ्याप्प बन्द भए । युद्धरत माओवादी कार्यकर्ता पटेल त्यसबेला युद्धविराम भएकाले खुला थिए । राजपुर भेडियाहीका पटेल त्यस दिन पिप्राभगवानपुरदेखि राजपुर र्फकंदै थिए । राजपुर प्रहरी कार्यालयका असई जागेश्वर ठाकुरसँग राजपुर बजारमा भनाभन हुँदै ठेलमठेल भयो । त्यहीँ थिए, मेहताव । त्यही बेला असईले पटेलको दुवै हात समाते । नजिकैका मेहतावले पटेलका आँखामा एसिड छ्यापिदिए । "युद्धविरामका बेला पटक-पटक ठाकुरसँग भेट्ने, गफ गर्ने हुन्थ्यो," पटेल भन्छन्, "तर त्यस दिन उनले मसँग बिनाकारण निहुँ खोजे ।" त्यसपछि उनले केही देखेनन् । देब्रे आँखा एसिडले छ्याप्पै भिज्यो । दाहिनेमा अलि कम लाग्यो । कम लागेको आँखामा थुक लगाएर बचाउन खोजे तर सकेनन् । अहिले उनले दाहिने आँखा धमिलो देख्छन् भने देब्रे कामै नलाग्ने भयो ।

एसिड आक्रमणका सिकार देवा पटेल


युद्धविरामका बेला समातिएका पटेललाई हातहतियार तथा खरखजाना मुद्दा लगाएर साढे दुई वर्ष जेल हालियो । त्यसमा प्रशासनले समेत साथ दिएको थियो । मेहतावले आफूमाथि किन एसिड छ्यापे भन्ने उनले अहिलेसम्म बुझेका छैनन् । तर पटेलको अनुमानमा ०५६ मा आलम परिवारको घरमा डकैती र आगजनी भएको थियो । माओवादीले उक्त घटना घटाएको आशंकामा मेहतावले आफूमाथि प्रतिशोध साँधेको हुन सक्ने पटेलको अनुमान छ । जबकि उनी घटनाको दुई वर्षपछि ०५८ मा माओवादीमा आबद्ध भएका थिए ।

एउटा आँखा गुमाएका र एउटा मुस्किलले मात्र देख्ने भएपछि उनी अहिले काम गर्न सक्दैनन् । कारण, धुलो संक्रमित भएर आँखा बल्झिहाल्छ । ५ सन्तानका पिता पटेल परिवार अहिले नाजुक हालतमा जीवन गुजार्न बाध्य छ । "साथीहरूले पेटी ठेकेदार बनाएका छन् । फिल्डमा नगई अलिअलि काम गर्छु । धुलोले काम गर्नै सक्दिनँ," उनी भन्छन्, "साथीहरूले माया गर्न छाडेपछि मेरो परिवारको विचल्ली हुनेछ ।"

०५९ मा रौतहटबाट एसएलसी परीक्षामा उत्तीर्ण प्रतिशत ६८ प्रतिशत थियो । ०६० मा एकाएक १९ प्रतिशतमा झर्‍यो । अर्को वर्ष त १४ प्रतिशत मात्रै पास भए । चिट चोर्न नपाएपछि एकाएक जिल्लाको एसएलसी नतिजा खस्किनु स्वाभाविकै थियो । "कहीँ पास हुन नसके रौतहट जानू, पास होइन्छ भनेर त्यसबेला यो जिल्ला बदनाम थियो," ०६० देखि ०६२ सम्म रौतहट प्रहरी प्रमुख बनेका पूर्वडीआईजी केशबहादुर शाही भन्छन् । शाहीले परीक्षालाई मर्यादित तुल्याउन खोजेपछि राजनीतिक पार्टीमा संलग्न शिक्षकले विरोध गरेका थिए । त्यसमा आफतावका भाइ अस्थायी शिक्षक मेहताव छुट्ने कुरै थिएन ।

एसएलसी परीक्षामा मात्र होइन, स्थायी शिक्षकका लागि भएको आन्तरिक खुला परीक्षामा समेत उस्तै दुर्गति थियो । ३ असार ०६२ मा शिक्षक सेवा आयोगले लिएको परीक्षामा मेहतावको नाममा अर्कै शिक्षकले जाँच दिएको प्रहरीले फेला पार्‍यो । गौरको जुद्ध माविमा भएको परीक्षामा आलमको बदलामा हरेन्द्रप्रसाद यादवले जाँच दिइरहेका थिए । फरार मेहतावलाई प्रहरीले २१ असारमा समातेर सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा चलायो । १० दिन हिरासत बसेका उनी धरौटीमा छुटे । त्यसको दुई वर्षपछि जिल्ला अदालत रौतहटले १५ दिन कैद र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनायो । १० दिन हिरासतमा रहे पनि अझै ५ दिन जेल बस्न बाँकी नै छ ।

अहिले पनि मेहताव अस्थायी शिक्षक छन् । पढाउनभन्दा राजनीतिमा बढी सक्रिय छन् । "उनी आफू पढाउँदैनथे । खेताला शिक्षक राख्थे," शाही सम्झन्छन्, "मैले शिक्षकहरूले खेताला लगाएको यहीँ सुनेको हुँ ।" तराईमा खेताला शिक्षकलाई तलबको निश्चित हिस्सा दिइन्छ र दरबन्दीवाला शिक्षक भने पढाउँदैनन् । राजपुर नगरपालिकाका मेयर शेख सकिल पनि मेयर हुनुअघि अस्थायी शिक्षक थिए । उनले पनि खेताला शिक्षक राखेका थिए । बम विस्फोट घटनामै जोडिएका मेहताव फरार छन् । मेहतावले आफताव पक्राउको विरोधमा भारतबाटै नेपालका मुस्लिम समुदायलाई उचाल्न खोजेको सूचना प्रहरीले पाएको छ । 

मधेसको महामारी

१२ वर्षअघि आफतावको गोठमा पहिलो संविधानसभा चुनावको अघिल्लो दिन बम विस्फोट भएको थियो । आफताव निवास परिसरमै घरेलु बम बनाइँदै गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफतावका अंगरक्षक शेख सारजले सल्काएको चुरोट खस्दा विस्फोट भएको थियो । भोलिपल्टको चुनावमा ती बम पड्काएर बुथ कब्जा गर्ने आफतावको योजना हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल पुगेका मानव अधिकारकर्मीसँग स्थानीय१४ जनाको हत्या आरोप लागेका मोहम्मद आफताव आलम  रौतहट जिल्ला अदालत परिसरमा, ८ कात्तिक, तस्बिर : शिव पुरी


तराई क्षेत्रलाई जसले बुथ कब्जा गर्न सक्छ, उसैले चुनाव जित्ने महामारीले गाँजेको छ । प्रहरी र स्थानीय प्रशासनसँगको मिलेमतोमा यस्तो हुने गर्छ । आफतावराजकै कुरा गर्ने हो भने पनि उनका प्रायः सबै गतिविधिलाई प्रहरी र स्थानीय प्रशासनले प्रत्यक्ष-अप्रत्यक्ष भरथेग गरिदिए । प्रहरीको समेत शक्तिमा रहेका नेताहरूको गलत काम रोक्ने ल्याकत हुँदैन । प्रहरी संगठनको वृत्ति विकास, सरुवा, बढुवामा राजनीति हाबी हुँदा प्रहरी अधिकारीको कार्यदक्षता क्षीण हुँदै गइरहेको हुन्छ । "तराईमा जो पीडक हो, उसैलाई सहयोग गर्नुपर्‍यो भन्दै नेताहरू बोकेर आउँछन्," पूर्वडीआईजी शाहीको अनुभव छ, "त्यस्तो बेला प्रहरी र स्थानीय प्रशासनले रोक्न सक्नुपर्छ, जुन हामीले अपवादबाहेक सकेनौँ ।"

बहुदलकालमै कपिलवस्तुबाट मिर्जा दिलसाद वेगजस्ता आपराधिक पृष्ठभूमिकाहरू सांसद चुनिए, त्रासकै आडमा । सर्लाहीबाट चुनिएका उदन्ड स्वभावका खोभारी राय राज्यमन्त्रीसमेत बने । गणतन्त्र स्थापनापछि रौतहटकै बब्बन सिंह नेता बनेर उदाए । पुराना कांग्रेस नेता बिन्दा सहनी छिमेकी बिहारको दुष्प्रभाव नेपालको सीमावर्ती जिल्लामा नराम्ररी सल्किएको बताउँछन् । "हामीले भारतमै बसेर नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापना दुवै गर्‍यौँ । तर उतैबाट मारमुंग्रीको राजनीति पनि भित्र्यायौँ," उनी भन्छन्, "मधेस त्रासैत्रासमा बाँचिरहेको छ ।"

महात्मा गान्धीको उक्ति छ, गलत साधनले असल साध्यको प्राप्ति असम्भव छ । मधेसले अब गलत साधन अर्थात् आफताव प्रवृत्तिबाट मुक्ति पाए मात्रै यहाँको राजनीति सङ्लिनेछ । "आफ्तावहरूले दण्ड पाए मधेसको राजनीतिक प्रवृत्तिमा ठूलो परिवर्तन हुने र गर्ने सन्देश जानेछ," पूर्वडीआईजी शाही भन्छन् । 


फरहदवाको लडाइँ

बम बनाउँदा-बनाउँदै विस्फोट भएर ओसी अख्तर र त्रिलोकसिंह राजपुत घाइते भएका थिए भन्ने विश्वास धेरैको छ । तर पोल खुल्ने डरले उनीहरूलाई पछि मारिएको प्रहरीको समेत निष्कर्ष छ । भारतीय बम बनाउन आएको भनिए पनि ती कति संख्यामा थिए र कति मारिए भन्ने खुलेको छैन । सुरुमा त ओसी अख्तर र सिंहको परिवारलाई प्रहरीमा जाहेरी दर्ता गर्नै रोकिएको थियो । हुलाकमार्फत जाहेरी दर्ता भएको थियो, बार एसोसिएसनको सहयोगमा ।

०६५ असारमा पक्राउ पुर्जी जारी त भयो तर सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरिदियो । पीडित पक्ष फेरि महान्यायाधिवक्ताको कार्यालय पुग्यो । ०६५ मा महान्यायाधिवक्ताको कार्यालयले समेत जिल्लाकै निर्णय सदर गरिदियो । त्यतिबेला महान्यायाधिवक्ता थिए, यज्ञमूर्ति बञ्जाडे । ०६९ मा भने सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय खारेज गर्दै थप अनुसन्धान गर्न आदेश दियो । तर फैसला कार्यान्वयन गर्न अर्को ६ वर्ष पर्खनुपर्‍यो । अन्ततः कात्तिकमा प्रहरीको अनुसन्धानमा तानिए, आलम ।


प्रहरीका लागि ट्रायल केस

भनिन्छ, १२ वर्षपछि खोलो पनि फर्किन्छ । सोही उक्तिसँग मेल खाने गरी आफताव आलम १२ वर्ष पुरानो घटना पुनः जीवित हुँदै पक्राउ परे । तर प्रहरीका निम्ति यो यस्तो घटना हो, जुन उसकै लागि ट्रायल भन्न सकिन्छ । कारण, यसमा सिन अफ क्राइमका दसीप्रमाण जोगिएका त छैनन् नै, प्रमाणहरू उल्टो भेला पारिएको थियो । विस्फोट स्थलमा रहेका सबैलाई इँटाभट्टामा हालेर खरानी पारिएको आशंका छ । जिउँदै मानिस पोलिएको खरानीसमेत अर्कै इँटाभट्टाको राखिएको अनुसन्धानबाट खुलेको थियो । यसले प्रहरीलाई प्रमाण जुटाउने चुनौती ठूलो छ । "यो घटना नेपाल प्रहरीको अपराध अनुसन्धानको इतिहासमै ट्रायल हुनेछ," पूर्व प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी भन्छन्, "किनभने एक त पुरानो घटना । त्यसमाथि प्रहरीले नै प्रमाण नष्ट गरेकाले त्यसबेलाका सुरक्षित दसी केही पनि छैन । यसलाई स्थापित गर्न सकिए हाम्रो प्रहरीको क्षमता विश्वकै लागि उदाहरणीय हुनेछ ।"

यो घटनासँग झन्डै मेल खाने मामिला प्रहरीले यसअघि टुंग्याएको थियो, काठमाडौँको रानीबारी हत्याकाण्ड । तर उक्त घटना र यसमा फरक के छ भने त्यसबेला घटनास्थलमा भेटिएका दसी सुरक्षित थिए । भलै, प्रहरीले ‘ह्युमन इन्टेलिजेन्स’ बाटै अनुसन्धान टुंगोमा पुर्‍याएको थियो । "यसमा भने मुचुल्का नै उल्टो उठाइएकाले प्रहरीका लागि नयाँ हुनेछ," रानीबारी हत्याकाण्डको अनुसन्धान टुंगोमा पुर्‍याउने टोलीका एक सदस्यसमेत रहेका अधिकारी भन्छन् ।

प्रकाशित: कार्तिक १३, २०७६

ट्याग: आफताव आलम