सम्बन्धका सेतु
अनेक रङका कपडा जोडेर मनीषले १ सय ८ मिटर लामो प्रतिस्थापन कला तयार पारेका थिए । यसलाई नाम दिइएको थियो, 'भर्टिकल वेभ' ।
एसियाको प्रतिष्ठित बुसान बायोनाले सी-आर्ट फेस्टिभल, २०१९ मा १२ देशका कलाकारले समुद्री किनारामा आफ्नो कला देखाए । तीमध्ये एक थिए, नेपालका मनीषलाल श्रेष्ठ । अनेक रङका कपडा जोडेर मनीषले १ सय ८ मिटर लामो प्रतिस्थापन कला तयार पारेका थिए । यसलाई नाम दिइएको थियो, 'भर्टिकल वेभ' । यसलाई उनले दक्षिण कोरियामै बनाएका हुन्, १५ दिन लगाएर । १५ अन्य कलाकारको पनि साथ लिए । फेस्टिभलमा यो आर्ट प्रदर्शनी जारी छ । सबै रङका लुगालाई सेतो धागोले जोडिएको छ । मनीष भन्छन्, "लुगा हाम्रो दोस्रो छाला हो । यसबाट मैले भिन्न सम्बन्ध र समुदायलाई एउटै लयमा उन्न खोजेको हुँ ।" १ सय ८ मिटरकै बनाउनुमा चाहिँ आध्यात्मिक अर्थ छ ।
दुई वर्षअगाडि मनीषले ऊनीले बुनेको १ हजार ३ सय ३६ मिटर लामो डोरी बनाएका थिए । यो रंगीबिरंगी डोरीलाई करिब ३ सय जनाले आफ्नो शरीरमा उनेर तारागाउँ म्युजियमबाट बौद्ध परिक्रमा गरेका थिए । काठमाडौँ समुद्री सतहबाट १ हजार ३ सय ३६ मिटरमाथि छ, सोही कारण यहाँको उचाइ नाप्ने डोरीका रुपमा आफ्नो कला अभिव्यक्त गरे । पब्लिक आर्टकै रुपमा तयार पारिएको यो कलात्मक डोरीले उतिबेला नेपालमा काफी चर्चा पायो । तर यसको महत्व अझ सकिएको छैन । त्यसैले त, अर्को महिना चीनमा हुने टुडे आर्ट महोत्सवको प्रदर्शनीमा राखिँदै छ । कार्गो गरेर डोरी चीन पठाउन भ्याई-नभ्याई छ, मनीषलाई ।
भिजुअल आर्टिस्ट मनीषको कला नेपालमा अग्रपंक्तिमा आउँछ नै, विदेशमा पनि व्यापकता पाउँदै छ । सम्बन्धका अनेक आयामलाई कलामा व्यक्त गर्न माहिर छन्, उनी । प्रायः पहिरनमा आफूलाई पोख्न खोज्छन् । जबकि १८ वर्षअगाडि मुम्बईस्थित जेजे स्कुल अफ आर्ट्सबाट स्नातक गरेर फर्कँदा के गर्ने, कसो गर्ने, पूरै अन्योलमा थिए । यहाँ कलाको विकास शैशवास्थामै थियो न यथेस्ट ग्यालरी थिए, न त कलात्मक गतिविधि हुन्थे । फाट्टफुट्ट कला अनुयायी मात्र भेटिन्थे । "मुम्बई हुँदै यो हालतबारे जानकार थिएँ । त्यहीँ अवसर थियो तैपनि बस्न मन लागेन," मनीष पुराना दिन सम्झन्छन्, "कलाकारलाई राष्ट्रप्रति अति प्रेम जाग्दो रहेछ । मलाई त्यही प्रेमले तानेर यहाँ ल्यायो ।"
यहाँ आएपछि दुई वर्ष कलाकार, कला विकास र सम्भावनाबारे अनुसन्धानमै बिताए । अगाडि बढ्ने खाका तयार पारे । प्रयोगात्मक र नवीन कला पछ्याए । भन्छन्, "निरन्तरको साधनाले एउटा दिशा र गति दिँदो रहेछ ।"
रक, पप, ज्याज, फंकी हरेक विधाका गीत खुब सुन्थे, जसले उनमा संगीतप्रति विछट्टै प्रेम जगायो । मन्दिरका घन्टीका ध्वनिले उनलाई तान्थ्यो, सकारात्मक ऊर्जा दिन्थ्यो । त्यसैले उनले आफ्नो पहिलो एकल प्रदर्शनीमा घन्टीकै चित्र कोरे, सन् २००२ मा । घन्टी सात धातुले बनेको हुन्छ, त्यसको आवाजले वातावरण स्वच्छ बनाउँछ । तिनताका यस किसिमको अध्ययन गरेर चित्रमा व्यक्त गर्ने असाध्यै न्यून थिए । त्यसैले धेरै कलाप्रेमीको नजरमा परे तर पेन्टिङबाट मात्र उनको मन भरिएन । सोही कारण प्रतिस्थापन कलालाई रोज्न थाले । उनका अनुसार पेन्टिङमा भाव अभिव्यक्त गर्ने सीमितता हुन्छ, थोरैसँग मात्र अन्तरक्रिया हुन्छ । तर प्रतिस्थापन कलाले एकै पटक धेरै व्यक्तिसँग अन्तरक्रिया गर्छ, अनुभूत गराउन सकिन्छ । भयो पनि त्यस्तै । प्रतिस्थापन कलाले मनीषको कलात्मक यात्रालाई गति दियो ।
मनीषले घरको एउटा कोठामा स्टुडियो बनाए । मनमा उब्जने भाव कलामा मिसाउन थाले । तर व्यक्तिगत तबरबाट मात्र उपयोगी हुने देखेनन्, किनभने हामीकहाँ कलाप्रतिको साक्षरता निर्धो छ । पेन्टिङ र थाङ्कामा मात्र सीमित छ । त्यसैले कलालाई फराकिलो बनाउन समुदायसँग भिजेर काम गर्नुपर्ने अवधारणा ल्याए । अहिलेसम्म उनको टिमले ५० स्कुलका ५ हजार विद्यार्थीमाझ कलासम्बन्धी कार्यशाला गरिसकेको छ । भूकम्पपछि उनले अघि सारेको आर्ट थेरापी अभियान पनि सफल भयो । भूकम्पको केही दिनपछि उनी पुल्चोक निदान अस्पताल पुगे, त्रासको अवस्था थियो । बिरामीका बच्चा खेलिरहेका थिए । उनले सबै बच्चा जम्मा पारे । घरबाट कागज र पेन्टिङ लगे । बच्चालाई गि्रटिङ कार्ड बनाउन सिकाए । बच्चाहरुले 'गेट वेल सुन' लेखिएका रंगीन कार्ड बेड-बेडमा पुगेर बिरामीलाई दिँदा सबैमा मुस्कान छर्यो । मनीष थप्छन्, "त्यसपछि हामीले सिन्धुपाल्चोक, धादिङ, काभ्रेका गाउँ-गाउँ पुगेर आर्ट थेरापी चलायौँ । यसले भूकम्पपीडितलाई राहत दियो भन्ने लाग्छ । कलाकारले गर्न सक्ने यही त हो ।"
नेपालसहित अमेरिका, ताइवान, दक्षिण कोरिया, पाकिस्तान, हल्यान्डलगायत देशमा मनीषले १९ वटा एकल प्रदर्शनी गरिसकेका छन् । विदेशका कलाकारलाई नेपाल ल्याएर यहाँका समकक्षीसँग अन्तरक्रिया गर्न ग्यालरी एमक्युब खोलेका छन् । उनका अनुसार यो कलाको वैकल्पिक केन्द्र हो । राज्यले कलाको महत्व नबुझेकामा चिन्ता छ, उनलाई । मनीष भन्छन्, "नेपालभित्र जनमानस र राज्यलाई नै कलाको प्रभावकारिताबारे चेतना जगाउनु छ । सँगै संसारभर नेपाली कला फैलाउनु छ । मेरो पाइला यी दुवै काम फत्ते गर्न अग्रसर छन् ।"
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...